व्यक्तित्व

थाई भन्ते सुफोथ : जो अन्तिम सास लुम्बिनीमै फेर्न चाहन्छन्

विनोद परियार २७ वैशाख २०८२ १४:१४
60
SHARES
थाई भन्ते सुफोथ : जो अन्तिम सास लुम्बिनीमै फेर्न चाहन्छन्

लुम्बिनी– बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी जीवनमा एकपटक पुग्नैपर्ने पवित्र स्थल हो। यहाँ पाइला टेक्न पाउनु आफैँमा पुण्यकार्य त हुँदै हो, बुद्धका उपदेशलाई व्यवहारमै ग्रहण गरेको प्रमाण पनि।

हो, यस्तै बौद्धमार्गीको आस्था र मान्यताअनुसार लुम्बिनी आएका थिए, राजकीय थाई विहार लुम्बिनीका प्रमुख भन्ते फ्रा. राजबोधी सुफोथ।

२२ वर्षअगाडि साधारण भिक्षुका रुपमा तीन वर्षका लागि मात्रै लुम्बिनी आएका थिए उनी। तर भन्ते सुफोथलाई बुद्धजन्मस्थल लुम्बिनीले यसरी लोभ्यायो कि दुई दशक बितेको पत्तै पाएनन्।

भन्ते सुफोथले लुम्बिनीमा पाइला टेक्दा वातावरण अहिलेजस्तो थिएन। ‘भैरहवाबाट लुम्बिनीसम्म पुग्न मुस्किलले गाडी पाइन्थ्यो। लुम्बिनीमा पनि धेरै संरचना बनेका थिएनन्’, विगतको स्मरण गर्दै भन्ते सुफोथले भने, ‘यी त भौतिक कुरा थिए, यसले मेरो जीवनमा कुनै अर्थ राखेन। लुम्बिनी पाइला टेक्नासाथ थाकेको बेला थकान मेटिएजस्तै ऊर्जा पैदा भयो।’

राजनीतिक रूपमा तरल भएको बेला जतिखेर नेपाल बन्द हुन्थ्यो, त्यस्तो बेलामा पनि कहिलेकाहीँ साइकलमा त कहिले पैदल पनि लुम्बिनीसम्म आएको अनुभव छ भन्ते सुफोथसँग। यी सब भौतिक असुविधालाई भन्ते सुफोथले भगवान् बुद्धले जस्तै ध्यानको खोजीमा पाएका कष्टभन्दा निकै कम हुन् भन्ने ठाने।

यी दुःखकष्ट हुँदा पनि लुम्बिनीमै किन बस्न मन लाग्यो? भन्ने प्रश्नमा भन्तेले थाईभाषामा हाँसेर जवाफ दिए- ‘यी त भौतिक कुरा हुन्, लुम्बिनीमा बस्दाको मनशान्तिको कुनै व्याख्या छैन्। यसरी जिउनु नै पारामिता आर्जन गर्नु हो।’

थाइल्यान्डमा सन् १९७० मा जन्मिएका भन्ते सुफोथका लागि लुम्बिनी दोस्रो घर बनेको छ। ‘मिल्छ भने अन्तिम सास पनि यहीँ फेर्ने चाहना छ’, उनले भने।

सन् १९९१ म श्रामणेर भएका उनी २००३ मा लुम्बिनी आएका हुन। २२ वर्ष लुम्बिनीमा बिताएका भन्ते सुफोथलाई भौतिक दुःखले रत्तिभर छोएन। उनले बुद्धको मानवकल्याण, अहिंसा, करुणा र आत्मज्ञानको शिक्षालाई फैलाउन आफ्नो भूमिका बढाए। थाई बौद्धमार्गीहरुलाई लुम्बिनीमा अझ बढी ल्याउने र बुद्धजन्मस्थलको प्रवद्र्धनमा भन्तेले आफूलाई समर्पण गरे।

रोयल थाई विहार लुम्बिनीको व्यवस्थापनसँग समेत जोडिँदा कहिलेकाहीँ असहजता पनि आइपर्छन्। यद्यपि त्यो असहजतासँग भन्ते सुफोथको कुनै गुनासो छैन्। जसरी भगवान् बुद्धको उपदेशको चार आर्यसत्यमा भनिएको छ, जीवनमा दुःख छ, दुःखको कारण तृष्णा हो, तृष्णा मेटाउँदा दुःख समाप्त हुन्छ र त्यसका लागि अष्टांगिक मार्ग अपनाउनुपर्ने मान्यता छ।

यही बौद्ध धर्मको आधारभूत दर्शनबाटै भन्ते सुफोथले पनि आफूलाई अगाडि बढाइरहेका छन्। हुन त थाइल्यान्डका बौद्धमार्गीहरु जीवनमा एकपटक लुम्बिनी आएकै हुन्छन्। तर जीवनको लामो समय आफ्नो भूमि छाडेर बस्नेहरु निकै कम छन्। तिनैमध्येका एक भन्ते सुफोथ आफूलाई बुद्धजन्मस्थलमा बस्न पाउनु नै ठूलो संयोग र अवसर भएको बताउँछन्।

भन्ते सुफोथको जन्म थाइल्यान्डको मध्यम परिवारमा भएको हो। भिक्षुको जीवनमा पूर्ण समर्पण हुनुमा भने पारिवारिक घटनाले भूमिका रहेछ।

बुवा बिरामी भएपछि १२ वर्षकै उमेरमा बैंककमा काम गर्नुपरेको थियो उनले। बुवाको उपचारका लागि आवश्यक खर्च जुटाउन कठिन भएको उनी सुनाउँछन्। ‘उपचारपछि केही वर्ष बुवा अशक्त भएर घर बस्नुप¥यो। त्यसको दुई वर्षमा निधन भयो’, उनले भने, ‘त्यसपछि १८ वर्षकै उमेरमा गृहस्थी जीवन त्यागेर भिक्षु बने।’ थाइल्यान्डमा भन्ते बन्ने बनाउने पुरानै प्रचलन हो। सन् १९९३ मा बैंकक थाइल्यान्डस्थित वाक पाकनामबाट एडभान्स तहको धम्म शिक्षा गरेका भन्ते फ्रा. राजबोधी सुफोथले १९९६ मा पाली भाषाको तेस्रो तह, १९९९ मा छैटौँ र २००२ मा नवौँ तहको स्तर पूरा गरे।

सन् २००३ मा सुखोथैधम्म धिरत विश्वविद्यालय नोन्टाबुरी थाइल्यान्डबाट राजनीति विज्ञान कलामा स्नातक गरेका भन्तेले महाचुलालोङकोर्न बौद्ध विश्वविद्यालयबाट मिसनरी भिक्षुहरुको प्रशिक्षण कार्यक्रम पूरा गरेका हुन्।

सन् २०१५ मा थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजले ७० औँ सिंहासन आरोहणका बेला भन्ते सुफोथ फ्रा.श्री बोधी विधेश उपाधिले पुरस्कृत भए। यस्तै सन् २०१७ देखि लुम्बिनीको प्रमुख भन्तेका रूपमा रहेका सुफोथले २०२५ को अप्रिलमा थाइल्यान्डको राजाबाट फ्रा.राजबोधी विधेश वजरा सुती उपाधिबाट पुरस्कृत भएका छन्। भन्ते सुफोथ बेलाबेलामा थाइल्यान्ड जान्छन्।

विकासमा सहकार्य, निःशुल्क स्वास्थ्य शिविर

सन् २००३ मा साधारण भिक्षु भएर लुम्बिनी आएका थिए उनी। विहार सचिवालयको सहायक रूपमा लुम्बिनी आएका उनी हाल विहारको प्रमुख हुन्। तीनवबर्षका लागि आए पनि २२ वर्ष समय व्यतीत गरेका सुफोथको साइनो लुम्बिनीसँग प्रगाढ बन्दै गएको छ। थाई विहारमा थाइल्यान्डको राजाले नै धर्मदूतका रूपमा भन्तेलाई जिम्मेवारी तोकेर पठाउने गर्छ।

पछिल्लो दुई दशकमा लुम्बिनीमा भएका विकासको साक्षीसमेत हुन् भन्ते सुफोथ। धार्मिक र पुरातात्त्विक महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न लुम्बिनी स्थित थाई विहार प्रमुखका रुपमा समेत उनले योगदान गरेका छन्। उनी लुम्बिनी आउँदा राजकीय थाई विहारको पनि तीनवटा मात्रै भवन थियो। राजकीय थाई विहारको हालका संरचना भन्ते सुफोथकै नेतृत्वमा बनेको हो।

थाई विहारले लुम्बिनीमा धार्मिक गतिविधि मात्रै गरेको छैन। सामाजिक कार्य पनि गरेको छ। सन् २००५ बाट सामाजिक कार्यमा स्थानीयहरुलाई जोड्ने प्रयत्न गरेको छ। भन्ते फ्रा. सुफोथकै अगुवाइमा सन् २०१० बाट लुम्बिनीमा वािर्षक रुपमा निःशुल्क आँखा शिविर तथा मोतीविन्दुको शल्यक्रिया हुँदै आएको छ।

यसका साथै वार्षिक रुपमा दन्त शिविर पनि भइरहेको छ। २०८० असोजमा लुम्बिनी क्षेत्रका ३२ जना स्थानीयको निःशुल्क घुँडा प्रत्यारोपण शिविर गरिएको छ। लुम्बिनी क्षेत्रका स्थानीयका लागि जाडोमा कम्बल वितरण, विद्यालयमा शैक्षिक सामग्री समेत वितरणमा भन्ते सुफोथले पहल गर्दै आएका छन्।

लुम्बिनी आउने तीर्थयात्रुलाई सेवा दिने सन्दर्भमा पनि उनको भूमिका प्रशंसनीय छ। मायादेवी मन्दिरमा दिनहुँ पूजाआराधना भइरहन्छ। मायादेवी मन्दिरको संरक्षणमा समेत थाई विहारको सहकार्य छ।

शान्तिदीपदेखि मायादेवी मन्दिरसम्मको पैदल मार्ग (वाक वे), भिजिटर सेन्टर, शौचालय जस्ता आधारभूत संरचना निर्माणमा थाईविहारका तर्फबाट भन्ते सुफोथले समन्वयकारी भूमिका निर्वाह गरी थाई सरकारले सहयोग गरेको छ। लुम्बिनीमा मात्रै थाई विहार रहेकोमा भन्ते सुफोथकै सक्रियतामा रामग्राम र तिलौराकोटमा पनि विहार विस्तार भएको छ।

यसका साथै २०७२ को भूकम्पका बेला भन्ते सुफोथको अगुवाइमा सिन्धुपाल्चोक, दोलखा, काभ्रे, धादिङमा तीन महिना राहत बाँडिएको थियो। यसका अतिरिक्ति भन्ते सुफोथले सन् १९९५ मा नेपाल र थाइल्यान्डभरिका भिक्षुणी र मन्दिरका कर्मचारीहरूका छोराछोरीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेका थिए।

उनले सन् २०१३ देखि मास्टर डिग्री अध्ययन गरिरहेका थाई भिक्षुहरूलाई छात्रवृत्ति र सन् २०१५ देखि मोनास्ट्रीका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरिरहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast