
पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदन सोमबार प्रतिनिधिसभा सार्वजनिक लेखा समितिलाई बुझाएको छ। राप्रपा अध्यक्षसमेत रहेका उपसमितिका संयोजक राजेन्द्र लिङदेनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन्।
३६ पृष्ठ लामो यो प्रतिवेदनमा पोखरा विमानस्थलको निर्माण प्रक्रिया र कार्यान्वयनमा विभिन्न गम्भीर प्रश्न उठाइएको छ। जसमा नीतिगत भ्रष्टाचार, गुणस्तरहीन कामको आरोप र राजस्व छुटका विषयमा थप अनुसन्धान गरी कडा कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई सिफारिस गर्न सुझाव दिइएको छ।
पोखरेलीको चार दशक लामो प्रतिक्षापछि निर्माण भएको विमानस्थलमै अर्बौँको भ्रष्टाचार भएको ठहरले भने पक्ष–विपक्षमा तर्क उठ्न थालेका छन्। पोखराका पर्यटन व्यवसायी तथा उद्योगी व्यवसायीले विमानस्थल सञ्चालन हुन नदिने प्रपञ्च भनेर दाबी गरेका छन् भने नागरिक समाजले चाहिँ भ्रष्टाचारमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल विमानस्थल निर्माणमा अर्बौँको भ्रष्टाचार भएको विषय ज्यादै गम्भीर विषय भएको बताउँछन्। ‘पर्यटकीय सहरका लागि एयरपोर्ट आवश्यक होला। तर पूर्वाधार विकास निर्माणका नाममा भ्रष्टाचारको गतिविधि हुनु ज्यादै गम्भीर विषय हो। जति आलोचना गरे पनि पुग्दैन,’ उनी भन्छन्, ‘तसर्थ यस्ता गतिविधि निरुत्साहित गर्न नागरिक पनि जागरुक हुनुपर्छ।’
उनले अर्बौँको भ्रष्टाचार हुने गरी भएको गतिविधि ज्यादै दुःखलाग्दो भएको उल्लेख गर्दै त्यस्तो गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
‘अहिले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेतका अधिकारीलाई तोकिएको छ, तर यसमा नीतिगत निर्णय नभइकन भ्रष्टाचार सम्भव छैन। भ्रष्टाचारका विषयमा नीतिगत निर्णय गर्ने जुनसुकै प्रधानमन्त्री होस् वा जुनसुकै अर्थमन्त्री तथा पर्यटनमन्त्री हुन्, तिनीहरूलाई हदैसम्म कारबाही गर्नुपर्छ,’ पौडेलले माग भने।
यहाँका पर्यटन तथा उद्योगी व्यवसायीले उक्त प्रतिवेदनलाई पोखरामा ‘अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिने षड्यन्त्र’ भनेको विषयमा अधिकारकर्मी पौडेलले ठाडै इन्कार गर्दै भन्छन्, ‘भ्रष्टाचारलाई भ्रष्टाचारभन्दा विमानस्थलै बन्द गर भनेको छ र? उडान रोक भनेको होइन, भ्रष्टचारजन्य कार्य रोक भनेको हो। यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याऊ भनेको हो।’
उनले नियमित रूपमा अन्तर्राष्ट्रिय उडान पनि होस्। तर भ्रष्टाचारजन्य कसुरमा संलग्नलाई हदैसम्मको कारबाहीहोस् भन्दै दण्डहीनताको अन्त्यको मागसमेत गरे।
पोखराका उद्योगी व्यवसायीहरुको छाता संगठन पोखरा उद्योग वाणिज्य संघ तथा पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद्ले हालै छुट्टाछुट्टै विज्ञप्ति जारी गरी समग्र पोखराको बदनाम गर्ने क्रियाकलाप भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनीहरुले पोखरेलीको सपना पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चल्न नदिने षड्यन्त्र रहेको भनेका छन्।
विमानस्थल निर्माणक्रममा १० अर्ब भ्रष्टाचार भएको किटानसँगै पोखरा पर्यटन परिषद्ले पोखराको बदनाम हुने गरी गतिविधि तथा क्रियाकलाप तत्काल रोक्न माग गरेको छ।
‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान आकर्षित हुँदै गइरहेको वर्तमान अवस्थालाई छायाँमा पार्ने गरी भइरहेका समग्र पोखराको बदनामी गर्ने किसिमका क्रियाकलापप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ,’ परिषद्तर्फबाट अध्यक्ष तारानाथ पहारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै पनि प्रकारका निर्माण कार्यमा हुने भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लागु हुनुपर्छ भन्नेमा दृढ छौँ। यदि कहीँकतै भ्रष्टाचार भएको छ भने यथाशीघ्र निष्पक्ष छानविन गर्नसमेत सबै पक्षसंँग माग गर्दछौँ। तर विभिन्न बहानामा विमानस्थल चलायमान बनाउनबाट रोक्ने र पोखराको बदनाम हुने गरी गरिने गतिविधि तथा क्रियाकलापहरु तत्काल रोक्न जोडदार माग गर्दछौँ।’
साथै, विमानस्थललाई नियमित उडानका साथ पूर्णरुपमा सञ्चालन गर्न आज पनि निजी क्षेत्र एक भएर अगाडि बढिरहेको सन्दर्भमा राज्यबाट पनि सोही प्रकारको साथ र सहयोगको अपेक्षा गरिएको छ।
पोखरा उद्योग वाणिज्य संघले पनि भ्रष्टाचारका नाममा विमानस्थल सञ्चालन हुन नदिने प्रपञ्च गरिएको दाबी गरेको छ।
विमानस्थल निर्माणक्रममा अनियमितता भए छानबिन गर्नुपर्ने, तर त्यही बहानामा अन्तर्राष्ट्रिय उडान रोक्ने प्रपञ्च नहोस् भनी संघले सचेत गराएको छ। संघका तर्फबाट महासचिव शोभा गौतमले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘विमानस्थल निर्माणका क्रममा अनियमितता भएको छ भने त्यसको छानबिन र दोषीमाथि हदैसम्मको कारबाही होस्। अन्याय, बेथिति, दुरुपयोग घोटालाविरुद्ध हामी साथ सहयोग गर्न तयार छौँ। तर विभिन्न बहानामा पोखरालाई बदनाम गर्ने, निर्माण भएर भर्खर अन्तर्राष्ट्रिय उडान हुँदै गरेको विमानस्थल सञ्चालनमा रोकावट तथा अवरोध हुने गरी कोही कसैबाट अवान्छित गतिविधि क्रियाकलाप चाहिँ नहोस् भन्ने हाम्रो जोडदार माग रहेको छ।’
संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा भाँजो नहाल्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिको सशक्त प्रतिवाद गर्ने पनि जनाएको छ।
यसैबीच नेपाली कांग्रेस कास्कीले विमानस्थल निर्माणक्रममा भएको भनिएको भ्रष्टाचार र अनियमितता छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।
जिल्ला सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भइरहेका बेला कांग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जोकोही भए पनि कारबाही गर्न माग गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जनाए।
यसबारे अर्को ठूलो दल एमाले कास्कीले भने प्रतिक्रिया दिएको छैन।
छानबिन प्रतिवेदनमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै प्राधिकरणका निर्देशक अधिकारी, आयोजना प्रमुख विनेश मुनकर्मीसमेतलाई कारबाहीका लागि सिफारिस गरेको छ।
२०७१ देखि ७४ सम्म आयोजना प्रमुख रहेको अधिकारी २०७८ माघयता प्राधिकरणको महानिर्देशक पदमा कार्यरत् छन्।
त्यस्तै, मुनकर्मी २०७४ देखि आजपर्यन्त आयोजना प्रमुखका रुपमा कार्यरत व्यक्ति हुन्। उनले हालसम्म एक्जिम बैंकमार्फत निर्माण कम्पनीमार्फत चिनियाँ ठेकेदार कम्पनी सी.ए.एम.सी. इन्जिनियरिङलाई १९ अर्बमात्र भुक्तानी गरिएको दाबी गर्छन्।
निर्माण आयोजनामा संलग्न व्यक्तिहरु भने प्रतिवेदनमा लगाइएका आरोप झुटो भएको दाबी गर्छन्। आयोजना प्रमुख मुनकर्मीले त यसलाई ‘फेक’ भनेका छन्।
यो विमानस्थल निर्माणका लागि दबाब दिन पोखरा उद्योग वाणिज्य संघको आह्वानमा लामो समयसम्म यहाँका व्यवसायी अनसन नै बसेका थिए।
विमानस्थलका लागि २०३२ सालमा ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। २०७१/०७२ बाट थप ९७३ रोपनी जग्गा अधिग्रहण गरी कुल ३८९९ रोपनी व्यवस्था गरिएकोमा मुआब्जामा मात्रै चार अर्ब ५० करोड खर्च गरिएको छानबिन प्रतिवेदनमा उल्लेख छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालमा शिलान्यास गरेको विमानस्थल २०७९ पुस १७ मा सञ्चालन आएको हो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहबीच विमानस्थलको उद्घाटन गरेका थिए।
करिब २ वर्षसम्म केही चार्टर्डबाहेक आन्तरिक उडानमै सीमित भएकोमा गत महिनादेखि मात्र नियमितरुपमा अन्तर्राष्ट्रिय उडान सुरु भएको छ।
पोखरा पर्यटन परिषदकै नेतृत्वमा गत ५ चैतमा पोखरा-छेन्दु पहिलो व्यावसायिक उडान सुरु भएको थियो। हाल साप्ताहिकरुपमा सिचुवान एअरले पोखरा–छेन्दु एक उडान र हिमालयन एअरलायन्सले पोखरा–ल्हासा साप्ताहिक रुपमा एक उडान गरिरहेको छ।