जनमत-नाउपा एकीकरणको अन्तिम तयारी, उपेन्द्र र महन्थलाई फेरि धक्का!

धैर्यकान्त दत्त १४ चैत २०८१ १९:२३
58
SHARES
जनमत-नाउपा एकीकरणको अन्तिम तयारी, उपेन्द्र र महन्थलाई फेरि धक्का!

काठमाडौँ- मधेशका परम्परावादी राजनीतिक दलहरू टुटफुटमा अल्झिएका बेला तीन वर्षअघि आमचुनावबाट उदाएका पूर्वी र पश्चिमी मधेशका दुई शक्तिहरू एकता घोषणाको अन्तिम तयारीमा पुगेका छन्।

सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एकता घोषणा गर्न लागेका हुन्।

पुराना राजनीतिक दलका साथै मधेश केन्द्रित दलहरूको ‘वर्चस्व’ रहेका बेला २०७९ सालको आमनिर्वाचनमा पूर्वी मधेशमा जनमत र पश्चिमी मधेशमा नाउपा नयाँ शक्तिका रूपमा उदाएका दलहरू हुन्।

यी दुई दल एकीकरण गरेर पूर्वदेखि पश्चिम मधेशमा वैकल्पिक शक्तिका रूपमा उभिने तयारीमा जुटेको दुवै दलका नेताहरू बताउँछन्।

नेताहरूका अनुसार जनमत पार्टी र नाउपाबीच एकीकरणको तयारी अन्तिम चरणमा पुगेको छ। पार्टी एकताका लागि जनमतका अध्यक्ष सीके राउत र नाउपाका संरक्षक चौधरीबीच पटक-पटक छलफल भइसकेको छ भने दुवै दलले गठन गरेको कार्यदलको पहिलो बैठक पनि भएको छ।

केही दिनअघि महोत्तरीको बर्दिवासमा भएको जनमतको केन्द्रीय समिति बैठकले नाउपासँग एकीकरण गर्ने औपचारिक निर्णय गरेको थियो। बैठकले नाउपासँग एकताका तीन सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी छन्।

त्यस्तै नाउपाका तर्फबाट कार्यदलमा गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगौरा थारू सम्मिलित कार्यदल तयार भएको छ। चैत ११ गते बसेको कार्यदलस्तरीय बैठकमा पार्टी एकीकरणलाई मूर्त रूप दिने विषयमा छलफल भएको छ। कार्यदलमा समेत रहेका जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी पुनर्संरचनाका विषयमा छलफल भएको जानकारी दिए।

प्रवक्ता यादवका अनुसार एकीकरणपछि नयाँ पार्टीको नाम, शीर्ष नेताहरूको जिम्मेवारी, चुनाव चिह्नलगायतका विषयमा सहमति जुटिसकेको छ। एकीकरणपछि बन्ने पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिह्न नाउपाको ‘ढकिया’ राख्ने सहमति भएको छ। त्यस्तै एकीकरणपछि जनमतका सीके राउत अध्यक्ष रहने भएका छन्। सहअध्यक्षमा नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठ र रेशम चौधरी संरक्षक रहने सहमति भएको यादवले बताए।

नयाँ बन्ने पार्टीको विधान, संगठनात्मक संरचना, तल्लो तहमा कार्यविभाजनलगायतका विषयमा चाँडै टुंगोमा पुग्ने गरी छलफल अगाडि बढेको उनको भनाइ छ। ‘धेरै विषयमा सहमति भइसकेको छ, केही कुरा मिलाउन बाँकी छ,’ प्रवक्ता यादवले हिमालप्रेससँग भने, ‘हामी कार्यदलका सदस्यहरू छलफल गरेर टुंगोमा पुर्‍याउँदैछौँ। दुवैतर्फबाट विधान बनेका छन्। अन्तिम रूप दिन बाँकी छ।’

उनले मिति तोकेरै भन्न नसकिए पनि दुवै दलबीच चाँडै एकताको घोषणा हुने बताए।

दुवै दलबीच एकीकरणका लागि बैठक चलिरहँदा असन्तुष्ट बनेकी नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि सकारात्मक देखिएकी छन्। गत साता पार्टी एकीकरणलाई मुख्य एजेन्डा बनाएर बसेको नाउपाको केन्द्रीय समिति बैठकमा उनी स्वयं उपस्थित भएकी थिइन्।

सुरुमा केही असन्तुष्टि देखिए पनि पार्टी एकीकरणका सम्बन्धमा अध्यक्ष श्रेष्ठ अहिले सकारात्मक देखिएको नाउपाका एक नेताले बताए। ती नेताले भने, ‘केही कुरालाई उहाँ असन्तुष्ट देखिनुभएको थियो। अहिले मनमुटाव अन्त्य भएको छ। उहाँ सकारात्मकमात्रै होइन एकीकरणलाई लिएर उत्साहित पनि हुनुहुन्छ।’

महन्थ-उपेन्द्रलाई फेरि धक्का!

संविधान निर्माणपछि २०७४ सालमा भएको पहिलो आमनिर्वाचनमा पूर्वी तथा पश्चिमी मधेशमा महन्थ ठाकुर र उपेन्द्र यादवले नेतृत्व गरेको मधेश केन्द्रित दलहरूको पकड थियो।

मधेशमा महन्थ र उपेन्द्र नेतृत्वको दल बलियो हुँदा केही सिट कोशी र लुम्बिनी प्रदेशमा समेत जितेका थिए। यहाँसम्म कि अहिले नाउपाका संरक्षक रहेका रेशम पनि महन्थ नेतृत्वकै राष्ट्रिय जनता पार्टी (राजपा) बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

२०७९ सालको आमनिर्वाचनमा पूर्वी मधेशमा जनमत र पश्चिमी मधेशमा नाउपाको उदय भएपछि महन्थ र उपेन्द्र दुवैको पार्टीलाई धक्का लागेको थियो।

आमनिर्वाचनमा मधेश प्रदेशमा महन्थको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्रको जनता समाजवादी पार्टी (जसपा) नेपालले सिट गुमायो। दुवै दलले गुमाएका सिट जनमत पार्टीले हात पार्‍यो।

त्यस्तै पश्चिमी मधेशको थरूहट क्षेत्रमा नाउपाको दह्रिलो उदय भयो। यो दलले प्रतिनिधिसभाका साथै प्रदेशसभामा पनि आफ्नो उपस्थिति दर्ज गरेको थियो।

पछिल्लो निर्वाचनको परिणामले दिएको सन्देश हेरेरै दुवै दल एकीकरण गरेर पूर्वदेखि पश्चिम मधेशमा बलियो शक्तिका रूपमा उभिन सकिने निष्कर्षमा पुगेका हुन्।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले एकीकरणपछि बन्ने नयाँ पार्टी पूर्वदेखि पश्चिमसम्म बलियो राजनीतिक शक्तिका रूपमा उभिने दाबी गरे। उनले भने, ‘हामी विकल्पका रूपमा जन्मिएका पार्टी हौँ। पश्चिममा उहाँहरूको र पूर्वमा हाम्रो राम्रो पकड छ। एकीकरणपछि बन्ने नयाँ पार्टीले मधेशका पूर्वदेखि पश्चिमसम्म राम्रो प्रभाव पार्ने हाम्रो विश्वास छ।’

टुटफुटमा अल्झिएको पुराना मधेश केन्द्रित दलहरूको पश्चिमी मधेशमा शक्तिको क्षयीकरण भएको छ नै, पूर्वी मधेश खास गरेर मधेश प्रदेशमा पनि ह्रास आएको छ। विश्लेषकहरू पनि दुई दलबीच हुन लागेको एकताले लोसपा र जसपा नेपाललाई धक्का दिन सक्ने बताउँछन्। लोसपा र जसपा नेपाल शक्ति सञ्चयका लागि संघर्षरत छन्।

वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक चन्द्रकिशोर झा मधेश केन्द्रित पुराना दलहरूले संघर्ष गरिरहका बेला जनमत र नाउपाबीचको एकताले उनीहरूलाई क्षति पुर्‍याउन सक्ने बताउँछन्।

यसअघि पूर्वका साथै पश्चिमी मधेशमा समेत राजनीतिक शक्तिका रूपमा देखिएका पुराना मधेश केन्द्रित दलहरूलाई जनमत र नाउपाको एकीकरणपछि बन्ने नयाँ दलले चुनौती दिनसक्ने उनको बुझाइ छ।

‘पश्चिमी मधेशमा महन्थजी र उपेन्द्रजीको प्रभाव कम भएको छ,’ झा भन्छन्, ‘यस्तो अवस्थामा दुवै दलको एकीकरणपछि बन्ने नयाँ दल बलियो शक्तिको रूपमा आउन सक्छ।’

सीके राउत पूर्वी मधेशमा र नाउपा पश्चिमी मधेशमा उदाउँदै गरेको शक्ति भएको बताउँदै उनले दुवै दलबीचको एकता सकारात्मक रहेको उल्लेख गरे।

यद्यपि दुवै दलको एकताले मात्रै सबैथोक हुन नसक्ने भएकाले एकताको आयु पनि आवश्यक रहेको झाले बताए। यसअघि पनि दलहरूबीच एकीकरण भए पनि धेरै दिन टिक्न नसकेको उनले उल्लेख गरे। दीर्घकालसम्म एकतालाई निरन्तरता दिन दुवै दलका शीर्ष नेताबीचको आपसी समझदारी महत्त्वपूर्ण विषय रहेको झाको भनाइ छ।

‘एकतामात्रै सबैथोक होइन, यसलाई दीर्घकालसम्म लगेर जनताको हितमा काम गर्न सक्नु प्रमुख विषय हो,’ उनले भने, ‘पार्टीमा शक्तिको प्रयोग, जिम्मेवारी हस्तान्तरण, आन्तरिक लोकतन्त्रलगायतका विषयहरू महत्त्वपूर्ण हुन्छ।’

एकीकरणको विषयलाई लिएर दुवै दलका नेताहरू उत्साहित देखिएका छन्। पार्टी एकतापश्चात मधेशी र थारूलाई विभाजन गरेर राज्यले गर्दै आएका षडयन्त्रहरू अन्त्य हुने नेताहरूको भनाइ छ। जनमतका प्रवक्ता यादव मधेशी र थारूबीच फाटो ल्याएर राज्यले गर्दै आएको विभेद तथा षड्यन्त्र एकीकरणपछि अन्त्य हुने दाबी गर्छन्।

‘थारू र मधेशीलाई विभाजित बनाएर राज्यले धेरै रोटी सेक्ने काम गरिसक्यो,’ उनी भन्छन्,‘एकीकरणपछि राज्यको यो षडयन्त्र अन्त्य हुन्छ। मधेशी र थारू राष्ट्रिय राजनीतिमा प्रमुख शक्ति बनेर उभिनेछन्।’ एकीकरणपछि बन्ने नयाँ पार्टी मेचीदेखि महाकालीसम्म वैकल्पिक शक्तिको रूपमा उभिने दाबी गरे।

जनमत र नाउपा एकीकरण घोषणाको अन्तिम तयारी गरिरहँदा समान विचारधारा तथा एजेन्डा बोकेर राजनीतिक गतिविधि गरिरहेका अन्य राजनीतिक दलहरूलाई यो प्रक्रियामा सामेल गराइएको छैन। यसअघि बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) पनि एकीकरण प्रक्रियामा सहभागी हुने बताइए पनि हाल दुई दलमात्रै एकताका लागि अगाडि बढेका छन्।

जनमत पार्टीका प्रवक्ता यादवले हाल जनमत र नाउपाबीच मात्रै एकीकरण प्रक्रिया अगाडि बढेको बताए।

‘समान विचारधारा र पहिचानका लागि संघर्ष गरिरहेका सबै राजनीतिक दलसँग एकता हुनसक्छ, अहिले बाबुरामजीको पार्टीसँग यसबारे केही कुरा चलेको छैन,’ उनले भने, ‘सबैका लागि ढोका खुला राखेका छौँ।’

प्रकाशित: १४ चैत २०८१ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast