नियात्रा

ऐँसेलु र काफलसँग रमाउँदै गोपाली गाउँतिर

राजाराम बर्तौला २० वैशाख २०८२ २१:०८
34
SHARES
ऐँसेलु र काफलसँग रमाउँदै गोपाली गाउँतिर

काठमाडौँ उपत्यका ऐतिहासिक विरासत बोकेको परम्परागत सांस्कृतिक धरोहरले परिपूर्ण सहर हो। यहाँको कुनै एउटा ढुंगो मात्र पल्टाइहेर्‍यो भने पनि मानव सभ्यताले सिर्जेको कला, संस्कृतिको डोबहरू, शिल्पीका शिल्प र इतिहासका धर्सा भेटिन्छन्। काठमाडौँ खाल्टो, त्यसैले एउटा अपूर्व, गर्वित संग्रहालय हो नेपाल र नेपालीको पहिचानको।

यही खाल्टोमा आजभन्दा करिव ४००० वर्षअगाडि (अर्थात् इसापूर्व २००० वर्षअगाडि) तिब्बतबाट आएर बसेका र इसापूर्व सतौँ या आठौँ शताब्दीमा अधिराज्य स्थापना गरी ने भन्ने मुनिले भुक्तमान भन्नेलाई राजा बनाएका थिए। उनले अहिलेको मातातीर्थलाई राजधानी बनाई गोपालवंशी (गाई गोठालाहरूले) शासन सुरु गरेका थिए भनिन्छ। गोपालहरूले करिब ५०० वर्ष शासन गरेका थिए र उनीहरूलाई महिषपालहरूले विस्थापित गरेका थिए।

अहिले नेपालमा गोपालहरूको अस्तित्व देखिन्छ तर महिषपालहरू कता गए कहाँ बसेका छन् भन्ने देखिँदैन। लिच्छविहरूको शासनकालमा मातातीर्थका गोपालहरू यहाँबाट विस्थापित भए। भनिन्छ- यिनीहरू यहाँबाट भागेर पालुङ गए। अहिले पनि पालुङ र टिस्टुङमा यिनीहरूको गाउँ देखिन्छ। बज्रबाराहीमा त ठूलै संख्यामा घरधुरीसहितको गाउँ देखिन्छ। पालुङबाट फैलिँदै गएको हुन सक्छ। पालुङ पछि ठूलो संख्यामा यिनीहरू चित्लाङ उपत्यकामा छन्। चित्लाङको पनि बिसिङखेलमा यिनीहरूको करिब १०० घरधुरी छ।

यिनीहरू आफूलाई नेवार भन्छन्। तर काठमाडौँ उपत्यकाका नेवारहरूको भन्दा भिन्न संस्कार र संस्कृतिको अवलम्बन गर्छन्। भाषागत रूपमा समान देखिए पनि सांस्कृतिक भिन्नता यिनीहरूको मौलिक परिचय हो। काठमाडौँ उपत्यकाबाट यिनीहरूको शासनसत्ता बलपूर्वक हरिएको हुनुपर्दछ। मातातिर्थबाट चन्द्रागिरिको पहाड नाघेर चित्लाङ र पालुङ पुग्न सजिलो भएको कारणले यिनीहरू यहाँबाट भागेर त्यहाँ बसाइ सरेका हुन् भन्ने अनुमान यथार्थको नजिक देखिन्छ।

नेपाल प्रवेश गर्ने पहिलो जाति, पहिलो राजा, पहिलो वंश, विशिष्ट संस्कृति र पहिचान भएको गोपालीहरू सयौँ वर्षदेखि आफ्नो कृषि पेसा, शान्तिपूर्ण जीवनयापन गर्दै आइरहेका छन्। सांस्कृतिक रूपमा मौलिक पहिचान बनाएका नेवारभन्दा फरक तर आफूलाई नेवार बताउने गोपालीहरूको विषयमा हुनुपर्ने जति खोज, अनुसन्धान र अध्ययन भएका छैनन्। असली नेपालीको पहिचान बनाएका गोपालीहरूको गाउँ हेर्ने रहरले गत साता अर्थात् २०८२ वैशाखको दोस्रो शनिबार चन्द्रागिरिको उकालो चढ्दै बिसिङखेल जाने योजना बन्यो।

चन्द्रागिरिको फेदी गोदामबाट हिँडेर उकालो लागेको भए पनि हुन्थ्यो। तर पनि किन हो देउरालीसम्म गाडीमा जाने विचार आयो साथीहरूको। हामी देउराली गएर ओर्लियौँ। अर्थात् देउरालीबाट हाम्रो पदयात्रा सुरु भयो। हुन त सवारीसाधन नपुगेको कुनै गाउँ छैन चित्लाङ उपत्यकामा। सवारीसाधनमा घुमेर आएको भए पनि हुने थियो। पदयात्राको अनुभव, प्राकृतिक सामीप्य र त्यसले दिने आनन्दको भर्ताल-पर्ताल गाडीमा बसेर पाउन सम्भव छैन। जंगलभित्र पैदल हिँड्दा रूख, बिरुवा, पात, पतिंगर, फलफूल, वनस्पति, चराचुरुंगी, पानी, खहरेसँग बात मार्न पाइन्छ। पातमा चिप्लिएर लड्दा होस् या काँडाले चिथोर्दा एउटा विशिष्ट आनन्दानुभूति हुन्छ।

तल फेदीबाट उकालो नहिँड्नुमा साथीहरूको चलाखी देखियो। देउरालीबाट हिँड्दा कहीँकहीँ सामान्य उकालो चढ्न परे पनि खासै उकालो चढ्न नपर्ने रहेछ, बरु जंगलैजंगल हिँडेर ओरालो झर्नुपर्ने रहेछ। हिँडाइ र कठिनाइका हिसावले यो पदयात्रा सजिलो थियो। तर रोमाञ्चकताको हिसाबले उर्वर थियो। उकालो के लागेको थियौँ आकाशमा टाउकै माथि रंगीन प्याराहरूले ग्लाइडिङ गरेको देख्यौँ। मानिस डोरीमा झुन्डिएर बत्तिँदै हावामा कावा खाएर आनन्द लिइरहेका! हामीले पनि अरुको आनन्दमा आनन्द लियौँं। सबैको हात मोबाइलबाट फोटा लिन व्यस्त थिए।

अहिले हामी आधुनिक प्यारासुटमा बसेर त्यसमा जोडिएका डोरीहरूलाई आफू अनुकूल सन्तुलन कायम गर्दै हुत्तिने, बत्तिने, तैरिने, बहेलिने आदि सबै क्रिया गरेर आनन्द लिन्छौँ। जंगबहादुरले धरहराबाट हामफाल्ने आदेश पाउँदा उनीसँग दुईटा मात्र विकल्प थिए- मर्ने या जुक्ति लगाएर आदेश पूरा गर्ने।

जंगेलाई निद्रा लागेन। उनका पिताजी चलाख रहेछन् र भनेछन्- छाता लिएर हामफाल्। जुक्ति सफल भयो। जंगेले बाजी मार्‍यो। उही जंगेको विरासत थाम्न भने जसरी अहिले हाम्रा युवा आधुनिक यन्त्रको सहायताले हावामा कावा खाएर आनन्द लिँदै छन्। हामीलाई देखेपछि यी प्याराग्लाडर्सहरू मच्चीमच्ची हल्लिए।

हिँड्दै जाँदा देखियो- त्यहीँ माथि डाँडामा प्यारा उडाउने र बिसाउने ठाउँ रहेछ। सजिलो छ यहाँ पुग्न। सवारीमा चन्द्रागिरिको देउरालीमा पुग्ने र त्यहाँबाट पश्चिम अर्थात् दायाँ मोडिने केही सय मिटर हिँडेपछि यो ठाउँ पुगिन्छ।

जंगलैजंगल, डाँडाको शिरैशिर भएर तोप्लाङ जाने बाटो हुँदै पश्चिम लाग्यौँ। तोप्लाङलाई डाँडाबाट देखियो। यसको भन्ज्याङ र सुन्दर बस्ती पनि देखियो। हामी तोप्लाङपट्टि नलागेर सीतापाइला भन्ज्याङतर्फ लाग्योँ। यहाँबाट हेर्दा उत्तर ओरोलो लागे बेसीमा नौबिसे, धुनेबेसी पुगिन्छ। ओरालो झर्दै गर्दा काफलको रूखहरूसँग जम्का भेट भयो। काफलगेडी राताम्मै थिए। हाम्रा साथीहरू रामाञ्चित भए। हाँगाहाँगामा उनीहरूको हात सल्बलाउन थाल्यो। हाम्रो पदयात्रा गाइड त रूखै चढेर काफल टिप्न थाले। कति काफल खाइयो हिसाव रहेन। कोही रूख छोड्नै नमान्ने। बल्लतल्ल त्यहाँबाट हिँडियो र सीताभन्ज्याङ पुगियो।

सीताभन्ज्याङमा त झन ऐँसेलु पाकेर पहेँलपुर। दाना पनि ठूल्ठूला। गाउँले गोठालाको, घाँसीको र दाउरेहरूको आँखा नपरेर हो कि पुगिसरी आएर हो यहाँको ऐँसेलु कसले खाइदेला भनेर बसेका रहेछन्। हामी पदयात्रीका लागि यो रमाइलो क्षण थियो। ठूल्ठूला दाना छानेर खाने, पाएसम्मको बोट चाहारेर खाने, अघाएसम्म खाने गरी होड चल्यो।

सबैले पेटभरि खाए मात्र होइन टिपेर पोको पार्न पनि भ्याए। मैले पनि अञ्जुलीभरि टिपेको ऐँसेलु एउटा सानो पोको पारेर घरका लागि भनेर खुसुक्क झोलाको चेपोमा घुसारें।

बाह्र बजिसक्दा पनि खाना खाने सुरसार थिएन। छायामा बसेर खान रूखको छहारी खोज्दै हिँड्यौं। ऐँसेलु र काफलले अघाएका पेटमा घरबाट लगेको खाना जान मानेन। अरूको पनि त्यस्तै भयो। केही खाएको जस्तो गर्‍यौँ। बरु गाउँलेले दिएको मोही घट्घटि पिएर तिर्खा मेटायौँ। भुजेलहरूको घर रहेछ पानी मागेको मोही पो आयो। यस्तै हुन्छ गाउँले मन, निश्चल, निर्मल र सहृदयी। सहरमा भए मोहीको पैसा दहीको भन्दा बढी पथ्र्यौ होला। एकजनालाई मात्र हो र! भएजति सबैलाई मोहिको सत्कार पाइयो।

उनै भुजेल भाइले औँला तेस्र्याएर देखाउँदै भने- ‘यहाँ पहिलो चोटि २००/३०० रोपनी क्षेत्रफलमा एउटा जर्मनले ओलिभको खेती गरेका थिए। पछि त्यो फार्म प्रभु बैंकका मालिकले किने। अहिले पनि फार्म छँदै छ।’ उनको कुरा सुनेपछि हामी सोही फार्मको बाटो हुँदै गोपालीगाउँ हेर्न हिँड्यौँ।

यो ठाउँ तरकारीखेतीकालागि प्रसिद्ध रहेछ। कृषिमा आधुनिक प्रविधि भित्रिएको प्रत्यक्ष देख्यौँ। सेता प्लास्टिकका टनेलभित्र काउली उमारिएका छन्। पाइपबाट ल्याइएको पानीले स्प्रिङ प्रविधिबाट सिँचाइ गरिएको छ। तरकारी खेतीबाट प्रशस्त आम्दानी हुने कुरा स्थानीयसँगको संवादमा जानकारी भयो। स्थानीयको तरकारीखेती हेर्न खेतको आली हुँदै हिँड्यौं। परिश्रमी हातको सिर्जनामा रमाइरहेका स्थानीय कृषक देखेर गर्वको अनुभूति भयो। आँगनभरि थुपारेको काउलीलाई झोलामा राख्दै गरेका किसान भन्दै थिए, ‘दिनहुँ दसौँ ट्रक काउली जान्छ यहाँबाट।’ खेतबाट काउली निकाल्दै गरेका किसानलाई ‘हामीलाई पनि काउली बेच्नुहोस् न’ भन्दै थिए पदयात्रीहरू। पदयात्रीहरूले सस्तोमा पाइएला भन्ने लोभले भन्दा पनि ताजा पाइने भएर सकेजति बोके।

काठमाडौँमा अग्र्यानिक तरकारी खाउँला भनेर नचिताए पनि हुन्छ। जंगलका चराहरूले भने अग्र्यानिक खान्छन्। विषादी मिसाएको त उनीहरू सुँघेर नै थाहा पाउँछन्। यिनै चराहरूले खाएर पनि नसकिएका ऐँसेलु र काफल हामीले खायौँ। अग्र्यानिक फलको अग्र्यानिक स्वाद लिएर। पेट दुख्ला कि भन्ने लागेको थियो। बेलुकी घर आइपुग्दासम्म केही पनि भएन। होस पनि किन! आखिर अग्र्यानिक फल खाइएको थियो। जसरी अग्र्यानिक फलले पेट दुखाउँदैन त्यसैगरी अग्र्यानिक कुराले पनि दिमाग दुखाउँदैन भन्छन् जान्नेहरू।

जुन ठाउँ हेर्न भनेर गएको हो अन्ततः स्वागत प्रवेशद्वार पार गरेर गोपाली गाउँ प्रवेश गरियो। प्रवेशद्वार पार गर्नेबित्तिकै केही वृद्ध गफिँदै गरेको देख्यौँ। उनीहरूले पनि कौतूहलपूर्वक हामीलाई हेरिरहेका थिए।

मैले नै बोलेँ- ‘तपाईँहरूको गाउँ हेरूँ भनेर आएका हामी। रमाइलो ठाउँ र राम्रो बस्ती रहेछ। कहिलेदेखि बसेको यहाँ यो बस्ती?’

स्थानीय गोपाली- ‘खै, कहिलेदेखि हो हामीलाई थाहा छैन। पुर्खाको पालादेखि हो।’

म- ‘तपाईँहरू नेवारभन्दा फरक देखिनुहुन्छ। संस्कार पनि फरक होला, हैन?’

स्थानीय गोपाली- ‘हैन, हामी नेवार हौँ।’

उनीहरूको घर ढुंगाको गारोबाट बनेको तीनचार तलाको छ। काठका कलात्मक बुट्टा भरेका झ्याल छन्। ७२ सालको महाभूकम्पले पनि यहाँका घरलाई ठूलो क्षति पुर्‍याउन सकेन। परम्परागत घरमा बसिरहेका छन् यिनीहरू। समृद्ध नभए पनि सुखी छन् र शान्त छन्। भाषा, लिनदेन, बिहेबारी, घरव्यवहार सवै नेवारहरूसँग चलेर आफूलाई नेवारमा लिए पनि यिनीहरू नेपालका आदिवासी तिब्बती आर्यन मिश्रित रक्त समूह भएका विशिष्टीकृत सांस्कृतिक पहिचानसहित फरक जाति हुन्। यिनीहरूको विषयमा थप अध्ययन अनुसन्धान आवश्यक देखिन्छ। यिनीहरू नेवारहरूके समूहका सदस्य हुने थिए भने काठमाडाँैको मलिलो माटो छोडेर चित्लाङ र पालुङमा खुम्चिएर बस्ने थिएनन्।

हामी काउलीखेती र गोपाली गाउँ हेरेपछि स्थानीय चम्पाकेश्वर महादेवको दर्शन गरेर फर्कियौँ।

प्रकाशित: २० वैशाख २०८२ २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast