
मैले कलमकापी नसमातेको पनि वर्षौँ भइसकेछ। आज म त्यही कलमको विषयमा मेरो अनुभव पोख्दैछु।
कलमसँगको मेरो साक्षात्कार सहरबजारमा जन्मेहुर्केका केटाकेटीभन्दा अलि फरक छ। उनीहरूले भन्दा मैले अलि पछि नै कलमकापी समातेको हुनुपर्छ। अँगारले पोतेको कालोपाटीमा खरीले लेखेर मैले अक्षराम्भ गरेको थिएँ। मैले अक्षर चिन्दा गाउँमा हामी केटाकेटीका लागि कलमकापीको आविष्कार भएकै थिएन भन्दा पनि हुन्थ्यो। खरीपाटी नै हाम्रा लागि सरस्वतीको वरदान थियो।
नेपाली वर्णमालाको किताब पनि मैले पाँच वर्षको भएपछि मात्र देख्न पाएँ। त्यतिबेला अक्षराम्भ गर्ने साना केटाकेटीलाई सानो नेपाली वर्णमाला र अलि ठूलो भएपछि ठूलो वर्णमाला सिकाउने गाउँको स्कुलको पाठ्यक्रमजस्तै थियो। तर म भाग्यमानी बच्चामध्येको थिएँ जसले सानो र ठूलो वर्णमाला एकैपटक हात पार्न सफल भएँ।
बुबा र गाउँका उहाँको दौँतरीहरू केही वर्ष बिराएर हाम्रो घर गोरखादेखि लामो मूलबाटो हिँडेर काठमाडौँ आउनेजाने गर्नुहुन्थ्यो। त्यतिखेर काठमाडौँलाई नेपाल भनेर पनि पुकारिन्थ्यो। नेपाल खाल्टोभित्र छिरेपछि उहाँहरूको पहिलो बास सोह्रखुट्टे पाटीमा हुन्थ्यो, त्यसपछि लैनचौरमा रहेको भारतीय पेन्सन क्याम्प – जसलाई घ्याङघर नामले पनि चिनिन्थ्यो। पेन्सन थाप्न गाउँबाट आउने भूतपूर्व भारतीय सैनिकको हुलमा बासका लागि उहाँ पनि मिसिनुहुन्थ्यो। बुबाको अर्को बसाइ भक्तपुरमा हुन्थ्यो, जहाँ उहाँको मुख्य काम हाम्रो भक्तपुरको पुर्ख्यौली जग्गा कमाउने मोहीसँग कुत उठाउनु हुन्थ्यो। त्यही कुतको पैसाले पाटनबाट तामापित्तलका भाँडाकुँडा र इन्द्रचोकबाट एकथान राडी काम्लो किनेपछि उहाँको घरायसी किनमेल सकिइहाल्थ्यो।
म पाँच वर्ष पुग्न लाग्दा उहाँ फेरि काठमाडौँ जानुभयो। त्यस वर्ष घर फर्कँदा बुबाले ल्याउनुभएको घरायसी सामानमा मेरा लागि नेपाली सानो र ठूलो वर्णमालाको दुईवटा किताब पनि थपिएका थिए। त्यो किताब पाएपछि मेरो भुइँमा खुट्टै भएन। बिहान उठेदेखि राति सुत्ने बेलासम्म त्यही किताबमा ध्यानमग्न। यहाँसम्म कि आमाले मेरो किताबको झोला म सुत्ने ठाँउको भित्तामै झुन्ड्याइदिनुभयो किनभने उठ्नेबित्तिकै मेरो पहिलो ध्यान त्यही वर्णमालाको किताबमा हुन्थ्यो।
अक्षर चिन्न वर्णमालाको किताब त पाएँ तर अक्षर लेख्न कलम र कापीका लागि मैले अझै केही समय कुर्नुपऱ्यो। खरीपाटीको भरमा मेरो अक्षराम्भको पहिले वर्ष बित्यो। जब खरीपाटीले काम चलेन त्यसपछि म बाँसको कलमको युगमा प्रवेश गरेँ। बुबाले मेरा लागि एक मुठा मसिनो बाँसको कलम बनाइदिनुहुन्थ्यो। वनबाट वनस्पतिको बोक्रा र पात ल्याएर त्यसलाई राम्ररी उमालेर मसीदानीमा मसी बनाइदिनुहुन्थ्यो। अनि सादा नेपाली कागजको ताउ काटेर मेरा लागि कापी बनाइदिनुहुन्थ्यो। त्यति भएपछि मलाई के चाहियो? म कलमकापीको युगमा प्रवेश गरिहालेँ।
अहिले पनि कताकता सम्झना हुन्छ- त्यतिखेर बाँसको कलमले लेखेका मेरा अक्षर असाध्यै बान्की परेका हुन्थे। पछि मात्र हो बिग्रन थालेको।
अक्षराम्भपछि म जब क्लास उक्लिएँ तब मेरो झोलामा कलमकापीले पनि प्रवेश पायो। नुनतेल खेप्न प्रत्येक हिउँदमा हाम्रो गाउँबाट तन्देरी युवा चितौनको ठोरीसम्म पुग्थे। नारायणघाटपछि मात्र खुलेको हो। गाउँलेको त्यही हुलमा मिसिएर बुबा पनि नुनतेल भर्न जानुहुन्थ्यो। ठोरी पुग्न चितौनको माडीफाँटको अनकन्टार काँसको झाँडी छिचोल्दै जानुपर्थ्यो। त्यसरी हिँड्दा काँसको झाडीमा लुकेको बाघले सँगै हिँडेको बटुवालाई कुन बेला घिसारेर झाडीभित्र तान्थ्यो, थाहै हुन्थेन। त्यसरी डराइमर्नु गरेर उहाँले वर्ष दिनका लागि एक टिन मट्टितेल र चारपाथी नुन बोकेर घर आउनु हुन्थ्यो। म त्यही मट्टीतेलको टुकीको उज्यालोमा वर्णमाला घोकिरहेको हुन्थेँ।
नुनतेल भर्न ठोरी जाँदा यसपालि भने बुबाले मेरा लागि अंग्रेजी एबीसीका किताब, अंक सिक्ने गणितको पुस्तक अनि वर्णमालाभन्दा माथिको नेपाली किताबसमेत ल्याइदिनुभयो। साथमा थियो कापी र कलम जुन मेरा लागि ठूलो पुरस्कार थियो। मेरा कलिला हातले पहिलोपटक कलम समाउदाको स्पन्दन म अहिले पनि अनुभव गर्दछु। कलम हातमा परेपछि बाँसको कलमसँग म सदाका लागि बिदा भएँ। तर त्यो बाँसको कलमको स्मृति मेरो मानसपटलबाट कहिल्यै हटेन। त्यो त्यही बाँसको कलम थियो जसले मलाई सादा नेपाली कागजमा बान्की परेको अक्षर लेख्न सिकाएको थियो।
बुबाले ल्याइदिनुभएको कलमलाई हामी फुल्टिन भन्थ्यौँ। वास्तवमा त्यसको खास नाम फाउन्टेन पेन रहेछ, अंग्रेजीबाट अप्रभ्रंश भएर फुल्टिन हुन पुगेको रहेछ। कलमको बिर्को, निब र जिब्री मैले पहिलोपटक देखेको थिएँ। निबको तिखो चुच्चो भागदेखि बीचसम्म चिरिएको हुन्थ्यो जसरी बाँसको कलमको टुप्पा बुबाले चिरिदिनुहुन्थ्यो। नयाँ किताब, कापी र कलम झोलामा राखेर स्कुल जान पाउँदा मेरो फुर्तिफार्ती नै अर्को हुन्थ्यो।
जसरी नङमासु छुट्टिन सक्दैन, त्यसैगरी कलम र मसी एकअर्कादेखि अलग हुन सक्दैन भन्ने त मैले बाँसको कलमले लेख्दाखेरी नै बुझेको थिएँ। फरक यत्ति कि बासको कलमलाई सधैँ मसीदानीको साथ चाहिन्थ्यो भने फुल्टिनको धोक्रोमा मसी भरेपछि केही दिनका लागि पुग्थ्यो। तर मसी भने आफैँले बनाउनुपर्थ्यो।
फुल्टिन किन्दा बुबाले मेरा लागि केही चक्का कोरेक्सको नीलो मसी पनि ल्याउन छुटाउनुभएको थिएन। मसीको चक्की पाएपछि मलाई संसार जिते जस्तो भयो। म बिहानभर ढुंगामा मसीको चक्का पिसेर मसीदानीमा मसी बनाउन व्यस्त हुन्थेँ। त्यसरी मिहिनेतसाथ बनाएको मसीदानी हातमा झुन्ड्याएर स्कुल जानुको आनन्द नै अर्को हुन्थ्यो। मैले बोकेको कलम मसीले कापीमा उतारेको अक्षरको दाना पनि लोभलाग्दो हुन्थ्यो। त्यही लोभलाग्दो अक्षरका कारण गुरुहरूको नजरमा म पुल्पुलिएको थिएँ भने धुस्रेफुस्रे भएर चउरमा लडीबुडी खेल्ने अरु फुच्चे साथीहरूको बीचमा मेरो बेग्लै शान हुन्थ्यो।
फुल्टिनको ढुंग्रोमा मसी भर्ने क्रम केही समयसम्म चल्यो। त्यसका लागि मसी पिस्ने र मसीदानीमा मसी भर्ने काम पनि चलिरह्यो। त्यस बीचमा एउटा घटना भयो जुन म कहिल्यै बिर्सन सक्दिनँ। वर्षायाम थियो, स्कुल जाने बाटो हिलाम्ये थियो। म झोलाभरी किताबकापी र हातमा मसीदानी बोकेर स्कुल गएको थिएँ।
बाटोमा चिप्लिएर झोला एकातिर, मसीदानी एकातिर अनि म अर्कोतिर। हिलाम्य शरीर लिएर घर फर्केँ। आमा धारामा लुगा धोइरहनुभएको थियो। आमाको अगाडि खुट्टा बजारी बजारी रोएँ। उहाँले जति सम्झाए पनि मेरो रुवाइ थामिएन किनकि मेरो मुटुको टुक्रा बिहान मात्रै त्यति दु:खले पिसेर बनाएको मसीदानी हिलोमा गडेको थियो। त्यो साँझ मैले केहही खाइनँ, हिक्कहिक्क गर्दै निदाएछुँ।
बिहान उठेपछि मलाई त्यही मसीदानीको पीरले सतायो। बुबाले मलाई फुकाइफुल्याई गरेर म हिलोमा लडेको ठाँउमा सबेरै लिएर जानुभयो। गाईबस्तु नहिँडेकोले हिलोको पानी सग्लिएको थियो। म लडेको ठाँउको एउटा चोबिल्टामा मेरो मसीदानी छर्लङ्ग देखियो। मसीदानीको बिर्को टम्म लागेकोले मसी पोखिन पाएको रहेनछ। मलाई हराएको कोहिनुर पाएसरह भयो।
गाउँको स्कुलमा प्राथमिक क्लास सिध्याएर ६ कक्षा पढ्न जब म बन्दीपुर आएँ, फुल्टिन र मसीदानी गाउँमै छाडेँ। बन्दीपुर त्यतिखेर नाम चलेको बजार थियो। म पढ्ने भानु हाइस्कुलमा छात्रछात्राको झोलामा अथवा गोजीमा फुल्टिनको साटो त्यतिखेर बजारमा चलेको ‘फ्लेम’ नामको भारतीय कलमले प्रवेश पाएको थियो। मसी पनि कोरेक्सकै झोल सिसीमा किन्न पाइन्थ्यो। मसीदानी पनि बोक्नु पर्थेन, कलमभित्र सानो पिचकारी हुन्थ्यो जसलाई मसीदानीमा डुबाएर मुखले तानेपछि कलमभित्रको सानो पाइप भरिथ्यो। त्यसले कापीमा जति लेखे पनि एकदुई दिन मज्जैले चल्थ्यो, मसीदानीको टेन्सन लिनु पर्थेन।
हाइस्कुलमा कक्षा चढ्दै गएपछि मेरो प्यारो फ्लेम कलमको साथ पनि बिस्तारै छुट्दै गयो। त्यसको ठाँउ लिन पुग्यो – नयाँ चाइनिज कलमले। फाइटर प्लेनको नाकको चुच्चो जस्तै चुच्चो परेको त्यो कलम हेर्दामा स्लिक, गोजीमा भिर्न अनि मसी भर्न पनि सजिलो। कलमभित्रको रबरको मुलायम पाइपलाई मसीको सिसीमा छिराएर हातले हल्का पम्प गरेपछि एकदुई दिनका लागि पुग्ने मसी भरिइहाल्थ्यो।
एसएलसी दिने बेलासम्ममा त हामी विद्यार्थीमाझ चाइनिज हिरो कलमको क्रेज चढिसकेको थियो। इन्डिएन फिल्मको हिरोजस्तै – चढ्नलाई हिरो साइकल र लेख्नलाई हिरो कलम नभइनहुने जस्तो भइसकेको थियो। त्यही हिरो कलमले लेखेर मैले एसएलसी पास गरेँ। जाँच त जसोतसो पास गरेँ तर मेरो पहिलेको बान्की परेको मोटो अक्षर चाइनिज कलमको खिरिलो धारले गर्दा लुरे हुनपुग्यो। पहिलापहिला जस्तो कापीमा एकैनासका मोटा अक्षर लेख्न सक्दिनथेँ, मेरा अक्षर दुब्लाएर जिङ्ग्रिङ परेका हुन्थे। तैपनि आफूलाई कत्ति न हिरो ठान्थेँ।
स्कुल सकेर कलेज पढ्दाताकाको केही वर्षसम्म हिरो कलमले साथ छाडेन। हिन्दी सिनेमा हेरेर आफू पनि हिरो बन्ने सपना बुन्ने उमेर थियो। हिरो हुन त सकिएन नै, समय क्रममा हिरो कलमले पनि बिस्तारै साथ दिन छोड्यो। त्यसको ठाँउ लिन पुग्यो – भर्खरै बजारमा भित्रिएका सस्ता वलप्वाइन्ट पेन जसलाई चलनचल्तीको भाषामा डटपेन पनि भनिन्थ्यो। मसी भर्न नपर्ने, गोजीबाट मसी लिक हुने डर पनि नहुने। डटपेन हाम्रो रोजाइमा एक्का हुने नै भयो। तर त्यसले मेरो लेखाइको हुर्मत लियो। कहाँ बाँसको कलमले लेखेको मेरो बान्की परेका अक्षर, कहाँ डटपेनको थोप्लाले कापीमा लखडबखड कागखुट्टे कुरुप अक्षर। आफ्नो अक्षर देखेर कहिलेकाहीँ म आफैँप्रति रिस उठ्थ्यो।
त्यही कागखुट्टे अक्षर लेखेर मैले कलेजको जाँच पास गरेँ। मैले विश्वविद्यालयको ढोकामा प्रवेश पाउँदासम्म बजारमा पाइलट पेन आइसकेको थियो। त्यो कलम गोजीमा भिर्दा हामीले आफूलाई पाइलटभन्दा कम ठान्दैनथ्यौँ। लेख्न पनि सजिलो, मसी पनि नछाद्ने, मसी सकिए नसिएको हेर्न मिल्ने – त्यो कलम मलाई गजब लाग्थ्यो। त्यही कलमले लेखेर मैले युनिभर्सिटीको परीक्षा पास गरेँ अनि तीन घन्टासम्म लोकसेवा आयोगको उत्तरपुस्तिकामा त्यही कलम धसेर मैले त्यो जाँच पनि उत्तीर्ण गरेँ। त्यसैले पाइलट कलमलाई मैले मेरो प्रोफेसनल करियरको पाइलटका रूपमा लिन्छु।
जागिरको थालनी दिनहरू कापीकलमको खुबै प्रयोग गरियो। कति आफूले सिक्न अनि कतिचाँहि हाकिम रिझाउन। त्यसरी लेखेर मैले राष्ट्रिय निबन्ध प्रतियोगिताको प्रथम पुरस्कारसमेत पाएँ। त्यो पुरस्कारको राशिले त्यसबेलाको नामी पार्कर कलम किन्ने सपना देखेको थिएँ तर जागिरको तलब सधैँ महिनावारीको वारी नै हुने भएकाले त्यो धोको त्यसबेला त्यत्तिकै रह्यो।
तर मैले हिम्मत हारिनँ, कोटको भित्री खल्तीमा पार्कर पेनले सुहाएको हेर्ने धोको मैले एक दिन पूरा गरेरै छाडेँ। त्यो महँगो पार्कर कलमलाई मैले धेरै जतन गरेर राखेको थिएँ। त्यसको उपयोग कागजमा कम र कोटको खल्तीमा बढी हुन्थ्यो। कहिलेकाहीँ विदेश जाँदा अध्यागमन फाराम भर्ने ठाउँमा त्यो कलमको सदुपयोग हुन्थ्यो नत्र भने धेरैजसो त्यो कोटको भित्री गोजीमै झोक्राई बस्थ्यो। खासमा भन्नुपर्दा मैले त्यो कलमले बान्की परेको अक्षर लेख्नै पाइनँ। अथवा यसो भन्दा पनि हुन्छ – त्यो महँगो कलमले मेरो बान्की परेका अक्षर देख्नै पाएन।
कलमसँगको मेरो बलापनदेखिको साइनो टुट्न लागेकोमा मलाई भाउन्न होला जस्तो हुन्छ। तर म विवश छु – उसको अवसानमा अबिच्युरी लेख्न पनि मैले नोटबुक कम्प्युटरको भर पर्नुपरेको छ। भएको पुरानो कलमको पनि निब दोब्रिइसकेको छ। उसको मसी सुकिसकेको छ। ऊ प्राणहीन भइसकेको छ।
त्यति जतनगरी राखेको त्यो महँगो पार्कर कलम अचानक हरायो। त्यो कलम हराएपछि मेरो मुटुको एक टुक्रानै हराए जस्तो भयो। जतन गरेर राखेको चिज हराउँदा त्यस्तै हुन्छ। अनि सबभन्दा हराउने चिज नै जतन गरेर राखेको वस्तु हुँदो रहेछ। मेरो कलम पनि त्यस्तै थियो – या त कोटको गोजी फेर्दाफेर्दै कुन कुनामा पुग्यो कि? या अरू कसैको हातमा पो पुग्यो – दैव जानून्। जहाँ पुगे पनि त्यसले मेरो कोटको भित्री गोजीको जस्तो नियति भोग्नु नपरोस् – मैले धेरै समयसम्म त्यही सोची बस्थेँ।
त्यस उप्रान्त लामो समयसम्म मैले महँगो कलम किनिनँ। उही पाइलटपेनको भरमा काम चलाउँथेँ। महँगो कलम किनेर मात्र के गर्नु? मैले लेख्ने अक्षर उही हो, खान्की पनि उही, बान्की पनि उही- क्रिमपाउडर धसेर मात्र के राम्रो हुन्थ्यो? त्यसमाथि महँगो कलमको सोख गर्ने साथीभाइको मनोदशा मैले आफ्नै आँखाले देखेको थिएँ। उनीहरूलाई पनि कोटको गोजीको महँगो कलम जोगाउन धौधौ हुन्थ्यो – खासगरी हाकिमको नजरबाट। हाकिमलाई केही कागजमा सही गराउनुपऱ्यो भने उनीहरू कोटको गोजीबाट अनकनाई अनकाई कलम त निकाल्थे तर कलमको बिर्कोचाँहि आफ्नै हातमा राख्थे। किनभने कथम् कदाचित त्यो महँगो कलमले हाकिमको कोटको गोजीमा बसाइँ सऱ्यो भने फर्कने सम्भावना ज्यादै न्यून हुन्थ्यो। त्यस उसले पनि मैले महँगो कलम किन्ने सोख पालिनँ।
सस्तो पाइलटपेन वा डटपेन नै सही – जागिरको उर्वर समयमा त्यसको भरमार उपयोग गरियो। रिपोर्ट राइटिङ होस् वा भाषणको मस्यौदा वा दैनिक लेखापढी – प्रायः त्यसकै भर परिन्थ्यो। त्यतिखेर नेपाल कम्प्युटर युगमा प्रवेश गरिसकेको थिएन। अफिसमा हातले चलाउने टाइपराइटर हुन्थे जसको खुराक कापीकलमले पूरा गर्नुपर्थ्यो। त्यसबेला सिर्जनात्मक लेखनमा पनि कापीकलमको वर्चस्व थियो। मैले पनि नोटकापीमा थुप्रै सिर्जनशील लेखरचना लेखेँ, केही छापिए अनि केही त्यसै थन्किए वा हराए। अक्षरको माध्यमले नोटकापीमा मनको भावना उतार्न पाउँदाको जस्तो सुखद अनुभुति अरू नहुँदो रहेछ।
समय आफ्नै सुरमा बग्दै गयो। समयक्रममा अफिसमा कम्प्युटरको प्रवेश भएपछि कलम कापीसँगको मेरो अविच्छिन्न लामो सम्बन्ध बिस्तारै पातलिन थाल्यो। त्यसको बदलामा कम्प्युटरको किबोर्डले ठाउँ लिन थाल्यो। कापीमा लेख्न अभ्यस्त हात अब किबोर्ड चलाउन तिर लाग्न थाले। त्यसले गर्दा मेरो लेखाइ पनि भुत्ते हुँदै गयो अनि मेरो अक्षर झनै विरूप हुन थाल्यो।
कम्प्युटरको किबोर्ड चलाउँदै गर्दा मलाई यस्तो लाग्थ्यो – कलम लिएर लेख्न बस्दा पो दिमागमा रहेका भावना स्वफुर्त रूपमा नोटकापीमा पोखिन्छ। ल्यापटपको किबोर्ड चलाउँदा त्यस्तो जीवन्त भावना आउँदैन। कवि भूपी शेरचनले लेखेझैँ एकै वाक्य पनि धेरै पटक लेख्ने अनि मेट्ने काम गरिरहनुपर्छ। त्यस्तो मेकानिकल लेखाइलाई पनि के लेखाई भन्ने?
कालान्तरमा मैले कम्प्युटर, ल्यापटप, आइप्याड अनि ट्याबलेट पनि चलाउन सिकेँ तर त्यसले दिल र दिमागलाई सिन्क गरेर मनको भावनालाई जीवन्त रूपमा उतार्न सक्छ जस्तो कहिल्यै लागेन। मन र मस्तिष्क जोड्न त कलम र कापी नै चाहिन्छ। कम्प्युटरले अक्षर त लेख्छन् तर त्यसमा प्राण हुँदैन।
विडम्बना! विज्ञान र प्रविधिले मानिसलाई बिस्तारै निष्प्राण बनाउँदैछन्। मानिसको दिल र दिमाग जोड्ने कलम र कापीको अस्तित्व अहिले धर्मसंकटमा परेको छ। अहिले कलम चलाउनेको भन्दा मुख चलाउनेको दबदबा छ। कापीकलम समाउनेको भन्दा तिकडम चलाउनेको बिकाउ छ। अनि किताब, कापी र कलममा रमाउनेको भन्दा बाहुबलीकै भाउ चर्को छ।
हुँदाहुँदा मान्छेकै हात र दिमागले बनाएको कम्प्युटरले समेत कापीकलमको खेदो गरेर तिनलाई विस्थापित गर्ने अवस्थामा पुऱ्याइसक्यो। यस्तो लाग्छ – अबको पुस्तालाई कापीकलम भनेको कुन चराको नाम हो भने जस्तो लाग्न सक्छ। म आफू बाँसको कलम चोबेर अक्षराम्भ गरेको मान्छे – कापीकलमको यस्तो दयनीय स्थिति आउला भनेर सपनामा पनि सोचेको थिइनँ। विडम्बना! म स्वयं त्यसको निरीह साक्षी बस्न बाध्य छु।
त्यो भन्दा पनि ठूलो विडम्बना अहिले पनि मेरो संकलनमा सोभिनियर स्वरुप प्राप्त केही महँगा कलम छन्। केही राम्रा नोटबुक पनि छन्। तर ती कलमको मसी सुकिसकेको छ। ती कलमले मैले नोटकापीमा अक्षरका माध्यमबाट आफ्नो भावना उतार्न सक्दिनँ। दिमागमा सलबलाइरहेका भावना उतार्न पनि मैले कम्प्युटरको किबोर्डको सहायता लिनैपर्छ।
कलमसँगको मेरो बलापनदेखिको साइनो टुट्न लागेकोमा मलाई भाउन्न होला जस्तो हुन्छ। तर म विवश छु – उसको अवसानमा अबिच्युरी लेख्न पनि मैले नोटबुक कम्प्युटरको भर पर्नुपरेको छ। भएको पुरानो कलमको पनि निब दोब्रिइसकेको छ। उसको मसी सुकिसकेको छ। ऊ प्राणहीन भइसकेको छ।
बिचरा मेरो कलम! तिम्रो अवसानमा श्रद्धाञ्जलि लेख्नसमेत मसँग अर्को कलम छैन। मेरो बालापनदेखिको अभिन्न साथी! तिम्रो अवसानमा मैले आफूलाई नितान्त एक्लो, असहाय र निरूपाय महसुस गर्दै छु।
मलाई कताकता डर पनि लाग्छ- तिमी मबाट टाढा भयौ भने मैले लेख्ने चिज पाउने छैन अनि मेरो हृदयले पोख्ने ठाउँ पाउने छैन। त्यसो हुन गयो भने कुनै बेला दिमागमा नै पूर्णविराम लाग्न पनि सक्छ।
त्यसैले बिन्ती- मेरो बाँसको कलम फर्काइदेऊ, म त्योसँगै रमाउन चाहन्छु। म फेरि सफा खाली कागजमा बान्की परेको अक्षर लेख्न चाहन्छु।
Dherai ramro lekh. Padhna paunda Khushi lagyo…