स्रष्टा र दलहरूलाई दुई किनाराका रूपमा बुझ्नु हुँदैन : सत्य पहाडी [अन्तर्वार्ता]

हिमाल प्रेस १२ माघ २०८१ ८:४६
832
SHARES
स्रष्टा र दलहरूलाई दुई किनाराका रूपमा बुझ्नु हुँदैन : सत्य पहाडी [अन्तर्वार्ता] सत्या पहाडी

२०३४ साल असोज ७ गते त्रिपुरासुन्दरी नगरपालिका-१० लिकु, डोल्पामा जन्मिएकी सत्य पहाडी २०५२ सालमा ‘जीवन यात्रा’ शीर्षकको नियात्रा प्रकाशित गरेर साहित्य सिर्जनामा लागेकी हुन्। उनका आगो लाभा र हुरी (कवितासंग्रह), फर्जीका विरुद्ध (कवितासंग्रह), मृत्युञ्जयी यात्रा (संस्मरणसंग्रह), पर्खालभित्रको सन्देश (सामूहिक प्रकाशन) जस्ता कृति प्रकाशित भइसकेका छन् भने निबन्ध, कविता, संस्मरण गरी झन्डै आधा दर्जन कृति प्रकाशनको तयारीमा छन्। प्रस्तुत छ, पहाडीसँग साहित्य लेखनका  विविध विषयमा जयराम सापकोटाले गरेको कुराकानी :

यहाँको साहित्य लेखन कहिलेबाट सुरु भयो? कसबाट र कसरी प्रभावित हुनुभयो?

विक्रम संवत् २०४६ मा विद्यालयमा गाएको सेतो पटुकी भन्ने गीतमा प्रथम स्थानसहित पुरस्कृत भएपछि साहित्य यात्रामा आउन थप प्रेरित भएँ।

मेरा माइँला दाइ शिक्षक हुनुहुन्थ्यो। उहाँले मलाई लेख्नका लागि सधैँ प्रेरित गर्नुहुन्थ्यो। मधुपर्कलगायतका पत्रिका र अन्य पाठ्यसामग्री गाउँमा उपलब्ध गराइदिनुहुन्थ्यो। मेरो साहित्यिक यात्राको प्रारम्भिक पाठशाला मेरो दाइलाई नै मान्छु। लेखकको अन्तर्दृष्टि, घटना सन्दर्भ र परिवेशको सम्मिश्रण सिर्जना हुने गर्दछ। लेखक स्वयंको आदर्श, वातावरण र घटना प्रकृति हरेक लेखनको प्रेरणास्रोत हुने गर्दछन्।

अचेल कसरी बढिरहेको छ त लेखन गतिविधि?

केही वर्ष संसद्मा व्यस्त हुनुपरेकाले प्रकाशनका कामहरू रोकिएको थियो। लेख्ने काम भने सामान्यतया चलिरहेको थियो। अहिले केही समय मिलेको छ, रोकिएका प्रकाशनका कामलाई अगाडि बढाइरहेकी छु।

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि?

हो, हाल म केही कृति प्रकाशनको तयारीमा लागिरहेकी छु। अघिल्लो पाँच वर्षजति संसद्‌भित्र भएकाले समय जुटाउन अलिक गाह्रो भइरहेको थियो। अहिले केही सजिलो भएको छ। छिट्टै केही प्रकाशन पाठकसमक्ष पस्किनेछु।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी हुन्छ?

साहित्य समाजको, राष्ट्रको दर्पण हो भने सर्जकहरू राष्ट्रका सम्पत्ति शान र मार्गदर्शक हुन्। यस अर्थमा स्वाभाविक रूपले हरेक राष्ट्रले साहित्य र सर्जकहरू फुल्ने, फैलिने र बढ्ने अवसर एवं वातावरण प्रदान गर्नुपर्दछ। यसका लागि सर्जकहरू सिर्जनाभित्र हराउन, रमाउन र खेल्न सक्ने अवस्था सिर्जना गर्नु राष्ट्रको दायित्व हुन्छ र हुनुपर्दछ।

तपाईंको साहित्यिक आदर्श के हो?

राता पालहरू, युवाहरूको गीत, गोर्कीकी आमा, अस्त्रोवस्कीको अग्निदीक्षाको अध्ययनसँगै मेरो साहित्यप्रतिको प्रारम्भिक धारणा बन्न सुरु गर्‍यो। साहित्यमा रुचि बढ्न र कलम चलाउन थालेपछि म जनयुद्धको प्रक्रियामा प्रत्यक्ष सहभागी हुने अवस्थाले पनि होला- मेरो आदर्श वर्गीय पक्षधरता, लैंगिक र जातीय समानता, विद्रोही र परिवर्तनको पक्षपाती साहित्य बन्न पुग्यो। म चाहन्छु- हरेक साहित्यले श्रम र श्रमिकको आवाज बोलोस्, राष्ट्र र राष्ट्रियताको भावना बोकेको होस् क्रान्ति र परिवर्तनको महत्त्वलाई आत्मसात् गर्न सकोस्।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त? तपाईँ आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ?

हरेक व्यक्तिले आफ्नो दायित्व पूर्ण रूपले निर्वाह गर्न पहिलो कुरा व्यक्ति स्वयंमा तत्सम्बन्धी योग्यता, इमानदारी र जिम्मेवारीबोध हुनुपर्ने हुन्छ। यतिमात्र पर्याप्त भने हुँदैन, तदनुकूल वातावरण पनि हुनुपर्दछ। यसरी हेर्दा लेखकहरू स्वयंले थप मेहनत गर्नुपर्ने एकातिर देखिन्छ भने अर्कोतर्फ अनुकूल वातावरण सिर्जना गर्न बाह्य पक्षको भूमिका पनि आवश्यक छ। जहाँसम्म मेरो आफ्नै कृतिप्रतिको सन्तुष्टिको कुरा छ- मैले भन्नैपर्छ विषयवस्तुको दृष्टिले मूलतः सन्तुष्टि मिले पनि त्यसलाई परिष्कार गर्दै जानुपर्ने आवश्यकता मलाई महसुस भइरहन्छ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ?

समाजको आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक अवस्था अर्थात् त्यसको विकासक्रमले साहित्यलाई जन्म दिने भएकाले यसलाई पनि समाजको ऐतिहासिक विकासप्रक्रियामा नै हेर्नुपर्ने हुन्छ। सामाजिक चेतनाको स्तरले समेत प्रभाव परिरहेको हुन्छ। पञ्चायतकालीन साहित्यमा बढी बिम्बको प्रयोग पाइन्छ, नियन्त्रित अवस्थाको प्रभावले पनि होला। जनयुद्धकालमा विद्रोहको पक्ष/विपक्षमा साहित्यहरू सिर्जना भएको देखिन्छ। पक्ष/विपक्षमा लेखिएका साहित्यमा धारिलोपनका साथै अग्रगमन र यथास्थितिवादबीचको तिखो टक्कर पाइन्छ। पछिल्लो समय भने केही मात्रामा निराशा, अकर्मण्यता र प्रतिक्रियात्मकता देखिन थाले पनि विकसित हुँदै गएको पठन-संस्कृति, सूचना प्रविधिको विकास र पाठकको संख्यामा बढोत्तरीसँगै समग्रमा साहित्यको विकास मात्रा र गुण दुवै दृष्टिले सुधारोन्मुख छ भन्दा अतिशयोक्ति हुने छैन।

तपाईँको  विचारमा कस्तो साहित्य लेखिनुपर्छ?

साहित्य सदैव यथार्थको प्रतिविम्बन, सामाजिक चेत र सकारात्मक ऊर्जा हुनुपर्दछ। साहित्य कोरा नारा, फगत कल्पना र मन बहलाउने माध्यममात्र बन्नुहुँदैन।

सिर्जनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला?

सिर्जनामा अन्तर्निहित सजीवताले पाठकलाई आफूभित्र समाहित गर्दछ भने कल्पनाले रोमाञ्चित तुल्याउँछ। सिर्जनामा सजीवता र कल्पना दुवैको संयोजन जरुरी हुन्छ। तथापि सजीवता नै हरेक सिर्जनाका लागि प्रधान पक्ष हुनुपर्छ।

तपाईँको लेख्ने निश्चित समय र वातावरण छ कि?

खाली समयलाई म लेखनका लागि सदुपयोग गर्ने गर्दछु। मेरो लेखनको निश्चित समय छैन, तथापि बेलुकीको समय मलाई बढी सहज लाग्ने गर्दछ।

कविता र संस्मरणहरूचाँहि प्राय यात्राकै क्रममा पनि लेख्ने गर्छु। मन मस्तिष्कलाई संवेदित र उद्वेलित गर्ने वातावरणमा लेख्ने मुड बन्दछ। कहिलेकाहीँ एकान्त र शान्त वातावरण पनि रोज्ने गर्दछु।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ?

मेरो लेखनको विषयवस्तु संघर्ष, परिवर्तन, सामाजिक न्यायसँग सम्बन्धित हुने गर्दछन्। घटना सन्दर्भ, सामाजिक सांस्कृतिक परिवेश र विषयवस्तु, जीवन संघर्षका कथा, न्यायपूर्ण संघर्ष र मानवीय मूल्यसम्बद्ध सवाल मेरो लेखनका विषयवस्तु हुने गर्दछन्। तीमध्ये कति बेला कुन विषय सान्दर्भिक लाग्छ-त्यसै विषयलाई प्राथमिकता दिने गर्दछु।

सफल स्रष्टाका आवश्यक गुण केके हुन्?

सिर्जनाका हिसाबले म आफूलाई अझै सिकारु ठान्दछु। त्यसकारण सफल स्रष्टाका सबै गुणलाई म यसै भन्न पनि नसकुँला तथापि सफल व्यक्तिहरूको जीवन र व्यक्तित्वलाई हेर्दा जीवन र जगत्लाई हेर्ने दृष्टिकोणमा स्पष्टता, विषयवस्तुप्रतिको ज्ञान, निरन्तरको साधनासँगै विचार अनि भावनाको संयोजन क्षमता चाहिन्छ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महसुस गर्नुहुन्छ?

बहुलतायुक्त समाजमा मानिसका रुचि र प्राथमिकतामा विविधता हुनु स्वाभाविक छ। नेपालको सन्दर्भमा कथा, कविता, गजल, संस्मरणलगायत चल्तीमा छन्। त्यसमध्ये कविता विधाका पाठक तुलनात्मक रूपमा केही बढी भएजस्तो लाग्छ।

लेख्नुपर्ने बाध्यता कतिबेला महसुस हुन्छ?

सामान्यतः प्रकृति, समाज र मानवीय जीवनमा घटित घटना वा चल्ने बहसहरू प्रश्न अथवा उत्तर बनेर जतिबेला मनमस्तिष्कमा घुम्न थाल्छ त्यति नै बेला लेखकीय भावना उद्वेलित हुन थाल्छ। त्यो एक सर्जकका लागि आफैँमा दबाबपूर्ण अवस्थाजस्तो महसुस हुन्छ। अझ बढी जब कसैले यथार्थ तोडमरोड गरिरहेको हुन्छ वा जब कसैले समाज वा व्यक्तिलाई हिँड्न दुरुत्साहन गरिरहेको हुन्छ- त्यतिबेला वास्तविकता प्रसार गर्न लेख्नुपर्ने आवश्यकता अझ बढी महसुस हुने गर्दछ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि?

उमेरको दृष्टिले नयाँ भन्न नमिले पनि लेखनका दृष्टिले म आफैँलाई पनि नयाँ जस्तो ठान्दछु। मेरो भनाइ यो रहन्छ कि लेखन लेखनका लागि मात्र हुनुहुँदैन। मूल्य स्थापित गर्ने, सामाजिक न्याय, देशभक्ति प्रवर्धन गर्ने प्रगति र उन्नतिलाई टेवा पुर्‍याउने लेखनको उद्देश्य हुनुपर्दछ। यसका लागि दृष्टिकोणमा स्पष्टता, विषयवस्तुसम्बन्धी ज्ञान र निरन्तरतामा ध्यान दिनुपर्दछ।

किन कोही स्रष्टा दलको झन्डामुनि ओत लाग्ने रहर गर्छन्?

राजनीतिक दलहरू सत्ताका साधनमात्र होइनन्- विचारका बाहक पनि हुन्। स्रष्टा र दलहरूलाई नदीका दुई किनाराका रूपमा बुझ्नु हुँदैन। बहुवर्गीय समाज र सामाजिक सांस्कृतिक विविधतायुक्त समाजमा स्रष्टाहरू पनि विचार निरपेक्ष हुँदैनन्। जुन दलसँग स्रष्टाहरूले आफूलाई वैचारिक रूपले एक ठाउँ महसुस गर्छन्- ती दलमा आफूलाई आबद्ध गरे भने दलको झन्डामुनि ओत लागेको भनिहाल्नु हुँदैन। अर्को कुरा स्रष्टाहरूको भूमिका केवल दुनियाँलाई बुझ्ने र व्याख्या गर्नेमात्र नभई बदल्नु पनि भएको हुनाले समाजलाई बदल्न आफ्नो विचारको प्रतिनिधित्व गर्ने दलमा संगठित हुने पनि गर्दछन्। दलको अनुशासनले सर्जकको विचारलाई बन्द गर्छ कि गर्दैन- त्योचाहिँ सर्जक स्वयंको विवेकमा निर्भर हुने कुरा हो।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ?

कुनै पनि लेखनमा समकालीन परिवेशलाई बुझ्ने, व्याख्या गर्ने र बदल्ने सम्बन्धमा निश्चित दृष्टिकोण तथा अन्तर्वस्तु निहित हुने गर्दछ। उक्त दृष्टिकोणले यथार्थ र त्यसभित्रको उज्यालो अनि प्रगतिशील पाटोलाई सम्बोधन गरेको छ वा कल्पना, अँध्यारो र पश्चगामी पक्षलाई बोकेको छ भन्ने आधारमा हेर्नुपर्ने हुन्छ। त्यसै गरी रूप, पक्ष वा शब्द, संरचना र शिल्पका आधारमा समेत हेरिन्छ। यसरी सबै लेखनलाई विषयवस्तु र कला दुई पक्षबाट मूल्यांकन गर्ने गरिन्छ।

उपर्युक्त दृष्टिकोणका आधारमा नै मैले लेखनलाई हेर्ने र बुझ्ने कोसिस गर्दछु। प्रवृत्तिगत दृष्टिले समकालीन लेखनमा मूलतः तीन धार देखा पर्ने गरेका छन्, पहिलो प्रगतिशील, दोस्रो यथास्थितिवादी र तेस्रो पश्चगामी। प्रगतिशील धाराभित्र कस्तो खाले प्रगतिशीलता भन्ने बहस पनि देखिने गरेको छ। जुनसुकै धाराभित्र गएर हेर्दा पनि आदर्श मूल्यको पक्ष कमजोर र भावना, आवेग र नकारात्मकताले बढी स्थान पाउन थालेको जस्तो देखिए पनि यो नै मूल पक्ष भने बनिसकेको छैन। तसर्थ समकालीन लेखनप्रति पूर्ण रूपले सन्तुष्ट हुन नसके पनि असन्तुष्ट नै पनि छैन।

प्रकाशित: १२ माघ २०८१ ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast