ओलीले किन रोजे रघुजी?

किरण पौडेल १३ वैशाख २०८२ २१:२०
568
SHARES
ओलीले किन रोजे रघुजी?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी दिएपछि अनेक प्रकारका टिप्पणी हुन थालेका छन्। कुनै बेला आफ्ना निकै आलोचक मानिने रघुजी मन्त्री बनेपछि कतिपय एमाले नेताहरूले आश्चर्य मानेका हुन्।

रघुजी समानुपातिक सांसद हुन्। एमाले नेताहरू भन्छन्, ‘रघुजी मन्त्री बन्नु कुरा उहाँ स्वयंलाई पनि अचम्मित बनाउने विषय हो।’ यसअघिकी शिक्षामन्त्री विद्या भट्टराई बाहिरिएपछि एमालेभित्रका विभिन्न नेताको नाम आइरहेको थियो।

ओलीले आलोचक वा फरक मत राख्ने भन्दा आफ्ना ‘आसपास’का नेतालाई मौका दिने अनुमान थियो। ओलीले राष्ट्रियसभामा सिफारिस गरेकी सांसद अञ्जान शाक्यको नामसमेत चर्चामा थियो। यद्यपि उनी आफैँले खण्डन गरिन्।

एमाले स्रोतका अनुसार विद्याले राजीनामा दिनेबित्तिकै शाक्यसहितका केही नेतालाई ओली अगाडि बढाउने तयारीमा थिए। विरोध हुने अनुमानले रघुजीलाई अघि सारेको एमाले सचिवालयका एक सदस्यले बताए।

विद्या बाहिरिँदा ओलीमाथि अनेक प्रश्न नउठेका होइनन्। अहिले चलिरहेको विद्यालय शिक्षा विधेयकमा ओली ‘अनुदार’ बन्दा विद्या असन्तुष्ट रहेको ती सदस्यले बताए।

ओली सचिवालयकै नेताहरूसँग पनि विद्याको टकराव रहेको स्रोतको दाबी छ। सचिवालयका ती सदस्यले भने, ‘विद्या बाहिरिनुको कारण स्वास्थ्य समस्या मात्रै होइन, यसमा विद्यालय शिक्षा विधेयकमा उनले लिएको अडान पनि हो।’

अब शिक्षा मन्त्रालयको कार्यभार रघुजीको काँधमा पुगेको छ। उनको पहिलो जिम्मेवारी छ- विद्यालय शिक्षा विधेयकलाई ऐनमा परिणत गरी आन्दोलित शिक्षकलाई घर फर्काउनुपर्ने अभिभारा रघुको अगाडि छ। यतिमात्र होइन, निजीदेखि उच्चशिक्षासम्मका समस्या समाधान गर्नु पनि रघुको दायित्व हो। यी सजिलो छैन। यो ‘विषम परिस्थिति’मा रघुजीलाई ओलीले किन अघि बढाउन चाहे यो अचम्म बनाउने विषय छ।

रघुजीलाई नजिकबाट बुझ्नेहरू ओलीले उनको क्षमता बुझेर जिम्मेवारी दिएको दाबी गर्छन्। लेखक एवं पत्रकार नारायण ढकालका अनुसार रघुजी क्षमतावान् र अध्ययनशील क्षमताका नेता हुन्। उनी परिस्थितिअनुसार फरकफरक नेतासँग सहकार्य गर्न सक्ने नेतामा पर्छन्। ‘उहाँ (पन्त) पहिले सीपीसँग पनि सँगै रहनुभयो। पछि माधव नेपालसँग पनि काम गर्नुभयो,’ ढकाल भन्छन्, ‘अहिले ओलीसँग पुग्नुभयो।’

राजनीतिक विश्लेषक प्रमोद दाहाल पनि रघुजी क्षमतावान्/अध्ययनशील भएकाले ओलीले अवसर दिएको बताउँछन्। ‘प्रधानमन्त्रीले आफ्नो क्याबिनेटमा काम देखाउने नेता लग्न खोजेको देखिन्छ। विद्यालय शिक्षा विधेयक पारितसहितका विषयलाई किनारा लगाउन रघुजीलाई अघि बढाउन चाहिएको हो’, दाहाल भन्छन्।

एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि रघुजी  माधव नेपालका निकटस्थ थिए। त्यसअघि नेपाल प्रधानमन्त्री बन्दा पन्त प्रमुख राजनीतिक सल्लाहकार थिए। त्यति बेला नेपालको राजनीतिक र नीतिगत विषय मिलाउने जिम्मेवारी रघुजीले पाएका थिए।

नेपालका नजिक रहेका रघुजी सँगसँगै जान सकेनन्। नेपालले एमाले छाड्दा रघुजी एमालेमै रहे। नेपालको बुझाइमा रघुजीले धोका दिएका थिए।

नेकपा एकीकृत समाजवादी निर्माण प्रक्रियामा साथ दिए पनि अन्तिम घडीमा रघुजीहरू एमालेमै रहे। नेपाल निकटस्थहरूका अनुसार त्यसबेला रघुजी बाध्यताले एमालेमा रहेका थिए। ‘साथीभाइहरूका कारण छुट्न सकिनँ’, रघुजीले निकट नेताहरूसँग भनेका थिए।

त्यतिबेला रघुजीको राजनीतिक भविष्यमाथि प्रश्न उठेको थियो। ओलीको शैलीसँग मिल्न नसक्दा रघुहरू अप्ठ्यारोमा पर्ने अनुमान थियो। तर त्यस्तो भएन। तिनै रघुजी एमाले स्थायी कमिटी सदस्य बने भने एमालेको समानुपातिक कोटाबाट सांसद पनि। ओलीकै आग्रहमा रघुजी एमाले खसआर्य कोटाबाट समानुपातिक सांसद भएका थिए। अब तिनै ओलीको क्याबिनेटमा रघुजी मन्त्रीका छन्।

रघुजी मन्त्री बन्नुलाई एमाले नेताहरू अनपेक्षित मान्छन्। कतिपयले स्वाभाविक पनि। एमाले महासचिव शंकर पोखरेलले रघुजी मन्त्री बन्ने विषय स्वाभाविक रहेको बताएका छन्।

‘संसद् विघटनमा ओलीलाई साथ दिनेहरू अहिले रक्षात्मक छैनन्। ओलीको पहिले टिम बिग्रिंदै गएको छ भने नयाँ टिम आइरहेको छ’, एमालेका अर्का एक नेता भन्छन्, ‘असन्तुष्टि घटाउने कार्ड ओलीले रघुजीमा प्रयोग गरेको हो।’

एमाले नेताहरूका अनुसार फेरि रघुजी सांसद बन्ने सम्भावना कम छ। किनभने उनी समानुपातिक सांसद बनेका हुन्। यसपटक उनी मन्त्रीका आकांक्षी थिए। यही मनोकांक्षा पूरा गर्न पनि ओलीले प्राथमिकतामा राखे।

रघुजीले ओलीको बचाउ गर्दै आएका थिए। उनले मन्त्रिपरिषद्ले गरेका विवादास्पद निर्णयको समेत बचाउ गरेका थिए।

असफल विगत, अग्निपरीक्षामा कार्यकाल

यसअघि पनि रघुजी मन्त्री बनेका नेता हुन्। उनले राजतन्त्रकालमै २०६१ मा श्रममन्त्रीको जिम्मेवारी पाएका थिए। त्यसबेला उनी लुम्बिनी ओभर्सिज म्यापावर कम्पनी प्रकरणमा आलोचित बनेका थिए। रघुजी २०५२ सालमा बनेको पहिलो कम्युनिस्ट प्रधानमन्त्री प्रधानमन्त्री मनमोहन अधिकारीको प्रेस सल्लाहकार बनेका थिए भने २०६६ सालमा प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख सल्लाहकार बनेका थिए।

यसअघि रघुजी अभिव्यक्तिका कारण विवादित बनेका थिए। ओली-नेपाल विभाजित बन्दा रघुजी गायिका एवं तत्कालीन राष्ट्रियसभा सदस्य कोमल वलीविरुद्ध स्त्रीद्वेषी भाषा प्रयोग गरेको भन्दै विवादमा तानिएका थिए। यो अभिव्यक्तिको विषय अदालती प्रक्रियामा समेत पुगेको थियो।

शिक्षककै अडानले आजित बनाउन सक्छ रघुजीलाई

नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनमा सहभागी शिक्षकहरू शिक्षा ऐन जारी नभएसम्म फर्कने पक्षमा छैनन्। शिक्षकहरू आन्दोलित हुँदा एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन। विद्यालयमा नयाँ भर्ना अभियान थालनी भएको छैन। नयाँ कक्षामा जान तयार बालबालिका घरमै बस्न बाध्य छन्। कक्षा १२ को परीक्षा नौ दिन पर सरेको छ। यस्तो अवस्थामा शिक्षामन्त्री भएका रघुजीतर्फ सबैको ध्यान गएको छ। त्यसैले उनले पहिला यी समस्या सम्बोधन गर्नुपर्नेछ।

विद्यालय शिक्षा ऐन संसदीय समितिमा विचाराधीन छ। शिक्षकहरूको आन्दोलन तीन साता बितेपछि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन्। शिक्षकहरूको मागमा गुणस्तरीय शिक्षाभन्दा विद्यालय तहका १८ थरी शिक्षक, कर्मचारी र बालविकास शिक्षकका पेसासँग सम्बन्धित विषय प्राथमिकतामा छन्। यसअघि पटकपटक भएका सहमतिमा पनि तिनै माग पूरा गर्ने सरकारी प्रतिबद्धता छ। अब यसलाई रघुजीले कसरी पार लगाउनेछन्, आगामी दिनले नै बताउला।

प्रकाशित: १३ वैशाख २०८२ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast