पुस्तक चर्चा

अनुपम ‘प्रकाश’ को अतुलनीय योगदान

ध्रुवहरि अधिकारी १७ फागुन २०८१ ७:५०
122
SHARES
अनुपम ‘प्रकाश’ को अतुलनीय योगदान

साझा शब्दकोशमा कोशकार नरेन्द्रमणि आचार्य दीक्षितले अङ्‌ग्रेजी बोलीको ‘डा’यरि’ (Diary) लाई नेपालीमा रोजनामचा भन्न सकिने जानकारी दिनुभएको छ। विकल्पमा दैनिक विवरण, दैनिकी, दैनन्दिनी भन्दा/लेख्दा पनि हुने देखियो। पारसमणि प्रधानको कोश पल्टाउनेहरूले नेपालीकरण गरिएको ‘डायरी’ नै प्रयोग गर्न पनि सहज ठान्लान्।

प्रज्ञाको नेपाली बृहत् शब्दकोश र हालै दिवंगत कोशकार चूडामणि गौतमको बृहत्तर नेपाली शब्दकोशले पनि ‘डायरी’ लाई प्रचलित शब्दको रूपमा प्रविष्टि दिएको पाइन्छ। ‘बृहत्तर’ मा रोजनामचा भने छुटाइएको छ। मेरो निजी छनोट ‘दैनिकी’ हुनसक्छ, किनभने यो छरितो छ र यसमा नेपाली मौलिकता दृष्टिगोचर हुन्छ।

तत्काल चाहिँ डायरीतिरै लागौं। किनभने हालै मेरो हात परेको पुस्तकको नामकरण यसै ढाँचामा गरिएको छ। ‘एन्. डी. प्रकाश र उहाँका डायरी’ सात सयभन्दा बढी पृष्ठमा मुद्रित ग्रन्थ हो। र, यसका संयोजनकर्ता हुनुहुन्छ डा. भुवनेश्वरीदत्त चटौत जो नेपालका स्वास्थ्यकर्मीहरूले डाक्टर बी.डी.चटौतको नामबाट चिन्दै आएका छन्। डा. चटौत स्वास्थ्य मन्त्रालयमा विशिष्ट श्रेणीको अधिकृतसम्म भएर २०६१ सालमा सेवानिवृत्त हुनुभएको हो। चिकित्सा क्षेत्रबाहिरका मजस्ता मानिस पनि उहाँको शिष्ट र नम्र व्यवहारबाट प्रभावित रहँदै आएका छौं।

प्रतिभाशाली युवक

डा. चटौतद्वारा संयोजन गरिएको यस पुस्तकले २००७ सालको परिवर्तन ल्याउने राष्ट्रिय आन्दोलनमा सकृय भूमिका खेल्ने युवाहरूको अग्रपङ्‌तिमा देखिएका सुदूरपश्चिम डडेल्धुराका एन्.डी.प्रकाशको योगदानबारे विस्तृत जानकारी दिएको छ। जसरी भानुभक्त आचार्यलाई नेपालका आदिकविका रूपमा समस्त नेपालीभाषीमाझ चिनाउन मोतीराम भट्टको प्रयास प्रभावकारी भएको थियो त्यसैगरी डा. चटौतको प्रयत्नबाट एन्.डी.लाई नेपालभर प्रखर र जागरुक प्रजातान्त्रिक योद्धाका रूपमा परिचित गराउन सघाउ पुग्ने अपेक्षा गर्न सकिन्छ।

यस पुस्तकका पाता-पाताले छर्लङ्‌ग पार्छन्, सात सालपछिको राजनीतिमा पनि एन्.डी.को संलग्नता र सक्रियता कायम रह्यो, र त्यसले काँग्रेसकै सेरोफेरोमा निरन्तरता पायो। त्यसै हुनाले २०१४ साल चैत्र ११ गते सिमराबाट काठमाडौं आउने विमान दुर्घटनामा परेर एन्.डी.को निधन हुँदा काँग्रेसले टड्कारो रिक्तताको सामना गर्नुपर्‍यो। २७ वर्षको अल्पायुमै एन्.डी.लाई गुमाउनुपर्दाको वेदना बीपीले निजकी मातालाई लेखेको पत्रबाट स्पष्ट हुन्छ। ‘पूज्या आमा’ भनेर सम्बोधन गरिएको चिट्ठीमा बीपीले एन्.डी. र आफू दाजु र भाइजस्ता थियौं भनेर लेख्नुभएको छ। ‘मलाई तपाईंले आफ्नै छोरो सम्झे हुन्छ’ भन्ने वाक्यको गहनताले सम्बन्धको निकटता झल्किन्छ। अघिपछि एन्.डी.लाई चिट्ठी लेख्दा पनि बीपीले ‘प्रिय साथी एन्.डी.प्रकाश’ भनेर सम्बोधन गरेको भेटिन्छ। एन्.डी. प्रतिभाशाली कार्यकर्ता नभएको भए २६ वर्षको उमेरमै नेपाली काँग्रेस कार्यसमितिको सदस्य हुने सम्भावना थिएन। जम्मा नौ वर्षको राजनीतिक जीवनकालमा यसभन्दा बढी के हुन सक्थ्यो र?

एन्.डी.को कर्मस्थल चाहिँ डडेल्धुराको अतिरिक्त परासी (पाल्ही) र काठमाडौं हुन पुगेको कुरा डायरीमा परेका कतिपय प्रसङ्‌गले खुलाउँछन्।

विवेच्य पुस्तकलाई मोटामोटी रूपमा तीन खण्डमा बाँडेर पढ्न सकिन्छ।

पहिलोमा हरिहर विरहीको मन्तव्य र संयोजनकर्ता डा.चटौतले आफ्ना सहोदर दाजु एन्.डी. बारे लेखेको संक्षिप्त जीवनी, दोस्रो खण्ड हो डायरीको जुन नारायणीदत्त चटौत (एन्.डी.’प्रकाश’) ले वि.सं. २००३-२०१४ सालको अवधिका घटनाक्रमलाई नियाल्दै निजी दृष्टिकोणसहित टिपोट गर्नुभएको छ। तेस्रो खण्ड परिशिष्टको रूपमा छ जसमा एन्.डी.का हस्तलिपि, कागजात र तस्बिरहरू छन्। पिता देवीदत्त विराटनगरमा सरकारी जागीरमा छँदा वि.सं.१९८७ मा त्यहीं जन्मेका एन्.डी.को बाल्यकाल भने डडेल्धुरामा बितेको, विद्यालयको शिक्षा भारतमा र कलेजस्तरको शिक्षा त्रि-चन्द्र कलेजमा भएको रहेछ। नेपाललाई पछौटेपनबाट बाहिर ल्याई अग्रगामी दिशामा दगुराउने एन्.डी.को हुट्हुटी डायरीमा पोखिएका भावना र विचार केलाउँदा प्रष्ट हुन्छ। ती यत्रतत्र छरपष्ट छन्।

दैनिकीको नमूना

डायरी खण्ड कस्तो छ भन्ने अनुमान गर्न सजिलो हुने एउटा उदाहरण वि.सं. २०१३ वैशाख २० गतेको दैनिकीमा भेटिन्छ। लेखिएको छः- ”श्री ५ महेन्द्रको राज्याभिषेक। १०।३३ बजेको साइत। पूर्वबाट ब्राह्मण आए स्वर्णपात्रमा घिउ बोकेर। दक्षिणबाट क्षत्रीय आए रजतपात्रमा दूध बोकेर। पश्चिमबाट वैश्य आए ताम्रपात्रमा दही बोकेर। उत्तरबाट शूद्र आए माटाको पात्रमा मह बोकेर। ४ वर्णले नै अभिषेक गर्नेमा-ब्राह्मण गुरु श्री योगेन्द्रराज, क्षत्रीय-श्री अनिरुद्र सिंह, वैश्य-भुवनमानसिंह, शूद्र-ज. दिलमानसिंह….। १०१ तोपको सलामी…”

हरिहर विरहीको मन्तव्यमा एन्.डी.को एक कविता उद्धरण भएको छ जसका पछिल्ला दुई पङ्‌ति हुन्ः-

सानो बनूँ दुई दिनै बरु बाँच्न पाऊँ।
संसारमा सकलका शुभ काम पाऊँ।।

यो सोच र वचनबद्धता भएका युवक कति जोशिलो र जाँगरिलो हुनुहुँदो हो त्यसको अनुमान गर्न गाह्रो छैन। साहित्यमा एन्.डी.को रुचि उहाँले महाकवि देवकोटालाई भेट्दा शिक्षामन्त्रीको रूपमा हैन म तपाईंलाई स्रष्टाको हिसाबले भेट्न आएको भन्नुभएको प्रसङ्गले खुलस्त पार्दछ।

एन्.डी.लाई पत्रकारको रूपमा पनि चिन्नुपर्ने देखियो । ‘नेपाल सन्देश’ र ‘नेपाल पुकार’ का अतिरिक्त उहाँले २०१४ सालमा राजा महेन्द्रबाट डडेल्धुरा भ्रमण गर्दा त्यसको समाचार काठमाडौंबाट छापिने अङ्‌ग्रेजी दैनिक ‘द मदरल्याण्ड’ मा सम्प्रेषण गर्नुहुन्थ्यो-औपचारिक प्रतिनिधि भएरै। वरिष्ठ पत्रकार भैरव रिसालले एन्.डी. प्रकाशको बखानमा लेखेको बेहोरा यस्तो छः- २०१४ साल वैशाख १७ गते सुदूरपश्चिम डडेल्धुरा जिल्ला सदरमुकाम खलङ्‌गा अमरगढीमा राजाको सवारीमा बडो रोबिलो र फूर्तिलो एउटा युवा राजा महेन्द्रको अगाडि उभियो र ठाडै भन्यो- ‘आमनिर्वाचन अविलम्ब हुनुपर्छ। आजको मुलुकको विषम राजनीतिको अचुक उपचार निर्वाचन नै हो।’

दुर्लभ डायरीका विवरणहरू जस्ताको तस्तै उतारेर छापिएको हुनाले यो पुस्तक निकै वजनदार हुन पुगेको छ। कतिपय ठाउँमा संयोजनकर्ता डा.बी.डी.चटौतले टिप्पणीद्वारा व्याख्या र थप जानकारी दिनुभएको छ। एन्.डी.उहाँकै दाजु भएकोले उहाँ बारेका डाक्टर चटौतका कथनहरू आधिकारिक तथा भरपर्दा हुने नै भए। उहाँले समय लगाएर, भरिसक्य सरोकारवाला र जानकार सबैको सहयोग लिएर तयार गरेको यो पुस्तक इतिहासकारहरूको लागि सन्दर्भग्रन्थ हुने कुरामा किञ्चित् सन्देह रहँदैन।

यति मोटो ठेली सात शय रुपिञामा उपलब्ध हुनुलाई सहुलियत नै मान्नुपर्छ।

प्रकाशित: १७ फागुन २०८१ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast