
काठमाडौँ– क्यानडा बस्दै आएका दिलिप पौडेलको कथासंग्रह ‘ब्लफर्स डायरी’ लोकार्पण भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो।
पुस्तकमा विविध विषयवस्तुमा आधारित १८ कथा समेटिएको छ। उनको यो पहिलो कृति हो। रात्रिबसको यात्रा, बुढो प्याट्रिक, आई ह्याभ नो च्वाइस, अपूरो अन्तर्वार्ता, अर्गानिक प्रेम, एकल आमाको कथा, के सबै लोग्नेमान्छे यस्तै हुन्छन्?, मिरेम्बा, मनवीरेको आत्मा, गोत्र जुध्यो कि! लगायतका शीर्षकका कथा छन्।
यसअघि उनी सामाजिक सञ्जालमा आफ्ना रचनाहरू पोस्ट गर्दै आएका थिए। आफू १० वर्षअघि क्यानडा गएको बताउँदै लेखक पौडेलले विगतमा बागबजारमा अंग्रेजी विषयको ट्युसन पढाउँदै दैनिकी गुजारेको स्मरण गरे। कोरोना महामारीको समयमा क्यानडामै रहेको ब्लफर्स पार्कमा बसेर कथा लेखेकोले पुस्तकको नाम यही राखेको उनले सुनाए।
‘कोभिडको समयमा सधैँ त्यही पार्कमा बसेर कथा बुन्थे। पहिले म आफ्नो सिर्जना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्थे। मसँग जोडिनुभएका साथी एवं शुभचिन्तकले आफ्नै कथा ठानेर सकारात्मक उर्जा दिनुहुन्थ्यो। उहाँहरूकै सल्लाह सुझावस्वरूप आज नयाँ कृति जन्मिएको हो,’ उनले भने।
साथै उनले कृतिमा आप्रवासी नेपालीको कथा पनि समेटेको बताए। विदेसिएपछि एक व्यक्तिले आफ्नो सपना पूरा गर्न गर्नुपरेको संघर्ष कथामा उठाएको बताए।
पुस्तकबारे बोल्दै लेखक विक्रमभक्त जोशीले क्यानडा र नेपालको केमिस्ट्रीमा कथा जन्मिएको बताए। घटनाप्रधान कथामार्फत लेखक पौडेलले नेपालको अर्गानिक र आप्रवासमा बस्नेको दैनिकी देखाउन खोजेको उनको भनाइ छ।
‘कथामा छोटा वाक्यहरू छ्न्। दुई देशलाई फ्युजन गरिएको छ। कथामा शब्दबाट नै इमेज क्रिएट गरिएको छ। कथाको परिवेश पाठकले इम्याजिन गर्न सकिने किसिमको छ। सरल लेखन शैली सरल किसिमको छ,’ उनले पुस्तकबारे भने।
त्यस्तै लेखक पौडेलले आफ्नो कृतिमा द्वन्द्वकालका कथादेखि देश, समाज, प्रेम र आप्रवासी नेपालीको कथा र व्यथासम्मलाई कलात्मक शैलीमा प्रस्तुत गरेको पत्रकार तथा समीक्षक राजकुमार बानियाँले बताए।
उनले पौडेलको संग्रहभित्रको शीर्षक पाठकलाई कौतुहलता पैदा गराउने किसिमको रहेको भन्दै व्याख्या गरे।
उनले भने, ‘लेखक पौडेलले आफ्नो कथामा नयाँपन दिने प्रयास गर्नुभएको छ। उहाँको लेख्ने शैली आफ्नै छ। झिनो कथालाई पनि विस्तृत बनाउने कला मैले देखेँ। संवाद शैली मूर्त किसिमको छ।’
पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। यसको मूल्य ४९५ तोकिएको छ।