पाँच वर्षपछि भारत-चीन सम्बन्धमा नयाँ फड्को

हिमाल प्रेस १५ माघ २०८१ १७:३८
74
SHARES
पाँच वर्षपछि भारत-चीन सम्बन्धमा नयाँ फड्को चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग बेइजिङमा भेट गर्दै भारतीय परराष्ट्र मन्त्रालयका विक्रम मिश्री। तस्बिर : सिन्हवा/रासस

चीनले पछिल्ला दिनमा छिमेकी र अन्य देशहरूसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ। अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनले उत्पन्न गरेको अनिश्चिततापूर्ण वातावरणको फाइदा उठाउँदै चीनले भारतलगायतका देशहरूसँग कूटनीतिक सम्बन्ध सुधार्न कदम चालेको जानकारहरू बताउँछन्।

भारत र चीनले करिब पाँच वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु गर्ने सहमति जनाएपछि दुई देशबीचको सम्बन्धमा नयाँ आयाम देखिएको हो। यो सहमतिलाई दुवै देशबीच रहेको कटुता कम गर्न महत्त्वपूर्ण मानिएको छ। सन् २०२० मा हिमालय क्षेत्रमा गलवानको घातक सैन्य झडपपछि चीन र भारतबीच सम्बन्ध राम्रो छैन।

दुवै पक्षले यस विषयमा ढाँचा तयार गर्न चाँडै बैठक गर्ने सहमति गरेका छन्। यो घोषणा भारतीय परराष्ट्र सचिव विक्रम मिस्री र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच बेइजिङमा भएको बैठकपछि गरिएको हो।

चिनियाँ परराष्ट्र मन्त्रालयले पनि भारतसँग भएको सहमतिको पुष्टि गरेको छ। मन्त्रालयले मंगलबार उपमन्त्री स्तरको अर्को बैठकमा सहमति कार्यान्यवनका लागि प्रक्रिया अघि बढाइने जनाएको छ।

बेइजिङमा भएको बैठकपछि चीनको विदेश परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘चीन र भारतले ‘आपसी सहयोग र उपलब्धि’ मा ध्यान दिनुपर्छ, ‘शंका र दूरी’ मा होइन।’ भारतीय परराष्ट्र मन्त्रालयले पनि यस्तै भावना व्यक्त गरेको छ। ‘आर्थिक र व्यापारिक क्षेत्रका केही विशेष मुद्दाहरूमा छलफल गरियो र तिनीहरूलाई समाधान गर्न दीर्घकालीन नीतिगत पारदर्शिता बढाउने सहमति बन्यो’, भारतीय परराष्ट्र मन्त्रालयले भनेको छ।

दुवै देशले सीमा पार नदीहरूमा सहयोग जारी राख्न र विशेषज्ञ स्तरका बैठकहरू चाँडै आयोजना गर्ने सहमति पनि जनाएका छन्।

चीनले यारलुंग त्साङपो नदी (भारतमा ब्रह्मपुत्र) मा निर्माण गरिरहेको ठूलो जलविद्युत् परियोजनाका कारण भारतको चासो कायमै छ। चीनले यस परियोजनाले पानीको प्रवाहमा कुनै ठूलो असर नगर्ने दाबी गरेको छ। तर भारतले चीनसँग पारदर्शिता र सहकार्य माग गर्दै तल्लो भागका राज्यहरूको हितको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

बैठकमा दुवै देशले सांस्कृतिक सम्बन्ध सुधार्नका लागि पनि कदम उठाएका छन्। यसअन्तर्गत भारतीय तीर्थयात्रीहरूलाई २०२५ मा मानसरोवर र तिब्बतका पवित्र स्थलहरूको यात्रा पुनः सुरु गर्न अनुमति दिने सहमति भएको छ।

चीनले आफ्नो अन्य छिमेकी जापानसँग पनि सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ। सात वर्षपछि पहिलो पटक जापानका परराष्ट्रमन्त्रीले बेइजिङको भ्रमण गरेका छन्। दुवै देशले पाँच वर्षपछि रक्षा क्षेत्रका वार्ताहरू पुनः थालेका छन्।

चुओ विश्वविद्यालयका जापानी कूटनीतिक मामिला विशेषज्ञ ताइजो मियागीले भने ‘ट्रम्पका नीतिहरूको अनिश्चितताले जापान र चीन दुवैलाई स्थिर सम्बन्ध बनाउन प्रेरित गरिरहेको छ। अन्य धेरै देशले पनि यही सोचिरहेका हुन सक्छन्, जसले तिनीहरूको कूटनीतिक गतिविधि तीव्र बनाउनेछ।’

चीनले बेलायतसँग पनि सम्बन्ध सुधार्न ध्यान केन्द्रित गरिरहेको छ। बेलायतका प्रधानमन्त्री किएर स्टार्मरको सरकारले बेइजिङसँग आर्थिक र वित्तीय वार्ताहरू पुनः सुरु गरेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टासँग टेलिफोन वार्ता गर्दै भनेका छन्, ‘दुवै पक्षले वैश्विक स्थितिमा थप स्थिरता र निश्चितता ल्याउन सक्छन्।’

केही विज्ञहरूको धारणाअनुसार चीन क्वाड सदस्य राष्ट्रहरू (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) बीचको सहकार्यलाई कमजोर पार्ने प्रयासमा छ। जो बाइडनले बलियो बनाएको यो समूह चीनको प्रभाव रोक्न लागि निर्माण गरिएको थियो।

हालै जापान र अस्ट्रेलियासँग चीनका सम्बन्धहरू सुधार भइरहेका छन्। त्यस्तै भारतसँग पनि सम्बन्ध सामान्य बनाउन क्रमिक प्रयास जारी छ। अस्ट्रेलियाको नयाँ नेतृत्वले चीनसँग व्यापारिक तनाव कम गर्न चासो देखाएको छ।

चीनको कूटनीतिक रणनीतिको उद्देश्य केवल राजनीतिक मात्र नभई आर्थिक पनि हो। ट्रम्पले चिनियाँ सामानमाथि फेरि कर बढाउने चेतावनी दिएका छन्। यस्तो अवस्थामा चीनले अन्य देशहरूसँग राम्रो आर्थिक सम्बन्ध बनाउँदै सम्भावित व्यापारिक अवरोधहरूबाट जोगिन प्रयास गरिरहेको हो।

सांघाईस्थित फुदान विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययन संस्थानका डिन वु जिनबो भन्छन्, ‘ट्रम्पको धारणा चीनको कूटनीतिका लागि एउटा मौका हो। हामीले यो मौकाको उपयोग गर्नुपर्छ।’

भारत र अन्य देशहरूसँग सम्बन्ध सुधार्न चीनले गरिरहेका प्रयास एक महत्त्वपूर्ण समयमा अघि बढिरहेका छन्। तर यी सम्बन्ध कति बलियो र स्थिर हुनेछन् भन्नेमा अझै धेरै जटिलता पनि कायमै छन्। भारतले पनि यी कदमहरूसँगै आफ्ना व्यापक रणनीतिक हितहरूको सन्तुलन कायम गर्नुपर्नेछ।

भारतीय परराष्ट्र मन्त्रालयले भनेको छ, ‘आर्थिक र व्यापारिक क्षेत्रहरूमा विशेष चासोका विषयहरूमा छलफल गरियो, जसको उद्देश्य यी मुद्दाहरू समाधान गर्नु र नीतिहरूमा पारदर्शिता बढाउनु हो।’

डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपतिका रूपमा ह्वाइट हाउस फर्किएपछि चीनको कूटनीतिक रणनीतिले क्षेत्रीय र वैश्विक समीकरणमा उल्लेखनीय परिवर्तन ल्याउँदैछ।

डीडब्ल्यू, एपी र रोयटर्सको सहयोगमा

प्रकाशित: १५ माघ २०८१ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast