गोविन्दराज भट्टराईले खोले ‘नयाँ मुगलान’ को रहस्य

सुस्मिता बजगाईं १३ माघ २०८१ १२:०५
48
SHARES
गोविन्दराज भट्टराईले खोले ‘नयाँ मुगलान’ को रहस्य

काठमाडाैँ- साहित्यकार डा. गोविन्दराज भट्टराई केही समयअघि कार्यक्रम क्रममा चैततिर पूर्वी पहाड गएका थिए। दुर्गम गाउँको बाटोको अवस्थाले उनीभित्र बेचैन पैदा भयाे।  तीन दिनसम्म त बिरामी परे। पहिलो दिन फिदिम नपुगुन्जेल बाटोमा पानी पिउनसमेत नपाएकाे उनले सुनाए। ‘कच्ची रोड दोहोरो गाडी चलिरहेको थियो। रोड धुलाम्ये थियो। बाहिर निस्कने अवस्था थिएन। बाटोमा पानीसमेत पिउन पाइएन, खानेकुरा त दुर’, प्राध्यापक भट्टराईले  ‘नयाँ मुगलान’ उपन्यास लेखनको पृष्ठभूमि केलाउँदै भने।

भोलिपल्ट भट्टराई दमक झरे। तेस्रो दिन उनलाई बाटोको भोगाइले छटपटी बनायो। उनी रातभर निदाउन सकेनन्। ‘तीन दिनसम्म त म बिरामी भए’, उनले भने, ‘त्यो भोगाइले मनभित्र कुण्ठा बसेजस्तो भयो।’ त्यसपछि मनभित्र गुम्सिएको छटपटी कापीमा उतारेको उनले बताए। उनका अनुसार लगातार सात दिनकाे लेखनपछि तयार भएको थियो उपन्यास ‘नयाँ मुगलान।’

भट्टराईले ५० वर्षपहिले ‘मुगलान’ शीर्षकमै उपन्यास लेखेका थिए। त्यसैको सिक्वेल नयाँ उपन्यास तयार भएको उनले शनिबार राजधानीमा आयोजित लोकार्पण कार्यक्रममा जानकारी दिए। भट्टराईले पुस्तकमा आफूले वर्तमान र समकालीन समाजको चित्र प्रस्तुत गरेको बताए। ‘म पहाड पुग्दा गाउँका घर चर्केको, भत्केको, सिस्नु पलाएको, छानो खसेको, धारोमा लेउ लागेको देखेँ’, उनले भने।

भट्टराईले त्यस क्रममा पहिलो उपन्यास मुगलानको केही पात्र पनि सम्झिए। उनले भने, ‘पहिलो उपन्यासको कान्छाको घर के भयो पनि थाहा छैन।’

समाजको अवस्था र परिवेश देखेर नयाँ मुगलान लेख्ने हिम्मत जुटेको उनले बताए। भट्टराईले भने, ‘गाउँमा बादरको आतंक बढ्यो भनेर बसाइँ सर्नेको लर्को, पहाडमा पुगेको फ्रिज, पाउडर दूधको प्रयोग देख्दा नयाँ मुगलान लेख्ने हिम्मत जुट्यो’, उनले भने।

समालोचक प्रा.डा. कुमार कोइरालाले उपन्यासको शैली पक्षबारे बोल्दै पात्रमार्फत उपन्यासमा अवचेतन मनको विश्लेषण गरेको उल्लेख गरे। ‘यो विछिप्त अवस्थामा लेखिएको उपन्यास हो। यसलाई स्वचालित लेखन पनि भन्न सकिन्छ’, उनले भने। उपन्यासमा भट्टराईले स्वैरकल्पनाको पनि प्रयोग गरेको उनको बुझाइ छ। ‘मुख्य पात्रका छोराको लास कफिनमा आउँदा तेहि घर लगेर सुत्छ। यो अचेतन रूपमा नै बाहिर आएको छ’, कोइरालाले भने।

उपन्यासमा छोरीको विवाहको प्रसंगमार्फत अहिलेको समाजको चित्रण, परिवेश र भाषाशैलीमा उपहासात्मक रूपमा परिवेश र पात्रको भाषासँग खेल्नु भट्टराईको विशेषता रहेको उनको भनाइ थियो। साथै उनले उपन्यासका उपशीर्षकमा काव्यात्मक शैली झल्किएको बताए। सीमान्तकृत वर्गको कथामार्फत  शैलीमा राजनीतिप्रति व्यंग्य गरिएको छ’, उनले भने।

अर्का समालोचक प्रा.डा. अभि सुवेदीले उपन्यासकार भट्टराई र आफ्नो मित्रताबारे रमाइलो किस्सा सुनाए। भट्टराईकै कृति कतिपय साहित्यकारको प्रेरणाको स्रोत बनेकोसमेत उनले उल्लेख गरे। उनले उपन्यासमार्फत नेपालीले कहिले घर छोडेर मुगलान पसे भनेर व्याख्या गरिएको बताए। ‘यो कालक्रमिकको अधिचेतना हो। यसमा लेखकको कथा छ। उजाड भएको गाउँबाट बसाइसरेका मानिसहरूको कथा छ’, उनले भने, ‘यसलाई चेतनाको आधार, इतिहास समेटिएको पुस्तक भन्न सकिन्छ।’

साहित्यकार जानुका खतिवडाले उपन्यासमा पूर्वको भूभाग र परिवेश समेटिएको बताइन्। नयाँ मुगलानमा पुराना पात्रले स्थान नपाए पनि पात्र बन्दुके माइला, भटमासे कान्छाजस्ता रमाइला पात्रको प्रयोग गरिएको  खुलाइन्। पात्रहरूकै कथामार्फत गाउँमा कसरी स्थानीय उत्पादन विस्थापित भए भन्ने पनि उल्लेख गरिएको उनको बुझाइ थियो। ‘पात्रहरूमार्फतको विसंगतिवादको बीचबाट अस्तित्ववादको खोजी गर्ने प्रयास पनि भएको छ’, उनले भनिन्।

त्यस्तै समालोचक महेश पौडेलले ५० वर्षको अन्तरालमा आएको उपन्यासमा नेपालीको जीवन बाँच्ने धरातलमा के के परिवर्तन आयो भन्ने उत्तर पाउन सकिने बताए। ‘नेपालीको बसाइँसराइको तथ्यांक हेर्ने हो भने पश्चिमका मानिसको पहाड झर्ने क्रममा परिवर्तन भएको छ। पहाडको आत्मीयताको कुरामा प्रश्न आउँदा अहिले सुविधाको कथा आएको छ’, उनले भने, ‘उपन्यासले पहिचान खोज्दा पहाड पुग्नुपर्ने र सुविधा खोज्दा सहर भन्ने तथ्यलाई पुष्टि  गर्छ।’

यसले अहिले भएको मूल्य परिवर्तन, आममानिसले उठबस गर्दा भेटिने सरकारको कुरामार्फत आजको समाजको चित्रण गरेको पौडेलको भनाइ छ। ‘पहिले गाउँमा जनसम्पर्क न्यून थियो। सरकार समाचारमात्र हुन्थे। दुरदेशमा घटेको घटना आजको बटरफ्लाइ इफेक्ट जसरी थाहा पाउन सकिँदैन थियो’, पौडेलले भने।

साहित्यकार भट्टराईले २०३१ सालमा लेखेको ‘मुगलान’ को सिक्वेलको रूपमा बजारमा ल्याएका हुन्। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।

प्रकाशित: १३ माघ २०८१ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast