राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा सोनाम ल्होसारको शुभारम्भ

हिमाल प्रेस १५ माघ २०८१ ११:५२
8
SHARES
राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा सोनाम ल्होसारको शुभारम्भ राष्ट्रपति भवन शीतल निवासमा मंगलबार सोनाम ल्होसार शुभारम्भ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गरेका छन्। लामा गुरुहरूले विशेष पूजा र मन्त्रोचारण गरेका थिए। समारोहमा तामाङको सांस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।

सोनम ल्होसार पर्वको शुभारम्भ कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताए।

राष्ट्रपति पौडेलले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र अत्यन्तै महत्त्वपूर्ण स्थान रहेको बताए।

राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अंग भएको बताउँदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफूले बुझेको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको पावन अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको शुभकामना व्यक्त गरे।

प्रकाशित: १५ माघ २०८१ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast