राप्रपा नेतृत्वले छाती ठूलो बनाएपछि मात्रै आन्दोलन सशक्त हुन्छ : डा. प्रकाशचन्द लोहनी [अन्तरवार्ता]

किरण पौडेल ९ वैशाख २०८२ १७:३८
224
SHARES
राप्रपा नेतृत्वले छाती ठूलो बनाएपछि मात्रै आन्दोलन सशक्त हुन्छ : डा. प्रकाशचन्द लोहनी [अन्तरवार्ता]

राजतन्त्र समर्थकहरू राजसंस्था पुनःस्थापनाको नारा लिएर आन्दोलन गरिरहेका छन्। यद्यपि उनीहरू एकजुट हुन सकेका छैनन्। कतै पार्टी त कतै समितिमार्फत आन्दोलन  का छन्। राजसंस्थाको एजेन्डा बोकेको मुख्य शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि आन्दोलनमा छ। विभिन्न समूहमा विभाजित हुँदा आन्दोलन कमजोर बनेको आरोप लागिरहेको छ। राजावादी शक्ति किन एक भएर आन्दोलन गर्दैनन् वा राजसंस्थासम्बन्धी आन्दोलन कसरी अघि बढ्छ भन्ने विषयमा राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीसँग किरण पौडेलले गरेको  कुराकानी :

राजसंस्था पुनःस्थापित गर्ने योजना चलिरहेको आन्दोलन कसरी अघि बढ्दै छ?

हो, हामीले अहिले संवैधानिक राजसंस्थाको माग राख्दै आन्दोलन गरिरहेका छौँ। यो आन्दोलनको प्रारम्भिक स्वरूप मात्र हो। आन्दोलन निरन्तर बढ्छ। नेपाली जनताले गणतन्त्र/प्रजातन्त्रलाई नियालेका छन्। जनताकै नाममा शासकहरूले शोषण गरिरहेका छन्। शासनमा बस्नेहरूले नेपाली जनताले तिरेको कर वा विदेशबाट आएको रकम लुटेर लैजान्छन्। उनीहरू सीधै चोर्छन् भनौँ न। यही कुरा जनतालाई सह्य छैन/हुँदैन।

शासकहरूले नेपाली जनतामाथि लुटपाट गरिरहेका छन्। जनता आक्रान्त बनेपछि उनीहरूले अहिले राजसंस्थासहितको बहुदलीय प्रजातन्त्रप्रति प्रतिबद्ध दलको अपेक्षा गरेका छन्। त्यो भनेको अहिलेको नेपाली कांग्रेस, एमाले र माओवादी होइन। किनभने तिनीहरूबाट यो सम्भव छैन। तीनै दल राज्यको लुटमा हाक्काहाक्की संलग्न छन्।

यिनीहरू एकअर्कालाई संरक्षण गर्न र भ्रष्टाचारको लुटको संरक्षण गर्न एक भइहाल्छन्। त्यसकारण एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक छ। त्यो भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी हो। अर्को कुरा, आन्दोलन एकैपटक सुरु हुने वा बन्द हुने होइन। यो त चलिरहने प्रक्रिया हो।

तपाईं राप्रपाको अपरिहार्य छैन भन्नुहुन्छ। सडकमा राप्रपाको नेतृत्वको आलोचना गर्दै अन्य शक्ति देखिएका छन्। राप्रपाको विकल्प थिएन भने ती शक्तिहरू सडकमा किन आउनुपर्थ्यो ?

राप्रपाले नेपालमा राजसंस्था, बहुदलीय प्रजातन्त्र र उदारवादी अर्थतन्त्र कायम राख्ने सबै शक्तिहरूसँग एकता र सहकार्य गर्नुपर्छ। सबैसँग सहकार्य गर्ने भन्ने नीति राप्रपाको मूल आन्दोलन समितिबाट पारित भएको छ। जुन समितिमा पार्टीका सबै केन्द्रीय सदस्यहरू संलग्न छन्। समितिले सबै प्रस्ताव पारित गरिसकेको छ। त्यस्तो आन्दोलनमा सहयोग गर्ने निर्णय गरिसकेको हुनाले त्यस दिशामा हामी अघि बढिसक्यौँ। राप्रपाको नेतृत्वले पनि त्यो काम गर्नुपर्छ/गर्छ।

अहिले राजसंस्था पुनःस्थापनाका लागि अर्को समिति बनेको छ। जसको नेतृत्व राप्रपाकै पुराना नेता नवराज सुवेदीले गर्नुभएको छ। राप्रपाले राजसंस्थाको आन्दोलन  किन नगरेको?

त्यसलाई हामीले आपत्ति मान्नु पर्दैन। किनभने यस्ता तमाम समितिहरू बन्छन्। अरू बने पनि आपत्ति मान्नु पर्दैन। सहकार्य गरेर, मोर्चा बनाएर उनीहरूसँग हातेमालो गरेर समान उद्देश्यका लागि अघि बढ्नुपर्छ।

२०६२/२०६३ को जनआन्दोलनमा पनि कांग्रेस, एमाले र माओवादीले सहकार्य गरेका थिए। ती सबै संस्थाबीच कार्यगत एकता वा अन्य कुनै किसिमको एकता अपरिहार्य हुन्छ। त्यसबारे राप्रपाले निर्णय लिएर चाँजोपाजो मिलाउनुपर्छ।

यति हुँदाहुँदै पनि एउटा शक्तिले अर्को शक्तिलाई कार्यक्रममा नजान अनुरोध गरेको छ। सुवेदी नेतृत्वको कार्यक्रममा राप्रपाको मूल नेतृत्व पुगेको देखिँदैन। कहाँनेर तालमेल नमिलेको हो?

यसो हो नि, सँगै मिलेर/सहकार्य गरेर जाने काम सजिलो होइन। सबैका आफ्नै कार्यशैली हुन्छन्। त्यसैले सबै पक्षलाई मिलाउन चुनौती छ। त्यसका लागि राप्रपाको नेतृत्वले ठूलो छाती राखेर सहकार्य गर्न जरुरी छ। ठूलो एजेन्डा बोक्न साना कुरामा अलमलिनु हुँदैन। अनि मात्रै आन्दोलन सशक्त हुन्छ।

केही दिनअघि तपाईंहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि भेट गर्नुभयो। किन भेट्नुभएको हो?

हामीलाई राजाबाट लन्चका लागि बोलाइबक्सेको थियो। हामी गयौँ। त्यहाँ के भयो भन्ने कुरा मैले भन्नु पर्दैन। म भन्दा पनि भन्दिनँ। यतिचाहिँ भन्न मिल्छ, त्यहाँ हाम्रो भेटघाट भयो।

पूर्वराजाले के विषयमा चासो राख्नुभयो?

राजाबाट देशको परिस्थिति के छ? कसरी गइरहेको छ? जनताको अवस्था के छ? भन्ने जिज्ञासा राख्दै प्रजातन्त्र र राष्ट्रलाई बचाएर लैजानुपर्छ, राष्ट्रिय स्वतन्त्रता/सार्वभौमिकतालाई जोगाएर अघि बढ्नुपर्छ भन्ने धारणा अभिव्यक्त भएको थियो।

राप्रपाको यसअघिको आन्दोलन कमजोर भएको टीकाटिप्पणी भइरहेको छ। संख्यात्मक रूपमा एकदमै कम कार्यकर्ताको मात्र जमघट भएको, नेताहरू पनि निर्णय गरिएको भन्दा फरक ठाउँबाट आन्दोलनमा उत्रिएको भन्ने कुरा आइरहेको छन्। बबरमहलतिर देखिनुपर्ने सिंहदरबारभित्रै गिरफ्तार दिएको भन्ने सुनिन्छ, के हो कुरा?

आइतबारको आन्दोलनमा हामीले जनतालाई  डाकेका थिएनौँ। पार्टीको क्षेत्रीय तहसम्मको कार्यकर्ताको संलग्नता पनि थिएन। त्यो कार्यक्रम/आन्दोलन सांकेतिक जस्तो पनि हो। सरकारले गरेका कामको विरोध छ भनेर देखाउने सांकेतिक प्रदर्शन गरिएको हो। हामीले आह्वान गरेको भए देशभरबाट हजारौँ हजार जनताको भीड लाग्थ्यो। तर आन्दोलन एकै तरिकाले हुँदैन। आन्दोलन लहर हो।

यो लहरले कहिलेसम्म पूर्वराजालाई सिंहासनमा राख्न सकिएला?

यो राजा होइन संवैधानिक राजसंस्था हो। संवैधानिक राजसंस्था र प्रजातन्त्रलाई बलियो बनाउने पार्ने काम हो। राजसंस्थासम्बन्धी कसैले गरेको कार्यक्रमलाई नेपाल सरकारले रोक लगाएको छ। घरभित्र पनि कार्यक्रम गर्न रोक लगाएको छ। यो अधिनायकवादी शैली हामी मान्दै मान्दैनौँ। राजसंस्था आउने समय म भन्न सक्दिनँ। जनता राप्रपाले आन्दोलनलाई नेतृत्व लिएर अघि बढोस् भन्नेमा छन्।

राप्रपाले आन्दोलन गरेन वा सकेन भने अरू संस्था आउँछन्। राजसंस्थाको लहरमा जनता लागेका छन्। उनीहरू कसैलाई पर्खेर बस्नेवाला पनि छैनन्। राप्रपाले यो कुरा बुझेको छ। हामी त्यहीअनुसार काम गर्छौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast