चीनको चिनच्याङमा खुल्यो नेपालका लागि अन्तर्राष्ट्रिय क्रेता सेवा केन्द्र

अजय अलौकिक ७ वैशाख २०८२ १५:४५ | Sunday, April 20, 2025
चीनको चिनच्याङमा खुल्यो नेपालका लागि अन्तर्राष्ट्रिय क्रेता सेवा केन्द्र

बेइजिङ- नेपाल र चीनको चिनच्याङ सहर बीच अन्तर्राष्ट्रिय क्रेता सेवा केन्द्र स्थापनाको सम्झौता भएको छ। चीनको यिऊपछि चिनच्याङ  नेपालका लागि अन्तर्राष्ट्रिय क्रेता सेवा केन्द्र स्थापना गर्ने दोस्रो सहर बनेको छ।

चीनको फुच्यान प्रान्तको चिनच्याङमा २६औँ चिनच्याङ फुटवेयर तथा ९औँ खेल उद्योग अन्तर्राष्ट्रिय प्रदर्शनी भइरहेको छ।  चिनच्याङ  जुत्ताको राजधानीको नामले पनि प्रसिद्ध छ। सहरमा ५ हजारभन्दा बढी जुत्ता कारखाना छन्।

चिनच्याङमा अप्रिल १९ मा नेपालको व्यापार प्रवर्द्धन केन्द्रलाई अन्तर्राष्ट्रिय क्रेता सेवा केन्द्र उपलब्ध गराउने सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल व्यापार प्रवर्द्धन केन्द्रको तर्फबाट सत्यम फुटवेयर इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत सत्यनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्। उनी सन् १९९९ देखि चीनसँग कारोबार गर्दै आएका व्यापारी हुन्। अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुन आउने क्रममा हस्ताक्षरको अवसर मिलेको  श्रेष्ठले बताए।

‘मैले झण्डै २५ वर्षदेखि चिनच्याङ सहरमा कारोबार गर्दै आएको छु। यसै क्रममा अहिले एक्स्पोसँगै स्थानीय सरकारले विभिन्न देशसँग अन्तर्राष्ट्रिय क्रेता सेवा केन्द्र स्थापना गर्न चाहेको रहेछ। यही मौकामा मैले नेपालको तर्फबाट हस्ताक्षर गरेको हुँ,’ उनले भने।

हस्ताक्षर समारोहका लागि नेपाल चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज यिऊका प्रमुख नेपाली प्रतिनिधि तथा व्यापारी विष्णु डुमरु पनि पुगेका थिए। उनले यिऊपछि नेपालका लागि यो दोस्रो अन्तर्राष्ट्रिय क्रेता सेवा केन्द्र भएको बताए। ‘यो नेपाल र नेपालीका लागि धेरै ठूलो अवसर हो,’ उनले भने, ‘सात  देशहरूलाई यस्तो अन्तर्राष्ट्रिय क्रेता सेवा केन्द्र स्थापना गर्न दिइएको छ।’

डुमरुका अनुसार यसरी चिनच्याङ सहरले बेल्ट एन्ड रोड देश तथा संस्थाहरू अन्तर्गत मात्र रूस, पाकिस्तान, भियतनामलगायत ७ वटा देशहरूलाई अन्तर्राष्ट्रिय क्रेता सेवा केन्द्र खोल्न दिएको छ। रूस र पाकिस्तानलाई २ तथा नेपाल, पाकिस्तान, श्रीलंका र भियतनामलाई १/१ वटा सेवा केन्द्र उपलब्ध गराएको छ।

सम्झौताअनुसार चिनच्याङ अन्तर्राष्ट्रिय सुज एन्ड  टेक्सटायल सिटीले बेल्ट एन्ड रोड पहलमातहत जुत्ता र टेक्सटायल उद्योगमा आर्थिक तथा व्यापारिक सहकार्य गर्ने उल्लेख छ।

चीनको चिनच्याङमा आएर व्यापार तथा कारोबार गर्ने नयाँ तथा पुराना नेपाली व्यापारीलाई ठूलो सहयोग पुग्ने डुमरुले बताए। नयाँ वा पहिलोपटक चीनमा व्यापार गर्न चाहने नेपालीलाई मात्रै होइन यो कार्यालय स्थापनाले पुराना व्यापारीलाई पनि धेरै सहयोग मिल्नेछ। यसले सहजकर्ताका रूपमा काम गर्नेछ। साथै, चिनियाँ उत्पादन नेपालमा आयात मात्रै होइन, यो प्लेटफर्ममार्फत नेपाली बस्तुलाई पनि चीनका साथै विश्वसम्म पुर्‍याउने अवसर दिएको छ।

आगामी वर्ष आयोजना हुने चिनच्याङ फुटवेयर तथा खेल उद्योग अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालका लागि पेवेलियन उपलब्ध गराउने पहल पनि भएको व्यापारी डुमरुले बताए।

प्रकाशित: ७ वैशाख २०८२ १५:४५ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast