‘अभागी’ आबुमेयाङ

हिमाल प्रेस २६ पुष २०७९ १३:४३
44
SHARES
‘अभागी’ आबुमेयाङ

उनी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको टिमको कप्तानी गरिरहेका हुन्थे। तर अहिले १० औँ स्थानको टिमको बेन्चमा छन्। कुरा पेयर एमरिक आबुमेयाङको हो।

स्ट्राइकर आबुमेयाङ चेल्सीको पहिलो एघारमा पर्दैनन्। चेल्सीका प्रशिक्षक ग्राहम पोर्टर स्ट्राइकरबिनाको पहिलो एघार छनोट गर्छन्। तर आबुमेयाङलाई अग्रपंक्तिको जिम्मा दिँदैनन्।

के आबुमेयाङ अभागी खेलाडी हुन्? उनी हाल गुज्रिरहेको परिस्थितिले एकहदसम्म यही संकेत गर्छ। आर्सनलका समर्थक के भन्छन् भने त्यस टिमको ‘आर्मब्यान्ड’ कसैलाई पनि फाप्दैन। अनि चेल्सी समर्थकको भनाइचाहिँ यस्तो छ, जुन दिनबाट आबुमेयाङले नौ नम्बरको जर्सी लगाए त्यही दिनदेखि उनको खराब दिन सुरु भयो।

आर्सनल र चेल्सी समर्थकले गरेका दाबीलाई ग्रहण गर्न सकिएला वा नसकिएला, त्यो आफ्नो ठाउँमा छ। तर एउटा कुराचाहिँ सत्य हो, आबुमेयाङ फेरि एकपटक नयाँ क्लबको खोजीमा छन्। गत वर्ष ठ्याक्कै यही समयमा, उनी बार्सिलोना जाने तरखरमा थिए। त्यहाँ पूरा सिजन नखेली उनी इंग्ल्यान्ड नै फर्किए।

अहिले फेरि उनी नयाँ गन्तब्यको खोजीमा छन्।

जनवरी २०१८ मा आबुमेयाङलाई आर्सनलले कीर्तिमानी रकम तिरेर अनुबन्ध गरेको थियो। नोभेम्बर २०१९ मा उनी कप्तान बने। फेब्रुअरी २०२२ आइपुग्दा उनी आर्सनलमा खलनायकमा परिणत भइसकेका थिए। चेल्सीमा अब उनी फेरि खेल्छन्, खेल्दैनन् टुंगो छैन।

प्रिमियर लिगमा गत बिहीबार आबुमेयाङ म्यानचेस्टर सिटीसँगको खेलमा खेले। तीन दिनपछि चेल्सी एफए कपमा सिटीसँगै भिड्दा भने उनी टिममै परेनन्। यसकारण संशय उत्पन्न भएको छ, कतै आबुमेयाङले चेल्सीका लागि अन्तिम खेल खेलिसकेका त छैनन्?

प्रिमियर लिगको खेलमा रहिम स्टर्लिङ घाइते भएपछि आबुमेयाङलाई मैदान छिराइएको थियो। पाँचौँ मिनेटमा मैदान प्रवेश गरेका उनलाई ६८ औँ मिनेटमा निकालियो। सब्स्टिच्युट खेलाडी खेल पूरा नगरी बाहिर निस्कनु सामान्य करा होइन। कुल ६३ मिनेट मैदानमा छँदा उनले १३ पटक बल छोए। सिटीको क्षेत्रमा उनले एकपल्ट मात्र बल भेटे। सिटीको पोस्टमा एकपल्ट पनि प्रहार गर्न सकेनन्।

आबुमेयाङको प्रदर्शनले सायदै कोही सन्तुष्ट भएन। चेल्सीका पूर्वस्ट्राइकर क्रिस सटनले त आबुमेयाङले जाँगर नदेखाएको आरोप लगाए। ‘उनको खेल र हाउभाउ हेर्दा यस्तो लाग्थ्यो, उनी चेल्सीमा रहन चाहँदैनन्। उनको यस्तो पारा देखेर ग्राहम पोर्टरलाई पनि दिक्का लागेको हुनुपर्छ।’

लिगमा सिटीसँगको खेलपछि पोर्टरले आबुमेयाङको आलोचना गरेनन्। जबकि दोस्रो हाफमा मैदानबाट निस्किनु परेपछि आबुमेयाङ असन्तुष्ट देखिएका थिए।

‘उनले देखाएको हाउभाउ म सामान्य मान्छु। खेल सुरु भएको केही मिनेटपछि नै उनले मैदान प्रवेश गर्नुप¥यो। पछिल्लो समय उनले त्यति खेल्न पाएका थिएनन्। यसकारण एकैपल्ट सिटी जस्तो बलियो विपक्षीविरुद्ध सब्स्टिच्युट भएर मैदान छिर्दा दबाब हुन्छ नै। तर पनि उनले चित्तबुझ्दो प्रदर्शन गनै सफल भए,’ पोर्टरले भने।

यो सिजनको सुरुबाटै आबुमेयाङ चेल्सीका लागि पहिलो रोजाइका खेलाडी होइनन्। पर्याप्त खेल्न नपाउने भएपछि खेलाडी धारिलो रहन नसक्नु स्वाभाविक हो। तर उनी थकित देखिन्छन्। योचाहिँ स्वाभाविक होइन। विश्वकप खेल्नु नपरेपछि उनले बीचमा पर्याप्त आराम पाएका थिए।

आबुमेयाङले आर्सनल करियरको उत्तरार्धमा जुन परिस्थितिबाट गुज्रिएका थिए, त्यस्तै परिस्थितिको सामना उनले चेल्सीमा गर्नुपरेको छैन। चेल्सीसँग उनको सम्बन्ध ठिकठाक छ। तर यति हुँदाहुँदै पनि उनी चेल्सी बर्हिगमनको नजिक छन्।

खासम चेल्सी आफैँ अप्ठ्यारो स्थितिमा छ। आबुमेयाङ टिमका एक्ला स्ट्राइकर हुन्। त्यसै पनि चेल्सीसँग अग्रपंक्तिमा पर्याप्त खेलाडी छैनन्। काई हार्भट्सले स्ट्राइकरका रूपमा आफूलाई प्रमाणित गर्न सकेका छैनन्। स्टर्लिङसँगै क्रिस्टियन पुलिसिक हाल घाइते छन्। यी दुई विंगर जस्तै स्ट्राइकर अर्मान्डो ब्रोजा पनि मैदानबाहिर छन्।

त्यहीमाथि सरुवा बजारमा स्थापित स्ट्राइकर स्थान्तरणका लागि उपलब्ध छैनन्। चेल्सीले केही दिनअघि युवा स्ट्राइकर डाट्रो फोफानालाई अनुबन्ध गरेको छ। तर आइभरीकोस्टका यी २० वर्षीय खेलाडी सिधैँ चेल्सीको पहिलो एघारमा पर्ने सम्भावना कम छ। चेल्सीले जाओ फिलिक्स अनुबन्ध गर्ने चर्चा छ। यद्यपि एट्लेटिको म्याड्रिडका फिलिक्स स्ट्राइकर होइनन्। उनले चेल्सीमा देखिएको गोल अभाव पूर्ति गर्ने सम्भावना न्यून छ।

यस्तोमा आबुमेयाङले चेल्सी छाडिहाले पोर्टरसँग सिनियर स्ट्राइकर हुने छैनन्। उनले भएका विंगर र अट्याकिङ मिडफिल्डरबाट काम चलाउनु पर्नेछ। १७ खेलमा २० गोल गरेको टिमका प्रशिक्षकका लागि यो सही परिस्थिति होइन। निरन्तर गोल गर्ने स्ट्राइकरबिना चेल्सी १० औँ स्थानबाट शीर्ष चार नजिक कसरी पुग्ला? समर्थकको मुख्य चिन्ता यही हो।

उसो त चेल्सीमा स्ट्राइकर अभाव भएको निकै भयो। रोमेलु लुकाकुलाई इन्टर मिलानबाट ल्याइए पनि गोल अभावको समस्या समाधान भएन। टिमो बेरनर पनि जर्मनी फर्किसके। आबुमेयाङले उद्वार गर्लान् भन्ने आशा थियो। त्यो पनि पूरा हुने छाँटकाँट छैन।

अहिले आएर प्रिमियर लिगका विश्लेषक आबुमेयाङलाई अनुबन्ध गर्ने निर्णय गलत थियो भनिरहेका छन्। जबकि ६ महिनाअघि चेल्सीको तारिफ हुँदै थियो। एक करोड ३० लाख पाउन्ड खर्च गरेर आबुमेयाङलाई भित्र्याइँदा चेल्सीले बल्ल सही स्ट्राइकर छनोट ग¥यो भन्ने धेरै थिए। अरु त अरु चेल्सीकै मिडफिल्डर मिडफिल्डर माटियो कोभाचिचले पनि यसो भनेका थिए, ‘चेल्सीमा आबुमेयाङ जस्तो फिनिसरको अभाव थियो।’

आबुमेयाङले अनुशासन पालाना नगरेको भन्दै रिसाएको आर्सनलले उनलाई बिक्री गर्नु ठिक थियो। यसको मतलब चेल्सीले उनलाई अनुबन्ध गर्नु ठिक थिएन भन्ने होइन। बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेज आबुमेयाङको बहिर्गमनलाई लिएर असन्तुष्ट बनेका थिए। यसले पनि के देखाउँछ भने, आबुमेयाङ युरोपका ठूला क्लबका लागि खेल्न योग्य छन्।

बार्सिलोनामा आबुमेयाङले छोटो समयमै आफूलाई प्रमाणित गरेका थिए। गत सिजन ला लिगाका १७ खेलमा ११ गोल गर्नु यसको प्रमाण हो। उनले रियल म्याड्रिडविरुद्ध नै दुई गोल गर्दा बार्सिलोना झुमेको थियो। फेरि उनले क्याम्प नौउमा देखाएको व्यवहार जाभी र बार्सिलोना समर्थक बेखुस हुने खालको पनि थिएन।

‘यहाँ आउने बित्तिकै उनले गोल गर्न सुरु गरे, त्यो हाम्रा लागि उनले लगाएको ठूलो गुण हो। मैदानभित्र र बाहिर उनको व्यवहार असाध्यै शालीन रह्यो। प्रत्येक दिन उनी मुस्कुराउँदै अभ्यासमा आउँथे। उनी जस्तो खेलाडी गुमाउनु पर्दा मलाई पीडा भएको छ,’ आबुमेयाङ चेल्सी जाँदै गर्दा जाभीले भनेका थिए। बायर्न म्युनिखबाट रोबर्ट लेवान्डोस्की बार्सिलोना जाने भएपछि आबुमेयाङले ठाउँ खाली गर्नु परेको थियो।

आबुमेयाङले आर्सनलमा पहिलो सिजन नै प्रिमियर लिगका १३ खेलमा १० गोल गरेका थिए। दोस्रो र तेस्रो सिजन २२/२२ गोल गरे। चौथो सिजन उनको लय केही खस्किए पनि लिगमा उनले गरेको गोल १० भन्दा कम थिए। सन् २०२१/२२ सिजनका १४ खेलमा चार गोल गरेर उनी बार्सिलोना लागे। आर्सनलमा उनले गरेको गोल संख्या हेर्ने हो भने आबुमेयाङ कुन स्तरका स्ट्राइकर हुन् भन्ने प्रस्ट हुन्छ।

आबुमेयाङको स्थान्तरण चेल्सीका लागि जुवाभन्दा कम थिएन। तर यसले चेल्सीलाई घाटा हुने थिएन यदि थोमस टुकल र गाबोनका यी स्ट्राइकरबीचको साझेदारी छोटो समयमा सीमित नभएको भए। यस्तो दाबी गर्नुको कारण छ। कारण हो, बोरुसिया डर्टमन्डमा आबुमेयाङले टुकलको प्रशिक्षणमा गरेको प्रदर्शन। टुकलको प्रशिक्षणमा खेल्दा आबुमेयाङले ९५ खेलमा ७९ गोल गरेका थिए।

‘उनले डर्टमन्डमा जसरी नै खेल्न सक्छन् भन्ने विश्वास छ,’ आबुमेयाङलाई बार्सिलोनाबाट स्टाम्फोर्ड ब्रिजमा ल्याएपछि टुकलले भनेका थिए, ‘उनी कुन स्तरका स्ट्राइकर हुन भन्ने सबैलाई थाहा छ। उनी गोल गर्न माहिर त छन् नै, बल नहुँदा पनि मेहनत गरेर खेल्छन्।’

टुकललाई चेल्सीका नयाँ मालिकहरूले सक्दो साथ दिएकै हुन्। गएको ‘समर विन्डो’ मा चेल्सीले करिब २५ करोड पाउन्ड खर्च गरेको थियो। रोमेलु लुकाकुका लागि त कीर्तिमानी रकम नै खर्च ग¥यो। आफ्नै आग्रहमा लुकाकुलाई चेल्सी फर्काइएको भए पनि टुकलले उनलाई सातौँ खेलपछि विश्वास गर्नै छाडे। आखिरमा टुकल र लुकाकु नै चेल्सीमा टिकेनन्।

टुकल बर्खास्त हुँदा आबुमेयाङले निराश व्यक्त गरेका थिए। टुकलको स्थानमा प्रशिक्षक बनेका पोर्टरको नेतृत्वमा चेल्सीले बलियो सुरुवात गरेको थियो। आबुमेयाङले नै सुरुका पाँच खेलमा तीन गोल गरेका थिए। चेल्सीसँग अनुबन्धित हुनै लाग्दा बार्सिलोनामा डकैतीको सिकार बनेका आबुमेयाङको तारिफ पोर्टरले बारम्बार गरे।

तर केही समयपछि नै थाहा भइहाल्यो, पोर्टरको रोजाइमा आबुमेयाङ पर्दैनन् भनेर। इंग्लिस प्रशिक्षक पोर्टरको शैलीमा आबुमेयाङ अट्दैनन् भन्ने झनै प्रस्ट भयो, जब पूर्वब्राइटन प्रशिक्षकले अग्रपंक्तिका लागि नयाँ खेलाडी खोज्न थाले।

आबुमेयाङले चेल्सीका लागि गोल गर्न नसकेको तीन महिना भयो। यो बीचमा उनले १० खेल खेलेका छन्। तर यहाँ के बुझ्न आवश्यक छ भने आबुमेयाङ मात्र होइन चेल्सीका अरु खेलाडी पनि गोल गर्न संघर्षरत छन्। यो सिजन चेल्सीका उच्च गोलकर्ता काई हाभर्ट्स र रहिम स्टर्लिङले गरेको गोलकै संख्या चार/चार मात्र छ।

आबुमेयाङले चेल्सीको जर्सीमा सबैखाले प्रतियोगितामा गरेर कुल १६ खेल खेलेका छन्। तथ्यांक केलाउने हो भने उनको ‘सुटिङ एक्युरेसी’ सिटीका एर्लिङ हालान्डको भन्दा मजबुत छ। उनले १६ खेलमा गोल गर्ने पाँच ‘ठूला मौका (बिग चान्स)’ पाएका छन्। पाएका मौकामध्ये ४० प्रतिशतलाई गोलमा परिणत गरेका छन्। यो सिजन किलियान एम्बाप्पे र लेवान्डोस्कीले आफूले पाएका अवसरमध्ये ४१.६७ प्रतिशतलाई गोलमा परिणत गरेको तथ्यांक छ। यसरी तथ्यांकको गहिराईमा जाने हो भने चेल्सीमा आबुमेयाङले ठिकठाक खेलिरहेको देखिन्छ।

तर पनि किन उनको चेल्सी करियर संकटमा परेको छ? यसको कारण उनी आफैँ हुन्।

सन् २०२० मा आर्सनलसँग सम्झौता नवीकरण गर्न फकाउने क्रममा आबुमेयाङलाई मिकेल आर्टेटाले यसो भनेका थिए, ‘तिमी अर्को ठूलो क्लबमा गयौँ भने केही उपाधि जितौँला। तर आर्सनलमा रह्यौँ भने तिम्रो विरासत निर्माण हुनेछ। तिमी यो क्लबको इतिहासमा महान् खेलाडीका रुपमा दर्ज हुनेछौँ।’

आर्टेटाको सुझाव मानेर आबुमेयाङले आर्सनलमा सम्झौता त नवीकरण गरे तर व्यवहार भने महान् खेलाडी बन्ने खालको देखाएनन्। अभ्यासमा बारम्बार ढिलो आउने, क्लबले अनुमति दिएको भन्दा बढी समय बिदामा हुने आदि भएपछि आबुमेयाङ र प्रशिक्षक आर्टेटाबीच सम्बन्ध बिग्रिएको थियो। आबुमेयाङले कोभिड–१९ सम्बन्धी नियम पनि पालना नगरेको बताइन्छ।

लामो समय प्रशिक्षकका मित्र रहेका आबुमेयाङलाई आर्सनलले अन्ततः विकल्प दियो, स्थान्तरण। ‘आबुमेयाङको आर्सनल बसाइ टुंगिदा मलाई दुःख लागेको छ,’ आर्टेटाले भनेका थिए।

झट्ट हेर्दा आबुमेयाङलाई समयले साथ नदिए जस्तो देखिन्छ। तर उनी अप्ठ्यारामा पर्नुको कारण उनको व्यवहार र गलत निर्णय हुन्। नत्र उनी यतिबेला लिग लिडरको कप्तानी गरिरहेका हुन्थे। जसरी उनले एफए कप जित्दा र युरोपा लिगको फाइनलमा पुग्दा टिमको नेतृत्व गरेका थिए।

परिस्थिति पनि कस्तो, उनी यस्तो टिमको बेन्चमा छन् जसको पहिलो एघारमा स्ट्राइकर हुँदैनन्। र यो परिस्थितिको निर्माता उनी आफैँ हुन्।

प्रकाशित: २६ पुष २०७९ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =