शिक्षकका माग तत्काल पूरा गर्न सकिँदैन, प्रचण्डले समाधान दिनुको सट्टा उकास्नुभयो : एमाले महासचिव पोखरेल

हिमाल प्रेस २५ चैत २०८१ ७:२८
4.6k
SHARES
शिक्षकका माग तत्काल पूरा गर्न सकिँदैन, प्रचण्डले समाधान दिनुको सट्टा उकास्नुभयो : एमाले महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन्। प्रचण्डले आइतबार एक कार्यक्रममा बोल्दै काठमाडौँमा आन्दोलनरत शिक्षक कर्मचारीलाई माग पूरा नभएसम्म आन्दोलनको मैदान नछाड्न आग्रह गरेका थिए।

‘प्रचण्ड’ ले शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर उर्दी जारी गर्नुभएछ। कानुन निर्माणका लागि विधि र प्रकृया आवश्यक पर्दछ भन्ने कुरा पटकपटक प्रधानमन्त्री भएको प्रचण्डजीलाई थाह नहुने कुरै भएन। के सडकवाट विधि र प्रकृयाविनै कानुन निर्माण गर्न सम्भव छ र?,’ पोखरेलले आइतबार साँझ भने।

विगतमा शिक्षकसँग सम्झौता गरेर त्यसको कार्यान्वयनमा उदासिनता देखाउने प्रचण्ड नेतृत्वको सरकार नै भएको सम्झदाउँदै महासचिव पोखरेलले थपे, ‘उहाँ प्रधानमन्त्री भएको समयमा सम्झौता अनुसार विधेयकमा नै सुधार गरेर प्रस्तुत गरेको भए १८०० भन्दा बढी संशोधन प्रस्तावको जटिलतामा शिक्षा समिति पर्ने थिएन।

संविधान कार्यान्वयसँग संबन्धित विधेयक पास नभएको कुरामा सत्ता पक्षले चिन्ता प्रकट गर्दै यतिवेला संयन्त्र गठन गरेर काम थालेको अवस्था छ। सत्तापक्षले संयन्त्र बनाएर छोटो प्रकृया अवलम्बन गरेरै हिउँदे अधिवेशनवाट विधेयक पारित गर्न प्रयास गरेको थियो। उक्त प्रयासलाई माओवादीले समेत सहयोग गरेको भए शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था नै रहदैनथ्यो।’

पोखरेलले माओवादी नेतृत्वको कारणले समेत संसदीय समितिले उपसमिति गठन गर्न तीन महिनाभन्दा बढी समय लगाएको र उपसमिति गठन भएर छलफल समेत सुरु नभएको अवस्थामा विधेयक पास गर्ने बाटो प्रचण्डले देखेको भए प्रस्ताव राख्नु उचित हुने बताए।

हिउँदे अधिवेशन अन्त्य भएको र विधेयक विचाराधीन रहेको अवस्थामा शिक्षक नेताहरूले माग गरे झै अध्यादेश जारी गर्न मिल्ने अवस्था नदेखिने पोखरेलको भनाइ छ।

उनले भने, ‘प्रमुख दलहरूको सहयोग रहने हो भने बजेट अधिवेशन अगावै सहमति जुटाएर वजेट अधिवेशनको सुरुमै कानुन जारी गर्न सकिन्छ। त्यसका लागि सत्तापक्ष तयारै देखिन्छ। यस्तो अवस्था रहँदा रहदै प्रचण्डजीले समाधानको प्रस्ताव नराखी शिक्षकहरूलाई आन्दोलन नछोड्न भनेर भन्नुको अन्तर्य के होला? कतै हलो अड्काएर गोरु चुट्ने त होइन?’

प्रकाशित: २५ चैत २०८१ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast