राष्ट्रिय महिला फुटबल प्रतियोगिता : एपीएफ फेरि च्याम्पियन, आर्मी उपविजेता

हिमाल प्रेस १० चैत २०८१ ७:२४ | Sunday, March 23, 2025
राष्ट्रिय महिला फुटबल प्रतियोगिता : एपीएफ फेरि च्याम्पियन, आर्मी उपविजेता

काठमाडौँ- सशस्त्र प्रहरी महिला टिम (एपीएफ) क्लव फेरि च्याम्पियन बनेको छ। यसअघि राष्ट्रिय लिग र इलाम गोल्ड कप जितेको एपीएफमाथि जित निकाल्न अर्को विभागीय टोली त्रिभुवन आर्मी प्रतिस्पर्धामा थियो।

भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको हो।

प्रतिस्पर्धात्मक खेलमा एपीएफ र आर्मीले निर्धारित समयमा १-१ गोल गरेको थियो। सुरुआती अग्रता आर्मीले लिएको थियो। खेलको १३ औं मिनेटमा आर्मीकी विमला चौधरीले गोल गरेकी थिइन्। आर्मी टिम अन्तिम ६ मिनेट सम्हालिन नसक्दा उपाधिबाट वञ्चित रहयो। ७५ औं मिनेटमा रश्मिकुमारी घिसिङले आकर्षक हेडर गोल गर्दै एपीएफलाई खेलमा फर्काइन्। बाँकी समयमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो।

विजेता एपीएफले तीन लाख रुपैयाँसहित ट्रफी उचाल्यो। उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पायो। एपीएफकी प्रीति राई प्लेयर अफ द म्याच भइन्। उनले १० हजार पाइन्। आर्मीकी चन्द्रा भण्डारी प्लेयर अफ द टुर्नामेन्ट भइन्। उनले ४० हजार रुपैयाँ प्राप्त गरिन्।

एपीएफकी सावित्री किसन उत्कृष्ट गोलरक्षक, आर्मीकी विमला बिक उत्कृष्ट डिफेन्डर, एपीएफकै रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, ८ गोल गरेकी एपीएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपीएफका जीवेश पाण्डे उत्कृष्ट प्रशिक्षक चुनिए।

उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे। चितवन जिल्ला फुटबल संघले भरतपुर महानगरको प्रवर्द्धनमा प्रतियोगितामा आयोजना गरेको हो।

प्रकाशित: १० चैत २०८१ ७:२४ | Sunday, March 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast