
काठमाडौँ- विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने माग गर्दै देशभरका शिक्षक र कर्मचारीहरूले आइतबार १९ औँ दिन पनि जारी राखेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भएको आन्दोलनअन्तर्गत आइतबार बिहान ९ देखि १२ बजेसम्म शिक्षकहरूले काठमाडौँको माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरेका हुन्।
उनीहरूले शिक्षा ऐन जारी गर्नुपर्ने, ऐन जारी नभएसम्म सडकबाट फिर्ता नहुनेसहितका विषयमा नाराबाजी गरेका थिए। महासंघले चैत २० गतेदेखि राजधानीमा सडक आन्दोलन गर्दै आएको छ।
शिक्षकहरू आन्दोलनमा रहँदा विगत तीन सातादेखि विद्यालयमा कुनै पनि शैक्षिक गतिविधि हुन पाएका छैनन्। यसैगरी गत चैतमा लिइएको २०८१ सालको एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने कक्षा १२ को परीक्षाको पर्खाइमा बसेका साढे ५ लाख विद्यार्थी अन्योलमा परेका छन्। परीक्षा ११ गतेका लागि तोकिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूलाई परीक्षा सञ्चालनमा सहभागी हुन अपिल गरेको छ। यद्यपि शिक्षकहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन निर्णायक विन्दुतर्फ रहेकाले सबैलाई सहभागी हुन आग्रह गरे। यसैगरी उनले निजी विद्यालयका शिक्षककलाई पनि आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्।
सरकारले वैशाख १२ गते संसद्को बर्खे अधिवेशन डाकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकसँगको वार्तामा विद्यालय शिक्षा विधेयकलाई बर्खे अधिवेशनबाट पारित गर्ने आश्वासन दिएका छन्।
विधेयकमा परेका विभिन्न सुझावका बारेमा अध्ययन गरी निष्कर्षकमा पुर्याउन संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले उपसमिति गठन गरेको छ। उपसमितिले विधेकयका विभिन्न विषयमा छलफल जारी राखेको छ।
शिक्षकहरूले आफूहरूले अघि सारेका विभिन्न माग र मुद्दालाई विधेयकमा समेटिनुपर्ने अडान राखेका छन्। महासंघले केही दिनअघि विधेयकमा समेटिनुपर्ने विभिन्न २४ बुँदा सरकारलाई पेस गरेको छ।
शिक्षक आन्दोलनका कारण विद्यालय बन्द रहेपछि अभिभावकले सन्तानलाई निजी विद्यालयतर्फ लैजान थालेका छन्। भर्ना अभियानका बेला विद्यालयमा विद्यार्थी भर्ना गर्न नदिएर गैरजिम्मेवार काम गरेको आरोप शिक्षकहरूमाथि लाग्न थालेको छ।
शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाएका कैयौँ संघसंस्थाले विद्यार्थीको अधिकारमाथि खेलबाड नगर्न, सरकारको तलब खाएर सरकारको विरोधमा नउत्रन र आफ्ना मागमुद्दालाई विद्यालय बन्द नै नगरी सम्बन्धित ठाउँमा पेस गर्न शिक्षकहरूलाई आग्रह गर्न थालेका छन्।
एमाले विद्यार्थी भ्रातृसंगठन अनेरास्ववियुले विद्यार्थीलाई घेराबन्दीमा नपार्न शिक्षकहरूलाई आग्रह गरेको छ।
संगठनका अध्यक्ष समिक बडालले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तपाईंहरू केवल तलब खाने कर्मचारी होइन, समाजको नेतृत्वकर्ता हुनुहुन्छ। विद्यार्थीको भविष्य अन्धकारमा राखेर पाइएको कुनै पनि सफलता अस्थायी हुन्छ। अब आन्दोलनको ऊर्जा विद्यालय फर्केर प्रयोग गर्नुस्। आफ्ना मागका लागि लड्नुहोस्, तर विद्यार्थीलाई घेराबन्दीमा नपारौँ।’