काठमाडौँ- आजदेखि तीनवटा फिल्म ‘ममी’, ‘सारंग’ र ‘जुनाः एक व्यथा’ देशभर प्रदर्शन भएको छ।
‘जुनाः एक व्यथा’ बाल विवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावको कथामा बनेको फिल्म हो। यसका निर्देशक जीवन सेञ्चुरी हुन्। फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट,अनिता बस्नेतलगायतको अभिनय छ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन्। पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्म बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, रामेश्वर हुमागाईँको डिओपी छ। फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले मिलेर गरेको हो।
‘सारंग’ बाल मनोविज्ञान, बाल अधिकार, धनीगरिब परिवारबीचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको फिल्मको हो। ‘सारंग’ का निर्देशक प्रशान्त तामाङ हुन्। फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट् र आदित्यको समेत अभिनय छ।
फिल्मको निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन्। दर्शन बुद्धफिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन्। फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी छ। फिल्मलाई देशभर स्टेशन ५ ले वितरण गरेको हो।
त्यस्तै,आज रिलिज भएको अर्को फिल्म हो ‘ममी’। ‘ममी हरर फ्यामिली ड्रामा निर्माण भएको हो। यसका निर्देशक समर निरौला हुन्। फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीको मुख्य भूमिका छ। फिल्ममा समीप निरौला, घनश्याम जोशी,आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय छ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन छ। फिल्मका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन्।
‘ममी’को छायांकन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ। फिल्मलाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेको हो।