
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँमा जारी सडक आन्दोलन तीन साता पुगेको छ। शिक्षकहरूको छाता संस्था महासंघमा १५ घटकको प्रतिनिधित्व छ। यी घटकहरू राजनीतिक दलसँग सम्बद्ध छन्। नेपाल शिक्षक संघ नेपाली कांग्रेस निकट हो भने नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एमाले निकट मानिन्छ। यसैगरी एकीकृत अखिल नेपाल शिक्षक संगठन नेकपा माओवादी केन्द्र निकट हो। आन्दोलनमा यी संगठनको विशेष प्रतिनिधित्व छ।
यी तीन संगठनमध्ये सबैभन्दा धेरै शिक्षक नेपाल शिक्षक संघ (एन्टीए) को सदस्य छन्। संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले ९६ हजार शिक्षक संघको सदस्य रहेको जानकारी दिए। शिक्षक सदस्य संख्याका आधारमा दोस्रो ठूलो संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) हो। एनएनटीएका अध्यक्ष विष्णुप्रसाद भण्डारीले एनएनटीएमा ८० हजार शिक्षक सदस्य रहेको जानकारी दिए।
एकीकृत अखिल नेपाल शिक्षक संगठन (यूएन्टो) मा ५० हजार शिक्षक सदस्य रहेको अध्यक्ष शंकर अधिकारीले बताए। एन्टीए र एनएनटीएले प्रतिनिध्तिव गर्ने दलहरू क्रमशः नेपाली कांग्रेस र नेकपा एमाले सत्तामा छन्। यूएन्टोले प्रतिनिधित्व गर्ने दल नेकपा माओवादी केन्द्र सत्ताबाहिर छ।
यीबाहेक शिक्षक महासंघमा १२ घटक आबद्ध छन्। महासंघमा आबद्ध सम्बद्ध अन्य घटकहरूमा लछिराम शर्मा ढकाल नेतृत्वको अखिल नेपाल शिक्षक संगठन, सानोभाइ कार्की नेतृत्वको अखिल नेपाल शिक्षक संघ, कुमोद कुमार सिंह नेतृत्वको राष्ट्रिय शिक्षक मञ्च, रवीन्द्र गिरी नेतृत्वको संघीय शिक्षक फोरम, हिक्मत बस्नेत नेतृत्वको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, विष्णु चौधरी नेतृत्वको मधेशी शिक्षक फोरक लोकतान्त्रिक, अतुलकुमार लाल नेतृत्वको लोकतान्त्रिक शिक्षक युनियन, यादवराज पाण्डेय नेतृत्वको नेपाल राष्ट्रिय शिक्षक परिषद्, विजयरत्न बज्राचार्य नेतृत्वको अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, रमाकान्त चौधरी नेतृत्वको मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, गंगाराम तिवारी नेतृत्वको नेपाल विद्यालय कर्मचारी परिषद् र होमकुमार थापा नेतृत्वको संस्थागत विद्यालय शिक्षक युनियन छन्। यी संगठन, मञ्च, परिषद्, युनियनमा सदस्य संख्या न्यून छ।
एन्टीए, एनएनटीए र यूएन्टोको भूमिकाले महासंघको गतिविधिमा प्रभाव पार्दै आएको छ। २०७५, २०७८ र २०८० सालको आन्दोलनमा पनि यी तीन संगठनकै जोडबलमा वार्ता र सहमति भएका थिए। त्यतिबेलै भएका सहमतिअनुसार शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै काठमाडौँमा जारी आन्दोलनमा यी तीन घटकको महत्त्वपूर्ण भूमिकामा छन्।
एनएनटीए महासंघमा आबद्ध भएको धेरै समय भएको छैन। शिक्षा ऐन जारीका लागि महासंघले आन्दोलन घोषणा गर्दा एनएनटीए महासंघसँग गलफत्ती गरेर बाहिर बसेको थियो। गत माघ २३ गते सातबुँदे सहमतिमार्फत एनएनटीए महासंघमा जोडिएको थियो। महासंघले माघ २० गते आन्दोलन घोषणा गरेको थियो। एनएनटीए महासंघमा नजोडिए पनि महासंघलाई आन्दोलन सुरु गर्न दह्रो साथ दिएको थियो नेपाल शिक्षक संघले। यूएन्टोसहित अन्य घटकको साथ पनि महासंघलाई थियो।
जारी आन्दोलन २१ औँ दिनमा चलिरहेको छ। आन्दोलन रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीबाटै दबाब रहेको महासंघका पदाधिकारीहरू बताउँछन्। गत शुक्रबार ओलीले एमालेनिकट पेसागत संघसंगठनका पदाधिकारीहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा एनएनटीएका अध्यक्ष भण्डारी पनि उपस्थित थिए। प्रधानमन्त्री ओलीले महासंघका वार्ता टोलीसँग पनि शुक्रबार राति ९ बजे छलफल गरेका थिए। उक्त छलफलमा प्रधानमन्त्रीले ‘शिक्षा ऐन जारी हुने र आन्दोलन स्थगित गर्न अनुरोध’ गरेका थिए।
एनएनटीए आन्दोलनमा सँगै भए पनि अध्यक्ष भण्डारीले ‘सरकारी भाषा बोल्ने गरेको’ भन्दै आलोचना हुने गरेको छ। भण्डारीले हिमालप्रेससँग नै दुई फरक अभिव्यक्ति दिएका थिए। एक दिनअघि र एक दिनपछि उनलेको बोली फेरिएको थियो। उनले शिक्षा ऐन ‘साउनपछि जारी हुने’ र ‘वैशाखभित्रै जारी हुने’ बताएका थिए।
आन्दोलन सशक्त बनाउन यूएन्टोका अध्यक्ष शंकर अधिकारीको भूमिका पनि कम छैन। उनी प्रतिपक्षी दलको शिक्षक संगठनका अध्यक्ष भएकाले पनि सजिलो छ।
उता नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीलाई आन्दोलन स्थगित गर्न चर्को दबाब छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा र पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अध्यक्ष गिरीलाई दबाब दिएको सोतको भनाइ छ। तर गिरीले अडान कायम राखेका छन्।
महामन्त्रीहरूसँगको छलफलमा गिरीले ‘मसहित ९६ हजार शिक्षकहरूले संघ छोड्न तयार छौँ तर शिक्षा ऐन नलिई फर्किनौँ’ भनेपछि महमन्त्रीहरू हच्किएको स्रोतको दाबी छ। गिरीले हिमालप्रेससँग भने, ‘यो बेला घुट्टा कमाउने छुट छैन। शिक्षा ऐन जारी भएपछि मात्र आन्दोलन स्थगित हुन्छ।’
महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी पनि संघकै हुन्। गिरी र सुवेदीको एकमत र अन्य घटकको साथले आन्दोलन दह्रो बन्दै गएको संघका सदस्यहरू बताउँछन्। उनीहरूका अनुसार सबैको साथ भए पनि ठूलो संस्था भएकाले संघमा बढी जिम्मेवारी छ।
संघका अध्यक्षा गिरीले भने, ‘ठूलो संस्था भएकाले पनि हामीले सबैलाई मिलाएर लैजानुपर्छ। त्यसैले हाम्रो भूमिका धेरै देखिएको हो। यद्यपि यो आन्दोलन हरेक शिक्षक र विद्यालय कर्मचारीको भएकाले सबैको भूमिका बराबरी छ। यहाँ सबै संघसंगठनसहित आन्दोलनमा सहभागी हरेक साथीहरूको योगदानलाई कम आँक्न हुँदैन।’