जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग

हिमाल प्रेस ९ माघ २०८१ १३:२० | Wednesday, January 22, 2025
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग फाइल तस्बिर।

चितवन- सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन्। स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन्।

सौराहा क्षेत्रमा अहिले मकुना नामको जङ्गली हात्ती बस्ती पसेर स्थानीयलाई दुःख दिँदै आएको छ। योसँगै रोनाल्डो नामको हात्ती पनि हात्ती प्रजनन केन्द्र हुँदै बस्तीमा आउने गरेको छ। जङ्गली हात्तीले पोथी हात्ती खोज्दै बस्ती आउने क्रम बढेपछि स्थानीयले व्यवस्थापनका लागि माग गरेका हुन्।

स्थानीयले सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, निकुञ्ज वा बस्तीभन्दा पर कुनै खाली ठाउँमा सबै हात्ती एकै ठाउँमा राख्न माग गरेका हुन्। निकुञ्ज प्रशासन, स्थानीय प्रशासन, हात्ती व्यवसायी र स्थानीयले यस विषयमा छलफल थालेका छन्।

रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले स्थानीयको मागअनुसार निकुञ्ज प्रशासनसँग छलफल भएको बताए। सम्बन्धित वडाका अध्यक्षहरूले यस विषयमा नगरप्रमुखसँग पनि छलफल गरिरहृको उनले जानकारी दिए। उनले भने, ‘यस विषयमा सरोकार भएका निकाय र स्थानीयबीच छलफल भइरहेको छ। एकीकृत रूपमा वन नजिक निजी हात्ती राखेमा जङ्गली हात्तीले कम दुःख दिने सबैको सुझाव छ।’

सौराहामा ४५ वटा निजी हात्ती छन्। तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन्। संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले आफूहरू स्थानीयको मागअनुसार काम गर्न तयार रहेको बताए। उनले भने, ‘निजी जग्गामा राख्दा वरिपरि घर हुन्छन्। सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ।’ सधैँका लागि एकीकृत गरेर हात्ती राख्ने ठाउँ पाए आवश्यक संरचना आफूहरूले बनाउने उनको भनाइ छ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले निकुञ्ज प्रशासन स्थानीयको मागप्रति गम्भीर रहेको बताए। निजी हात्तीलाई एकीकृत गरेर राख्न केही समयका लागि सोर क्षेत्रमा बासस्थानको व्यवस्थापन गर्न सकिने उनले उल्लेख गरे। दीर्घकालीन वा अल्पकालीन रूपमा हात्ती राख्नका लागि विभागसँग अनुमति लिनुपर्ने भएकाले लिखित रूपमा माग राख्न भनिएको उनले जानकारी दिए।

जङ्गली हात्तीले बस्ती पसेर धनजनको क्षति पुर्‍याउने, स्थानीय र पर्यटकलाई त्रसित बनाउने गर्दै आएका छन्। जाडो महिना सुरु भएसँगै हात्ती बस्ती पस्न थालेका हुन्।

प्रकाशित: ९ माघ २०८१ १३:२० | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast