अब गौतम बुद्ध विमानस्थलमा ‘लो भिजिलिटी’ मा पनि विमान अवतरण

विनोद परियार ११ माघ २०८१ ११:५२
22
SHARES
अब गौतम बुद्ध विमानस्थलमा ‘लो भिजिलिटी’ मा पनि विमान अवतरण

लुम्बिनी– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा लो भिजिभिलिटीमा पनि अवतरण गर्न मिल्ने प्रणाली सुरु गरिएको छ। बिहीबारदेखि आरएनपी-एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन रिक्वायार्ड) प्रणाली सुरु गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

१८ सय मिटरभन्दा कम भिजिबिलिटी हुँदा विमानस्थलमा अवतरणमा समस्या नहोस् भन्नका लागि आरएनपी-एआर प्रणाली सुुरु गरिएको उनले बताए। यो भूउपग्रहमा आधारित प्रणाली हो। कम प्रकाशमा उडान र अवतरणका लागि विमानस्थलमा आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) जडान भए पनि छिमेकी देश भारतले सहमति नदिँदा यो प्रविधि सञ्चालनमा हुन सकेको छैन।

भारतीय आकाशको प्रयोग गर्नुपर्ने तर भारत सरकारले सहमति नदिएपछि गौतमबुद्धमा आईएलएसको विकल्पमा भू-उपग्रहमा आधारित आरएनपी-एआर प्रणाली सुरु गरिएको हो। यो प्रविधि विमान कम्पनीहरूले जडान गरी लागू गर्नुपर्नेछ।

महाप्रबन्धक तिवारीले नागरिक उडड्यन प्राधिकरणले आईएलएसको विकल्पमा आरएनपी-एआर प्रणाली लागू गर्न थालेको बताए। ‘अहिले यान्त्रिक विधिबाट अवतरण भइरहेको छ, अब लो भिजिबिलिटीमा पनि ककपिटमा राखिएको आरएनपी-एआर उपकरणले अवतरणमा सहज बनाउनेछ’, उनले भने। उनका अनुसार अनुसार भू-उपग्रहमा आधारित आरएनपी-एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन गरी सुरु गरिएको हो।

अहिले गौतमबुद्ध विमानस्थलमा यान्त्रिक विधि (भिओआर- डीएमई) मार्फत अवतरण गर्दा न्यूनतम भिजिबिलिटी १८ सय मिटर चाहिनेमा अब आरएनपी-एआर विधिमा ९ सय मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सकिने महाप्रबन्धक तिवारीले बताए। ‘क्यानले यो प्रविधि सुरु गर्‍यो तर यसमा विमान कम्पनीहरूले पाइलटलाई तालिम दिएर यो विधिमा ल्यान्ड गराउनुपर्छ’, महाप्रबन्धक तिवारीले भने। यो प्रविधि विमानलाई डाइरेक्सन गरी कुन एंगलबाट जहाज विमानस्थलमा अवतरण गर्ने भन्ने निर्देशन पाइलटले फलो गर्नुपर्ने उनले बताए।

अप्ठ्यारो र भोगौलिक रुपमा खोँच भएका विमानस्थलहरूमा प्रयोग गरिने यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ। तिवारीका अनुसार यो प्रणालीबाट विमान कम्पनीहरूले गौतमबुद्ध विमानस्थलमा अवतरण गरेमा हाल विद्यमान अवरोध हट्नेछ।

यो प्रणाली लागू भए तापनि यसअनुसार उडान अवतरण गर्न विदेशी एअरलाइन्स कम्पनीहरूले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम पूरा गरी अनुमति लिनुपर्ने उनले बताए। अनुमति लिएपछि पाइलटहरूलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रकृया पूरा गर्न पर्दछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी-एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटीमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ९०० मिटरको भिजिबिलिटीमा काम गर्ने प्राविधिकहरूको भनाइ छ।

तराई मधेशमा मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी घट्ने समस्याले अन्तर्राष्ट्रिय मात्रै नभई बाह्य उडान स्थगन हुने गरेको छ। यो समस्या समाधानका लागि ‘आरएनपी-एआर’ प्रणाली लागू गरिएको हो। मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै सेवा बन्द गरेका छन्। अचेल यहाँबाट फ्लाई दुबई र नेपाल एयरलायन्सले मात्रै उडान भरिरहेका छन्।

प्रकाशित: ११ माघ २०८१ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast