गत बिहीबार दिउँसो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा शुल्क (ट्यारिफ) लगाएको घोषणा गर्न ४८ घण्टा बाँकी थियो। छिमेकी देशमाथि आयात शुल्क लगाउने निर्णयले डराएका अमेरिकी गाडी उत्पादकहरू ह्वाइट हाउससँग सम्पर्कमा थिए। ह्वाइट हाउसकी चिफ अफ स्टाफ सुसी वाइल्सलाई उनीहरूले टेलिफोन गरेका थिए।
अमेरिकी बजारमा बिक्री हुने गाडीको ठूलो हिस्सा मेक्सिको र क्यानडामा निर्माण हुने भएकाले ती उत्पादकहरू ट्रम्पले लगाउन लागेको आयात शुल्कले झस्किनु स्वाभाविक थियो। तर उनीहरूलाई ह्वाइट हाउसबाट केही आश्वस्त बनाउने प्रयास गरियो। उनीहरूलाई के भनियो भने ट्रम्पले पहिलो कार्यकालमा ल्याएको उत्तरी अमेरिकी स्वतन्त्र व्यापार सम्झौताका नियम मान्नेहरूका लागि आयात शुल्क नलगाउने सम्भावना धेरै छ।
राष्ट्रपति ट्रम्पले लगाउने आयात शुल्कका कारण विभिन्न देशहरूसँग सम्बन्ध बिग्रने ठूलो सम्भावना थियो। ट्रम्पका सहयोगीहरू यो अवस्था कसरी सम्हाल्ने भनेर तयारी गर्दै थिए। यद्यपि ट्रम्प भने आफ्नो निर्णय अन्य देशले मान्नैपर्ने र उनीहरूसँग केही उपाय नभएको बताउँदै आइरहेका थिए।
दुई दिनपछि ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशत शुल्क लगाउने घोषणा सुनाए। यद्यपि क्यानडेली तेलमा भने शुल्क १० प्रतिशतमा सीमित राख्ने उनको भनाइ थियो। उनले चीनबाट हुने आयातमा पनि थप १० प्रतिशत शुल्क लाग्ने निर्णय सुनाए।
सोमबार एकाएक माहोल फेरियो। ट्रम्पले मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्क एक महिनाका लागि धकेलियो। ट्रम्पसँगको टेलिफोन वार्तामा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सिनबाउमले अमेरिकी सीमामा हुने आप्रवासी घुसपैठ रोक्न सेना परिचालन गर्ने प्रतिबद्धता जाहेर गरेपछि आयात शुल्क लाग्ने मिति सारिएको हो।
क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार साँझ आफ्नो देशमाथि अमेरिकाले घोषणा गरेको आयात शुल्क तत्काल लागू नहुने जानकारी दिए। ‘अमेरिकासँगको सीमा सुरक्षा थप बलियो बनाउन क्यानडाले एक अर्ब ३० करोड क्यानेडेली डलर खर्च गर्नेछ। सुरक्षाका लागि नयाँ हेलिकप्टर खरिद र प्रविधिको प्रयोग गर्नुका साथै थप सुरक्षाकर्मी खटाइनेछ, ताकि अमेरिकातर्फ हुने फेन्टानिल तस्करी रोकियोस्,’ ट्रुडोले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
छिमेकीद्वय मेक्सिको र क्यानडामाथि तत्काल आयात शुल्क लागू नहुने भए पनि चीनबाट आयात हुने वस्तुमा भने मंगलबारबाट थप शुल्क लाग्ने बताइएको छ।
ट्रम्प अनुमान गर्न सकिने खालका व्यक्ति होइनन्। यो सबैले बुझेको तथ्य हो। यद्यपि उनले गरेका निर्णयले अन्तर्राष्ट्रिय सेयर बजारदेखि बहुराष्ट्रिय कम्पनीहरूको बोर्डसम्म उथुलपुथल ल्याइदिएको छ। राष्ट्रपतिका रूपमा ह्वाइट हाउस फर्किएपछि उनले गरेका निर्णयको संकेत प्रस्ट छ, उनी विश्व अर्थतन्त्र र व्यापारमा ‘भूकम्प’ ल्याउन केन्द्रित छन्। आफूले गरेको निर्णयका कारण विश्व बजारमा जस्तो असर पुग्ने भए पनि ट्रम्प आफ्नो विचारमा अडिग छन्।
ट्रम्पले अन्तर्राष्ट्रिय व्यापारप्रति देखाएको आक्रामक नीतिको रक्षा गर्न यतिबेला उनका सहयोगीहरूलाई भ्याई–नभ्याई छ। अमेरिकी राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन हासेट सोमबार सीएनबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले ‘ट्रेड वार’ होइन ‘ड्रग वार’ सुरु गरेको बताइरहेका थिए। उनले मेक्सिको र क्यानडामा ट्रम्पको निर्णयहरूको आफूखुसी विश्लेषण भइरहेको पनि दाबी गरे।
ट्रम्पलाई उनका अन्य मुख्य सहयोगीद्वय स्टिफन मिल्लर र वित्तमन्त्री स्कट बेसेन्टले मेक्सिको र क्यानडमाथि धेरै आक्रामक नहुन सल्लाह दिएको बताइन्छ।
ह्वाइट हाउसमा डेप्युटी चिफ अफ स्टाफ रहेका मिल्लर आन्तरिक बैठकहरूमा मेक्सिकोलाई ‘भिलेन’ बनाउँदा अमेरिकी सीमामा हुने घुसपैठ रोक्ने अभियान सफल नहुने राय राख्छन्। उता वित्तमन्त्री बेसेन्ट छिमेकी देशहरुलाई शुल्क लगाउने हो भने पनि यसको दायरा न्यून हुनुपर्ने बरु भविष्यमा बढाउन सकिने विचार राखिरहेका छन्।
औपचारिक वक्तव्यमा भने मिलरले अमेरिकाले आफ्नो सीमा र सार्वभौमिकता रक्षाका लागि मेक्सिकोविरुद्ध कडा कदम चाल्न आवश्यक रहेको बताएका छन्। उनले ट्रम्पले घोषणा गरेको आयात शुल्क अमेरिकी नागरिकका रक्षाका लागि अत्यावश्यक भएको र यसले तत्काल नतिजा दिन सुरु गर्ने दाबी गरेका छन्।
गत सोमबार आफ्नो कार्यलयमा बेसेन्ट र वाणिज्यमन्त्री बन्न लागेका होवार्ड लुट्निकका साथ सञ्चारमाध्यमसामु उपस्थित भएका ट्रम्पले आफ्नो चाहना क्यानडा अमेरिकाको ५१ औँ राज्य बनोस् भन्ने रहेको सुनाए। त्यही बेला उनले सुनाएको अर्को इच्छा थियो, अमेरिकी सडकमा गुड्ने कार क्यानडामा नभई डेट्रोइट वा उत्तरी क्यारोलाइनामा बनून्।
मेक्सिको र क्यानडामाथि आयात शुल्क लाग्ने लगभग निश्चित भएपछि गत बिहीबार अमेरिकी तथा अन्तर्राष्ट्रिय गाडी उत्पादकहरूका प्रतिनिधि ह्वाइट हाउसभन्दा करिब एक माइल परको एक सम्मेलन केन्द्रमा भेला भएका थिए। उनीहरू आयात शुल्कका कारण उत्पन्न हुने खतराबारे छलफल गर्न जुटेका हुन्।
‘आयात शुल्कको नतिजा भयावह हुनेवाला छ,’ अमेरिकी बजारमा गाडी बिक्री गर्नेहरूको संगठन ‘मेमा’ का कार्यकारी बिल लङको भनाइ छ। आयात शुल्कका कारण कुनै एक ठूलो उत्पादकलाई मात्र असर पर्ने भयो भने पनि यसले पूरै गाडी उद्योगलाई तहसनहस बनाउने दाबी लङले गरेका छन्।
दुई छिमेकी र चीनबाट आयात हुने हरेक वस्तुमाथि आयात शुल्क लगाउने योजनामा रहेका राष्ट्रपति ट्रम्पलाई सहयोगीहरूले त्यसो नगर्न सुझाव नदिएका होइनन्। आयात शुल्क लगाइहाल्नुपर्ने भएमा पनि निश्चित वस्तुको आयातमा मात्र लगाउने, लगाउनुअघि ती देशलाई केही समय दिने वा गाडीलगायतका अत्यावश्यक वस्तुलाई आयात शुल्कको भुमरीबाट मुक्त गरिनुपर्ने सुझाव आन्तरिक बैठकहरूमा ट्रम्पलाई दिइएको थियो। तर ट्रम्प आफ्नो निर्णयबाट टसमस भएका छैनन्।
गाडी आयातमा शुल्क नलगाउन लबिङ भइरहँदा अमेरिकी आयातकर्ताहरू ट्रम्पलाई ऊर्जा आयातमा पनि शुल्क नलगाउन अनुरोध गरिरहेका छन्। अमेरिका ठूलो मात्रामा क्यानडाबाट कच्चा तेल आयात गर्छ। अमेरिकाका धेरै तेल रिफाइनरी उद्योग क्यानडाको कच्चा तेलमै निर्भर छन्। आयातकर्ताहरूको अनुरोध पूर्ण रूपमा नमाने पनि ट्रम्पले क्यानडाबाट हुने ऊर्जा आयातमा शुल्कको दर कम गरेका छन्। यतिबेला अमेरिकी स्टिल उत्पादकहरूले पनि क्यानडाजस्तो छिमेकीसँग यस किसिमको व्यवहार उचित नरहेको बताइरहेका छन्।
अमेरिकासँग वार्तामा रहेका क्यानडेली वार्ताकारहरू ट्रम्प ठ्याक्कै के चाहन्छन् भन्ने स्पष्ट नभएको बताउँछन्। अमेरिकाका उच्च तहका अधिकारीहरूले आफूहरूलाई प्रस्ट जानकारी दिन नसकेको उनीहरूको भनाइ छ।
क्यानडेली अधिकारीहरू हाल आफ्नो देशले अमेरिकासँगको सीमामा सुरक्षा बलियो बनाउन लागिपरिरहेको सन्देश अमेरिकी प्रतिनिधिहरूलाई दिन खोजिरहेका छन्। क्यानडेली मन्त्रीहरूले त सीमा सुरक्षासम्बन्धी ट्रम्पका मुख्य सल्लाहकार टम हुमनलाई क्यानडेली सेनाको हेलिकप्टरले सीमा सुरक्षा गरिरहेको भिडियो पठाएको बताइन्छ। क्यानडाका तर्फबाट भइरहेको प्रयासबारे आफूले राष्ट्रपतिलाई जानकारी नदिइसकेको र यो साताको अन्त्यमा जानकारी दिने हुमनको भनाइ छ।
‘हामीले ट्रम्पका सहयोगी र उनको प्रशासनका धेरै अधिकारीसँग कुराकानी गरेका छौँ। तर हामीसँग हरेकले फरकफरक कुरा गर्ने गरेका छन्। यो स्थिति दिक्कलाग्दो छ,’ अमेरिकाका लागि क्यानडाका राजदूत रहिसकेका र हाल अमेरिकासँग वार्ता गरिरहेको क्यानडेली टोलीका सल्लाहकार डेभिड म्याकनौटन भन्छन्।
मेक्सिकोकी राष्ट्रपति सेइनबाउमले आफूसँगको कुराकानीमा ट्रम्पले मेक्सिकोसँग अमेरिकाको व्यापार घाटाबारे चर्चा गरेको सुनाइन्। ‘मैले उनलाई भनेँ, यो त खासमा घाटा नै होइन,’ सेइनबाउमले सुनाइन्। उनी ट्रम्प मेक्सिकोसँगको व्यापार घाटामा भन्दा सन् २०१८ मा गरिएको तीनदेशीय व्यापार सम्झौतामा केन्द्रित हुनुपर्ने बताउँछिन्। अघिल्लो पटक ट्रम्प राष्ट्रपति रहेका बेला अमेरिका, मेक्सिको र क्यानडाले नयाँ सम्झौता गरेका थिए, जसको उद्देश्य तीन देश मिलेर चीन तथा अन्य ठूला निर्यातकर्तासँग प्रतिस्पर्धा गर्ने थियो।
सेइनबाउम र उनका सल्लाहकारहरू यतिबेला यो निष्कर्षमा पुगेका छन्, ट्रम्प रोकिनेवाला छैनन्। त्यसैकारण हुन सक्छ उनी सोमबार नयाँ घोषणा गर्ने तयारीमा थिइन्। घोषणा रिपब्लिकन पार्टीको कब्जामा रहेका अमेरिकी राज्यहरूबाट मेक्सिकोतर्फ हुने निर्यातमा शुल्क लगाउने।
तर यस्तो घोषणा भएन। बरु सेइनबाउम र ट्रम्पले दुई देशबीच रहेका सुरक्षा, बसाइ सराइ र व्यापारसम्बन्धी समस्या समाधानका लागि कार्यदल बनाउने समझदारी गरे।
अमेरिकी कम्पनीहरू पछिल्ला दिन भइरहेका घटनाक्रम र ट्रम्पले अबका दिनमा चाल्ने कदमबारे विश्लेषण गर्ने प्रयासमा छन्। सोमबार जेजे भए यसबारे आफ्ना लगानीकर्तासँग छलफल गर्न अमेरिकालगायत थुप्र्रै देशमा प्रख्यात ट्राभल वेबसाइट कम्पनी कायाक र क्याम्पिङ सामग्री बनाउने जोनसन आउटडोर्स जुटेका थिए।
अमेरिकी र विश्व बजार विश्लेषण गर्ने सिडोटीका एन्थोनी लेबाइडिन्स्की मेक्सिकोमाथि लगाउन लागिएको आयात शुल्क तत्काल एक महिनाका लागि धकेलिनु सुखद रहेको बताउँछन्। उता जोन्सनका वित्तीय प्रमुख डेभिड डब्लू जोन्सनको भनाइ भने यस्तो छ, ‘के हुनसक्छ भन्ने अनुमान लगाउन नै सकिँदैन। कुनै निर्णय आइसकेपछि मात्र यसको लेखाजोखा गर्न सकिने स्थिति छ।’
जोनसन आउटडोर्सका धेरैजसो उत्पादन अमेरिकास्थित उद्यागमै हुन्छन्। यद्यपि आवश्यक पर्ने कच्चा सामग्री भने चीन, मेक्सिको र क्यानडाबाट आयात गरिन्छन्। ‘हामी क्षति न्यूनीकरण गर्न आवश्यक योजना बनाइरहेका छौँ। यसबाहेक हामी के गर्न सक्छौँ र?’ जोनसनको प्रश्न छ। रोयटर्स र एपीको सहयोगमा