सम्बन्धबाट एक्लिएकी भूमिको कथा ‘जून त लग्यो ताराले’

सुस्मिता बजगाईं १२ फागुन २०८१ २१:४३
32
SHARES
सम्बन्धबाट एक्लिएकी भूमिको कथा ‘जून त लग्यो ताराले’

काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ, नाटक ‘जून त लग्यो ताराले’। नाटकमा सपना र कर्मलाई पछ्याउँदा पारिवारिक सम्बन्धबाट भूमि पात्र कसरी एक्लिएकी छन् भन्ने कथा प्रस्तुत गरिएको छ।

नाटकका लेखक, परिकल्पनाकार र निर्देशक रंगकर्मी इँगिहोपो कोइँच सुनुवार हुन्। नाटकमा मण्डला थिएटरका ल्याब १६ का प्रशिक्षार्थीले अभिनय गरेका छन्।

भूमि अर्थात् नाटककी मुख्य महिला पात्र। नाटकमा भूमिले बाल्यकाल, किशोरावस्था र वयस्कसम्म क्रमश: बा, दाइ र पतिको स्नेहबाट एक्लिएर जीवन बिताएकी छन्।

बाल्यकालका साथी उनका बा परदेसिनु, त्यसपछिका साथी बनेका दाइ पनि अस्ट्रेलिया भासिनु र विवाहपछि पति लाहुर जानुले भूमि एक्लिएकी छन्। त्यही एक्लोपनलाई नाटकमा देखाइएको छ।

नाटक हेर्दै गर्दा महिला पात्र कसरी सम्बन्धको डोरीमा बाँधिन्छन् र एक्लै जीवन बिताउँछन् भन्ने भूमिको कथामार्फत अहिलेको नेपाली समाजलाई चित्रण गर्न खोजेको सहसुस गराउँछ।

निर्देशकले वैदेशिक रोजगार र कामको सिलसिलामा अहिलेको युवापुस्ता विदेश पलायन भइरहँदा जंगल बनेको नेपाली भूमिको कथा नाटकमार्फत उजागर गर्न खोजेका छन्। भूमि अर्थात् जमिन। नाटकमा उनै भूमिलाई महिला पात्रमा उभ्याउनुले नेपाली सन्ततीको कथा भन्न खोजेझैँ लाग्छ।

सपनालाई त्यागेर वैवाहिक बन्धनमा बाँधिएकी भूमिको सन्तान भइसकेको देखाइन्छ। प्लेन चाहियो भन्दै जिद्दी गरिरहेको छोरा शक्ति पनि प्लेनमै उडेर जाने बताउँछ।

नाटकको अन्तिमतिर भूमिलाई एक्लै देखेर आवारा केटाहरू उनलाई गिज्याउन थाल्छन्, यसैबीच उनीहरुले बोलेको एक संवाद छ जसले यी  उनको एक्लोपनलाई पुष्टि गर्न सक्छ।

पहिले भूमि सानी थिई, उसको साथी बाबा थ्यो
पछि भूमि ठूली भई, उसको साथी दाइ थ्यो,
अनि भूमिको बिहे भो, उसको साथी लाहुरे भो
अहिले भूमि एक्ली छे, उसको साथी हामी हौँ।

मञ्चमा कहिले जुन ताराकाे पछि त कहिले तारा जूनकाे पछि दगुरेझैँ देखिन्छ। जसरी औँसीकाे रातमा आकाश एक्लिन्छ त्यसरी नै भूमिकाे जीवनमा हरेक सम्बन्ध जोडिँदै र छुट्दै जानुले अन्धकारमय जीवनको चित्रणलाई गर्न खोजिएको छ। त्यस्तै  बादल, प्रकाश, शक्ति, झरनाजस्ता सहायक पात्रको प्रयोग गर्दै जून र तारालाई पनि भूमिको सपना र कल्पनाको सफलतामा बिम्बात्मक बनाइएको छ।

बाल्यकालदेखिको आफ्नो रहर, सपना र बाध्यतालाई स्मरण गर्दै उनी आशा, इच्छालाई त्यागेर आफ्नै तरिकाले जीवन जिउनुपर्ने निष्कर्षमा पुगेर नाटक टुङ्याइन्छ। नाटकको अन्त्यभाग हेर्ने हो भने दशक अघिको महिलाको यथार्थ जीवनको चित्रण गर्न खोजेझैँ लाग्छ।

कथाका कुनै पाटो परम्परागत त कुनै वर्तमान, पहिरनमा  पनि आधुनिक शैलीजस्ताे देखिनाले नाटकले देखाउन खाेजेकाे समय निर्क्यौल भएझैँ लाग्दैन। बीचमा भूमिकाे अँकुराएको प्रेम नै हराएको छ।

परिवार चलाउन कठिनाइले परदेसिने नेपालीको कथा र अहिले सपना पछ्याउँदै विदेसिने दाजुभाइ र बच्चादेखिनै प्लेनमा उड्ने सपनालाई निर्देशकले मिहीन ढंगले फ्युजन गर्न खोजेका छन्। तर मञ्चीयशैलीमा त्यसको गाम्भीर्य पक्ष केही अल्पता महसुस गराएकाे छ। पात्रकाे अभिनय पक्ष स्थापित कलाकारझैँ देखिन्छ।

मञ्चमा भूमिको तीन अवस्थालाई देखाउने शैली नयाँपन छ, कथापिच्छे भूमिको जीवनमा आउने फरकफरक पात्रले विगत देखाउन सहज बनाएको छ। दुई चुल्ठीमा रिबन बाँधेर पहेँलो जामा लगाएकी भूमिको पात्र फरक भए पनि किशोरावस्था र विवाहपछि पनि डिजाइनमात्रै फरक तर त्यही रंगकै पहिरनमा देखिन्छिन्।

समग्रमा नाटकले जून, तारा, भूमिजस्ता बिम्ब र प्रतीकमार्फत् समय परिस्थिति र बाध्यताले छोडिएका मनहरूको एक्लोपनको कथा प्रस्तुत गरेको छ।

नाटकमा कलाकार छन्, उपाश्ना तामाङ, अन्जना राई, मिरा पण्डित, विनोद राहुँ मगर, मेनुका माझी, बद्रि प्रसाद तिवारी, प्रतिमा तामाङ, प्रगति खरेल, प्रिन्स रिजाल, अमिर ताम्राकार, संजीव महर्जन, साईरस विश्वकर्मा, रेज्मी राई, विप्लव लोहनी, राजीव बोहरा, प्रेम देव विश्वकर्मा, विजया अधिकारी, अग्नि सुवेदी, रोजेन सुन्दास, अविनास डि मगर र ईन्द्र राई।

प्रकाशित: १२ फागुन २०८१ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast