विश्व स्वास्थ्य संगठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

हिमाल प्रेस २४ माघ २०८१ १८:०९
10
SHARES
विश्व स्वास्थ्य संगठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

काठमाडौँ– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट बाहिरिने घोषणा गरेको छ। अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सीएनएनले जनाएको छ।

‘राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य संगठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिनुभयो,’ एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एडोर्नीले भने, ‘हामी अर्जेन्टिनीहरू कुनै अन्तर्राष्ट्रिय संगठनलाई हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्न दिनेछैनौँ, विशेष गरी हाम्रो स्वास्थ्यमा।’

एडोर्नीले अर्जेन्टिनाको निर्णयलाई ‘स्वास्थ्य व्यवस्थापनसम्बन्धी गहिरो मतभेदहरू, विशेष गरी महामारीको समयमा जसले हामीलाई मानव इतिहासको सबैभन्दा लामो लकडाउन र केही राज्यहरूको राजनीतिक प्रभावको सामना गर्न स्वतन्त्रताको कमीमा पुर्‍यायो,’ भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो।

पछि जारी गरिएको वक्तव्यमा अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लुएचओलाई कोभिड–१९ महामारीको समयमा ‘(अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर)’ आर्थिक क्षति पुर्‍याएको आरोप लगाएको छ।

वक्तव्यमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय समुदायबाट यो पुनर्विचार गर्न जरुरी छ कि किन सबैले वित्त पोषण गरेका अन्तर्राष्ट्रिय संगठनहरू अस्तित्वमा छन्, जसले आफू सिर्जना गरिएका उद्देश्यहरू पूरा गर्दैनन्, अन्तर्राष्ट्रिय राजनीतिमा संलग्न हुन्छन् र सदस्य देशहरूभन्दा माथि आफूलाई थोप्न खोज्छन्।’

डब्लूएचओले अर्जेन्टिनामा काम गर्छ। तथापि एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्लूएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताए। उनले भने, ‘त्यसैले यो कदमले देशका लागि कोषको नोक्सानी प्रतिनिधित्व गर्दैन् न त सेवाहरूको गुणस्तरलाई प्रभावित गर्छ।’

उनले डब्लूएचओबाट अर्जेन्टिनाको फिर्तीले अर्जेन्टिनाको हितमा ‘नीतिहरू कार्यान्वयन गर्न बढी लचिलोपन’ र ‘स्रोतहरूको अधिक उपलब्धता’ दिने दाबी गरे। – रासस/एएनआई

प्रकाशित: २४ माघ २०८१ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast