२०८१ मा ६२ फिल्म प्रदर्शन : धेरै कमाउनेमा कुनकुन परे?

सुस्मिता बजगाईं १ वैशाख २०८२ ७:११ | Monday, April 14, 2025
२०८१ मा ६२ फिल्म प्रदर्शन : धेरै कमाउनेमा कुनकुन परे?

काठमाडौँ- वर्ष २०८१ मा ६२ वटा नेपाली फिल्म प्रदर्शन भए। सामाजिक, पारिवारिक कथा, समुदायको संघर्षमा बनेका फिल्मदेखि एक्सन, रोमान्स, प्रेम, कमेडी सबैले चर्चा पाए। ‘पूजार सार्की’, ‘गाउँ आएको बाटो’, ‘ज्वाइँ साब’, ‘खुस्मा’ ‘फर्की फर्की’, ‘मनसरा’ ‘शाम्बाला’ ‘ह्रस्व दीर्घ’, ‘तेल भिसा’, ‘लाज शरणम्’ जस्ता फिल्मले सकारात्मक समीक्षा पाए तर व्यापारका दृष्टिले अगाडि आउन सकेनन्।

त्यस्तै प्रदर्शनअघिको प्रचारले व्यापक चर्चामा रहेको ‘रामायण’, ‘नमेटिने घाउ’, ‘रावायण’, शाम्बाला’, ‘एक्टरः टेक वान’, ‘दुखी आत्मा’, जस्ता फिल्म दर्शकको रोजाइमा परेनन्। फिल्म क्षेत्रको प्रचलित भनाइअनुसार कतिपय फिल्मले पानीसमेत भन्न पाएन। केही फिल्मको कथा दर्शकले निकै रुचाए। तीमध्ये औँलामा गन्न सकिने फिल्म जसले दर्शकको मन जित्न सकेको छ।

सञ्चार तथा सूचना मन्त्रालयले सार्वजनिक गरेकाे बक्स अफिस तथ्या‌ंकअनुसार यी हुन् यस वर्षका चर्चित सात फिल्म :

पूर्ण बहादुरको सारङ्गी

यस वर्ष सबैभन्दा धेरै कमाउने पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ बनेको छ। फिल्मले ४६ करोड ८० लाख ग्रस कलेक्सन गरेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। व्यापारका दृष्टिले मात्र नभएर हलमा १०० दिन मनाउने पहिलो फिल्म पनि बनेको छ यो फिल्म। साथै यस वर्ष सर्वाधिक हिट र साढे ४ सयभन्दा बढी सो पाउने फिल्मको ट्याग पनि ‘पूर्ण बहादुरको सारङ्गी’ले पाएको छ।

फिल्मबाट अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीले चर्चा पाए। फिल्म सन्तानलाई शिक्षा दिन बाबुले गरेको संघर्षमा आधारित छ। फिल्ममा समावेश ‘रैया चाँदीको’, ‘काधेकुरी’ र ‘मैझारो’ बोलको गीत पनि निकै चर्चित भए।

१२ गाउँ

समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ले निकै चर्चा बटुलेको थियो। फिल्म यस वर्ष हिटमध्ये दोस्रो स्थानमा परेको छ। फिल्मले १९ करोड ९२ लाख कमाएको तथ्यांकमा उल्लेख छ। विराज भट्टको निर्देशनमा बनेको फिल्ममा १२ गाउँमा राज गरी बसेको मुरलीधरको साम्राज्य ध्वस्त पार्ने बदलाको कथामा आधारित छ। फिल्ममा सनिशा भट्टराई न्यान्सी खड्का, सुलेमान शंकर (इकु) लगायत कलाकारकाे अभिनय छ।

छक्का पञ्जा ५

सर्वाधिक कमाउने फिल्मको तेस्रो नम्बरमा ‘छक्का पञ्जा ५’ रहेको छ। फिल्मले १५ करोड २० लाख ग्रस कलेक्सन गरेको छ। दीपाश्री निरौला निर्देशित फिल्म सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी छन्।

बोक्सीको घर

वैशाख प्रदर्शन भएको फिल्म ‘बोक्सीको घर’ ले दश करोड २ लाख कमाएको छ। यो सुलक्षण भारतीको डेब्यु निर्देशकीय फिल्म होे। फिल्मको प्रमोसनल गीत ‘बुझिँन मैले बुझाइँदेउ कसैले’ पनि चर्चित बन्यो।

फलस्वरूप फिल्मले दर्शकको मन जित्यो र हलमा ५१ दिन पनि मनाउन सफल भयो। फिल्मको कथा समाजका अबला नारीमाथि बोक्सीको नाममा गरिने सामाजिक अन्यायको कथालाई प्रस्तुत गरिएको छ। मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी र बाल कलाकार सुपोला सापकोटाको अभिनयलाई दर्शकले मन पराएका थिए।

अञ्जिला

यस वर्ष सर्वाधिक कमाउने फिल्मको पाँचौ नम्बरको बायोपिक फिल्म ‘अञ्जिला’ रहेको छ। प्रदर्शनरत फिल्मले ७ करोड ५ लाख ग्रसा कलेक्सन गरिसकेको बोर्डको तथ्याङ्कमा उल्लेख छ।

फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको बाल्यकाल, खेलप्रतिको रुचि, खेलाडी बन्ने सपना, संघर्ष, पारिवारिक उतारचढाव र सफलताको कथा प्रस्तुत गरिएको छ। स्वयं एञ्जिलाकै अभिनय रहेको फिल्मलाई दर्शकले रूचाइरहेका छन्। फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ। मिलन चाम्सको निर्देशनमा बनेको फिल्म फागुन २९ देखि हलमा चलिरहेको छ।

पूजार सार्की

सर्वाधिक कमाउनेको नम्बर ६ मा ‘पूजार सार्की’ रहेको छ। फिल्मले ७ करोड ३७ लाख ग्रस कलेक्सन गरेको छ। फिल्मबाट अभिनेता प्रदीप खड्काको मैते चरित्र चर्चित बनेको थियो।

फिल्मले अन्तरजातीय विवाहपछि आइपर्ने समस्या र सामाजिक द्वन्द्वको कथा प्रस्तुत गरेको छ। फिल्ममा आर्यन सिग्देल, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बूलगायत कलाकारको अभिनय छ। फिल्ममा समावेश ‘रिमै’ बोलको गीत पनि चर्चित बन्यो। दिनेश राउतको निर्देशन रहेको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।

घरज्वाइँ

असारमा प्रदर्शन भएको फिल्म ‘घरज्वाइँ’ सर्वाधिक व्यापार गर्नेमध्ये नम्बर सातमा परेको छ। फिल्मले ५ करोड ९५ लाख ग्रस कलेक्सन गरेको तथ्याङ्कमा उल्लेख छ। यसवर्ष हलमा ५१ दिन मनाउन सफल यो तेस्रो फिल्म हो। हिट जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म मगर समुदायको संस्कार र संस्कृतिमा आधारित छ। फिल्मका निर्देशक अनिल बुढा मगर हुन्।

कुन महिनामा कति फिल्म?

वैशाख  : ‘बोक्सीको घर’, ‘मनसरा’, ‘खजुरे ब्रो’।

जेठ : ‘फर्की फर्की’, ‘पुजार सार्की’, ‘गाउँ आएको बाटो’, ‘लण्डन टु पेरिस’, ‘बाटो’।

असार : ‘दान्भी’, ‘घरज्वाइँ’, ‘आचार्य’ पुनः प्रदर्शन।

साउन  : ‘ब्ल्याँक छाया’, ‘ईश्वर’, ‘मोदीबेनी’, ‘शिरफूल’ र ‘नम्बरी सुन’। ‘बुलाकी’ पुनः प्रदर्शन।

भदौ  : ‘सतीदेवी’, ‘नमेटिने घाउ’, ‘वर एण्ड वधु’, ‘देवी’, ‘रावायण’ ‘शाम्बाला’।

असोज  : ‘खुस्मा’, ‘सानो संसार’, ‘आँखा’, ‘बेहुली फ्रम मेघौली’, ‘१२ गाउँ’, ‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’।

कात्तिक  : ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘ह्रस्व दीर्घ’।

मंसिर : ‘तेल भिसा’ र ‘अग्निदहन’।

पुस  : ‘बम बहादुर’, ‘देव वाणी’ र ‘कार्साङ’।

माघ  : ‘फिरफिरे फिरिरी’, ‘एक्टर’, ‘मिसिङ : केटी हराएको सूचना’, ‘एक्टरः टेक वान’, ‘ममी’, ‘सारंग’, ‘जूनाः एक व्यथा’।

फागुन  : ‘रंगी’, ‘दुःखी आत्मा’, ‘ताण्डवम्’, ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’, ‘मायावी’, ‘होस्टेल ३’, ‘आउट लः दफा २१९’, ‘अञ्जिला’, ‘गलय वना’, ‘खँया वला’।

चैत  : ‘राजागंज’, ‘द्रौपदी’, ‘११ः५५’, ‘डोरी’, ‘वसन्त’, ‘कर्मा’, ‘पिताम्बर’।

प्रकाशित: १ वैशाख २०८२ ७:११ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast