अरबिन्द केजरीवाल : झाडुदेखि ‘जकुजी’ सम्म

हिमाल प्रेस २८ माघ २०८१ १२:५६
64
SHARES
अरबिन्द केजरीवाल : झाडुदेखि ‘जकुजी’ सम्म अरबिन्द केजरीवाल। तस्बिर :

एक दशकअघि राजनीतिमा उदाउँदै गर्दा अरबिन्द केजरीवाल आफू जे हो भन्थे, त्यही थिए। उनी वास्तवमै आम आद्‌मी थिए। एउटा सामान्य नागरिक भ्रष्टाचारविरोधी नारा बोकेर दिल्ली विधानसभाको निर्वाचनमा होमिनु, ७० मध्ये ६७ सिटमा आफ्नो पार्टीलाई विजयी बनाउनु साँच्चै ऐतिहासिक थियो।

सन् २०१५ को त्यो दिल्ली विधानसभा निर्वाचनपछि भारतीय जनता पार्टी (भाजपा) लाई लिएर ठट्टा नै चल्यो- भाजपाका तीन सांसदलाई संसद् भवन जान कार चाहिँदैन। उनीहरु एउटै अटोमा बसेर संसद् जान सक्छन्।

त्यसबेला भाजपालाई जम्मा तीन सिट जित्न दिएको आम आद्‌मी पार्टी (आप) पाँच वर्षपछि निर्वाचनमा ७३ सिटबाट ६२ मा झर्‍यो। नौ वर्षअघि झाडु उचालेर शिला दीक्षितको सरकार ढालेको आप अहिले आएर आफैँ बढारिएको छ। केजरीवाल आफैँ पराजित भएका मात्र छैनन्, उनको पार्टीले राष्ट्रिय राजधानी गुमाएको छ।

आपका लागि दिल्ली केवल राष्ट्रिय राजधानी मात्र थिएन। बरु यो त केजरीवालको राजनीतिक राजधानी थियो। एक समय भ्रष्टाचारविरुद्धको अभियानलाई राजनीतिक जग बनाएका केजरीवालले आखिरमा भ्रष्टाचारकै आरोपले चुनाव हारे।

केजरीवाल यसपालिको निर्वाचनमा आफ्ना स्टार सहयात्रीहरुसहित निर्वाचनमा होमिएका थिए। तर पार्टीभित्र उनीपछि लोकप्रिय रहेका मनीष सिसोदियाले सिट सुरक्षित गर्न सकेनन्। केजरीवाल जेलमा हुँदा दिल्ली हाँकेकी अतिशी भने विजयी भएकी छन्।

उता निर्वाचन नतिजा आफ्नो पक्षमा पारेको भाजपासँग भने ठूला कदका स्थानीय नेता थिएनन्। मतदाताले भाजपालाई छान्नुको मुख्य कारण प्रधानमन्त्री नरेन्द्र मोदी रहे। ‘मोदीको ग्यारेन्टी’को सामुन्ने आपको केही सीप चलेन।

पन्जाबको विधानसभा निर्वाचनमा कांग्रेस र भाजपालाई पछारेर भारतीय राजनीतिक इतिहासमा राष्ट्रिय पार्टी बन्ने पहिलो युवा पार्टी बनेको आपले दिल्लीमा आखिरमा गएर लज्जास्पद हारे व्यहोर्नुपरेको छ।

के यसपालिको निर्वाचन नतिजामा सत्तारूढ दलविरोधी भावना मुख्य कारण बनेको हो? दिल्लीका मतदाताले परिवर्तनको आवश्यकता महसुस गरेकै कारण आपलाई केजरीवाललाई हराएका हुन्?

दिल्ली निवासी भएका कारण आपको पराजयका कारण यो पंक्तिकारलाई थाहा छ। केजरीवाल हार्नुको पछाडि उनको अहम्ले मात्र भूमिका खेलेको छैन। जबकि अहम्ले जोसुकैको पनि राजनीतिक यात्रा सिध्याउन सक्छ।

आपमाथि सकेजति आक्रमण गरेको भाजपाले ‘सिसा महल’ लाई हतियार बनाएको थियो। मुख्यमन्त्री छँदा केजरीवालले पुनर्निर्माण गरेको आवासलाई भाजपाले सिसा महल भनेर प्रचार गर्ने गरेको छ। आफ्नो परिवारसहित त्यस भवनमा बस्ने केजरीवालको ‘आम आद्‌मी’ को परिचय भत्काउन भाजपालाई सो प्रचारले निकै सहयोग पुर्‍यायो। यो एउटा उदाहरण हो, केजरीवालले ध्यानपूर्वक निर्माण गरेको आफ्नो छवि एक झट्कामा कसरी भत्किन सक्छ भन्ने।

आपका नेता केजरीवालले भ्रष्टाचार अभियानको ती सुरुवाती दिनयता लामो यात्रा तय गरेका छन्। सायद यो यात्रामा उनले आफ्नै मतदातालाई पनि पछाडि छाडे। तब त उनको पार्टीको हारको मुख्य कारण कुशासन रह्यो। सरकारले सोचेअनुरुपको काम गर्न नसकेको भन्दै आलोचना हुँदा यसको मुख्य कारण दिल्लीको लेफ्टिनेन्ट गभर्नरको कार्यालयबाट हालिने भाँजो रहेको आरोप लगाइरहे।

केजरीवालले लगाएको आरोप पूरै आाधरहीन होइन। तर काम गर्न नसक्नुमा उनी आफैँ र उनका सांसदहरु मुख्य कारण हुन्। किनभने दिल्लीका नागरिकले लामो समयदेखि भोगिरहेका समस्यातर्फ उनीहरूले पर्याप्त ध्यान दिएनन्। दिल्लीलाई पेरिस बनाउने केजरीवालको बाचा छाडिदिऔँ, उनले सडकका खाल्डाखुल्डी पनि पुर्न सकेनन्।

खराब सडकबाहेक राजधानी दिल्लीमा समाधान नभएको अर्को समस्या हो खानेपानी। नागरिकले चाहेको आधारभूत सुविधा बिजुली, सडक र पानीलाई ध्यानमा राख्न छाडेर दिल्ली सरकार मतदातालाई फरकफरक शीर्षकमा मुफतका चिजले लोभ्याउने खेलमा लाग्यो। केजरीवाल सरकारले दिल्लीका सरकारी विद्यालय र मोहल्ला क्लिनिकमार्फत स्वास्थ सेवामा सुधार ल्याएकै हो।

दिल्लीको अपेक्षा भने बढी थियो। आर्थिक रूपमा कमजोर मतदातालाई भोट ब्यांक बनाएको आपले मध्यमवर्गीयलाई भने वास्ता गरेन। यसका कैयौँ उदाहरण छन्। जस्तै- दक्षिण दिल्लीको म बस्ने कोलोनीमा शुद्ध खानेपानीको आपूर्ति नभएको १० वर्ष भयो। हुन त केजरीवालले हरियाणाले दिल्लीलाई दिनुपर्ने जति पानी नदिएकाले समस्या भइरहेको बताउने गरेका छन्। समस्याको कारण यो होइन। समस्या त केजरीवालले धेरैजसो पानी मत तान्न गरिब बस्तीमा बढी पानी छाडिदिएर भएको हो।

दक्षिण दिल्लीतर्फ जाने पाइपलाइनमा छेडखानी गरेर आपको भोट ब्यांक भएका क्षेत्रमा पानी छाड्ने भएपछि पानी वितरण सधैँ असन्तुलित भइरह्यो। दिल्ली महानगरको निर्वाचनमा आप निर्वाचित भएपछि हामीलाई लागेको थियो, दिल्लीमा अब आपको डबल इन्जिन सरकार बनेको छ, पानीको समस्या हल हुन्छ। तर यो समस्या समाधान भएन। केजरीवाल मध्यमवर्गीयका लागि नायक रहेनन्।

आखिरमा आपको होइन भाजपाको डबल इन्जिन विजयी भएको छ। केजरीवाल जसरी सशक्त रूपमा दिल्लीको सत्तामा विराजमान भएका थिए, त्यसरी सत्ताबाट निकालिएका छन्। आपको बहिर्गमनसँगै भाजपाले दिल्लीमा २७ वर्ष लामो बनवास तोडेको छ।

यसपालिको दिल्ली निर्वाचन खाली सित्तैँमा बाँडिएका उपहारमा मात्र लडिएको होइन। हुन त भाजपाले पनि मतदातालाई आपले जत्तिकै लोभ देखाएकै हो। भाजपाले दिल्लीका महिलालाई महिनाको २५०० रुपैयाँ वितरण गर्ने बाचा गरेको छ। आपले २१०० दिने घोषणा गरेको थियो।

यो निर्वाचनमा भाजपा विजयी भएपछि उठेको प्रश्न हो, गठबन्धन नगरेर आप र कांग्रेसले गल्ती गरेका हुन्? यी दुई पार्टी मिलेर भाजपाविरुद्ध लडेको भए, आपका लागि हार कम पीडादायी हुने थियो। भाजपा पंक्तिलाई यतिबेला लागिरहेको छ, यसपालिको हारले केजरीवालको राजनीतिक यात्रा अन्त्य गरेको छ। तर केजरीवाल लडाकु हुन्, उनी सहजै हार मान्न तयार छैनन्। अबको केही समय भने उनी पन्जाबको राजनीतिमा केन्द्रित हुन आवश्यक छ।

उसो त दीर्घकालीन राजनीतिक योजना बनाउँदा उनले आफैँमाथि प्रश्न गर्न भने आवश्यक छ, चुनाव किन हारियो? केजरीवाल झाडुबाट ‘जकुजी’ मा कसरी पुगे? यसका पनि समीक्षा हुन जरुरी छ। इमानदार भएर आफ्नो समीक्षा आफैँ गरे, केजरीवाललाई आफ्नो राजनीतिक भविष्यको बोटो पहिल्याउन सजिलो हुनेछ।

[टाइम्स अफ इन्डियामा प्रकाशित दिल्ली निवासी पत्रकार हरिन्दर बवेजाको यो आलेख भावानुवाद गरिएको हो।]

प्रकाशित: २८ माघ २०८१ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast