म गभर्नरको प्रतिस्पर्धी हुँ, कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत गर्दिनँ : नीलम तिम्सिना

रमेश भारती २५ वैशाख २०८२ ११:५२
1.1k
SHARES
म गभर्नरको प्रतिस्पर्धी हुँ, कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत गर्दिनँ : नीलम तिम्सिना कामु गभर्नर नीलम तिम्सिना ढुंगाना। फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंककी कामु गभर्नर नीलम तिम्सिना ढुंगानाले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्ने स्पष्ट पारेकी छन्। ढुंगानाले आफू पनि गभर्नरको प्रतिस्पर्धी भएका कारण भट्टको राजीनामा स्वीकृत नगर्ने अडान राखेकी हुन्।

उनले हिमालप्रेससँग भनिन्, ‘कार्यकारी निर्देशकको तहभन्दा तलका कर्मचारीको राजीनामा आयो भने स्वीकृत गर्नेछु। कार्यकारी निर्देशक भट्टको चाहिँ पूर्ण गभर्नर आएपछि स्वीकृत होला। म आफैँ प्रतिस्पर्धी भएकाले कसरी राजीनामा स्वीकृत गर्नु?’

नेपाल राष्ट्र बैंक विगत एक महिनादेखि नेतृत्वविहीन छ। कार्यकाल सकिएपछि निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले चैत २४ गते अवकाशमा गएका थिए। गभर्नर सिफारिस समिति गठन भए पनि एकपटक पनि बैठक बस्न सकेको छैन। यसबीचमा समिति सदस्यबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् भने उक्त पदमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन्।

कामु गभर्नर  ढुंगानाले बैंकका सबै क्षेत्र सुधार्ने गरी काम गरिरहेको बताइन्। सरकारले गभर्नर छनोट गरेपछि अझ सहज हुने अपेक्षा उनको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो साता ‘प्रधानमन्त्री ओलीको अनिच्छाले नभई राष्ट्र बैंकभित्रैको समस्याले नयाँ गभर्नर नियुक्त हुन नसकेको भन्दै गर्भनर नियुक्तिका लागि एक साता समय दिएको’ समाचार सार्वजनिक भएको थियो। देउवाले गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको सातदिने समयसीमा बिहीबार सकिएको छ।

डेपुटी गभर्नर ढुंगानाले प्रतिस्पर्धीका रूपमा अगाडि आएका भट्टको राजीनामा स्वीकार गर्न अस्वीकार गरिरहेकी छिन्। राजीनामा स्वीकृत गर्नका लागि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले दिएको निर्देशन पनि ढुंगानाले अवज्ञा गरेकी छन्। सरकारले हस्तक्षेप गर्न खोजेमा ढुंगाना बिदामा बस्ने तयारी गरिरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए।

ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको अवस्थामा मन्त्रीस्तरीय निर्णयबाट कनिष्ट डेपुटी गभर्नर बमबहादुर मिश्रलाई कार्यवाहक गभर्नर तोक्न सक्छ। अर्थ मन्त्रालयका एक उच्च अधिकारीले अहिलेको अवस्थामा यो प्रक्रिया सम्भव नभएको बताए।

ती अधिकारीका अनुसार सरकारले चाहेमा भट्टको राजीनामा तत्काल स्वीकृत हुन सक्छ। ‘ढुंगानाले  राजीनामा स्वीकृत प्रक्रिया लम्ब्याउन सक्छिन्। किनभने अर्का डेपुटी गभर्नर मिश्र अमेरिकाको भ्रमणमा छन्। पूर्वनिर्धारित तालिकाअनुसार उनी जेठ ३ मा मात्रै राष्ट्र बैंकमा हाजिर हुन्छन्। त्यसैले ढुंगानालाई सरकारले दबाब दियो भने १० दिन बिदामा बसेर गभर्नर नियुक्ति प्रक्रिया लम्ब्याउन सक्छिन्’, ती उच्च अधिकारीले भने।

राष्ट्र बैंक ऐनमा कार्यकारी निर्देशकबाट सीधै गभर्नर बन्न रोक लगाइएको छैन। ऐनमा विशिष्ट श्रेणीको पद गभर्नरका निम्ति योग्य मानिन्छ । राष्ट्र बैंकका ती अधिकारीले ढुंगानाले भट्टको राजीनामा ‘स्वीकृत नगर्ने’ बताउँदै आए पनि यसबारे प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले गम्भीर रूपमा नलिएको आरोप लगाए।

राष्ट्र बैंकको एक प्रमुख ट्रेड युनियन संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै एउटा कर्मचारीको राजीनामा स्वीकृत गर्न नसक्नुलाई कार्यवाहक गभर्नरको ‘लाचारीपन’ भएको आरोप लगाएको छ।

संघले विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक ऐनअनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिनाअगावै नियुक्त गर्नुपर्नेमा रिक्त भएको एक महिनासम्म नियुक्त नहुनु लज्जास्पद भएको उल्लेख गरेको छ।

संघले राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सीमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राखिएको भन्दै आपत्ति जनाएको छ। संघले विद्यमान चुनौती सहज रूपमा सम्बोधन गर्न सक्ने सक्षम व्यक्तिलाई यथाशीघ्र गभर्नरका रूपमा नियुक्ति गर्न माग गरेको छ।

नेपालको संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ३५ तथा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को समेत उल्लंघन भइरहेको प्रति संघले आपत्ति जनाउँदै आएको छ।

गभर्नर नियुक्ति टार्न थालेपछि देउवाले सरकारलाई दिए अल्टिमेटम

ढुंगानाले कसको आडमा लम्ब्याउँदैछिन् गभर्नर नियुक्ति प्रक्रिया?

प्रकाशित: २५ वैशाख २०८२ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast