शक्ति बस्नेत च्यापेर जनार्दन-वर्षमानलाई प्रचण्डको चुनौती

किरण पौडेल २० माघ २०८१ २२:०५
42
SHARES
शक्ति बस्नेत च्यापेर जनार्दन-वर्षमानलाई प्रचण्डको चुनौती

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शक्ति बस्नेतलाई देखाएर अर्का दुई नेता जनार्दन शर्मा र वर्षमान पुनलाई चुनौती दिएका छन्। प्रचण्डले पार्टीको नर्सरी मानिने विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीको निर्वाचनमा बस्नेतको प्यानललाई काखी च्यापेर शर्मा र पुन समूहलाई किनारा लगाउन खोजेको नेताहरूले बताएका छन्। क्रान्तिकारीको हालै सम्पन्न निर्वाचनमा अध्यक्ष निर्वाचित विजय सापकोटा शक्ति बस्नेत निकट मानिन्छन्। उनको जितपछि अब माओवादीमा शक्ति बस्नेतको समूह उदाएको दाबी गरिएको छ।

‘अध्यक्ष प्रचण्डले बस्नेतमार्फत दोस्रो स्तरका  केही नेतालाई चुनौती दिनुभएको हो, अब तिमीहरूविरुद्ध अन्य नेता पनि आउन सक्छन् भन्ने देखाउन,’ माओवादीका एक पदाधिकारी भन्छन्, ‘शक्ति बस्नेत आफैँमा गुट गर्ने नेता होइनन्। शर्मा, पुन, नारायणकाजी श्रेष्ठ सबैमा फुट ल्याएर आफू बलियो बन्ने अध्यक्ष प्रचण्डको चालबाजी हो।’

बस्नेत कुनै बेला पार्टीभित्र गुट नगर्ने नेता भनेर चिनिन्थे। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री हुँदा उनी प्रचण्डका स्वकीय सचिव थिए। नेताहरूका अनुसार बस्नेत प्रचण्डका ‘निकटभित्रका पनि निकट’ हुन्।

बस्नेत प्रचण्डका निर्णयविरुद्ध कहिल्यै जाँदैनन्। सोही कारण उनले लाभको पद पनि पाउँदै आएका छन्। ‘शक्ति दाइ गृहमन्त्रीसम्म हुनुभयो। प्रचण्डविरुद्ध कहिल्यै जानुभएन,’ माओवादीका एक नेता भन्छन्, ‘माओवादीभित्र राम्रो क्याबिनेट चलाउने नेता भनेर पनि शक्ति दाइकै नाम आउँछ। यसैले पनि बारम्बार अवसर पाउनुभएको हो।’ बस्नेत माओवादीबाट धेरै मन्त्री हुने नेतामा पर्छन्।

यसपटक क्रान्तिकारीको चुनावमा पूर्वविद्यार्थी नेता पनि बस्नेत निकट सापकोटाका पक्षमा उभिएका थिए। क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावतका अनुसार अध्यक्ष पञ्चा सिंहसहित पूर्वउपाध्यक्षहरू मदन भुल, तुकमान महरा, नारायण खनाल, अच्युत भट्टलगायतका नेताहरू बस्नेतका पक्षमा खुलेका थिए।

प्रचण्डले पनि विद्यार्थीलाई बस्नेतका पक्षमा परिचालन गरेर प्रतिस्पर्धी विद्यार्थीलाई किनारा लगाइदिएको नेताहरूको आरोप छ। ‘म अध्यक्षको दाबेदार भएपछि अध्यक्ष (प्रचण्ड) ले बोलाएर किन दाबेदारी प्रस्तुत गर्छौ भनेर सोध्नुभयो,’ अध्यक्षमा पराजित एक विद्यार्थी नेताले हिमालप्रेससँग भने, ‘मैले उम्मेदवारी दिनुको कारणबारे अध्यक्षलाई सुनाएँ। हेडक्वार्टरबाट प्रदेश र जिल्लासम्म फोन गरेर मलाई तहसनहस बनाउने काम भयो।’ ती विद्यार्थी नेताका अनुसार आफूले भनेको कुरा जिल्लासम्म फैलाउन प्रचण्ड आफैँ सक्रिय भए। माओवादीभित्र प्रचण्डको निर्देशनलाई हेडक्वार्टरको निर्देशन भन्ने गरिन्छ।

चुनावपछिको मतगणनामा समेत हेडक्वार्टर दबाब देखिएको अर्का एक विद्यार्थी नेता बताउँछन्। ‘कहिले रङको विवाद देखियो त कहिले मतपत्रमा पानी हालियो। फरक रङ लागेको मतपत्र मात्र गणना गरेको भए हेडक्वार्टर (विजय सापकोटा) को हार निश्चित थियो,’ ती नेता भन्छन्, ‘मतगणना सार्ने, गणनास्थलमा पानी हाल्नेसम्म हुँदा विजय अगाडि आए।’

माओवादी नेताहरू विद्यार्थी नेता सापकोटामार्फत प्रचण्डले बस्नेतलाई बोक्नुको कारण रहेको सुनाउँछन्। माओवादीमा अहिले शर्मा र पुनको गुट बलियो छ। नारायणकाजी श्रेष्ठ र पम्फा भुसाल गुट पनि सक्रिय छन्।

अबको एक वर्षपछि पार्टीको महाधिवेशन तोकिएको छ। त्यसका लागि प्रचण्डले शर्मा-पुनविरुद्ध बस्नेतलाई उभ्याउने सम्भावना देखाएको माओवादीका नेताहरू बताउँछन्। माओवादी नेताहरूका अनुसार दोस्रो स्तरका कुनै पनि नेतालाई मिल्न नदिन प्रचण्ड नयाँ गुट निर्माणमा लागेका हुन्। यसका लागि उनले क्रान्तिकारीको चुनाव प्रयोग गरेको नेताहरूको दाबी छ।

माओवादीको आठौँ महाधिवेशनमा जनार्दन र वर्षमान महासचिवका आकांक्षी थिए। प्रचण्डले तेस्रो व्यक्ति देव गुरुङ ल्याइदिए। पछिल्लो समय माओवादीमा गुरुङले पार्टीमा गुट सक्रिय गराएको र सबैलाई समेट्न नसकेको आरोप खेप्दै आएका छन्। प्रचण्डले पार्टी महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ ल्याउने योजना पनि नबनाएका होइनन्। तर माओवादीका अधिकांश दोस्रो स्तरका नेता असन्तुष्ट बन्दा विप्लव माओवादी प्रवेश गर्नमै रोकिए।

राजनीतिक क्षेत्रका जानकारहरूका अनुसार दुई नेता खेलाएर आफू शक्तिमा रहनु प्रचण्डको विशेषता हो। ‘प्रचण्ड कुनै बेला बाबुराम र नारायणकाजीलाई खेलाएर आफू शक्तिमा रहन्थे। पछि उनले जनार्दन-वर्षमानलाई खेलाएर टिकिरहे। अब नयाँ गुट खेलाउँदैछन्, त्यो हो शक्ति गुट’, राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, ‘प्रचण्डले विप्लव कार्ड पनि खेले अब शक्ति कार्ड खेल्दैछन्। उनी यसो गरिरहन्छन्।’

अनि जोडियो हेडक्वार्टर

विद्यार्थीले आआफ्नो उम्मेदवारी पेस गर्ने क्रम जारी थियो। उनीहरूले आफू गुटभन्दा माथिको देखाउन चाहेका थिए। यसैले यत्तिकैमा नारा घन्काए, ‘गुटहरूको बन्ध्याकरण, हेडक्वार्टरमा केन्द्रीकरण’। हेटक्वार्टर भन्नेबित्तिकै प्रचण्ड जोडिइहाले।

‘चुनावमा हेडक्वार्टर लागेजस्तो मलाई लाग्दैन। हेडक्वार्टर लागेको भए, अरू कुनै गुट आउने थिएनन्,’ क्रान्तिकारीकी पूर्वउपाध्यक्ष प्रविना अधिकारी भन्छिन्, ‘हेडक्वार्टरको नाम बेच्नु गलत भयो।’ विद्यार्थी नेताले प्रचण्ड गुटीय राजनीतिमा खुलेर नलागेको दाबी गरे। समयान्तरमा प्रचण्डले समेत विद्यार्थी उम्मेदवारलाई ‘ग्रिन सिग्नल’ दिएको कुरा बाहिरियो। प्रचण्डले उपमहासचिव बस्नेत निकट विजयप्रकाश सापकोटालाई अघि सर्न संकेत गरेको विद्यार्थी नेताहरू बताउँछन्।

सापकोटालाई जिताउन हेटक्वार्टरबाट फोन गरेर प्रतिनिधि प्रभावित पारेको आरोप विद्यार्थी नेताहरूको छ।

प्रचण्डले खेल्न खोजेको ‘शक्ति कार्ड’

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सम्बन्ध सुमधुर छैन। साउनको स्थायी समिति बैठकमा शर्माले प्रचण्डविरुद्ध ‘फरक मत’ राखेका थिए। प्रचण्डले आफूलाई अख्तियार लाउनेदेखि ‘पार्टी छाड्दैछ’ भन्ने भ्रम फिँजाएको आरोप शर्माको दस्तावेजमा थियो। बैठकमा प्रचण्डमाथि वर्षमान पक्षधर नेताले समेत प्रश्न उठाएका थिए।

माओवादी नेताहरू प्रचण्डले बैठकबाट जनार्दन-वर्षमान मिल्दैछन् भन्ने संकेत पाएको दाबी गर्छन्। यही कारण प्रचण्डले नयाँ खेल खेल्नु अनिवार्य थियो। उनले यसबीचमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा भित्र्याए। प्रचण्डको सोही निर्णय जनार्दन-वर्षमान पक्षधर नेताबाट विरोध भएको नेताहरू बताउँछन्।

माओवादी बैठकमा जनार्दन निकट सुदन किरातीले नन्दबहादुर पार्टीमा आउन नहुने तर्क गरेका थिए। नन्दबहादुरलाई पार्टी बैठकमा सहभागी गराइए पनि जिम्मेवारी दिइएको छैन। सांसद, केन्द्रीय सदस्य, युवा-विद्यार्थीमा शर्मा बलिया छन्। यसलाई ‘ब्रेक’ लगाउन पनि प्रचण्डलाई शक्तिको खाँचो रहेको पार्टी पदाधिकारीहरू सुनाउँछन्। ‘नचाहेर पनि पार्टीमा गुटबन्दी बलियो भयो। यो पार्टीभित्र भित्रिएको एकदमै विकृत रूप हो,’ माओवादी सचिव गणेश साह भन्छन्।

शर्माले नलुकाएको गुट र श्रेष्ठको निष्क्रियता

प्रचण्डले क्रान्तिकारीको पदाधिकारीका आकांक्षीलाई खुमलटार बोलाएर पनि गुट नबनाउन निर्देशन दिएका थिए। माओवादीका एक पदाधिकारी भन्छन्, ‘शर्मा पक्षले भने खुलेर गुटको राजनीति गर्‍यो। शर्मा गुट बनाउन आफैँ पनि लागेका थिए।’

शर्माले चुनाव जितेका आफू निकट विद्यार्थी नेतालाई कलंकीको मेगा ब्यांक्वेटमा बोलाएर बधाई दिएका थिए। यसअघि खुलेरै गुट निर्माणमा लागेका शर्माले आफूपक्षीय नेतालाई मात्रै भेला गर्नुमा आफू दरिलो बनेको सन्देश दिन चाहेको नेताहरू सुनाउँछन्।

‘कुनै बेला पञ्चा सिंह पनि जनार्दन दाइ निकट हुनुहुन्थ्यो। अहिले छाड्दा पनि त्यो गुट बलियो भयो,’ एक विद्यार्थी नेता भन्छन्, ‘हामी निर्णायक शक्ति हौँ भन्नका लागि शर्माले भेला बोलाउनुभएको हो।’
शर्मा निकट भेलामा पुगेका नेता किरातीले शर्मालाई महासचिव बन्नुपर्ने प्रस्ताव गरेको ती विद्यार्थी नेताले बताए।

पुन निकट नेताहरू पनि गुटबन्दीमा लागेको विद्यार्थी नेताहरू बताउँछन्। नारायणकाजी श्रेष्ठले भने आफ्नै गुटभित्र असहयोग गरेको आरोप खेपेका छन्। उनले समर्थन गरेका पवन कार्की निकट नेताहरू उम्मेदवार थिए।

श्रेष्ठका तर्फबाट क्रान्तिकारी अध्यक्षमा उपदेश यादव उम्मेदवार थिए। यादवले अध्यक्षमा तेस्रो मत ल्याए। उनले बलिया मानिएका पुन निकट सुदिन पौडेललाई फराकिलो मतान्तरले जिते। यादव निकट नेताहरूका अनुसार श्रेष्ठले खुलेर उपदेशलाई सहयोग गरेको भए अझै मत बढ्थ्यो।

‘नारायणकाजी श्रेष्ठ बढी सैद्धान्तिक देखिए,’ उपदेशनिकट एक विद्यार्थी नेता भन्छन्, ‘काजी आफैँ खटिँदैनन्। उनी अर्का नेता गिरिराजमणि पोख्रेललाई प्रयोग गर्छन्। यसपटक त पोख्रेल पनि खटिएनन्।’

पुनका दुई रूप

यसअघि विद्यार्थी राजनीतिमा जनार्दनपछि वर्षमानको पकड रहेको मानिन्थ्यो। २२ औँ महाधिवेशनमा अध्यक्ष शर्मा निकट पञ्चा अध्यक्षमा आउँदा महासचिव पुन निकट दीपेश पुन आएका थिए। यसपटक पुनले ‘निर्णायक’ रूपमै गुट उभ्याउन सकेनन्। त्यसो त उनको गुट आफैँमा कमजोर थियो। विगतमा उनकै गुटमा रहेका नेताहरू पनि हेडक्वार्टरका उम्मेदवार सापकोटाका पक्षमा उभिएका थिए। पूर्वउपाध्यक्ष रावलका अनुसार वर्षमान निकट मानिएका तुकमान महरा, डा. अच्युत भट्ट सापकोटाका पक्षमा उभिएका थिए।

पुनले आफू समर्थित सुदिन पौडेललाई अध्यक्षमा उभ्याएका थिए। ‘वर्षमान दाइले यता विद्यार्थी भिडाउने काम गर्नुभयो। उता प्रचण्डसँग चोचोमोचो मिलाउनुभएछ,’ एक विद्यार्थी नेताले भने। चुनावको मतगणना गर्दागर्दै वर्षमान प्रचण्डसँगै हेलिकप्टरमार्फत तेह्रथुम लागेका थिए। सोही बेला केही विद्यार्थी नेताले वर्षमानले दुई रूप देखाएको आरोप लगाएका थिए।

विद्यार्थी नेताहरूकै भनाइलाई आधार मान्ने हो भने यसपटक जनार्दन गुट बलियो बन्यो भने बस्नेत गुट नयाँ बन्यो। किनभने शर्मा निकट हमेन्त राईले प्रतिस्पर्धात्मक मत ल्याएर दोस्रो भए भने पुन निकट सुदिन पौडेल चौथो भए। यसमा बस्नेत निकट सापकोटाले ६८६ मत प्राप्त गर्दा शर्मा निकट हेमन्तले ६१५ मत प्राप्त गरेका थिए।

नारायणकाजी निकट उपदेशकुमार यादवले ३१० मत ल्याउँदा वर्षमान निकट सुदिन पौडेलले १९२ मत मात्र ल्याए। यति हुँदा पनि निर्वाचित पदाधिकारीमा शर्मा पक्षको बोलवाला भयो। अध्यक्षमा निकटतम् प्रतिस्पर्धी बनेर हेमन्त उदाउँदे महासचिव र कोषाध्यक्षमा पनि शर्मा पक्षकै नेताहरूले जिते। उपाध्यक्षमा ९ जनामध्ये पाँचजना शर्मा पक्षबाट निर्वाचित भए।

उपाध्यक्षमा निर्वाचित भएकाहरू सन्दिप पुन (६५७), ममता अधिकारी (८८२), कृष्णबहादुर सुनार (४४५), उमेश कँडेल (३८९) र अभिमन्यु यादव (५७५) पनि शर्मा समूहका हुन्।

उपमहासचिवमा दुईजनाबाहेक सबै जनार्दनका हुन्। गजेन्द्र यादव (मधेश), निर्मला गौतम (बागमती), भगवान बास्तोला (गण्डकी), रेशम अधिकारी (लुम्बिनी), प्रकाश अधिकारी (कर्णाली), रामचन्द्र भट्ट (सुदूरपश्चिम) र जटिल कार्की (विश्वविद्यालय) शर्मा पक्षका हुन्।

सचिवहरूमा पनि शर्माको बोलवाला देखियो। सचिव निर्वाचित वीरेन्द्र जीसी, सम्झना राई, समकृति पुन, आर्टिस्ट मोक्तान, अमर मण्डल र युन्छो हाङ माबो जनार्दन शर्मा पक्षका हुन्। विद्यार्थी संगठनमा पुन भने कमजोर देखिए। यसअघि विद्यार्थी राजनीतिमा वर्षमान-जनार्दनको प्रतिस्पर्धा हुन्थ्यो। यसपटक वर्षमान-जनार्दनभन्दा बस्नेत गुट बलियो देखिएको नेताहरू बताउँछन्।

सम्मेलन सुरु भएको पाँच महिनापछि नेतृत्व चयन

अनेक तिकडम, गुटगत प्रवृत्ति र तिक्तताका बीच अखिल क्रान्तिकारीको नेतृत्व चयन भएको छ। असोजमा सुरु भएको क्रान्तिकारीको सम्मेलनबाट नेतृत्व चयन टुंग्याउन ५ महिना लाग्यो। यसबीचमा क्रान्तिकारीभित्र अनेक फेरबदल भएका छन्।

नेतृत्व टुंग्याउन उमेर हद चुनावदेखि मतगणनाका ढिलाइसम्मका ‘बाध्यता’हरू क्रान्तिकारीले खेप्नुपर्‍यो। मतदानको मिति सार्ने, मतगणनाको स्थान बदल्नेदेखि नेता निकटलाई अघि सार्ने गतिविधि भएको विद्यार्थी नेताहरू बताउँछन्।

सम्मेलनमा कहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडियो भने कहिले ‘हेडक्वार्टर’ का नाममा उनको सचिवालय सक्रिय भएको कुरा उठाइयो। विद्यार्थी नेताहरूका अनुसार चुनाव जित्नका लागि अपनाउनुपर्ने सबै ‘हथकण्डा’ अपनाइयो यसपटक। २२ औँ सम्मेलनमा नेतृत्व ‘निर्विरोध’ चयन गरिएको थियो। पञ्चा सिंह अध्यक्ष घोषणा गरेर जाँदा संगठन ‘दुर्घटना’ मा परेको थियो।

उपाध्यक्ष पवन कार्कीले समानान्तर गठन गरेका थिए। माओवादीले सोही सम्मेलनबाट पाठ सिक्दै यसपटक सम्भावित दुर्घटना हुन नदिन चुनावी प्रतिस्पर्धा रोजेको हो। ‘निर्विरोध गर्ने भनिएको भए यसपटक पनि हामी २२ औँ सम्मेलनजस्तै हुने थियौँ,’ क्रान्तिकारीका एक उपाध्यक्ष भन्छन्, ‘दुर्घटना हुन नदिन हामीले एकैपटक दुई चुनाव भोग्नुपर्‍यो।’

ती उपाध्यक्षका अनुसार क्रान्तिकारीमा पहिले उमेर हद विवाद थियो। असोजको सम्मेलनमा नेतृत्व चयन नहुनुको कारण पनि मेर हद माध्यम बन्यो। त्यसैका लागि उमेर हद चुनाव गर्नुपर्‍यो। ‘हामीभित्र २८, ३० र ३२ का विकल्प थिए। कतिलाई आधार बनाउनेमा सहमति थिएन’, क्रान्तिकारीका अध्यक्षका आकांक्षी उपदेश यादव भन्छन्।

स्ववियु चुनावअनुसार २८ वर्षको उमेर हद लाग्नुपर्ने अडान थियो भने पाको उमेरका विद्यार्थीले आफूअनुकूल बनाउन अनुरोध गरेका थिए। माओवादीले हस्तक्षेप गर्दै उमेर हद लाग्दा ३२ वर्ष हुनुपर्ने वा खुला (नहुने)मा चुनाव गरायो।

यसमा उमेर हद (३२) को जित भयो। क्रान्तिकारीका एक नेताका अनुसार उमेर हद लागेपछि पार्टी नेतृत्वलाई सर्वसम्मतिको बाटो खुलेको भान भएको थियो। किनभने उमेर हदकै कारण संगठनका निवर्तमान अध्यक्ष, उपाध्यक्ष र महासचिव पनि नेतृत्वको आकांक्षाबाट हटेका थिए।

संगठनको नेतृत्व उपमहासचिव, सचिव र कोषाध्यक्षभित्रबाट चुनिन्थ्यो। ती पदाधिकारीबीच पनि प्रतिस्पर्धा हुने देखियो। यसपछि संगठनमा किचलो बढ्यो। उमेर हदका कारण हटेका विद्यार्थी नेताले ‘काका समूह र भतिज समूह’को ट्याग लगाए। उमेर हदले विद्यार्थी राजनीति छाडेकालाई ‘काका’ र उमेर हद (३२ वर्ष) भएकालाई ‘भतिज’ भनियो।

‘काकाभतिज राजनीतिले अझै संगठनमा किचलो थप्यो। पूर्वविद्यार्थी नेतासमेत कसले कसलाई बोक्नेमा देखिए,’ हालका एक उपाध्यक्ष भन्छन्। पार्टीका नेताहरूले समेत काकाभतिज ट्याग नलगाउन निर्देशन दिनुपरेको थियो। यसले निर्वाचनसम्म डोहोर्‍इछाड्योे।

विद्यार्थीको चुनाव माओवादीको ‘ब्रेक थ्रु’ हो : इन्चार्ज शर्मा

क्रान्तिकारीले लामो समयपछि नेतृत्व पाएको छ। विद्यार्थी नेताहरूकै अनुसार त यसपटक क्रान्तिकारीले लड्ने र हार्ने अधिकार पनि पाएको छ। जसले हारे चुनावी प्रतिस्पर्धाबाट हारेको उनीहरूको भनाइ छ।
माओवादी नेता एवं पार्टीको विद्यार्थी इन्चार्ज हिमाल शर्मा चुनावी हलबाट नेतृत्व टुंग्याउने काम माओवादीकै लागि ‘ब्रेक थ्रु’ भएको बताउँछन्।

उनी यसले आम जनतामा नयाँ सन्देश दिएको दाबी गर्छन्। शर्माले विद्यार्थी राजनीतिमा यसपटक भरपूर लोकतान्त्रिक अभ्यासको सदुपयोग भएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast