नियात्रा

पाँचपोखरीबाट देखिएको भूस्वर्ग

राजाराम बर्तौला २ चैत २०८१ १९:२०
58
SHARES
पाँचपोखरीबाट देखिएको भूस्वर्ग

गत वर्ष आमायांग्री गएर फर्कँदै गर्दा खाना खान मेलम्ची बजारमा रोकिएको थिएँ। इन्द्रावतीमाथि एउटा पुल देखेँ र पूर्वतर्फ सवारीसाधन गुड्ने बाटो। स्थानीयबाट यो बाटो छिम्तीसम्म जान्छ र त्यहाँबाट हिँडेर पाँचपोखरी जान सकिन्छ भन्ने जानकारी पाएँ। पाँचपोखरी पुगेर फर्कन चार दिन लाग्ने रहेछ। साथी पाएको भए त्यसै बेला जाने विचार थियो। कहिले के कहिले के नमिलेर योजना बन्न सकेको थिएन। स्कुले सहपाठी नारायण खड्का पनि जान तयार भएपछि फागुन २४ गते शनिबार त्यसतर्फ जाने कार्यक्रम बनाएँ।

मौसमी प्रतिकूलतासँग तादात्म्य राख्न आवश्यक भौतिक वस्तुहरू न्यायो वस्त्र किन्नैपर्‍यो। हिउँमा नचिप्लियोस् भनेर ग्रिप भएको जुत्ता, पानी पर्दा होस् या हिउँ पर्दा ओड्न एक जोर बर्सादी पनि लिएँ। टेक्ने लौरो, पानीको बोतल पनि किनेँ। टाउको छोप्ने ऊनीको टोपी र घाँटी बेर्ने कपडा पनि लिएँ। लेक लागेका खाने लगायतका प्राथमिक उपचारका लागि आवश्यक औषधि झोलामा कोचेँ। यत्ति तयारी गरेपछि निर्धारित मितिमा बिहानै यात्राका लागि घरबाट निक्लियौँ। जोरपाटीबाट टाटासुमो चढेर मेलम्ची बजार हुँदै भोताङको छिम्ती पुग्यौँ। नारायणले भन्यो- भुटान नगए पनि भोताङ आइपुगियो। ऊ खुसी देखियो।

पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउँपालिकामा पर्छ। यो एउटा प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। पूर्वमा जुगल हिमाल, पश्चिममा हेलम्बु, उत्तरतर्फ रसुवा जिल्ला र लाङटाङ राष्ट्रिय निकुञ्ज तथा दक्षिणतर्फ मेलम्ची पर्दछ। ४१०० मिटर उचाइमा रहेको पाँचपोखरी भोताङ क्षेत्रभित्र राष्ट्रिय निकुञ्जमा अवस्थित छ।

पाँचपोखरीको पवित्रता र यसको सौन्दर्यका विषयमा सुनेर मोहित भएको थिएँ। पाँचपोखरीमा पदयात्रा गर्ने लहर भर्खरै सुरु भएको हो। धार्मिक यात्रामा भने यदाकदा मानिसहरू जाने गर्दथे। धेरैजसो मानिस गोसाईँकुण्डको यात्रामै रमाउने हुँदा पाँचपोखरी यात्रामा कमै जान्थे।

गोसाईँकुण्डमा सांस्कृतिक पर्व जनैपूर्णिमामा मेला लाग्छ। त्यसैले धार्मिक भावले तीर्थ भर्ने चलन छ। पाँचपोखरीमा पनि जनैपूर्णिमाकै दिन मेला लाग्छ। गोसाईँकुण्डको धार्मिक कथासँग पाँचपोखरीको कथा पनि मिल्न जान्छ। यद्यपि मानिसको लर्को भने गोसाईँकुण्डमा बढी देखिन्छ। उचाइ पनि बराबरी छ। धार्मिक आस्था र महत्त्व दुवैको बराबरी छ, प्रचारप्रसारको कमीले हो वा अन्य कारणले पाँचपोखरी जाने तीर्थयात्री तथा घुमन्तेको संख्या कमै हुन्छ।

पाँचपोखरी नितान्त मौलिकतासहितको प्राकृतिक सुन्दरताले भरिपूर्ण आध्यात्मिक तथा प्राकृतिक पूर्णताले प्रेरित छुटाउनै नहुने गन्तव्य हो। अनएक्सप्लोर्ड गन्तव्य भएकोले हुनुपर्दछ घुमन्ते, फिरन्ते, योगी, भोगी जेजस्तो भए पनि यात्रीका लागि बाटोमा पर्ने आवश्यक सुविधाका लागि बिस्तारै निर्माण कार्य भइरहेको देखिन्छ। गुन्सासम्म पुग्दा क्षेत्रीबाहुनको बस्ती देखियो। खासमा केही बाहुन क्षेत्री सहयात्री गुन्सामा ओर्लिएका थिए। त्यहाँभन्दा माथि भने एकछत्र तामाङ बस्ती देखियो।

मेलम्ची बजारबाट इन्द्रावतीमाथि बनेको पुल तरेपछि इन्दावतीको तिरैतिर उकालो लागिन्छ। मेलम्ची बजार मेलम्ची र इन्द्रावतीको संगममा छ। मेलम्ची इन्द्रावतीमा आएर मिसिएपछि आफ्नो अस्तित्व मेटेर इन्द्रावती भएर बग्दछ। इन्द्रावतीको तिरैतिर पूर्वतर्फ उकालो लाग्दै गर्दा सिमलका राताम्मे फूलहरूले आकर्षण गर्दछ। वसन्त आगमनको चेत वनस्पतिले फूलेर उजागर गर्दछ।

प्रकृतिको यो मनोरम दृश्यमा उदात्त भावसँग रमाउँदैै गर्दा एउटा सुन्दर प्रवेशद्वार देखापर्‍यो। गाडी टक्क रोकियो। सवारी जाँचका लागि बसेका प्रहरी जवानले सवारी दर्ता गरे। एकजना व्यक्ति मुस्कुराउँदै हामी भएको ठाउँमा आए र सोधे, ‘कता जाँदै हुनुहुन्छ?’ हामीले भन्यौँ, ‘पाँचपोखरी।’ ‘ओहो, सक्नुहुन्न होला ७/८ फिट हिउँ परेको छ। म थाङपाल गाउँपालिकाको अध्यक्ष टासी शेर्पा।’

जनसेवामा उनको खटाइ देखेर हामीले उनको प्रशंसा गर्‍यौँ। सूचनाका लागि धन्यवाद भन्यौँ। सायद हाम्रो उमेरको नापजाँच गरेर उनले त्यसो भनेका हुन सक्छन्। केही व्यक्ति पुगेर फर्किएको पनि देखेका थियौँ। जे भएपनि हामी हाम्रो उद्देश्यमा दृढ निश्चयी थियौँ जहाँ जेजस्तो अवस्था आइपर्ला त्यसै बेला निर्णय गरौँला। समस्या आएछ भने डटेर मुकाबिला गरौँला। प्रकृतिसँग मानिसले जित्न सक्दैन भन्ने त्यो सर्वव्यापी तथ्य मनन गर्दै यदि अप्रत्यासित रूपमा मौसमी प्रतिकूलता आइपरे फर्कौँला भनेर त्यहाँबाट अघि हिँड्यौँ।

मेलम्ची उत्तरपूर्व अजंग पहाडको भीर, पाखा, पखेरामा यति बाक्लो र सुन्दर बस्ती होलान् भनेर कल्पना पनि गरेको थिइनँ। हेलम्बुको समानान्तर उच्चपहाडका तरेलीमा सुन्दर बस्ती देखिन्छन् साथै खेतीपातीका कान्ला, गरा र चाक्ला फाँटको रमणीयता आकर्षक छन्। बस्तीमा देखिएका घर प्रायः पक्की नै देखिए। यस हिसाबले ग्रामीण जनजीवनमा आर्थिक उन्नतिको सकारात्मक प्रभाव परेको देखिन्छ।

टाटासुमो भोताङ छिम्तीमा गएर रोकियो। झोला काँधमा भिरेर त्यहाँबाट उकालो लाग्यौँ। केही पर डाँडामा गएर फर्केर हेर्दा छिम्तीको सुन्दरता देखिन्छ। बेसीदेखि माथि पहाडको शिरसम्म बारीका कान्ला, फोकटा मिलाएर गरिएको खेतीको सुन्दर दृश्य देखिन्छ। बस्तीमा सबै घर सिमेन्टेड छन्। स्थानीय पथप्रदर्शक भाइले भन्दै थिए, ‘यहाँको घरका कुनै न कुनै सदस्य विदेशमा काम गर्न गएका छन्।’ यो कुनै नौलो कुरा लागेन। राष्ट्रिय रोगबाट यो अनकन्टार हिमाली गाउँसमेत अछुतो रहेनछ भन्ने लाग्दा चिन्तित भने बनायो। देखिएका पक्की घर विप्रेषणको रकमबाट बनेका रहेछन् भनेर अनुमान गर्न कठिन रहेन।

उकालो चढ्दै जाँदा उचाइ बढ्दै गयो। सल्लाघारीसँगै गुराँसका फूलहरूका विभिन्न रङसँग पिरती गाँसियो। मूलतः यहाँ चारपाँच जातिको गुराँस देखिए। गुराँस भन्नेबित्तिकै हामी लालीगुराँस सम्झन्छौँ। त्यो छ भई नै हाल्यो। सेतो, गुलाबी, बैजनी रङ पनि आँखामा अटाए। भर्खरै फुल्न थालेका गुराँसका रुखमा लटरम्मै फूलका कोपिला चैतमा त जंगलै रंगीन हुनेछन्। कोपिलासँग संवाद गर्दै उकालो चढ्दै जाँदा चित्रेखोला पुगिन्छ। खोला तरेर केही उकालो लागेपछि टुप्पीडाँडा पुगिन्छ। अग्लो ठाउँ भनिएको होला। टुप्पीडाँडाको पर्याय बनेका रहेछन् काले दाइ।

अमिलो पानी : देउरालीबाट उत्तरी पाखोमा चिरापरेको चट्टानको लामो धर्सो देखिन्छ। ठिक्क असारसाउनमा यहाँ पानी बग्ने रहेछ। चट्टानको फेदमा मूल फुटेको जस्तो गरी पानी निस्कँदो रहेछ। यो पानीको स्वाद अमिलो हुन्छ भनेर स्थानीय भन्दै थिए।

काले दाइको मेजमानी :  काठमाडौँबाट हिँड्ने समयमा छिम्तीमा गएर काले दाइलाई भेट्नु भनेर भनेका थिए फोटो पत्रकार तथा नियात्राकार अमृत भादगाउँलेले। काठमाडौँबाट गरेको फोनमा सम्पर्क हुन सकेन। मेलम्ची पुगेर फोन गर्दा पनि उनको फोन उठेन। छिम्ती पुगेर सोधखोज गर्दा बसपार्कमै भेटिए उनी। साह्रै फरासिला र सहयोगी रहेछन्। छिम्तीमै पनि उनको होमस्टे रहेछ।

टुप्पीडाँडामा पनि बस्ने राम्रो प्रबन्ध रहेछ उनको। हामीलाई हिँड्दै गर पछि भेट्छु भनेर उनी त्यतै अड्किए। हामी भने उकालो लाग्यौँ। चित्रेखोलामा पुगेपछि उनी पनि आइपुगे र हामी भन्दा अगाडि गए। टुप्पीडाँडामा पुगेपछि काले दाइको होटल देखियो। हामी त्यहीँ बस्यौँ। अरू यात्री पनि आएर थपिए। टुप्पीडाँडा २७ सय मिटर उचाइमा रहेको छ।

यहाँ एउटा गज्जबको चलन रहेछ। पचाससाठी जनालाई बास दिने होटल छ। त्यस दिन बास बस्नेहरू पनि पन्ध्रबीस जना थिए। होटलमा पकाउने तुल्याउने लगायत सबै काम काले दाइ आफैँ गर्दै थिए। ‘सहयोगी खोइ त’ भनेर सोध्दा त्यहाँको चलनै त्यस्तो रे। सबै काम एकैजनाले गर्ने। नभन्दै यहाँबाट माथि उचाइ लाग्दै गर्दा जति पनि होटलहरू भेटिए त्यहाँ एकैजनाले सञ्चालन गरिरहेको देखियो।

काले दाइले दाल, भात, तरकारी, अचार मात्र बनाएर खुवाएनन्। चिया तथा तातो पानीसम्मको व्यवस्था गरिदिए। सामुदायिक काममा समेत अगुवा यिनी सहयोगी तथा मिलनसार देखिए। स्थानीयताका विषयमा आवश्यक सूचना सम्प्रेषण गर्दै उद्धार गर्नुपर्ने अवस्था आए सम्झन भने। टुप्पीडाँडामा पुगेपछि चिसोपानीको बोतल घाँडो भयो। काले दाइले तातोपानी राख्ने बोतल दिएर पठाए।

टुप्पीडाँडामा अरू पनि होटल छन्। सबैले मिलेर व्यवसाय चलाइरहेका छन्। हामी काले दाइको मेजमानी खाएर भोलिपल्ट बिहान उकालो लाग्यौँ।

सामुदायिक भावनाको नमुना : लेकमा बास बस्ने ठाउँमा घरहरू त देखिन्छन् तर खुला भने एउटै मात्र हुन्छ। अरू घरमा ताला लागेको देखिन्छ। यात्रुहरू नचाहेर पनि त्यही एउटा खुला घरमा बास बस्नुपर्ने रहेछ। बाटोभरि यस्तो दृश्य देखेपछि बास बस्ने बेलामा नोस्यामपाटीमा सोध्दा रहस्य खुल्यो।

त्यस क्षेत्रमा छिम्तीदेखि माथि पाँचपोखरीसम्म होटल सञ्चालन गर्नेहरूको बीचमा एउटा मात्र होटल खोल्ने गरी सामुदायिक सम्झौता हुँदो रहेछ। एउटा होटलमा पचासजना पाहुना बास बसेपछि उसको पालो सकिएर अर्कोलाई छोड्नुपर्ने रहेछ। यस्तो व्यवस्था गर्दा सबै व्यवसायीहरूले बराबर अवसर पाउने रहेछन्। सबैले मिलेर काम गर्ने र मिलेर कमाउने यो सामुदायिक भावना रमाइलो लाग्यो। सहरिया खुला प्रतिस्पर्धी आर्थिक व्यवस्थाभन्दा विपरीत सामुदायिक भावनाबाट प्रेरित सहकारी जस्तो।

भुइँ पनि खुसीले रमाउँछ : २७ सय मिटरबाट माथि लागेपछि गुराँसभन्दा बढी भुइँफूल देखिन्छ। हिउँदको चिसो सिरेटोले कठ्यांग्रिएर रूखबाट झरेका पात असरल्ल देखिन्छन्। अक्कर भीरमा सकसले टाँस्सिएर जमिनमा जोडिएका छन् रंगीन भुइँफूलहरू। विभिन्न रङमा सजिएका छन्। आकर्षक छन्, टिपेर शिरमा सिउरिउँ कि झैँ लाग्ने।

बूढापाकाले भनेका ‘पहाडमा फुलेका फूलहरू आकर्षक देखिन्छन्। नसुँघ्नु विष लाग्छ।’ लेक लाग्ने कारणमध्ये यी फूलहरूका पराग वासना पनि हुन्। त्यसैले ‘नटिप्नु फूल नानी हो दया र धर्म भाग्दछ’ भन्ने वाक्यलाई मनन गरियो। फूलको खुसीमा हामी हेरेरै रमायौँ। मनैले अघायौँ।

पानीभित्र आगो हुन्छ : नोस्यामपाटी पुग्नु भन्दा केही सय मिटर तलैबाट हिउँले स्वागत गर्‍यो। पूरै बाटो छेकेर बसेको रहेछ। रनबन र डाँडा सेताम्मे थिए। रुखका पातपात, डालीमाथि पनि हिमकण आच्छादित थिए। सूर्य किरणको प्रतीक्षामा पग्लिएर तप्पतप्प तप्किन। पन्ध्रबीस मिनेटमा पुगिने बाटोलाई घण्टाभन्दा बढी लगाएर पुग्यौँ नोस्यामपाटी। यो ठाउँ ३७ सय मिटरको उचाइमा छ।

नोस्यामपाटीको लक्ष्मी तामाङको होटल हामीलाई न्यायो दिने आश्रयस्थल थियो। चिसो सिरेटोमा वाहिर उभिएर बस्नु ज्यादै कठिन थियो। यहाँबाट आँखै अगाडि उत्तरपट्टिको डाँडो हिमाल भएर ठडिएको थियो। भोलि त्यही डाँडाको भीरको बाटो भएर जानु छ। हावा नचल्दा त ठिकै लाग्छ। हिमालको हिउँसँग बयेली खेलेर आएको हावाले मुटु छेडेर जान्छ। यस्तोमा लक्ष्मी तामाङको घरभित्र राखेको ड्रम हिटरबाट आउने न्यानो अतिसय प्रिय थियो। हामी सबै यसै हिटरलाई घेरेर बस्यौँ। हिटरमाथि राखेको किट्लीमा तातोपानी उम्लँदै थियो। कहिले तातोपानी त कहिले चिया पिएर शरीर न्यानो बनाइरहेका थियौँ।

बिहान उठेर नित्यकर्मका लागि हातमुख धुन पानी हैन हिउँसँग चल्नुपर्दछ। जसरी आगो छुँदा पोल्छ त्यसैगरी हिउँसँग चल्दा हात पोल्छ। पानीमा ऊर्जा हुन्छ भन्ने वैदिक मान्यता व्यवहारमा प्रत्यक्ष भोगिन्छ यहाँ पुगेपछि। काले दाइले दिएको थर्मसको उपयोगिता सार्थक भयो यतिखेर।

पाँचपोखरीका लागि अन्तिम चढाइ :  नोस्यामपाटीबाट हिँडेपछि बाटोमा हिउँ, चट्टान र बाटोबाहेक केही भटिन्न। बिहान यात्रा सुरु गर्दाको बखत सहयोगी कर्मा तामाङ भाइले सतर्क गराएएका थिए। ‘बाटो सानो छ। हिउँ जमेको छ। उकालो ओरालो छ। होसियार भएर हिँड्नुहोला। चिप्लिएर लडियो भने उद्धार गर्न सकिँदैन। माथिबाट खस्यो भने तल इन्द्रावतीमा पुगिन्छ।’

रमेश विकलको अविरल बग्ने इन्द्रावतीको उद्गम थलो हो पाँचपोखरी। त्यहीँ जान हिँड्दा चिप्लियो भने पुगिने ठाउँ पनि रहेछ इन्द्रावती। दुईवटा लौरोको सहारा लिएर अक्करे भीरको लक्कर पार गरियो। सातघुम्ती कटेर लौरीबिना चढेपछि पाँचपोखरी पुग्न अझै २०० मिटर उकालो चढ्नुपर्दछ। त्यहाँ पुगेपछि लौरो नचाहिने रहेछ। लौरो त्यहीँ चढाइँदो रहेछ। आफूलाई तर उकालो होस् या ओरालो लौरो नभई नहुने भएकोले लौरीविनामा लौरो चढाउन सकिएन।

यहाँदेखि भने हिउँको भकारी देखियो र भोगियो पनि। सातआठ फिट जमेको हिउँ पन्छाएर हिँड्न सकिने बाटो सम्म बनाएको छ। एकातिर हिउँसँगको निरन्तर लडाइँ अर्कोतर्फ हिमाच्छादित हिमशैलको अपरिमित आनन्द। हिमशैलको पवित्र स्वच्छ आनन्द लिन यहीँको माटोमा टेकेर सास लिनुपर्छ। अलौकिक अनुभव गरिन्छ यहाँ कुनै देवलोकको पथिकझैँ।

चार हजार मिटर उचाइमा पुगेपछि जुगल हिमाल, दोर्जेलाक्पा, भादिया (६,२५७ मि) र फुर्बिह्यायु (६,६३७ मि) गौरीशंकर, रोलवालिङ हिमशृंखला देखिन्छन्। पाँचपोखरी इन्द्रावती नदीको स्रोत मुहान हो। पाँचपोखरी विश्वको उच्चहिमाली भागमा रहेको नवौँ सिमसार क्षेत्र हो र यसलाई रामसारमा भने उल्लेख गरिएको छैन। पाँचपोखरी जुगल हिमालको काखमा छ।

पाँचपोखरीको महत्त्व स्कन्द पुराणमा वर्णन गरिएको छ। भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्यकुण्ड र नाग कुण्डलाई तीर्थराज प्रयाग र बडगंगा कुरुक्षेत्र समान पवित्र तीर्थस्थल मानिएको छ। यस ठाउँलाई तपोभूमि मानिएको छ। पाँच तिबेतियन शास्त्रबमोजिम, तन्त्रसाधकका लागि यो ठाउँ उपयुक्त छ भन्ने विश्वास गरिएको छ। परमगुरु पद्मसम्भव र महायोगी मिलारेपा, आमायांग्रीदेखि अनन्त औतारी लामा गुरुले यस पवित्र ठाउँमा योगसाधना गरेका थिए भन्ने विश्वास छ।

हिन्दु धार्मिक मतअनुसार पाँचपोखरी क्षेत्र भगवान् शिव र पार्वतीको वासस्थान हो। यहाँ रहेका पाँचपोखरीहरू महादेवपार्वतीका पुत्री स्वरुप मानिएका छन्। पाँचपोखरीको नामकरण पनि जेठी, माइली, साइँली, काइँली र कान्छी पोखरी भनेर गरिएको छ। यद्यपि भैरवकुण्ड र सरस्वतीकुण्डको नाम लेखेर बोर्ड राखिएको छ।

शास्त्रीय मतअनुसार समुद्र मन्थन हुँदा निस्किएको विषको घडा पिएका महादेव विषको जलन शान्त गर्न र प्यास शान्त पार्न त्रिशूलको प्रहारबाट पाँचपोखरी निस्किएकी हुन् भन्ने विश्वास गरिन्छ।

पाँचपोखरीमा महादेवको शिवालय स्थापना गरिएको छ। शिवालय स्थापनाको पुष्ट्याँई गर्न किंवदन्तीमा आधारित विवरण लेखिएको छ। उक्त लेखमा सिकारी बाम्बा रुवा वाइबाले २३३५ वर्षअघि सिकारका लागि जाँदै गर्दा कसैले यो हिमाली क्षेत्रमा धान रोपिररहेको देखेछन्। उक्त स्थानमा जाँदा साक्षात् भगवान महादेवले धान चुटिरहेको देखेछन्। महादेवको बास रहेको ठाउँ भएको हुँदा शिवालय स्थापना गरिएको हो भनिन्छ।

प्रकृतिसँग नजिक हुँदै जाँदा हाम्रो दृश्य चलायमान हुन्छ। नचाहेर पनि यसले मानिसको ध्यानाकर्षण गर्दछ। मन सम्मोहन गर्दछ र मोहता प्रदान गर्दछ। प्रकृतिसँग मानिसको अचेतन मनतत्त्वलाई उत्तेजक बनाउने जादुमयी शक्ति रहेको हुन्छ। प्रकृतिले मनको अनन्त आन्तरिक आवाज बाहिर निकाल्ने शक्ति हुन्छ। त्यसैले शिखरको टुपपोमा पुग्दा हामीलाई ठूलो आवाज गरेर कराउन मन लाग्छ। प्राकृतिक शक्तिकै कारण यस्तो भएको हो।

हामी पुगेपछि पाँचपोखरी छपक्कै हुस्सु र बादलले छोपियो। केही गरी पानी पर्‍यो भने हिउँ झर्ने र त्यसले कति दिनसम्म बाटो रोक्ने हो कुनै ठेगान नभएको हुँदा मनमा एक किसिमको भय पैदा भयो। पोखरीको फोटो खिच्न लाग्दा बादलले छोपिहाल्यो। अब घरभित्र कोचिएर बस्नुको विकल्प थिएन। यहाँ कोचिएर बस्नु भन्दा तलै नोस्यामपाटीमा झरेर बस्नु हितकर देखिएकाले नारायण, म र सहयोगी कर्मा भाइ तल फर्कियौँ। जाँदा चार घण्टा लागेको थियो। फर्कदा करिव तीन घण्टामा आइपुग्यौँ।

पाँचपोखरी जाने कसरी?

काठमाडौँको जोरपाटीमा मेलम्ची हुँदै पाँचपोखरी जाने बस तथा टाटासुमोको टिकट काउन्टर छन्। बस र टाटासुमो त्यहीँबाट छुट्छन्। भोताङ छिम्तीसम्म यातायातको साधनबाट पुगिन्छ। छिम्तीको उचाइ १८ सय ७० मिटर छ। त्यहीँ बास बस्न चाहे होटल तथा होमस्टेको व्यवस्था छ। माथितिरको पदयात्रा गर्ने हो भने देउराली वा टुप्पीडाँडामा गएर बास बस्न सकिन्छ।

दोस्रो दिन तागुँखर्क, रातोमाटे या चोकरडाँडा, तपखर्क हुँदै नोस्यामपाटीमा गएर बस्नुपर्ने हुन्छ। बिहानको खाना रातोमाटे या चोकरडाँडामा खाइएन भने अन्यत्र पाइँदैन। नोस्यामपाटीबाट बिहान हिँडेपछि पाङसिङ बिसाउने र लौरिविना हुँदै पाँचपोखरी पुगिन्छ। बीच बाटोमा एक ठाउँमा एउटा छाप्रो छ। संयोगले चिया खाने ठाउँ फेला परे पनि चियाचाहिँ नपाइन सक्दछ। अतः नोस्यामपाटीबाट यात्रा सुरु गरेपछि पाँचपोखरी पुगेर मात्र विश्रामस्थल पाइन्छ।

पाँचपोखरीमा बास बस्नका लागि घर छन्। एक पटकमा एउटाभन्दा अरू घर खुलेका हुने छैनन्। जति पनि यात्रु त्यहाँ पुग्छन् एउटै घरमा बास बस्नुपर्ने हुन्छ। नोस्यामपाटीदेखि पाँचपोखरीसम्मको दुरी पाँच किलोमिटर जति होला तर त्यहाँ पुग्न चार घण्टादेखि ६ घण्टा लाग्न सक्छ।

प्रकाशित: २ चैत २०८१ १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast