सहरी बालबालिकालाई जीवनशैली सिकाउने ‘संग्रहालय’

हिमाल प्रेस ४ चैत २०८१ ७:०७
8
SHARES
सहरी बालबालिकालाई जीवनशैली सिकाउने ‘संग्रहालय’

सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेती किसानीबारे अनभिज्ञ छन्। परम्परागत होस् या आधुनिक कुनै पनि खेतीबारे भनेको एकादेशको कथाजस्तै लाग्छ उनीहरूलाई।  सहरमा हुर्केका विद्यार्थी मकैको बोट चिन्दैनन्।  दिनहुँ भान्सामा पाक्ने भातका लागि चामल कसरी तयार हुन्छ भन्ने कमैलाई मात्रै जानकारी हुन्छ।

हाम्रा परम्परागत कृषिमा उपयोग हुने साधनबारे थाहा पाउन संग्रहालय जानुपर्ने अवस्था छ। मकै भुट्ने र चिउरा कुट्ने प्रविधि मात्रै होइन,  पिठो भनेको के हो, घिउ, मोही र दही कसरी बन्छ? भन्ने जस्ता धेरै जिज्ञासाको उत्तर पाउन बालबालिकाले पुस्तक अध्ययन गर्नुपर्ने अवस्था छ।  हामी कृषिप्रधान मुलुकका रूपमा चिनिएका छौँ र भन्छौँ पनि।

यति मात्रै होइन नयाँ पुस्ता के के बिरुवा लगाइन्थ्यो? पराल कसरी राखिन्थ्यो? पुर्खाहरू सिकार कसरी खेल्थे? भाला र वाण कसरी प्रयोग गर्थे? जस्ता विषयमा पनि जानकार छैनन्। यिनै विषयमा जानकारी दिने गरी विगत १४ वर्षदेखि सक्रिय छन् राजेन्द्र उप्रेती।

नयाँ बानेश्वर हाइटको बसाइ छोडेर भक्तपुर सिरुटारमा पुर्खाहरूले आफ्नो जीविकोपार्जनको स्रोतका रूपमा कृषिमा उपयोग भएका पुराना साधनको संकलन गरी उनले एउटा संग्रहालय नै तयार पारेका छन्।

बायो मेडिकल इन्जिनियर उप्रेतीले  अमेरिकामा उच्चशिक्षा हासिल गरेका हुन्। उनले दुई दशक बढी उतै काम पनि गरे। फर्केर आएपछि उनले हाम्रो पहिचान गुम्नबाट रोक्न र हाम्रा परम्परागत मूल्यमान्यतालाई जोगाउन ‘टाइगर लिली पेटिङ फार्म एवम् संग्रहालय’ स्थापना गरेका हुन्। संग्रहालय विद्यालयस्तरका बालबालिकालाई व्यावहारिक सीप प्रदर्शनको थलो बनेको छ।

कौशलटार चोकबाट साढे दुई किलोमिटर टाढा  ‘टाइगर लिली पेटिङ फार्म एवम् संग्रहालय’ बालबालिका र वयस्कका लागि शैक्षिक स्थल हो। पारिवारिक वातावरणजस्तै परम्परागत रेस्टुरेन्ट पनि छ।

फार्ममा भने दुग्धजन्य पदार्थ, चामल, पिठो, मकै, मासु, अण्डाजस्ता खाद्यान्न वस्तुहरूको मुख्य स्रोतका बारेमा जानकारी दिने गरिन्छ। बालबालिकालाई अभ्यास नै गराएर सिकाइन्छ। बिजुली कसरी बल्ने देखि, खेती किसानी गर्ने, ढिकी, जाँतो चलाउन सिकाउने, मोही पार्ने, डोलीमा राखेर बिहे गरेको अवस्था, नेपालमा उत्पादन हुने बिउबिजन, घरमा पालेर मासु अण्डा खाने जीवको बारेमा जानकारी दिने शैली साँच्चै लोभलाग्दो छ।

घोडचढी गर्ने, ट्र्याक्टरमा बच्चाहरु चढेर घुम्ने जस्ता कार्य पनि हुन्छन्। बाण हान्ने, हलो, कोदालो, खल, ओखल, परालका कुन्युँजस्ता सबै बारेमा जानकारी दिइन्छ। आफ्नो खेतबारीमा प्रयोग गरेर किसान, बिउ, पुरानो देशी औजार, स्थानीय मापन एकाइ, जलविद्युत् पछाडिको संयन्त्र आदिको महत्त्वका बारेमा उप्रेती आफैँ जानकारी दिन्छन्।

‘सहरमा हुर्केका बालबालिकालाई इलेक्ट्रोनिक ग्याजेटहरूका बारेमा सबै कुरा थाहा छ तर खाना कसरी उनीहरूको टेबलमा पुग्छ वा बिजुली कसरी उत्पादन हुन्छ भन्ने बारेमा सायदै थाहा छ,’ उप्रेतीले भने, ‘यो व्यावहारिक विषय जानकारी दिन मैले यो प्रयास गरेको हुँ। सकेसम्म परम्परागत होस् भनेर मैले धेरै हाईफाई गरेको छैन।’

बालबालिकालाई विद्यालयमा सिकाइन्छ तर त्यो शिक्षण किताब र कम्प्युटर स्क्रिनमा सीमित छ। ‘बालबालिकालाई हाम्रा पुर्खाहरूको आधारभूत खेती प्रक्रिया र जीवनका बारेमा सचेत गराउन सबै औजार राखेर उनीहरुलाई संलग्न गराएर देखाउने गरेका छौँ’, फार्मका सञ्चालक उप्रेतीले भने, ‘घिउ तयार पारेको र मकै भुटेको देखेर बच्चाहरू दंग पर्दा मलाई भित्रैदेखि सन्तुष्टि हुन्छ। बाण हानेर सिकार गर्ने, बेहुलाबेहुली डोलीमा बोकेको, ढिकी र जाँतो चलाएको देखेपछि उनीहरू थप जिज्ञासु हुँदारहेछन्।’

उप्रेती  जीवन त आफ्नै माटोमा छ भन्ने लागेर  नेपाल फर्किएको बताउँछन्। उनले भने, ‘स्वदेश फर्किएर पनि ठूलो काम केही गर्न सक्ने कुरा थिएन।  विद्यार्थीलाई हाम्रो  मौलिक कुरा देखाउन पाउँदा खुसी लागेको छ।’

उप्रेती काठमाडौँ आएपछि केही विद्यालयको भ्रमण गरे। बालबालिकालाई कृषि र प्राचीन जीवनशैलीका बारेमा थप जानकारी दिन आवश्यक देखेपछि यस क्षेत्रमा संलग्न भएका हुन्। साथै संग्रहालयमा जनावरहरूको हेरचाह कसरी गर्ने भनेर पनि सिकाइन्छ।

उनले सञ्चालन गरेको फार्ममा खेतबारी करिब १० रोपनी जमिनमा फैलिएको छ। फार्ममा पुगेका बालबालिकालाई तीन घण्टामा गर्ने सबै कुराको  जानकारी गराइन्छ। बिउ बैँकबाट फार्मको बारेमा जानकारी दिइन्छ। बिउका विभिन्न प्रकार देखाइन्छ। त्यसपछि उनीहरूलाई मापन खण्डमा लगिन्छ। त्यहाँ उनीहरूले विभिन्न परम्परागत र आधुनिक मापन उपकरणबारे सिक्न पाउँछन्। बालबालिकाहरूलाई वस्तुहरूको एकाइ नाप्न र रूपान्तरण गर्न अनुमति दिइन्छ ताकि उनीहरूले अभ्यासद्वारा यो सबै सिक्न सकून्।

फार्ममा जाँतो र ढिकीजस्ता उपकरणहरू प्रयोग गर्न सिकाइन्छ। बालबालिकाले दूधबाट मखन बनाउन, ढिकीमाट धान कुट्न, भात पकाउन, मकै भुट्न र गुइँठा बनाउन पनि सिक्छन्। छुट्टै कोठामा धनुर्विद्या चलाने सीप सिकाइन्छ।

फार्ममा पुगेका बालबालिकालाई परम्परागत खेतीका कथाहरू सुनाउने गरिएको उप्रेतीले बताए। घोडा चढ्न र दाना खुवाउन लगाइन्छ भने मौरी पालन पनि देखाइन्छ। घरपालुवा जनावरको रेखदेख गर्ने, उनीहरुसँग खेल्ने सबै देखाइन्छ, सिकाइन्छ। फार्मको खेत वरिपरि ट्र्याक्टरमा घुमाइन्छ। विद्युत् उत्पादनको प्रदर्शनसँगै यात्रा समाप्त हुन्छ। ‘३३ फिट लामो टावर र पावर टर्बाइनका साथ हामी बालबालिकालाई बिजुली उत्पादन गरेर देखाउँछौँ,’ उनले भने।

सातै दिन खुला रहने फार्म दैनिकजसो विद्यार्थीले भरिन्छ। कतिपयले खुला स्थाान भएको र रेस्टुरेन्टसमेत रहेकाले बिहेव्रतबन्धजस्ता शुभकार्यका लागि प्रयोग गर्न माग्छन्। पहिलो प्राथमिकता स्कुले विद्यार्थी रहेको उनले सुनाए।

व्यवसाय राम्रो भए पनि सरकारी झन्झट छँदैछ अर्कोतर्फ फार्ममा पालन गरिएका घरपालुवा जनावरको  हेरचाह गर्न सजिलो नभएको गुनासो उप्रेतीको छ।

उनलाई पत्नीसहित  एक दर्जन बढी कर्मचारीले  साथ दिइरहेका छन्।

उप्रेतीले भने, ‘सबैको साथ र सहकार्यले सहरमा हुर्केका बालबालिकालाई मौलिक विषयमा  सिकाउन पाएको छु। यसमा म निकै खुसी छु।’ फार्मलाई थप व्यवस्थित बनाउने योजना उनको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast