गभर्नर नियुक्तिमा ढिलाइ, अर्थमन्त्री पौडेल दोहोर्‍याइरहन्छन्- छिट्टै हुन्छ

रमेश भारती ३१ चैत २०८१ १६:४०
216
SHARES
गभर्नर नियुक्तिमा ढिलाइ, अर्थमन्त्री पौडेल दोहोर्‍याइरहन्छन्- छिट्टै हुन्छ उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल। फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंक गभर्नरविहीन भएको एक साता बितेको छ। तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ गते सकिएको हो। सरकारले गभर्नर नियुक्ति प्रक्रिया थाले पनि छलफल अघि बढाउन नसक्दा केन्द्रीय बैंक नेतृत्वविहीन बन्न पुगेको छ।

सरकारले गभर्नर सिफारिसका लागि फागुन अन्तिम साता उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन्। समितिको बैठक बस्न नसकेको जानकारी अर्थ मन्त्रालय स्रोतले दियो।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ।

सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए। अर्थमन्त्री पौडेल भने गभर्नर नियुक्ति छिट्टै हुने दाबी गर्न छाड्दैनन्। उनले योग्य र सक्षम विज्ञलाई नियुक्त गर्ने तयारी भइरहेको बताए। पौडेलले भने, ‘सरकारले क्या राम्रो निर्णय गर्‍यो भन्ने सन्देश जाने गर्ने गरी छिट्टै गभर्नर नियुक्ति गरिनेछ।’

पौडेलका अनुसार गभर्नर नियुक्तिमा दुई दलबीच कुरा नमिलेर ढिलो भएको भन्ने कुरा सत्य होइन। उनले भने, ‘चाँडै गभर्नर नियुक्ति हुन्छ। मौद्रिक र आर्थिक नीतिमा गभर्नरको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। जसका कारण योग्य मान्छे ल्याउनुपर्छ।’

अर्थमन्त्री पौडेलले चैत पहिला सातादेखि गभर्नर नियुक्ति चाँडै हुने बताउँदै आएका छन्। उनले चैत १७ गते एउटा सार्वजनिक कार्यक्रममा सरकारले २३ गतेभित्रै गभर्नर नियुक्तिको तयारी गरिरहेको बताएका थिए। गत मंगलबार काठमाडौँमा भएको एक सार्वजनिक कार्यक्रममा उनले गभर्नर नियुक्ति यही साता हुने र योग्य मान्छे ल्याइने बताएका थिए।

अर्थमन्त्रीले भनेजस्तो यो साता पनि गभर्नर नियुक्ति हुने सम्भावना नभएको अर्थ मन्त्रालय स्रोतको दाबी छ। स्रोतका अनुसार गभर्नर नियुक्तिमा अर्थमन्त्री पौडेल नेतृत्वका सिफारिस समितिलाई प्रधानमन्त्री केपी ओलीले हस्तक्षेप गरेर भूमिकाविहीन बनाएका छन्।

समितिका सदस्य विश्व पौडेल देशबाहिर छन्। उनी शुक्रबार युरोप भ्रमणमा निस्किएको पारिवारिक स्रोतले बताएको छ।

अर्थविज्ञ केशव आचार्यले गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथापजस्तो देखिएको बताए। ‘सत्ता साझेदार पार्टीले आआफ्नो मान्छे नियुक्त गर्न खोज्दा गभर्नर नियुक्तिमा ढिलो भइरहेको देखिन्छ’, उनले भने।

गभर्नर बन्नका लागि ६ जना दौडमा छन्। राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना गभर्नर बन्ने प्रयासमा छन्।

राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यले लामो समय गभर्नर रिक्त भएमा सञ्चालक समितिबाट पारित गरेर मौद्रिक समीक्षा सार्वजनिक गरिने प्रावधान रहेको बताए।

राष्ट्र बैंक ऐनले बैंकिङ क्षेत्रको कर्तव्य र अधिकारभित्र बैंकको सञ्चालन तथा व्यवस्थापन गर्ने, बैंकले गर्नुपर्ने कार्यहरु व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय संघ-संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने–गराउने, मौद्रिक तथा विदेशी विनिमयसम्बन्धी नीति कार्यान्वयन गर्ने/गराउने, वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने जिम्मेवारी गभर्नरलाई तोकेको हुन्छ।

 

प्रकाशित: ३१ चैत २०८१ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast