एमालेसँग पार्टी एकताका लागि छलफल गर्छौं : कार्यदल सदस्य पोखरेल [अन्तर्वार्ता]

हिमाल प्रेस २४ पुष २०७९ २०:०१
12
SHARES
एमालेसँग पार्टी एकताका लागि छलफल गर्छौं : कार्यदल सदस्य पोखरेल [अन्तर्वार्ता]

नेकपा माओवादी केन्द्रले वामएकताका एक कार्यदल गठन गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको शीर्ष नेताको बैठकले गठन गरेको कार्यदल संयोजकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा छन्। सदस्यहरूमा महासचिव देव गुरुङ र उपमहासचिवहरू जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन्।

माओवादी केन्द्रले चाहेको वाम एकता, यसको आवश्यकता, एकताका लागि समेट्ने दलहरू, एकता भइसक्ने समयलगायत विषयमा कार्यदल सदस्य गिरिराजमणि पोखरेलसँग गरिएको संक्षिप्त कुराकानी:

कोसँग वार्ता गरी एकता गर्नका लागि कार्यदल गठन भएको हो?

पहिलो कुरा हाम्रो पार्टी र विभिन्न वामपन्थी समूहबीच पहिले पनि वार्ता टोली थियो। एकपटक देव गुरुङजीको नेतृत्वमा थियो। पछि फेरि महराजीको नेतृत्वमा थियो। चुनावअगाडि पनि थुप्रै समूहहरूसँग वार्ता गर्‍यौँ। अहिले पछिल्लो चुनावको परिणाम आइसकेपछि बदलिएको राजनीतिक परिस्थितिमा समाजवादलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने वामपन्थी पार्टीहरू नयाँ ढंगले जानुपर्छ भन्ने जनताको सन्देशलाई ध्यान दिएर एउटा अर्को टोली बनेको छ।

हाम्रो टोलीको बैठक बसिसकेको छैन। पार्टीले त्यो जिम्मेवारी त दियो। पहिले हामी आफैँ एकचोटी बस्छौँ। कार्ययोजना बनाउँदछौँ। त्यसो गर्दाखेरी चाहीँ कतिपय पार्टीहरूसँग हाम्रो विगतदेखि नै छलफलहरू चलिराखेको छ। उहाँहरूले पहिलो प्राथमिकता पाउनुहुन्छ। त्यसपछि क्रमशः संसदभित्र भएका, बाहिर रहेका समाजवादलाई केन्द्रबिन्दुमा राखेर जान चाहने शक्तिहरूसँग हामी छलफल गर्छौं।

विगतमा एमालेसँग गरेको एकता असफल भइसकेको छ। तपाईंहरूलाई अहिले तुरुन्तै वाम पार्टीहरूको एकता गर्नुपर्ने आवश्यकता किन आइलाग्यो ?

असफल नभनौँ। एउटा अभ्यास गरिएको थियो। दृष्टिकोणगत कुराहरू पनि भए। विधिगत कुरा पनि भए। जनताले एकता गर भने। नेतृत्व त्यो ठाउँमा पुगेको रहेनछ। त्यसकारण त्यो अभ्यासहरू विफल भएका छन्। तर फेरि नेपालको समकालीन राजनीतिको दृष्टिकोणले जति त्यसलाई अस्वीकार गरे पनि मिलेर जानुको विकल्प छैन। त्यसकारणले एकप्रकारले हामी जनताको अधिकारको लागि विभिन्न राजनीतिक शक्तिसँग सहकार्य गर्दै पनिअगाडि बढेका छौँ।

हामी जनयुद्ध र जनआन्दोलनलाई जोड्दै पनि अगाडि बढेका छौँ। मिल्नुपर्ने शक्तिसँग मिलिरहेका छौँ। एकातिर त्यो पक्षलाई बिर्सिनु हुँदैन। अर्कोतर्फ बामपन्थीहरूबीच पनि सहकार्य, कार्यगत एकता, एकीकरणका थुप्रै श्रृंखलाहरू पनि चलेका छन्। पछिल्लो चुनावको परिणामपछि जुन ढंगको सन्देश हामीलाई प्राप्त भएको छ। त्यो सन्देशलाई दृष्टिगत गरेर यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढौँ भनेर सोचिएको हो।

पार्टी एकता गर्न एमाले, एकीकृत समाजवादी अथवा नेपाल समाजवादी पार्टी कोसँग चाहीँ तपाईंहरूको पहिलो प्राथमिकता हो?

मोटो अर्थमा हामी सबै वामपन्थीहरूसँग व्यवस्थित ढंगले भेटघाट गर्छौं। छलफल, संवाद गर्छौं। त्यो क्रममा डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको पार्टी त हामी मिलेरै चुनाव लडेका हौँ। अहिले एउटै संसदीय दलअन्तर्गत हामीले काम गर्नुपर्ने आवश्यकता छ। पछिल्लो बेला पनि डा. साबले भेटघाटहरू तीव्र ढंगलेअगाडि बढाउनु भएको छ।

हाम्रो यो शीर्ष नेताहरूको तहमा पनि छलफल भइसकेको विषयवस्तु हो। अर्को कुरा चुनावअगाडि नै हामी एकीकृत समाजवादीसँग पार्टी एकता संयोजन समिति बनाउने भनेर छलफल चलेको थियो। उहाँहरूले पनि पार्टी एकतालगायत विषयमा छलफल गर्न भनेर हालसालै टोली बनाउनुभएको छ। स्वभाविक ढंगले उहाँहरू प्राथमिकतामा उहाँहरू पर्नुहुन्छ।

अनि एमाले?

हामी छलफल गर्छौं। एमालेसँग पनि हामीले छलफल गर्नुपर्ने हुन्छ। उहाँहरूको प्राथमिकतामा पर्छ कि पर्दैन त्यो अर्को प्रश्न भयो। हामीले मात्रै प्राथमिकता दिएर आउने कुरा भएन। पहिले पनि नेकपा बनायौँ। अस्वभाविक ढंगले त्यो टुटेको थियो। संसदबाहिर भएका थुप्रै पार्टी छन्। नेताहरू हुनुहुन्छ।

उहाँहरूसँग पनि हामीले छलफल गर्नुपर्छ। त्यसकारणले हामीलाई हाम्रो कार्ययोजना बनाउनदिनुस् प्राथमिकता त्यसले निर्धारण गरिहाल्छ।

अब पार्टी बनाउँदा कम्युनिष्ट पार्टी भनेरै बनाउने हो कि समाजवादी ?

वार्ता टोलीमा भएको कारणले अहिले मैले यो कुरा बोलिहाल्न मिल्दैन। किनभने हाम्रो पनि छलफल बाँकी छ। हामीले कम्युनिष्ट, वामपन्थी, देशभक्त, अहिले हाम्रो उपलब्धिहरूको रक्षा गर्ने, यो सबै कोणबाट हेर्नुपर्छ र एउटा कुरा त हाम्रो संविधानले नै समाजवादउन्मुख भनेको कोणबाट वैज्ञानिक समाजवादलाई केन्द्रबिन्दुमा राख्ने कुरालाई चाहीँ हामी प्राथमिकतामा राख्छौँ।

सरकारले पूर्णता पाइनसकेको अवस्थामा वाम पार्टीहरूबीच एकता गर्नुको अर्थ- संसदमा २/४ सिट थपिन्छ र प्रचण्डलाई प्रधानमन्त्री बनाइराख्न सकिन्छ भन्ने तपाईंहरूको लोभ हो?

यो शब्द उपयुक्त भएन। लोभ त भइहाल्छ नि अब हाम्रो पार्टीको अध्यक्षको नेतृत्वमा सरकार बनाएपछि त्यो सरकारलाई सफल बनाउनु, त्यसलाई पूर्णअवधि अघि बढाउनु, जनताले कुनै एउटा पार्टीलाई बहुमत नदिएपछि मिलेर जानुपर्ने आवश्यकता हो।

त्यसमाथि पनि कुनै न कुनै ढंगले अहिलेको अंकगणितीय हिसाबमा पनि हामी एउटा निर्णायक ठाउँमा छौँ भनेपछि हाम्रो हिजोमात्रै नेतृत्वसहीत बसेको छलफलले अहिले हामीलाई १६९ त त्यसै पनि हस्ताक्षर गर्नु नै भएको छ।

अरूलाई पनि आह्वान गर्ने, अपिल गर्ने, मिलेर जान आह्वान गर्ने यो पक्ष छँदैछ। अर्को कुरा यो तात्कालिक मात्र कुरा होइन। चुनावको जनादेशलाई ठीक ढंगले मूल्यांकन गर्दै अहिले चलिरहेका राजनीतिक दलहरूप्रति विकर्षण पनि पैदा छ। अरू शक्तिहरू पनि देखापरेका छन्। हामीले एउटा सही दिशामा समाजलाई अगाडि बढाउने हो भने हामीले वाम, लोकतान्त्रिक, देशभक्तहरूको धारलाई मजबुत बनाउनेगरी पनि त काम गर्नुपर्ने हुन्छ।

त्यसकारणले अहिलेको संकटलाई पनि समाधान गर्ने हो। दीर्घकालीन ढंगले नेपाली समाजलाई एउटा सही दिशा दिने उद्देश्यद्वारा पनि यो उत्प्रेरित छ। र चुनावअगाडि गरौँ भनेका कुराहरू चुनाव पछाडी स्वभाविक ढंगले अब प्राथमिकतामा आइपर्‍यो।

वामएकता पछिको नेतृत्व प्रचण्डले गर्ने कि, अरू नै नेता स्वीकार्नु हुन्छ?

अहिले हाम्रो पर्याप्त छलफल भइसकेको छैन। पहिलो कुरा समाजवादलाई केन्द्रबिन्दुमा राखौँ। दोस्रो कुरा तत्कालीन राजनीतिलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि गरौँ। दीर्घकालीन ढंगले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने भएपछि कार्यक्रमिक ढंगले, कार्यदिशागत ढंगले छलफल पनि हुन्छ।

नेतृत्वको कोणबाट पनि छलफल हुन्छ। अहिलेको आन्दोलनलाई अगाडि बढाउने एउटा मुख्य नेता भएको कारणले गर्दाखेरी नेतृत्वको ठीक ढंगको स्थापनाको प्रश्न हामीअघि आइपुग्छ। हामीले एक ढंगले उपाय खोजी गर्‍यौँ विगतमा। दुई-दुई वटा अध्यक्ष बनाएर एउटा प्रयोग गर्‍यौँ।

अरू अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नभएका अभ्यास पनि गर्‍यौँ। हामी टुट्यौँ पनि अहिले फेरि परिस्थितिले हामीलाई एक ठाउँ लिएर आयो। हामीले अहिले यो सर्त मानेर मात्र एकता हुन्छ भनेर भन्दैनौँ। तर स्वभाविक ढंगले सही कार्यदिशा निर्माण गर्ने, नेतृत्वको विन्यास गर्ने, संगठन प्रणालीलाई ठीक ढंगले लैजाने, अहिलेको बदलिएको विश्वपरिस्थितिलाई हेर्ने, विज्ञान, प्रविधिलाई आत्मसात गर्ने, नयाँ युवापुस्तालाई विकास गर्ने जस्ता थुप्रै कार्यभार हाम्रोअगाडि छ। एउटा लिडरशीपको प्रश्न मात्र हाम्रोअगाडि छ भन्ने लाग्दैन।

वर्तमान सत्तागठबन्धन कति लामो समय जान्छ? सरकारको स्थायित्वको सम्बन्धमा शंका गर्नेहरू पनि छन्।

पहिलो कुरा २६ गते विश्वासको मत लिने प्रक्रिया सफल हुन्छ। दोस्रो, अहिले जुन ढंगले छलफलहरू सुरु भएका छन् देशलाई स्थायित्व चाहिएको छ। विकास चाहिएको छ। जनअधिकारको रक्षाको कुरा छ। उपलब्धिहरूलाई रक्षा गर्दै थप उपलब्धि प्राप्तितिर जानुपर्ने छ। त्यसकारणले विश्वासको मतसँगै नयाँ छलफल पनि सुरु हुन्छ।

संसद पनि कार्यकारी भएर जान्छ। मलाई के लाग्छ भने आजकै बिन्दुमा भएको ध्रुवीकरणमा नै नेपाली समाज बसिरहँदैन। स्वभाविक ढंगले सरकारको नेतृत्व गरेको पार्टी भएको कोणबाट जनयुद्ध, जनआन्दोलनहरूलाई नेतृत्व गरेको पार्टी भएको कोणबाट, संविधान निर्माण गरेको पार्टीको कोणबाट जनताको आवश्यकता र राष्ट्रको आवश्यकतालाई ध्यान दिएर परिस्थितिले माग गरे अनुरूपको भुमिका खेल्न हाम्रो पार्टी लागि पर्छ। -न्यूज एजेन्सीको सहयोगमा

प्रकाशित: २४ पुष २०७९ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =