वन्यजन्तु र पैदल यात्रीमैत्री बन्दै बुटवल-गोरुसिङे सडक

विनोद परियार २६ माघ २०८१ २१:५०
22
SHARES
वन्यजन्तु र पैदल यात्रीमैत्री बन्दै बुटवल-गोरुसिङे सडक

लुम्बिनी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवलदेखि गोरुसिंगे सडक वन्यजन्तु र पैदल यात्रीमैत्री बनाउने गरी निर्माण सुरु भएको छ। नेपालकै राजमार्गमा नभएका पूर्वाधार राखेर तयार पारिएको सडक डिजाइनअनुसार वातावरण, वन्यजन्तु र पैदल यात्रुमैत्री बन्ने भएको हो। बुटवलदेखि गोरुसिङे ५० किमि सडकलाई चारदेखि ६ लेनसम्म बनाइनेछ।

माघ ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेको सडक स्तरउन्नतिको बुटवल गोरुसिङे सडकखण्डको काम सुरु भइरहेको छ। अहिले बुटवल सतगढी १ मा पुल र कपिलवस्तुको वाणगंगा नदीको आधारभूत संरचना (फाउन्डेसन) को काम भइरहेको छ।

यसैगरी बुटवल सतगढी २ मा पनि केही दिनमै फाउन्डेसनको काम सुरु गर्ने बुटवल-गोरुसिङे-चन्द्रौटा सडक आयोजना कार्यालयले जनाएको छ। सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार नेपालकै राजमार्गमा नभएका पूर्वाधार यस सडकमा रहनेछन्। उनका अनुसार जंगल क्षेत्रमा वन्यजन्तु वारपार गर्नका लागि तीनवटा डेडिकेटेटसहित १९ वटा वारपार गर्ने ठाउँ राखिनेछ। रुपन्देही र कपिलवस्तुका जंगल क्षेत्रमा सडक पर्ने भएकाले त्यहाँका वन्यजन्तु सडकबाट आवातजावत गर्दा दुर्घटना हुने गरेकाले वन्यजन्तुमैत्री हुने गरी सडक संरचनाको डिजाइन गरिएको इन्जिनियर न्यौपानेले बताइन्।

बुटवल-गोरुसिङे सडक।

त्यसो त यो सडकका रूपन्देही र कपिलवस्तुमा मुख्य बजार क्षेत्रमा सवारीसाधनलाई वारपार गर्न मिल्ने गरी (भेचिकुलर अन्डरपास) संरचना बनाइनेछ। यो भनेको रुपन्देहीमा ५ र कपिलवस्तुमा एउटा गरी बजारक्षेत्रमा सडकमा सवारी क्रसिङमार्फत हुनेछ। यस्तो सडकको पूर्वाधार काठमाडौँको ग्वार्कोमा मात्रै छ।

‘हाइवेमा यो नै पहिलो संरचना हुनेछ’, सडक योजना कार्यालयका इन्जिनियर अशोक पौडेलले भने, ‘स्तरीय सडक बनाउने गरी धमाधम काम भइरहेको छ।’ उनका अनुसार राजमार्गमा ३० वटा पुल बन्नेछन्। यसमध्ये पैदलयात्रुका लागि अन्डरपास १२ र ओभरहेड ११ वटा पुल बन्नेछन्। यसैगरी सडकमा सवारी आवातजावतका लागि ६, वन्यजन्तु आवतजावतका लागि ३ वटा डेडिकेटेटसहित १९ वटा क्रसिङ बन्नेछ।

दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको हो। कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण गर्ने गरी २०८१ असार ११ गते सम्झौता भएको थियो।

चिनियाँ कम्पनी सान्ची कन्ट्रक्सन इन्जिनियरिङ गुप्र र आशिष निर्माण सेवा नेपालले तीन वर्षमा सक्ने गरी निर्माण थालेको हो। बुटवल-कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी-गोरुसिङे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सक्ने गरी सम्झौता भएको हो। यो सडक विस्तारका लागि विश्व बैंक ऋण दिएको हो।

पचास किलोमिटर सडकअन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी-पिपरा र वनगाई-गोरुसिङेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ। जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ।

बुटवलतर्फ भने अधिकांश बजार र बस्ती क्षेत्र रहेको छ। बजार र बस्ती भएको क्षेत्रमा दुवैतर्फ सर्भिस लेनसहितको ६ लेन सडक बन्ने आयोजना प्रमुख न्यौपानेले बताइन्। सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ।

तत्कालीन राजा महेन्द्रको पालामा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति गरिएको हो। यो सडकखण्डको स्तरउन्नतिसँगै कपिलवस्तुबाट बुटवल बजार सजिलै जोडिनेछ।

बुटवल नारायणगढमा जस्तो सास्ती नहुने

बुटवल-नारायणगढ सडकखण्डका कारण पूर्वपश्चिम राजमार्गको यात्रा गर्ने यात्रुहरुले सास्ती पाइरहेका बेला बुटवलदेखि पश्चिमसम्म पनि निर्माण सुरु भएपछि यात्रुले भने दुःख पाउने भन्दै शंका गरेका छन्। विकास निर्माण सुरु भएको लामो समयसम्म पूरा नहुने भएपछि यात्रुले आशंका गर्नु स्वाभाविक छ। यही आशंकाका कारण बुटवलदेखि गोरुसिङेको सडक स्तरउन्नतिमा यात्रुलाई सास्ती नहुने गरी निर्माण गर्न सरकारले निर्देशन दिएको छ।

रुपन्देही क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल नारायणगढ सडकखण्डको अनुभवबाट पाठ सिक्दै पहिला दुवै साइडमा निर्माण गरेर मात्रै सडक भत्काउन निर्देशन दिएका छन्।

अर्थमन्त्रीको निर्देशनअनुसार एकतर्फको निर्माण गरेपछि मात्रै बीचको सडकको भाग भत्काउने गरी सडक निर्माण गरिने योजना प्रमुख न्यौपानेको भनाइ छ। अहिले सडक विस्तारका लागि अतिक्रमण हटाउनेदेखि रुख तथा बिजुलीका पोलको काम सुरु गरिएको छ। यो सडकअन्तर्गत सालझन्डी-पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई-गोरुसिङे सडक खण्डमा पनि जंगल क्षेत्र छ ।

सडक विस्तार गर्दा सात हजार एक सय ७५ रुख हटाउनुपर्नेछ। ती रुख काट्दा वातावरणमा हुने नोक्सानी कम गर्न १० गुणा बढी ७१ हजार २५० बिरुवा रोप्न वन विभागसँग सहकार्य गरिएको जनाइएको छ।

प्रकाशित: २६ माघ २०८१ २१:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast