
काठमाडौँ- वाणिज्य बैंकहरूको ब्याजदर ९ वर्षयताकै सस्तो भएको छ। कर्जा प्रवाहमा ह्रास आउँदा ब्याजदर एक दशकअघिको अवस्थामा पुगेको राष्ट्र बैंकको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको मासिक प्रगति विवरणमा उल्लेख छ।
२०७३ सालमा वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) न्यूनतम ६.१० प्रतिशतमा झरेको थियो। बैंकको ब्याजदर यही अवस्थामा रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ। माघ मसान्तमा बैंकहरूको ब्याजदर ६.६५ प्रतिशतमा आइपुगेको छ।
कुनै समय अचाक्ली बढेको वाणिज्य बैंकको ब्याजदर अहिले एकल विन्दुमा झरेको छ। यसको मुख्य कारण सरकारको लगानी योजना कमजोर र कर्जामा प्रवाहमा व्यवसायीको विश्वास नभएको अर्थशास्त्रीहरू बताउँछन्।
राष्ट्र बैंकका प्रवक्ता रामुप्रसाद पौडेलले ब्याजदर ९ वर्षअघिकै अवस्थामा पुगेको बताए। उनका अनु्सार २०७२ सालको भूकम्प र भारतले लगाएको नाकाबन्दीपछि नेपालको अर्थतन्त्रमा सुस्तता आउँदा बैंकको ब्याजदर अप्रत्याशित रूपमा घटेको थियो। यसलाई सुधार्न सरकारले निकै ठूलो प्रयास गर्नुपरेको उनले बताए। ‘२०७२ सालपछि ६ वर्षपछि ब्याजदार तल झरेन। अहिले कर्जा प्रवाह नहुँदा बैंकको ब्याजदर र बेसरेट तल झेरेको छ’, उनले भने।
राष्ट्र बैंकका अनुसार करिब ६० खर्ब निक्षेप उठाएका वाणिज्य बैंकहरूले करिब ४९ खर्ब रुपैयाँ मात्रै ऋणमा लगानी गरेका छन्। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्मको रकम ऋणमा लगानी गर्न पाउने भए पनि अहिले ७९ प्रतिशत मात्रै लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
हाल वाणिज्य बैंकहरूसँग ११ खर्ब ७१ अर्ब रुपैयाँबराबरको तरलता छ। फागुनमा वाणिज्य बैंकहरूको आधार दर ६.६५ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.५७ प्रतिशत छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा आधारदर ६.१० प्रतिशत पुग्दा कर्जाको ब्याजदर ८.८६ प्रतिशत मात्र थियो। आव २०७४/७५ मा वाणिज्य बैंकहरूको न्यूनतम आधार दर ९.६७ अंकमा उक्लिँदा कर्जाको ब्याजदर ११.१० प्रतिशत र निक्षेपको ब्याजदर ६.१० प्रतिशत रहेका राष्ट्र बैंकको तथ्यांक छ।
आव २०७५/७६ मा आधार दर न्यूनतम ९.४८ प्रतिशत पुग्दा ब्याजदर १२.२० प्रतिशत र निक्षेपको ब्याज ६.३० प्रतिशत, आव २०७६/७७ मा आधारदर ८.५० प्रतिशत हुँदा कर्जाको ब्याजदर १०.११ प्रतिशत र निक्षेपको ब्याज ६.१ प्रतिशत, आव २०७७/७८ मा आधारदर ६.६६ प्रतिशतमा पुग्दा कर्जाको ब्याजदर ८.४३ प्रतिशत र निक्षेपको ४.६२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा आधारदर ६.७१ प्रतिशत हुँदा ब्याजदर ६.६५ प्रतिशत पुगेको थियो। यस आर्थिक वर्षयता ब्याजदर घट्न थालेको थियो। आर्थिक वर्ष २०७८/७९ देखि कर्जा प्रवाह नहुँदा ब्याजदर ७ प्रतिशत र निक्षेपको ४।६२ प्रतिशत माथि नपुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल चालू आर्थिक वर्षबाट कर्जा विस्तार कमजोर बन्दा आधारदर एक दशकअगाडिकै अवस्थामा पुगेको बताउँछन्। तीन वर्षयता कर्जा प्रवाह कमजोर बन्दै गएको छ। सरकारले यो समस्या समाधान गर्नुभन्दा आर्थिक तरलता खिच्न मात्र ध्यान दिइरहेको उनको आरोप छ। ‘बैंक ब्याजदर घट्नु नराम्रो पक्ष होइन होला तर बैंकमा लगानी योग्य पैसा थुप्रिनु राम्रो होइन। यसका लागि सरकारले बेलैमा योजना बनाउन नसके अर्को समस्या देखिन सक्छ’, उनले भने।
पैसा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरी विशेष योजना तत्काल बनाउनुपर्ने उनको सुझाव छ। राज्यका कतिपय कमजोरीका कारण कर्जा प्रवाहमा समस्या सिर्जना भइरहेको र यस्तो समस्या समाधान गर्न सरकार केन्द्रित नभएको आरोप दाहालले लगाए। वित्तीय प्रणालीको निक्षेप साढे ६७ खर्ब नाघेको छ। यति रकममध्ये बैंकहरूले माघ मसान्तसम्म ५८ खर्ब ६३ अर्ब कर्जा लगानी गरेका छन्। बैंकहरुसँग ११ खर्ब ७१ अर्ब आर्थिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ।