आरोग्य र सहकार्यको सन्देशसहित तराई मधेशमा जुडशीतल पर्व मनाइँदै

हिमाल प्रेस २ वैशाख २०८२ ८:५२ | Tuesday, April 15, 2025
आरोग्य र सहकार्यको सन्देशसहित तराई मधेशमा जुडशीतल पर्व मनाइँदै

महोत्तरी- तराई मधेश क्षेत्रका मिथिला-जनकपुर आसपासका जिल्लाहरूमा आज ‘जुडशीतल’ पर्व धुमधामका साथ मनाइँदैछ। नयाँ वर्षको आगमनसँगै मनाइने यो दुईदिने परम्परागत पर्व सोमबार ‘सतुवाइन’ मनाएर सुरु गरिएको थियो।

पहिलो दिन चना, जौँ, मकै, गहुँ, चामल, मुङ आदि सातथरि अन्नबाट बनाइएको सातु, सख्खरसहितको सर्वत कूलदेवतालाई चढाएर ब्राह्मण, साधुसन्तहरूलाई दान गर्ने परम्परा छ। आज दोस्रो दिन ‘जुडशीतल’ मा घरका ज्येष्ठले कान्छाहरूको शिरमा जल छर्केर दीर्घायु, शीतलता र सुखशान्तिको आशीर्वाद दिने चलन छ।

पूर्व प्रशासक तथा मिथिला संस्कृतिका ज्ञाता ८७ वर्षीय महेश्वर रायका अनुसार जुडशीतलमा शरीरलाई स्वस्थ राख्ने सुपाच्य परिकारहरू खाइन्छ। जस्तै- चनाको सातु, दही, सोहिजन (मुन्गा) को तरकारी, कढीबरी, लौका, परवल आदि। ‘गर्मीको मौसममा आरोग्यता र शीतलताको कामना सहित जुडशीतल पर्व मनाइन्छ’ उनले भने।

खासगरी, सहकालको प्रतीक मानिने यो पर्वमा खेतबारीका रुखबिरुवामा पानी हाल्ने, घर आँगन चिटिक्क पार्ने, धुलोहिलो छ्यापाछ्याप गर्ने परम्परा छ। यसले खेतीपाती अनुकूल होस् भन्ने जनआस्थालाई झल्काउँछ।

बलवा–१० धमौराका ७० वर्षीय कामेश्वर झा भन्छन्, ‘यो पर्वको मुख्य सन्देश हो– आपसी सद्भाव, हेलमेल र सहकार्य। जुडशीतल पर्वले शीतलता मात्र होइन, सामाजिक एकता पनि बाँध्छ।’

प्रकाशित: २ वैशाख २०८२ ८:५२ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast