लेखकले सनातन संस्कृति भुल्नु हुँदैन : हरिभक्त सिग्देल ‘महेश’ [साहित्य वार्ता]

हिमाल प्रेस २३ चैत २०८१ ९:०४
26
SHARES
लेखकले सनातन संस्कृति भुल्नु हुँदैन : हरिभक्त सिग्देल ‘महेश’ [साहित्य वार्ता]

साहित्यकार हरिभक्त सिग्देल ‘महेश’ का विभिन्न विधामा गरी ४९ वटा कृति प्रकाशित छन्। उनको पहिलो प्रकाशित रचना ‘किसान’ शीर्षकको कविता (२०२४) हो। साहित्यका प्रायः सबै विधामा कलम चलाएका सिग्देलका श्रीमद्भगवतगीता पद्यानुवाद, मुक्तकसंग्रह, गजलसंग्रह, गीतसंग्रह, उपन्यास र लघुकथासंग्रह चाँडै प्रकाशनको तयारी छ। प्रस्तुत छ, सिग्देलसँग जितराज सापकोटाले गरेको कुराकानी :

यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो?

विद्यार्थीकालमा २०२४ तिर विद्यालयको वार्षिकोत्सवमा कविता प्रतियोगिता हुँदा किसान शीर्षकको कवितामा सान्त्वना पुरस्कार पाएको थिएँ। त्यसले मलाई कविता लेख्ने प्रेरणा मिल्यो। २०४४ बाट शान्तिक्षेत्र नेपाल कवितासंग्रह, श्रीमद्भगवतगीता नेपालीमा अनुवाद, स्त्रोत्रपाठ नेपालीमा प्रकाशित भएका छन्। पत्रपत्रिकामा व्यावसायिक र साहित्यिक लेख प्रकाशन पनि प्रकाशित हुँदै आएका छन्।

कसबाट र कसरी प्रभावित हुनुभयो?

महाकवि लक्ष्मीप्रसाद देवकोटा, साहित्यकार विश्वेश्वरप्रसाद कोइराला र गुरु धरणीधर कोइराला नेपाली साहित्यमा मैले बिर्सनै नहुने नाम हो। यसैगरी गुरु हरिप्रसाद घिमिरे, गुरु दामोदर घिमिरे, आख्यानकार प्रा.डा. अर्जुनदेव भट्ट, नियात्राकार विष्णुप्रसाद पन्त, गुरु प्रा.डा. ऋषिराम पोखरेल, कवीन्द्र कलानिधि दाहाल, समालोचक युवराज मैनाली, निबन्धकार गोपी मैनाली, समालोचक ठाकुर शर्मा भण्डारी, पण्डित तथा आशुकवि श्री रामचन्द्र घिमिरे, अनुवादक नारायण शर्मा, डा. खेम कोइराला बन्धु, डा. घनश्याम पुडासैनी, डा. दामोदर पुडासैनी, कवि दुर्गा किरण तिवारी क्षितिज, गजलकार रोमा लम्साल, कवि शशिश्री आचार्य, महेशप्रसाद रिजाल, प्रा.डा. सुरेश थापा र मेरो लेखनको स्तर खस्केला कि भनेर सधैँ झक्झकाइरहने मेरी नातिनी रिभा थापा मेरा लेखनको प्रेरणाका स्रोत हुन्।

यस्तै प्रा.डा. ऋषिराम पोखरेल, नारायण शर्मा र पण्डित तथा आशुकवि रामचन्द्र घिमिरेज्यूहरूसँग व्याकरणको सहयोग लिई सधैँ धार्मिक पुस्तक अनुवाद गर्ने लेख्ने र निशुल्क वितरण गर्ने गर्थेँ। मेरा मित्र डा. घनश्याम पुडासैनी र भाइ डा. दामोदर पुडासैनीले धार्मिक साथ साथै साहित्यिक लेख, पुस्तक प्रकाशन तथा विमोचन गर्नुपर्छ भन्नेतर्फ प्रेरित गरेका हुन्।

बिस्तारै कवीन्द्र कलानिधि दाहालज्यूको सामीप्यले म गद्यपद्य कविता लेखनतर्फ आकर्षित हुन थालेँ। उहाँकै अगुवाइमा मैले खण्डकाव्य, महाकाव्य, गद्य कविता र पद्य कवितासंग्रह प्रकाशन थालनी गरेँ। नेपाली साहित्यकार विश्व सञ्जाल, अभियन्ता, साहित्यकार स्पन्दन विनोद बेलायतले तयार गरेको साहित्य सञ्जालमा प्रत्येक बार र विधाका गुरुहरूबाट आइतबार चारुदेवी पन्थी, बाछिटा अमर त्यागी अमेरिका, सोमबार गजल डा. घनश्याम परिश्रमी, मंगलबार गद्यकविता कवीन्द्रश्री कलानिधि दाहाल, बुधबार खोरिया जनार्दन अधिकारी धड्कन, मुक्तक सुनील अधिकारी, बिहीबार छन्द कविता हरिप्रसाद रिमाल र विदुर अधिकारी, शुक्रबार गीत ज्ञानेन्द्र गदाल, टुक्का कविता ताराप्रसाद चौलागाईं र शनिबार लघुकथा राजन सिलवालसमेतका गुरुहरूसँग सिक्ने अवसर पाएँ।

मैले चारु, बाछिटा, गजल, गद्य कविता, खोरिया मुक्तक, छन्द कविता, गीत, टुक्का कविता, लघुकथाका साथै उपन्यासतर्फ पनि कलम चलाउन थालेँ। गजल, मुक्तक र गीतमा ज्ञानुवाकर पौडेल सुनील अधिकारी साथै रोमा लम्सालको विशेष साथ सहयोग पाएको छु।

कसरी बढिरहेको छ त लेखन गतिविधि?

सामान्यतः वर्षको २।४ वटा कृति प्रकाशित हुन्छन्। त्यसमा साहित्य र धार्मिक साहित्य बराबरी हिसाबले प्रकाशित भइरहेका छन्।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ?

म सनातन वैदिक धर्मको यथार्थ विषयमा लेख्छु र लेख्नुको उद्देश्य आफ्नो सनातन धर्म र संस्कृति लोप नहोस् भन्ने हो। त्यसैगरी साहित्य लेखनमा जुनसुकै विधामा कलम चलाए पनि घरपरिवार, समाज, देश र विश्वमा भएका विकृति/विसंगतिविरुद्ध तथासदाचार अनि विकास सत्यलाई आधार मानेर कलम चालउँछु। त्यसबाट म असन्तुष्ट हुने कुरै भएन।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि?

श्रीमद्भगवतगीता मेरो भावानुवादबाट पद्यानुवाद गराउँदै छु । त्यो चाँडै प्रकाशत हुनेछ। मुक्तक र गजलसंग्रह, लघुकथासंग्रह साथै एउटा उपन्यास लेखनमा व्यस्त छु।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ?

देशको सामाजिक उत्थान र आर्थिक विकास साथै धार्मिक तथा सांस्कृतिक संरक्षण अनि उत्तरोत्तर प्रगतिका लागि साहित्यको महत्त्वपूर्ण र सकारात्मक भूमिका रहन्छ। यसरी देश, जनता र प्रजातन्त्रको उत्थानमा दत्तचित्त भई विविध विधामार्फत आआफ्ना अभिव्यक्ति आफ्नो देश र विश्वसामु पस्कने स्रष्टाहरूप्रति देशको सम्मानजनक र सहयोगी भावना हुनुपर्दछ।

तपाईंको साहित्यिक आदर्श के हो?

इमानदारी, सत्यनिष्ठता, चारित्रिक सुधार र धर्मसंस्कृतिको रक्षा।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त?

९९ प्रतिशत लेखकहरू मानव समुदाय र यसको उत्तरोत्तर प्रगतिका लागि आफ्ना सिर्जना लेख्छन्– जसमा शिक्षा, स्वास्थ्य, उद्योग, खेलकुद, विज्ञान, आविष्कार साथै प्रकृति, सुन्दरता, स्वतन्त्रता र मानवअधिकारका विषयमा कलम चलाइरहेका हुन्छन् भने केही नगन्य संख्यामा भएको अपवादलाई बहुमतले आफ्ना सकारात्मकतामा बिलाइदिन्छ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ?

पूर्ण सन्तुष्ट छु।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ?

सामाजिक र विश्वमा भएका परिवर्तन सापेक्ष हुँदै गएको छ। तापनि अहिले भइरहेका विश्वका युद्धमा संयुक्त राष्ट्रसंघसमेत निरीह देखिन्छ। साहित्यकारहरूले प्रत्येक अन्याय र अत्याचारविरुद्ध कलम बुलन्द बनाइरहेका छन् जबकि हिजो त्यो अवस्था थिएन।

तपाईँको विचारमा कस्तो साहित्य लेखिनुपर्छ?

व्यक्ति, समाज, राष्ट्र र विश्वलाई सकारात्मक सन्देश दिने।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ?

प्राकृतिक सुन्दरता र भइरहेका राम्रा/नराम्रा घटनाले।

तपाईंको लेख्ने निश्चित समय छ कि?

फुर्सद हुनासाथ खास लेखलाई समय निकाल्छु। साथै कुनै घटना/परिघटनाले जुनसुकै बेला लेख्न बाध्य बनाउँछ।

लेख्न कस्तो वातावरण चाहिन्छ?

शान्त वातावरणले लेखनमा उत्प्रेरित गर्दछ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ?

सकेसम्म साहित्यको स्तरोन्नति र समाजलाई सकारात्मक सन्देश दिने।

सफल स्रष्टाका आवश्यक गुण के/के हुन्?

सर्वप्रथम स्रष्टाले व्यापक अध्ययन गरी विषयवस्तुहरूको ज्ञान आर्जन गरेको हुनुपर्छ। त्यसपछि वर्तमान समयमा आफ्नो लेखन वा सिर्जनाले समाजलाई समयसापेक्ष सही बाटोमा हिँडाउन सक्ने सिर्जना हुनुपर्छ।

साहित्यमा कुन विधाका पाठक बढी भएको अनुभव गर्नुहुन्छ?

उपन्यास, कविता, कथा, नियात्रा, निबन्ध, नाटक।

सिर्जनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला?

सिर्जनामा सजीवता बढी हुनुपर्दछ तर काल्पनिकताले सत्यलाई नबंग्याइकन सिर्जनाको सजीवतालाई सिँगार्नुपर्दछ।

लेख्नुपर्ने बाध्यता कतिबेला हुन्छ?

नराम्रो बाटोमा समाज हिँडिरहेको देख्दा अनि राष्ट्र नै गुमराह भइरहँदा।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि?

लेख्नुस्, लेखिरहनुस्। यो विश्वले तपाईंबाट सकारात्मक मार्गदर्शन खोजिरहेछ।

किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन्?

सामाजिक बनावट त्यस्तै छ तर सकारात्मकता सही स्रष्टाले मानवता र विश्व बोक्छन्।

प्रस्तुति : जितराज सापकोटा

प्रकाशित: २३ चैत २०८१ ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast