गुराँसको राजधानीमै फुलेन लालीगुराँस

विवेक विवश रेग्मी ६ वैशाख २०८२ २१:३३
164
SHARES
गुराँसको राजधानीमै फुलेन लालीगुराँस तस्बिर स्रोत : उमेश बुढाथोकी

इटहरी– यस वर्ष हालसम्म पनि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टीएमजे) मा गुराँस फुलेको छैन।  तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संयुक्त भूमि टीएमजेमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छन्। त्यसैले पनि यस क्षेत्रलाई गुराँसको राजधानीका रूपमा चिनिन्छ। यस वर्ष भने गुराँस नफुल्दा यहाँ पुग्ने आन्तरिक एवं बाह्य पर्यटक निराश भएर फर्किने गरेका छन्।

गत २७ चैतमा कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को उद्घाटन गर्ने कार्यक्रम तय भयो। कार्यक्रम प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी थियो। गुराँस नफुलेपछि प्रदेश सरकारको इच्छामा दमकलबाट पानी हालेर गुराँस फुलाउने काम गरियो। यसलाई कतिपयले ‘भद्दा मजाक’  भनेर टिप्पणी गरे।

पर्यटन वर्षको उद्घाटन उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए।

लालीगुराँस नगरपालिका ७ पाँचपोखरीका होटल तथा पर्यटन व्यावसायी उमेश बुढाथोकी भन्छन्, ‘पोहोरको तुलनामा यस वर्ष गुराँस निकै कम फुल्यो।’

 यहाँ घुम्न आउने पर्यटकले हाँगा भाँच्ने गरेका कारण लालीगुराँस नफुलेको उनको तर्क छ। लालीगुराँससम्बन्धी जानकारसमेत रहेका उनी भन्छन्, ‘यस वर्ष हिउँ पनि परेन। त्यो एउटा सामान्य कारण त छँदै छ। तर पर्यटकहरू घुम्न आउने र हाँगा भाँच्ने काम धेरै भयो। दिनमा एक हजार मान्छे आउँदा एउटाएउटा हाँगा भाँच्दा पनि धेरै क्षति हुन्छ।’

उनका अनुसार लालीगुराँस एक ठाउँमा भाँचेको ठाउँबाट अर्कोपटक फुल्दैन। ‘लालीगुराँस जहाँ भाँच्यो, त्यहीँ सुक्छ। अरू फूलजस्तो हुँदैन। अरू फूल चैँ जहाँ काट्यो, त्यहीँबाट टुसा पलाउँछ। लालीगुराँस भने जहाँ भाँच्यो, त्यहीँबाट सुक्न थाल्छ,’ उनले भने।

हाँगा भाँच्ने क्रम अझै पनि रहेको र यसकारण लालीगुराँसका रूख सुक्दै जान थालेको उनी बताउँछन्। दुई हजार पाँच सय मिटरभन्दा कम उचाइ भएको क्षेत्रमा श्रीपञ्चमीदेखि नै लालीगुराँस फुल्छन्। फागुनदेखि वैशाखभरसम्म फुल्ने लालीगुराँस दुई हजार पाँच सय मिटर भन्दा माथि भने चैत १५ पछि र कुनै–कुनै छिमले गुराँस जेठ पहिलो सातासम्म फुल्छन्।

यहाँ ३२ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ। जसमा लालीगुराँस यस वर्ष फुलेन। ‘लालीगुराँस चैँ नफुलेको हो। अरू गुराँस चिनेकै छैनन्, मान्छेले। १२ देखि १४ प्रजातिका गुराँस जेठपछि साउनसम्म फुल्छ। खासमा मानिसले लालीगुराँसलाई मात्रै गुराँस भनेर चिनेको अवस्था छ,’ बुढाथोकी भन्छन्, ‘यस वर्ष लालीगुराँस नफुल्दा पर्यटकको संख्या ७५ प्रतिशतले घटेको छ।’

गत वर्षको तुलनामा ७५ प्रतिशतले पर्यटकको संख्या घटेको उनले सुनाए। पर्यटकलाई गुराँसको हाँगा भाँच्न नदिन सरकारले उचित नीति बनाउनुपर्ने उनको सुझाव छ।

‘सरकारले काम गर्नै नचाहेको जस्तो देखिन्छ। अहिले पनि हाँगा भाँच्ने क्रम नियन्त्रण  भएको छैन। यो नियन्त्रण गर्न सकेन भने लालीगुराँस लोप हुन सक्छ,’ उनी भन्छन्, ‘एउटा नीति नै बनाएर संरक्षण गर्न आवश्यक छ।’  बिरुवा रोपेर भन्दा पनि भएको बिरुवा संरक्षण गर्न आवश्यक रहेको उनले बताए।

जैविक विविधतासम्बन्धी अन्वेषक एवम् गुराँस विज्ञ कमल मादेन लालीगुराँस एकपटक भाँचेको हाँगामा अर्को वर्ष नफुल्ने बताउँछन्। ‘एकपटक हाँगा भाँचेको ठाउँमा अलिक वर्ष फुल्दैन। नयाँ हाँगामा फुल्दैन,’ उनी भन्छन्, ‘यस वर्ष पनि गुराँस नफुलेको भन्ने चैँ होइन तर तीनजुरे क्षेत्रमा चैँ एकदमै कम फुलेको हो।’

आरआर गार्डेन क्षेत्रमा गुराँस नफुलेको उनले सुनाए। ‘त्यहाँको भूगोल र माटो पनि सुख्खा भएका कारण गुराँस फुलेन। लामो समयसम्म पानी पनि परेन, त्यस क्षेत्रमा बिहानैदेखि बेलुकासम्म घाम लाग्छ,’ मादेन भन्छन्, ‘अरू ठाउँमा साबिककै जस्तो फुलिरहेको छ।’ यस क्षेत्रमा तीन लेयरसम्मका रूख हुने भए पनि झाडी फाँडिएको उनले बताए।

‘ग्राउन्ड लियर छैन, सबै झाडी फाँडेको छ। पत्करले पनि चिसो बनाइराख्छ। तर यहाँ पत्कर सोहोरेर ट्याक्टरमै हालेर मल बनाउँन लगिँदोरहेछ। पत्कर हुँदा पनि बिरुवाका लागि चिसो सोसिरहन्छ,’ उनी भन्छन्, ‘त्यहाँको जंगलमा तीन तहमा रूख छन्। जसमध्ये बीचको लेयरको रूख पनि छैनन्। बूढो रूखहरू मात्रै छन्।’

पर्यटक पुग्ने क्षेत्रमा हाँगा भाँच्ने गरेको र हाँगा भाँच्न नदिनका लागि नीति, नियमको आवश्यक परेको उनी बताउँछन्।

यस क्षेत्रमा यस वर्ष लालीगुराँसको ससाना कोपिला मात्रै लागेको उनले सुनाए।

सरकारले वनलाई जम्मै अधिकार दिनु र तीनै तहमा अधिकार बाँडिएका कारण कुनै तहको सरकारले पनि वन तथा लालीगुराँस क्षेत्र जोगाउनुपर्ने अवधारणा नल्याएको उनी बताउँछन्। ‘तीन तहमा अधिकार बाँडिएका कारण कसैले पनि वनलाई प्राथमिकतामा राखेनन्। अझ वन कार्यालयलाई त वनमा आगो लाग्यो भने निभाउनुपर्छ भन्ने चासो पनि छैन,’ उनी भन्छन्, ‘तीनै तहका सरकार र वन कार्यालयले समन्वय गरेर वनलाई जोगाउन अति आवश्यक छ। यसबारे राज्यले ध्यान दिन जरूरी छ।’

तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ भने गुराँस नै नफुलेको भन्ने तर्कमा सहमत छैनन्। गत वर्षको तुलनामा भने केही हदसम्म कम गुराँस फुलेको उनले स्वीकार गरे। ‘हिमालै, पहाडै ढाक्ने गरी फुलेन। कसले भन्यो गुराँस फुलेन भनेर?,’ उनले भने, ‘गत वर्षको भन्दा कम चैँ भएको हो।’

लालीगुराँस कम फुल्नुमा जैविक विविधताको असर र वन अतिक्रमण कारण रहेको उनको तर्क छ। ‘दाउरा काट्नेले काट्छन्, फूल टिप्नेले टिप्छन्। पत्कर सोहोर्नेले पनि मसिना बिरूवा पनि सोहोर्छन्। अतिक्रमणबाट बचाउन नसकिएको हो,’ उनले भने, ‘खासमा पालिकाले गुराँस संरक्षण गर्न सकेको छैन।’

उनले पालिकाले गुराँस संरक्षण गर्न सक्ने भए पनि वनको मातहतमा पर्ने भएकाले कानुनी झन्झट रहेको सुनाए। ‘सरकारले वन क्षेत्रलाई वनकै अधिकारमा राखेको छ। वनको छुट्टै नीतिनियम छ। पालिका मातहत भयो भने संरक्षण हुन्छ,’ माबोहाङ भन्छन्, ‘वन क्षेत्रमा त पालिकाको अधिकार के छ र?’

टीएमजे क्षेत्रमा लालीगुराँसबाहेक बार्बाटम, भीरगाटम, लेपिडोटम, ल्वोन्डेसीजस्ता प्रजातिका गुराँस पाइन्छन्। कोशी प्रदेश सरकारले २०८२ साललाई भ्रमण वर्ष मनाइरहेको छ। कतिपयले भने वन तथा पर्यटन क्षेत्रलाई संरक्षणका निम्ति सरकारले राम्रो काम गरेको बताइरहे पनि यसको संरक्षणमा भने सरकारले चासो नदिएको जानकारहरू बताउँछन्।

प्रकाशित: ६ वैशाख २०८२ २१:३३

प्रतिक्रिया

One thought on “गुराँसको राजधानीमै फुलेन लालीगुराँस

  1. गुराँस काे फूल टिप्नेलाइ पहिलाे पटक दस हजार र प्रत्येक थप पटक बीस हजार दण्ड गर्नुपर्छ । हाँगा भाँच्नेलाइ पहिलाे पल्ट पचास हजार र पछिपछि एक लाख तिराउनुपर्छ । गुराँसकाे रूख काट्नेलाइ दस लाख जरिवाना र एक वर्ष कैद ठाेक्नुपर्छ । कसैले हाँगा भाँचेकाे या फूल टिपेकाे फाेटाे खिचेर पुलिसलाइ बुझाए दण्डकाे अाधा सुराकी खर्च दिइनुपर्छ । गुराँस सुरक्षित ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast