पुस्तक चर्चा

साहित्यमा मृत्यु चिन्तन

राजाराम बर्तौला २६ माघ २०८१ ११:१३
24
SHARES
साहित्यमा मृत्यु चिन्तन

अनुसन्धान विमर्श नपालले साहित्यकार बद्रीप्रसाद ढकाल लिखित पुस्तक साहित्यमा मृत्यु-चिन्तन प्रकाशनमा ल्याएको छ। पुस्तकको विमोचन समारोहमा उपस्थित हुने अवसर मिलेको थियो। लेखकद्वारा हस्ताक्षरित एक प्रति पुस्तक पनि हात परेको थियो। यो पुस्तक यस्तो समयमा हातमा पर्‍यो कि जुन समय म भारतीय धर्मगुरु तथा प्रख्यात दार्शनिक सद्गुरुद्वारा लिखित ‘डेथ’ अर्थात् ‘मृत्यु’ भन्ने पुस्तक पढ्दै थिएँ। नेपालीमा लेखिएको मृत्यु-चिन्तन हातमा परेपछि सर्वप्रथम यही पुस्तक पढेर सकेँ। अर्थात् मृत्युप्रतिको जिज्ञासालाई आफ्नै भाषामा जान्ने प्रयास गरियो।

दुई सय ३२ पृष्ठको यो पुस्तक दुई बसाइमा पढिसकेँ। यसको अर्थ हो पढ्दै जाँदा पुस्तकले पाठकलाई निरन्तर आफूप्रति आकर्षण गरिरहन्छ। मृत्युका विषयमा जान्ने जिज्ञासालाई कसेर अँठ्याइराख्छ। पाठकलाई पुस्तकका हरफहरूसँग टाँसेर राख्न सक्नु लेखकको लेखकीय दक्षता हो। यसमा दुइटा विषय जिम्मेवार देखिन्छन्- एउटा विषयप्रतिको जिज्ञासा र अर्को लेखनशैली र लेखकीय कला। लेखकीय क्लिष्टता छैन र भाषा सम्प्रेषणमा सरलता छ भने पाठकलाई त्यसले आकर्षण गरिरहन्छ हैन भने भाषीय क्लिष्टताले विकर्षण गराउँछ र एकदुई पृष्ठ पढेपछि झर्को लाग्न थाल्छ। प्रस्तुत पुस्तक यी सबै झन्झटबाट मुक्त छन्।

मृत्यु-चिन्तन यस्तो विषय हो जुन मानिसको अन्तरचेतनाले भ्याएसम्म जान्ने कोसिस गर्दछ। आदिअनादि कालदेखि ऋषिमुनि, तपस्वी, ज्ञानी, विज्ञानी, लेखक, अन्वेषक, कवि, साहित्यकार, प्राज्ञ, विज्ञ, दर्शन र दार्शनिक सबै यसको पछि लागेका छन्। आदि अनन्तको भेउ पाउन पनि नसकेको शिवलिंगको कथाजस्तो मृत्यु-चिन्तन एउटा अज्ञेय, अपरिमित, तत्त्वभित्रको तत्त्वमीमांसा भएर बसेको छ। अनादिकालदेखि चिन्तकहरू यस विधामा चिन्तनशील छन्। योगीहरू योगसाधनाका माध्यमबाट मृत्यु र मृत्युभेदको, जीवन र मृत्युको, मृत्यु अगि र मृत्युपछिको जीवको अवस्थाका विषयमा, जीवनचक्रको इतिवृत्ति ज्ञान मीमांसामा लिप्त छन्।

सानादेखि लिएर ठूला योगाचार्य, कविदेखि लिएर महाकवि, शास्त्रीदेखि लिएर दर्शनशास्त्री, शास्त्रदेखि लिएर पुराण, काव्यदेखि लोककथा जता हेरे पनि साहित्यमा मृत्युको विषयमा लखिएकै देखिने रहेछ। यो सर्वव्यापी, सर्वकालिक रहेछ भन्ने बुझ्नुपर्‍यो।

कस्तो छ भने बालकदेखि वृद्धसम्म यो मृत्यु-चिन्तनले छोड्दैन। सानो छँदा घरमा ज्योतिष आउँथे र सबै छरछिमेकको चिना पढेर र हातका रेखा हेरेर भविष्य बताउँथे। हामी जिज्ञासुहरू उनको नजिकै बसेर उत्सुकतापूर्वक गाउँलेको भविष्य, भाग्य र फलका कुराहरू सुनेर बस्दथ्यौँ। सबैका साझा जिज्ञासा एउटै हुन्थ्यो, ‘कति आयु होला, वा कति वर्ष बाँचिएला?’ अर्थात् यो यति वर्षसम्म बाँच्छ भन्ने कुरा लखेर ल्याएको हुन्छ। बिहे कहिले हुन्छ? खड्गोहरू के कस्ता छन्? आदि। मानिसको चेतले उमेर र आयुको हिसाब राख्दो रहेछ। अर्थात् एक दिन मरिन्छ भन्ने निश्चित छ, तर कहिले?

मृत्युसम्बन्धी शाश्वत कुराहरूमाथि करिब समान धारणा प्रचलित छ पूर्वीय र पश्चिमा दार्शनिकहरूको। तर जति गम्भीर र सूक्ष्म तरिकाले मृत्यु-चिन्तन गरिएका छन् पूर्वीय दर्शनमा योगाचार्यले त्यति चिन्तन पश्चिमा दर्शनमा पाइँदैन। पश्चिमा दर्शनमा भौतिक तत्त्वको अन्तसम्म पुगेको छ भने पूर्वीय चिन्तनमा पञ्चतत्त्व, पञ्चभूतको शेषविधि, पूर्वसंस्मरणको निरन्तरता (Different dimension of Memories, genetic, karmic etc), कर्मको फल र मृत्युपश्चात् पुनर्जन्म आदिसम्मको विश्लेषण गर्दछ।

लेखकले मृत्यु के हो? मृत्युको अर्थ, मृत्यु र आत्मा, मृत्युबोधजस्ता शास्त्रीय विषयहरूलाई पुस्तकमा समावेश गर्नुभएको छ। हामी नेपाली सनातनी धर्म परम्परा, सांस्कृतिक धरोहरमा प्राप्त रीति र सांस्कृतिक कर्ममा मृत्युको विषयमा, चेतनाको विषयमा तथा भौतिक र पराभौतिक चिन्तनहरूको पौराणिक कथाले केही न केही, कुनै न कुनै रुपमा परिचित हुँदै आए भए पनि मृत्युसम्बन्धी विभिन्न दर्शन र दार्शनिकको व्याख्याले अरू थप दीक्षित हुने अवसर प्रदान गरेको छ यो पुस्तकले।

विभिन्न धर्महरूले मृत्युलाई कसरी व्याख्या गरेको छ भनेर समेत मृत्युको सार खिचिएको छ। पहिलो खण्डमा मृत्युको दार्शनिक पक्षमा लेखिएको छ भने दोस्रो खण्डमा नेपाली साहित्यले मृत्युका विषयमा कसरी चर्चा गरेको छ भनेर विभिन्न साहित्यकारहरूको कृतिबाट मृत्यु सम्बन्धमा लेखिएका हरफहरू उद्धरण गरेर दर्शाइएको छ। प्लेटो, अरिस्टोटल जस्ता दार्शनिकहरूको भनाइसमेत साभार गरिएको छ।

विश्वमा विकसित सबै धर्ममध्ये आत्मा, परमात्मा, र पुनर्जन्मका बारेमा स्पष्ट मान्यता राख्ने धर्म हिन्दु मात्रै हो। हिन्दु धर्मले आत्मालाई अविनाशी र अजन्मा मानेको छ। हिन्दु धर्मले मृत्युको ब्रह्माण्डीय आयाममा ध्यान केन्दित गरेको छ भन्ने लखकको मान्यता छ। प्रस्तुत पुस्तक संग्रहणीय त छँदैछ पढ्नैपर्ने श्रेणीमा पनि पर्दछ। पुस्तकलाई ‘नेपाली साहित्यमा नौलो पाइलो’ भनेर डा. दुर्गाबहादुर घर्तीले भनेका छन्। हुन पनि मृत्युलाई नै विषयवस्तु बनाएर किताब लेख्ने काम नगन्य छन्। यो यति गहन विषय हो कि अध्यात्म चेत र योगसाधनाको न्यूनतम ज्ञानको अभावमा यति गहकिलो पुस्तक तयार गर्न कठिन पर्दछ।

नेपाली साहित्यमा रुचि हुनेहरूले त यो पुस्तक छोड्नै हुँदैन भने अरु जिज्ञासुहरूले पनि यो पुस्तक पढेर आफ्नो ज्ञानको फाँटलाई फराकिलो पार्न सक्नुहुनेछ भन्ने लाग्दछ।

यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उस्को रहने घरै हो
यो भत्कँदा दुःख अवश्य लाग्छ
सुटुक्क सामान लिएर जान्छ।

कविशिरोमणि लेखनाथ पौड्यालको यो पद्य प्रायः नेपालीको जिब्रोमा झुण्डिएको पाइन्छ। त्यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘आएन ज्यूँदै रहँदा नि ज्ञान, आँखिर श्री कृष्ण रहेछ एक।’ नेपाली साहित्यमा मृत्यु-चिन्तनका सर्वकालिक दृष्टान्तहरू हुन्।

मृत्युलाई बुझ्न उपनिषद्हरूको अन्तर्यमा गएर पर्गेल्न सकियो भने सार र निस्सार, भौतिक र अभौतिक, जन्म, पुनर्जन्मका विषयमा पर्याप्त ज्ञान आर्जन गर्न सकिन्छ। सनातनी परम्परामा मृत्यु Disintegration of Physical body मात्र हो। आत्मा अजर छ र अमर छ । यही नै त भन्छ गीताले पनि ‘…न हन्यते हन्यमाने शरीरे।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast