
बेइजिङ- सोमबार बिहान बेइजिङको मौसम सफा थिएन। बदलीको अवस्था थियो। वर्षाको सम्भावना शतप्रतिशत थियो। यसपटक राम्ररी हिउँ नपरेको बेइजिङमा पानीको एक झर खुसी ल्याउने माध्यम हो। यद्यपि बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरू भने कार्यक्रम पानीले बिथोल्ने हो कि भन्ने शंकामा थिए। एक त कार्यक्रम दूतावास प्रांगणमा व्यवस्था गरिएको थियो भने आगन्तुकको राम्रै उपस्थिति होस् भन्ने चाहना आयोजकलाई हुने नै भयो।
दूतावास काउन्सलर सबिता नकर्मी कार्यक्रमअघिको २/३ देखि नै पानी नपरे हुने भन्दै थिइन्। पानी त पर्यो तर लगभग कार्यक्रमको अन्ततिर मात्रै, जसले गर्दा सुविधापूर्वक कार्यक्रम सम्पन्न भयो।
सबैभन्दा खुसीको कुरा चिनियाँलगायत अतिथिहरूको बाक्लो उपस्थिति थियो। दूतावास परिसर नेपाली खाना स्टल र नेपाली सरसामानका स्टलहरूले भरिएका थिए र चिनियाँहरू नेपाली खानामा झुम्मिएका देखिन्थे। उनीहरूले लामबद्ध भएर नेपाली खाद्य परिकार चाखेका थिए।
दूतावासका अनुसार बोलिभिया, बुल्गेरिया, भारत, पाकिस्तान, जापान, श्रीलंका र पनामाका राजदूतसहित अरू कूटनीतिज्ञहरू, चिनियाँ सरकारी अधिकारीहरू र चिनियाँ तथा नेपाली समुदाय गरी चार सयभन्दा बढीको सहभागिता थियो।
नेपाली खाना स्टलमा नेपालका विभिन्न जातजातिका मौलिक खानाका साथै मःम, सेलरोटी, योमरी, बारा, चटामरी, छोयला, समयबजी, कोदोको खिर, तरकारी, अचार, गुन्द्रुक, मुस्ताङको आलु, क्वाँटीलगायतका नेपाली परिकार पाइन्थ्यो।
खानाका स्टलबाहेक पस्मिना, चाँदीका सरसामान, हस्तकला, थांका, चिया, कफीलगायतका स्टलमा पनि मानिसको भीड देखिन्थ्यो।
नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा सन् २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष मानेको अवसर पारेर बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले नेपाली खानासहित पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल खाना महोत्सव’ आयोजना गरेको हो।
चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र नेपालका लागि चीनका पूर्वराजदूत याङ हौलानले पानसमा बत्ती बालेर कार्यक्रम शुभारम्भ गरेका थिए।
स्वागत मन्तव्यमा राजदूत ओलीले पर्यटनको विकासमा खाना संस्कारको महत्त्व रहेको भन्दै नेपाली खाना चखाउने कार्यक्रमको आयोजना गरेको बताए। उनले हरेक नेपाली परिकारले नेपालबारे बताउने भन्दै सहभागीलाई नेपाल भ्रमण गर्न आग्रह पनि गरेका थिए।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफ्नो भिडियो सन्देशमा नेपाली खाना संस्कृतिको प्रत्यक्ष अनुभव लिन नेपाल भ्रमण गर्न विश्वभरका नागरिकलाई आग्रह गरेकी थिइन्।
वल्ड टुरिजम एलायन्स चीनका उपाध्यक्ष सू फङ तथा चाइना एसोसिएसन अफ ट्राभल सर्भिसेजका उपसचिव चीन चान लिनले चीन र नेपालको मित्रता तथा आदानप्रदानका विभिन्न विषयमा चर्चा गरे। उपाध्यक्ष सू फङले २०२५ लाई नेपाल भ्रमणका रूपमा लिएको र हाल विभिन्न उडानबाट दुई देशबीच ‘बिहानी प्रस्थान दिउँसो आगमन’ सम्भव भएको औँल्याए। लिनले नेपाल र चीनका सांस्कृतिक र पर्यटन उद्योगबीच सहकार्यलाई कसिलो बनाउनुपर्नेमा जोड दिए।
होटेल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले नेपाली परिकारको मौलिक स्वादको आनन्द लिन पर्यटकलाई सहयोग पुर्याउने उद्देश्यले हेरिटेज फुडको प्रवर्द्धन गर्दै आएको बताए। उनले नेपाली खाद्य परिकार र संस्कृति विशाल चीनको खाद्य संस्कृति जत्तिकै धनी रहेको औँल्याए।
नेपाल टुरिजम बोर्डका निमित्त निर्देशक सुनिल शर्माले नेपालको पर्यटकीय गन्तव्यका साथमा नेपाली खाद्य पर्यटन सम्बन्धमा आकर्षक प्रस्तुति दिएका थिए।
खाना महोत्सव सफल बनाउन बेइजिङमा अध्ययनरत विद्यार्थीको भूमिका उल्लेखनीय थियो। उनीहरू हरेक स्टलमा तत्परताका साथ खाना पस्किरहेका मात्र थिएनन्, नेपालको प्रवर्द्धनका लागि दत्तचित्त भएर लागेका देखिन्थे। केही दिनदेखि विद्यार्थी नेपाली परिकार बनाउन र सहयोग गर्न दूतावास आइरहेको विद्यार्थीले सुनाए।
खाद्य महोत्सवमा नेपालकै सातै प्रदेशको प्रतिनिधित्व गराउने मुख्य काम होटेल एसोसिएसन अफ नेपालका हेड सेफ श्यामबहादुर तामाङले गरेका थिए। उनीसँगै हरिदेवी श्रेष्ठ पनि यही कार्यक्रमका लागि बेइजिङ आएकी छिन्।
दुवैजनालाई राजदूत ओलीले सम्मानपत्र प्रदान गरेका थिए। तामाङले महोत्सवका लागि अहोरात्र काम गरेको मात्रै सुनाएनन्, उनले सातै प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी खाना तयार पारेको पनि सुनाए। ‘यसै कार्यक्रमका लागि आएकोले पाहुना जतिलाई नेपाली खाना चखाउने जिम्मा त मेरो भयो नै, त्यसमाथि सबै प्रदेशबाटै खाना तयार गरूँ भनेर रातदिन काम गरेँ,’ उनले भने।
नेपाली सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको नेपाल खाना महोत्सव नेपाली खाना चखाउने मात्रै होइन नेपाली खाद्य परिकारको भोजका रूपमा नै देखिएको थियो। पाहुना जति सबैले छिटपुट वर्षा भुलेर थपीथपी नेपाली परिकार खाइरहेका थिए।