लघुकथा

आत्मकथा

ईश्वर पोखरेल १२ माघ २०८१ १४:३४
94
SHARES
आत्मकथा

अलिक अघिकै कुरा हो- कविजीको घरमा चोरी भएको थियो। (चोरी भनौँ कि डकैती भनौं; घरमा मान्छे हुँदाहुँदै भएको लुटपाटलाई के भन्नुपर्छ हँ!) कविजी बाथरुममा हुनुहुन्थ्यो; चोरहरू आए; दराज फोरे र गहना पैसा लिएर बाहिर निस्किए।

चोरहरूका बीचको खस्याकखुसुक्क कविजीले सुन्नुभयो; स्वर चिनेकै जस्तो लाग्यो।

चोरहरू परै पुगे भन्ने भएपछि कविजी थुरथुर काम्दै बाहिर निस्किनुभयो।

सीसीटीभीको मेमोरीकार्ड निकालेर ल्यापटपमा हेर्दा कविजीको शंका पुष्टि भयो।

पुलिसलाई रिपोर्ट गरेर ज्यान जोखिममा पार्ने ह्याउ कविजीमा कहाँ हुनु! कविजी ‘जे भयो, भयो’ भन्नेतिर लाग्नुभयो; भेटघाट र भलाकुसारीमा पनि केही थाहा नपाएको भान पार्ने प्रयत्नमा रहनुभयो।

उसले राम्रै जोड्यो। जोडेपछि समाजमा प्रेस्टिज र पावर स्वतः जोडिने नै भयो।

उसले कसरी जोड्यो भन्ने बारेमा समुदायमा गाइँगुइँ व्याप्त थियो; तर ‘बिरालाको घाँटीमा घन्टी बाँध्ने’ कसले!

उसलाई लाग्यो- ‘यो गाइँगुइँलाई थिच्नुपर्छ।’

ऊ उपायको खोजीमा थियो; कसैले सुझाएछ- ‘आत्मकथा लेख्।’
अनि उसैले बाटो देखाएछ- ‘कलम नचल्ने मान्छेका कृति लेखिदिने सुविधा सहरमा उपलब्ध छ।’

कविजीको कविता संग्रह निस्किन बाँकी छ।

केही यता टोलमा उसले लेख्दैछ भन्ने गाइँगुइँ चल्दै आएको थियो; लेखेको होइन रहेछ; लेखाएछ- आत्मकथा।

उसको आत्मकथाको एक प्रति र त्यसको विमोचनको निम्ता अहिले कविजीको टेबुलमा पनि छ।

कविजी बडो जिज्ञासाका साथ आत्मकथाको ठेलीको पाना पल्टाउँदै हुनुहुन्थ्यो; पछाडिबाट कसैले कविजीकै जिज्ञासालाई ताकेर दुत्कारेको भानमा कविजी पर्नुभयो- ‘धत् लाटा, आत्मकथा लेखाउनेले त्यस्तो कुरा पनि लेखाउँछ त!!’

कविजीलाई धेरैले सोझो भन्थे; आज कविजीको मनले नै भन्यो- ‘कति सोझो हौ, तँ त!’

प्रकाशित: १२ माघ २०८१ १४:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast