विपिन जोशीबारे १६ महिनादेखि सरकारको एउटै जबाफ : रिहाइका लागि पहल जारी छ

रमेश भारती २३ माघ २०८१ १७:१०
24
SHARES
विपिन जोशीबारे १६ महिनादेखि सरकारको एउटै जबाफ : रिहाइका लागि पहल जारी छ

काठमाडौँ- कञ्चनपुरका विपिन जोशी २०८० असोज २० गतेदेखि इजरायलमा बेपत्ता छन्। उनी प्यालेस्टिनी व्रिदोही समूह हमासको कब्जामा रहेको दाबी गरिँदै आएको छ। सोही दिन हमासले इजरायलमाथि गरेको आक्रमणपछि उनी बन्धक बनेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताउँदै आएका छन्। सरकारी अधिकारीहरूले रिहाइका लागि कूटनीतिक संयन्त्रमार्फत पहल गर्दै आएको दाबी गरे पनि १६ महिनादेखि जोशीको अवस्था अज्ञात छ।

विपिनका परिवार र सञ्चारकर्मीसँग सरकारी अधिकारीहरूको रेडिमेड जबाफ हुन्छ, जोशीको रिहाइका लागि आवश्यक सबै किसिमको पहल जारी छ। जोशी बेपत्ता भएयता परराष्ट्र मन्त्रालयको नेतृत्वमा तीनजना आएका छन्।

जोशी सम्पर्कविहीन हुँदा कञ्चनपुरकै सांसद एनपी साउद परराष्ट्रमन्त्री थिए। तत्कालीन परराष्ट्रमन्त्री साउद जोशीलाई छुटाउन प्यालेस्टिनी लडाकु समूह हमाससँग सम्पर्कमा रहेका देशसँग कूटनीतिक पहल भइरहेको बताउँथे। त्यतिबेला इजिप्ट र कतारसँग पनि जोशीलाई छुटाउनका लागि पहल गरिदिन आग्रह गरिएको थियो। पूर्वमन्त्री साउद बन्धक नरहेका नेपालीलाई तामझामसहित स्वदेश फिर्ता ल्याउन आफैँ इजरायल पुगेका थिए। जोशीको अवस्था पहिचानका लागि उनी सफल भएनन्।

साउदपछि परराष्ट्रमन्त्री बनेका नारायणकाजी श्रेष्ठ पनि जोशीको रिहाइका लागि सक्दो पहल भइरहेको आश्वासन दिएर बिदा भए। अहिले परराष्ट्रको नेतृत्वमा रहेकी आरजू राणा देउवाले जोशीको रिहाइका लागि पहल जारी गरिरहेको बताउँदै आएकी छन्। उनले मन्त्रालयको नेतृत्व सम्हालेको सात महिना पुग्न लागे पनि जोशीको अवस्था अज्ञात छ।

परराष्ट्रमन्त्री देउवा सुदूरपश्चिमबाटै प्रतिनिधित्व गर्छिन्। जोशी परिवार देउवाबाट पनि आश्वास मात्रै पाउँदै गुनासो गर्छ। कञ्चनपुरबाटै निर्वाचित गृहमन्त्री रमेश लेखकबाट पनि जोशी परिवारले आश्वासन मात्रै पाउँदै आएको छ। मन्त्रीहरूबाट मात्रै होइन जोशी परिवारले प्रधानमन्त्री केपी ओलीबाट पनि यस्तै आश्वासन पाएको छ।

विपिनका बुबा महानन्द जोशीले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वपरराष्ट्रमन्त्रीहरू एनपी साउद र नारायणकाजी श्रेष्ठ तथा अहिलेकी परराष्ट्रमन्त्री आरजु राणासँग भेटेर छोराको अवस्था पहिचानका लागि आग्रह गरिसकेका छन्। उनले सबै नेताबाट आश्वासन मात्र पाएको गुनासो गरे। उनले इजरायली राजदूत समुलिक ए वासलाई भेटेर छोराको अवस्था पहिचानका लागि अनुनय गरिसकेको बताए। उनले भने, ‘छोरा फर्किने प्रतीक्षा गरेको १६ महिना भयो। यो समय परिवारका लागि अति कष्टकर भएको छ।। विपिनलाई अगाडि नदेखुन्जेल  मनमा अनेक शंका भइरहन्छ।’ उनले सरकारसँग भने आस मारिसकेको बताए।

जोशीको अवस्था पत्ता लाग्न नसक्नुलाई नेपालको फितलो कूटनीतिका रूपमा पनि व्याख्या गर्न थालिएको छ। साउदी अरबका लागि पूर्वराजदूत उदयराज पाण्डे जोशीको रिहाइका लागि कूटनीतिक प्रयास नपुगेको बताउँछन्। उनले भने, ‘विपिनको रिहाइका लागि सरकारले सीधै सम्बन्धित देश र कूटनीतिक संयन्त्रमार्फत पहल गर्नुपर्ने थियो तर त्यस्तो भएन।’ उनका अनुसार कब्जामा रहेका युद्धबन्दीको रिहाइका लागि सर्त हुन्छ। जोशी युद्धका लागि नभई रोजगारीका क्रममा हमासको कब्जामा परेका हुन्। पाण्डेले भने, ‘सरकारले प्रयास गरे पनि विपिन जोशीका बारेमा हमासले जानकारी पायो कि पाएन भन्नेचाहिँ मुख्य विषय हो।’

नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले मंसिर ८ मा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जोशी जीवितै रहेको दाबी गरेका थिए। उनले भनेका थिए, ‘विपिन जोशी जीवितै छन् भन्ने सम्मको संकेत म आफैँले अरब स्रोतबाट पाएको हुँ। तर उनी कुन अवस्थामा कहाँ कसरी राखिएको छ भन्नेबारे जानकारी छैन।’ उनले पहल सफल रहेमा जोशी छिट्टै रिहा भएर घर फर्कने बताएको दुई महिनाभन्दा बढी बितेको छ। यसपछि इजरायलले जोशीको अवस्थाबारे औपचारिक रूपमा केही जानकारी गराएको छैन।

गत जनवरी २० मा युद्धविराम लागू भएपछि जोशी मुक्त हुने धेरैको अनुमान थियो। युद्धविराम लागू भए पनि जोशीको अवस्था अज्ञात छ। यद्यपि उनको अवस्था पहिचानका लागि पहल जारी रहेको सरकारी अधिकारीहरू बताउँछन्।

पछिल्लोपटक इजरायलका राष्ट्रपति इज्याक हर्जोगले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रयास भइरहेको बताएका छन्। राष्ट्रपति इज्याक हर्जोगले यस्तो आश्वासन दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका हुन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति हर्जोगले राजदूत पण्डितबीच मंगलबार भएको कुराकानीमा यस्तो आश्वासन दिएका थिए। विज्ञप्तिमा हमासद्वारा बन्दी बनाइएका अन्यसँगै नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइ गरी घर फिर्तिको सक्दो प्रयास भइरहेको उल्लेख छ।

गत साता इजरायलका विभिन्न सञ्चारमाध्यमले हमासको बन्धक सूचीमा थाइल्यान्डका र तान्जानियाका एक नागरिक रिहाइ हुने सम्भावना रहेको समाचार सम्प्रेषण गरेका थिए। त्यसमा नेपालका जोशीका बारेमा केही उल्लेख थिएन।

जोशीको रिहाइका लागि कतार, अमेरिका, क्यानडा, इजरायल र अन्य शक्ति राष्ट्रसँग परराष्ट्र मन्त्रालयले सहयोग मागे पनि हमासलाई सीधै पत्राचार गर्न सकेको छैन। दुई साताअघि परराष्ट्रमन्त्री आरजू राणा देउवाले कतार, इजरायल र टर्कीका परराष्ट्रमन्त्रीसँग जोशीको रिहाइका लागि सहयोग मागेकी थिइन्। उनलाई परराष्ट्रका उच्च अधिकारीहरूले जोशीको रिहाइका विषयमा संयुक्त राष्ट्रसंघमार्फत हमासलाई पत्राचार गर्न आग्रह गरेका थिए। परराष्ट्रमन्त्री राणाले कतारलगायत अन्य देशका परराष्ट्र मन्त्रालयसँग कुराकानी भइरहेका कारण हमाससँग कुराकानी गर्न नहुने तर्क राखेको एक उच्च कर्मचारीले जानकारी दिए।

यसैगरी परराष्ट्रका कर्मचारीले जोशी कस्तो अवस्थामा छन् भनेर हमाससँग प्रतिक्रिया माग्नसमेत मन्त्री राणालाई आग्रह गरेका थिए। यस विषयमा मन्त्री राणाले चासो नदिएको परराष्ट्रका ती कर्मचारीको आरोप छ। ‘दुई साताअघि इजरायल र हमासबीच युद्धविराम भएपछि विपिन जोशी छुट्छन् भन्ने चर्चा विदेशी मिडियामा आयो। इजरायल र हमासले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन्’, ती कर्मचारीले भने।

युद्धविरामपछि हमासले बन्दी बनाइएका विभिन्न देशका नागरिकको रिहा गरिसकेको छ। विपिन जोशीका बारेमा भने परराष्ट्र मन्त्रालयसँग जवाफ छैन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकाल १६ महिनाअगाडि नै हमासले इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम, किबुजबाट विपिन जोशीलाई नियन्त्रणमा लिएको विषयमा इजरायलले जानकारी गराएको बताउँछन्। हमासको कब्जा छन् भन्ने सूचना पाएपछि छुटाउनका लागि विभिन्न माध्यमबाट प्रयास भइरहेको उनले बताए। ‘अहिलेसम्म हमाससँग जोशीको रिहाइका बारेमा पत्राचार भएको छैन। विद्रोही समूह भएका कारण सीधै कुराकानी गर्न समस्या भएको हो। जोशीको रिहाइका बारेमा विभिन्न देशमार्फत पहल भइरहेको छ’, ढकालले भने।

पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयका ३९ विद्यार्थी इजरायल गएका थिए। २०८० असोज २० मा भएको हमासको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो भने जोशी अपहरणमा परेका थिए।

प्रकाशित: २३ माघ २०८१ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast