बनारस पौराणिक सहर हो। भगवान् शिवको प्रिय सहर पनि हो। तीन हजार वर्षभन्दा पुरानो यो सहरलाई वाराणसी र काशी पनि भनिन्छ। अहिले यो सहर धार्मिक, सांस्कृतिक, बौद्धिक, शैक्षिकलगायत व्यापारिक केन्द्रसमेत भएको हुँदा यसको महत्त्व बढ्न गएको हो। बनारस जति भारतीयहरूका लागि महत्त्वपूर्ण छ त्यति नै सनातनी नेपालीका लागि पनि।
कुनै बेला नेपाली राजनीतिको केन्द्र पनि थियो बनारस। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई व्यंग्य गर्दा बनारसी पण्डा भन्थे। त्यसैगरी सुशील कोइरालालाई बनारसी पट्ठो भन्थे। नेपाली नेताका लागि र विद्यार्थीको लागि बनारस अनन्य सम्बन्ध राख्ने पारिवारिक नाम भएको थियो कुनै समय। कुनै बेला नेपालका धेरै विद्यार्थी काशी विश्वविद्यालय पढ्थे। संस्कृत अध्ययन गर्ने ब्राह्मण तथा गुरुकुल संस्कृत पाठशाला चलाउन योग्य शिक्षक पनि बनारसकै उत्पादन थिए।
यति धेरै महत्त्व बोकेको बनारस सहरको अवलोकन भ्रमण गर्ने लालसा रहनु स्वाभाविकै थियो। अवसर जुरेको थिएन। गया श्राद्ध गर्न जाने भएपछि त्यताबाट बनारस पनि जाने, उक्त ठाउँमा श्राद्ध पनि गर्ने र अवलोकन भ्रमण पनि गर्ने गरी कार्यक्रम बन्यो। अर्थात् एक पन्थ दुई काजको अवसर जुर्यो। साथमा थिए साथीहरू केशव, ठाकुरराम र सुरेश बर्तौला।
गयादेखि बनारससम्म एउटा गाडी भाडामा लिएर गयौँ। भारतको समथर भूभागमा सवारीसाधन भाडामा लिन सहज र सरल छ। एक दिनको दुई हजारमाथि यात्रा गर्दा प्रतिकिलोमिटर १७ रुपैयाँ। दिनभरिमा जति किलोमिटर यात्रा गरे पनि सोहीबमोजिम भाडा तिरे भयो। ठगिने सम्भावना रहेन। सवारीसाधन बढी सुविधा सम्पन्न र क्षमता वाहक छ भने बढी भाडा लाग्छ।
आधुनिक एक्सप्रेस वे भएर यात्रा गर्दा पनि गयाबाट बनारस पुग्दा ७÷८ घन्टा लाग्यो। सहर प्रवेश गरेपछि सावारीको गति थामिने हुँदा समय बढी लागेको थियो। अन्यथा ८०/९० को गतिमा हिँड्दा र कहीँकहीँ टोल ट्याक्स तिर्न रोक्न पर्दाको समय हिसाब गर्दा सात घन्टामा पुग्नुपर्ने हो। बाटोको सञ्जालले विकासोन्मुख भारतको छवि देखाउँछ। विकासले गति लिँदै गर्दा पहिला अमेरिकाले र त्यसको सिको गर्दै अन्य मुलुकले स्तरीय सडक सञ्जाल निर्माण गरेका थिए। अमेरिकी अवधारणाको पछिल्लो उदाहरण चीन बनेको थियो भने दक्षिण एसियामा भारतले त्यसको सिको गरिरहेको छ।
वाराणसी तीर्थको महत्त्व
पुराणमा वर्णित कथाअनुसार वाराणसी तीर्थमा शिवले निवास गर्नुभएको छ। सबै प्रकारका तीर्थ तथा सबै क्षेत्रहरूमध्ये सर्वोत्कृष्ट क्षेत्र वाराणसी परमात्मा श्रीशिवको अत्यन्तै प्यारो नगर हो। त्यहाँ निवास गरेर श्रीविश्वेश्वरले समग्र प्राणीलाई सांसारिक सागरबाट पूर्ण रूपमा मुक्त गराउन ज्ञान दिनुहुन्छ। त्यहाँको दर्शन, स्पर्श तथा स्थान नमस्कार गरेपछि यस स्थानमा ब्रह्मामयी गंगामूर्ति उत्तरबाहिनी छिन्। उनले सबै किसिमका पाप पखालिदिन्छिन्। यसैले वाराणसीमा अवस्थित गंगा बराबर सर्वोत्कृष्ट अर्को कुनै तीर्थ छैन। बनारसमा परमात्मा विश्वेश्वर विराजमान हुनुभएको छ। त्यसमध्ये पनि श्रीविश्वेश्वरलाई मणिकर्णिका प्यारो छ। यो तीर्थ वा घाटमा स्नान गरेर परमात्मा श्रीविश्वेश्वरको दर्शन गर्नाले जस्तोसुकै मनुष्यले सहज रुपमा मुक्ति प्राप्त गर्दछ।
वाराणसीमा अवस्थित श्रीविश्वेश्वर भारतका प्रमुख १२ ज्योतिर्लिंगमध्ये एक हुन्। यस ज्योतिर्लिंगको दर्शन गरिसकेपछि जीवले फेरि संसारमा जन्म लिनु पर्दैन भन्ने विश्वास गरिन्छ। कृष्णद्वैपायन अर्थात् वेदव्यासले काशीमा आएर विधिपूर्वक गंगामा स्नान तथा देवता र पितृलाई तर्पण दिइसकेपछि अनामय ज्यार्तिलिंगको दर्शन गरेका थिए। काशीमा देहत्याग गर्नाले मुक्ति पाइन्छ भन्ने विश्वास छ।
बनारसी पान
“खाईके पान बनारसीवाला…” यो हिन्दी फिल्को गीत हो। प्रत्येक होली पर्व (फागु) मा यो गीत बजेकै हुन्छ। यसैले पनि अन्दाज लगाउन सकिन्छ बनारसी पानको ख्याति। हुनत पान खानु भारतको उत्तर प्रदेश र बिहारको संस्कृति नै हो। तर पानको सौखिनका लागि बनारसी पानको महत्त्व नै अर्कै। बनारस जाँदा बनारसी पानको स्वाद लिन पर्ला भनेर हामी सबैले योजना पनि बनाएका थियौँ।
बनारसयात्रा गर्दा छुटाउनै नहुने काममध्ये बनारसी पानको स्वाद लिनु पनि एउटा हो। हामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पान खाएको ठाउँमा नै गएर पान खाने निश्चय गयौँ र खोज्दै खोज्दै गयौँ। यहाँ त भीड लाग्दो रहेछ। पान दोकानमा सगौरव मोदीको तस्बिर राखिएको छ। दुई वृद्ध आफ्नो वर्षौँको सीप उपयोग गर्दै रहेछन्। तिनै वद्ध हातले बनाएको पान मुखमा हालेर चपायौँ।
पान खानेहरू भन्दछन्, पहिलो चपाइ थुक्नु, दोस्रो चपाइ निल्नु। त्यत्रो सोख गरेर पान खान गएपछि पानको मान पनि राख्नै पर्योय। पान त मुखमा हालियो तर थुक्ने ठाउँ कहीँं थिएन। यो पहिलेको भारत थिएन। नयाँ भारतमा पान खाएर जथाभाबी थुक्ने संस्कार हराइसकेछ। सडकको छेउकिनारा, पर्खालका भित्ता कतै पनि पानका दाग देखिएनन्। एउटा रेस्टुराँमा छिरेर पानको संस्कार गरियो। पानको सान सकिएपछि र चियापान पनि गरेपछि हामी काशी विश्वविद्यालय हेर्न भनेर हिँड्यौँ।
काशी हिन्दु विश्वविद्यालय
काशी हिन्दु विश्वविद्यालय जसलाई बनारस हिन्दु विश्वविद्यालय पनि भनिन्छ। यो १९१६ मा स्थापना गरिएको हो। पश्चिमा विश्वविद्यालयको जस्तो स्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य लिएर भारतीय राष्ट्रिय नेता पण्डित मदनमोहन मालवीय, दरभङ्गाका महाराज रामेश्वर सिंह, सुन्दरलाल, नारायणी वंशज आदित्य नारायण र बेलायती नाकरिक एनी बिसेन्टले संयुक्त रूपमा स्थापना गरेका हुन्।
विश्वविद्यालयलाई तत्कालीन काशी नरेश प्रभुनारयण सिंहले १३०० एकड जमिन दान गरेका थिए। यो विश्वविद्यालयको सबै विभाग घुमेर हेर्न घन्टौँ लाग्छ। यसभित्रको वातावरण नितान्त भिन्न र प्राज्ञिक लाग्दछ। कोही बिना काम टहलिएको देखिँदैनन्। विद्यार्थीहरू सहयोगी र अनुशासित देखिन्छन्। काशी विश्वविद्यालयको दर्शन गरेर भए पनि विद्याध्यनको अधुरो प्यास तृप्त गरियो। यो विश्वविद्यालयले नेपालको शिक्षा क्षेत्र, सामाजिक र राजनीतिक क्षेत्रमा पारेको प्रभावका लागि नमन गरेर फर्कियौँ।
काशी विश्वनाथको दर्शन
विश्वनाथको मन्दिर अहिल्याबाई होल्करले सन् १७८० मा निर्माण गराएकी हुन्। मन्दिरको शिखर भाग सुनको पाताले ढाकिएको छ। हिन्दु मान्यताबमोजिम यहाँ साक्षात् भगवान शिवको बास रहेको विश्वास छ। विश्वनाथको दर्शन गर्न दुई ठाउँमा सुरक्षा जाँच पास गरेर, मोबाइललगायतका अरू भौतिक प्रयोगका सामान र इलेक्ट्रोनिक साधन समेत लकरमा राखेर लामबद्ध भई जानुपर्ने रहेछ।
ज्योतिर्लिंगको दर्शन गरेर तुरुन्तै बाहिर निस्कनुपर्ने रहेछ। हामी सुरक्षा जाँच सकेर लाइनमा बस्दा पछि आएका सुरेश भाइले हामी नेपाल आर्मी र पुलिसको सिनियर अवकाश प्राप्त अफिसर हुन् भनेर भनिदिएछन्। लाइनमा बसेर सर्दै गर्दा सुरक्षा जाँचमा बसेका सुरक्षाकर्मीले बोलाएर लगे र फरक बाटोबाट शीघ्र दर्शन गर्न सघाए। हामीप्रति त्यहाँको सुरक्षा निकायले गरेको व्यवहारबाट धेरै प्रभावित भइयो। भीडभाड, सुरक्षाजाँच आदि अनेक व्यवधानले गर्दा होला धित मर्ने गरी मन्दिर परिसरको दर्शन गर्ने इच्छा पूरा हुन सकेन।
भनिन्छ, बन्दीगृहबाट छत्रपति शिवाजी महाराज भागेको निहुँमा मुगल बादशाह औरङ्गजेवले विश्वनाथ मन्दिर तोडफोड गर्न लगाए। अहिले पनि मन्दिरको केही हिस्सामा विवाद रहेको कुरा बेलाबखत सुन्नमा आउँछ।
गंगाघाट र श्राद्धकर्म
तीर्थाटनको सबैभन्दा अविस्मरणीय क्षण गंगाघाटको श्राद्धकर्म गर्दा भयो। श्राद्धका लागि जाँदै गर्दा बाटोमै दुई युवा भेटिए। श्राद्धकर्मका लागि लाग्ने खर्च र दानदक्षिणाका विषयमा कुरा टुंगिएपछि हामी उनीहरूको पछि लाग्यौँ। श्राद्धविधिमा पिण्ड उठाउने समय भएपछि पण्डाले पिण्ड हातमा लिएर शिरमाथि उठाउन भने। हामीले त्यसै गर्यौँ। त्यसपछि उनीहरूले मोलमोलाई सुरु गरे। ५१०० रुपैयाँ दिनैपर्ने, तन्नम दरिद्र भए पनि ३१०० रुपैयाँ दिनुपर्ने सर्त राखे।
ए फसाद! पिण्ड शिरमा लिएर बसेको छ एकातिर अर्कोतिर पण्डाले मोलमोलाई गर्दै छ। यो के तरिका हो पण्डाको? दानमा यति दिने भनेर त पहिला नै तय गरिसकेपछि फेरि यो मोलमोलाई असहज र अनैतिक लाग्यो हामीलाई। भन्यौँ, ‘यो तरिका भएन, एकपटक यति दिने भनेर तय भएपपछि पुनः यो बनियागिरी के हो?’ कड्किएर भनेपछि पण्डा चुप लागे। यसरी पण्डागिरी चल्दा धार्मिक आस्थामा नै खलल पर्न जाने अवस्था आउँछ।
अचम्म लाग्ने कुरो के हो भने यी घाटमा सदीयौँदेखि श्राद्ध, पितृतर्पण, पिण्डदानजस्ता काम हुँदै आएका छन्। पण्डाको दादागिरीबारे सारा दुनियाँलाई थाहा छ। यति हुँदा पनि घाट व्यवस्थापन समितिले कुनै दर नतोकेर पण्डाहरूलाई असनको साँढेजस्तो छोडिदिनुचाहिँ अलि अपाच्य देखिन्छ। मणिकर्णिका घाट विशेष चर्चित छ। भगवान् शिवलाई पनि यही घाट प्रिय लाग्दछ भनिन्छ। खासमा गंगाको किनारमा समयक्रममा उद्योगपति तथा साहुहरूले घाटको निर्माण गरेका छन्। आफ्नो कृतिस्वरुप नामकरण गरेका छन् कहीँ हनुमानघाट, कहीँ अस्सीघाट यस्तै। यी घाटका आआफ्नै विशेषता पनि रहिआएका छन्।
भनिन्छ, बनारसमा कोही भोकै बस्न पर्दैन। हुन पनि यो यस्तो ठाउँ हो जहाँ साधुसन्त, ज्ञानी, विज्ञानी, साहु, महाजन, राजा, रंक सबैको लगाव रहेको छ। भक्तिभाव छ र मोक्षको कामना छ। के पनि विश्वास गरिन्छ भने यहाँ देहत्याग गरे मोक्ष मिल्छ। पौराणिक कथमा विश्वास गरेर मृत्युको कामना गर्दै घाट कुर्ने पनि हुन्छन्। परत्रको कामना गर्दै गासवासको व्यवस्था गरिदिन साहु महाजन लागेकै हुन्छन्। यस्तो सबै अटाउने अपरिमेय अपरम्पार सहर छ बनारस। ५४ वटा मन्दिर त भगवान् शिवको नाममा अर्पित छन्। बनारस गएपछि अन्नपूर्ण, संकटा, कालभैरव, मृत्युञ्जय, संकटमोचन आदि मन्दिरहरूको दर्शन गरिन्छ। भनिन्छ काशी बनारसमा तीन हजारभन्दा बढी मन्दिर छन्।
बनारसी साडी र शिल्पकारिता
बनारसको शिल्पकारिता मुसलमानको हातमा रहेको छ। साडीमा जडी भर्ने, अनेक थरीका कलाकारिता दर्शाउने गरी हाते शिल्पकारिताले ख्याति कमाएको छ। बनारसी सिल्क साडी भनेपछि विवाहमा लगाउनका लागि दुलहीहरूको विशेष छनोट हुने गर्दछ। हाम्रा साथीको हातमा त सूची नै थियो को कसका लागि कति थान साडी किन्ने भनेर।
पान मोदीले खाएको ठाउँमा खाएपछि साडी पनि कुनै चर्चित व्यक्तिले खरिद गरेको ठाउँमा किन्नैपर्यो। भारतका सबैभन्दा धनी कहलिएका व्यक्ति हुन् अम्बानी। उनैको श्रीमती बनारस आउँदा साडी किनेको दोकानमा पसियो। दोकानदारले हामीलाई धेरै देवीदेवता भएको खादा ओढाएर स्वागत गरे। सबै साथीहरूले मनपसन्द साडी किनेर झोलामा कोचे। मनमनै प्रसन्न भए होलान्। उनीहरूका देवी यी मुलायम सिल्का साडी पाएर आआफ्ना श्रीमान् प्रति धन्य हुने भए। मन फुरुङ्ग पारेर त्यहाँबाट बाहिरियौँ।
गंगा आरती, गंगा माता र हाम्रो व्यवहार
बनारस भ्रमणमा छुटाउनै नहुने यहाँको गंगाआरती हो। आरती निकै भव्य र सुन्दर हुने रहेछ। व्यवस्था गरिएका बस्ने ठाउँ भरिएर पनि दर्शकहरू अटेसमटेस भएर हेर्दा रहेछन्। विदेशी पनि उत्तिकै आउने रहेछन् यो सायंकालीन गंगा आरतीको भव्यता दर्शन गर्न। हामी केही पहिला नै गएर तोकिएका ठाउँमा बसेर आरतीको प्रतीक्षा गरिरह्यौँ। ताकिएको समयमा नै आरती सुरु भयो। भगवान् शिवको प्रार्थना, देवी गंगाको प्रार्थना गर्दै संगीतको धुनमा वटुकहरूले आरती कलात्मक तरिकाले प्रस्तुत गरे। सवा घन्टामा आरती सकियो र हामी बासका लागि प्रस्थान गर्यौँ।
गंगा माताप्रतिको आदरसत्कार र न्यास ध्यान, पूजा, आरती देख्दा लाग्दथ्यो नेपाल र भारतका नदी प्रदूषित हुनै नपर्ने थियो। सोचाइ, भनाइ र गराइ तादात्म्य नमिल्दा पाखण्डपनको प्रदर्शन भइरहेछ। मानव जीवनका लागि अपरिहार्य तत्त्व जलको आदर, सम्मान गर्न नजान्दा आज मानव जाति नै संकटमा पर्ने अवस्था देखिँदैछ। गंगामाताले हामी सबैको कल्याण गरून्।