हिमालयमा हिउँ २३.६ प्रतिशतले घट्यो : अध्ययन

हिमाल प्रेस ११ वैशाख २०८२ १०:४८
6
SHARES
हिमालयमा हिउँ २३.६ प्रतिशतले घट्यो : अध्ययन ग्राफिक्स साभार : इसिमोड

काठमाडौँ- सन् २०२५ मा हिन्दुकुश हिमालय क्षेत्रमा लगातार तेस्रो वर्ष सामान्यभन्दा कम हिउँ परेको छ। हिउँको स्थायित्व (हिउँ परेपछि जमिनमा रहने अवधि) पनि २३.६ प्रतिशतमा झरेर अहिलेसम्मकै न्यूनतम स्तरमा पुगेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) को पछिल्लो अध्ययनले देखाएको हो।

सामान्यभन्दा कम हिउँ पर्दा हिन्दुकुश क्षेत्रका उच्च भूभागबाट उत्पत्ति भएका १२ ठूला नदी प्रणालीमा भर पर्ने लगभग दुई अर्ब मानिसको जीवनमा असर परेको अध्ययनको निष्कर्ष छ।

‘यस क्षेत्रीय हिउँ संकट र यसले दीर्घकालीन खाद्य, पानी र ऊर्जासम्बन्धी सहनशीलतामा पार्ने असर सम्बोधन गर्न हामीले वैज्ञानिक आधारमा आधारित, भविष्यमुखी नीतिहरूको अवलम्बन गर्नुपर्ने र सीमा पार पानी व्यवस्थापन र उत्सर्जन न्यूनीकरणका लागि क्षेत्रीय सहकार्यलाई पुनः सशक्त पार्न आवश्यक छ’, इसिमोडका महानिर्देशक पेमा ग्याल्त्सोले भने। उनका अनुसार कार्बन उत्सर्जनले हिन्दुकुशमा बारम्बार देखिने हिमपात असन्तुलनलाई यसअघि नै अपरिवर्तनीय बनाइसकेको छ।

औसतमा मौसमी हिउँ पग्लेर आउने पानीले यी नदीहरूको वार्षिक वहाबको करिब चौथाइ हिस्सा पूर्ति गर्छ। तर हिउँ पग्लने पानीमा निरन्तर कमी आउँदा तटीय क्षेत्रका लागि ग्रीष्म ऋतुको प्रारम्भमै पानीको अभावको खतरा उत्पन्न गर्नुका साथै तापक्रम वृद्धिका कारण थप संकट निम्त्याउने अध्ययनमा उल्लेख छ।

२०२५ को हिउँसम्बन्धी अध्ययन प्रमुख विज्ञ शेर मुहम्मदले भने, ‘हामीले लगातार यस्ता हिउँ अभावका अवस्थाहरू देखिरहेका छौँ। यो अत्यन्तै गम्भीर प्रवृत्ति हो। हाम्रो अनुसन्धानले सम्पूर्ण क्षेत्रको एक समग्र चित्र दिन्छ तर पानीको मुख्य स्रोत मौसमी हिउँ भएका प्रत्येक देश वा क्षेत्रले आफ्ना नदी प्रणालीको विशिष्ट अवस्थाका आधारमा निर्णय लिन आवश्यक छ।’

अध्ययन प्रतिवेदनअनुसार सबैभन्दा गम्भीर हिउँ टिकाइको गिरावट मेकोङ (-५१.९%) र सालविन (-४८.३%) नदी प्रणालीमा देखिएको छ, त्यसपछि तिब्बती उच्चभूमि (-२९.१%), ब्रह्मपुत्र (-२७.९%), याङ्त्से (-२६.३%) र गंगा (-२४.१%) नदी प्रणालीहरूमा पनि तीव्र गिरावट देखिएको छ।

गङ्गा नदी प्रणालीले सन् २०१५ मा सबैभन्दा उच्च हिउँ टिकाइ (+३०.२%) देखाएको थियो। सन् २०२५ मा यो २३ वर्षयताकै न्यूनतम (-२४.१%) मा घटेको छ। अध्ययनअनुसार नेपालका कोशी, कर्णाली र गण्डकी नदी प्रणालीमा ग्रिष्म सुरुमा पानीको प्रवाह घटाउने सम्भावना छ।

प्रकाशित: ११ वैशाख २०८२ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast