रातो मच्छिन्द्रनाथको रथारोहण

हिमाल प्रेस १५ वैशाख २०८२ १९:४७ | Monday, April 28, 2025
रातो मच्छिन्द्रनाथको रथारोहण तस्बिर : रासस

काठमाडौँ– ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ।

हरेक वर्ष बैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनअनुसार सोमबार रथारोहण गरिएको हो। मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तः बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।

मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलनअनुसार गत मंसिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो। मछिन्द्रनाथको रथ ३२ हात लामो र ४८ फिट अग्लो रहेको छ।

पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको छलफलपछि रथ तान्ने साइत निकालिन्छ। मूर्तिलाई रथमा राखेको तीन दिनमा रातो मच्छिन्द्रनाथ रथ तानेर पुल्चोकमा राखिन्छ। त्यसको भोलिपल्ट पुल्चोकदेखि गाःबहालसम्म रथ तान्ने गरिन्छ।

मछिन्द्रनाथको रथ गाःबहालबाट मंगलबजार त्यस पछि सुन्धारा, लगनखेल हुँदै जावलाखेल लैजाने चलन छ। जावलाखेलमा पहिले राजाले भोटो देखाएर सम्पन्न गर्ने यो जात्रामा अहिले राष्ट्रपति सहभागी हुने चलन छ। भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहालमा पुर्‍याई विराजमान गराइन्छ।

उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

प्रकाशित: १५ वैशाख २०८२ १९:४७ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast