 
                             
                                            द्वन्द्वकालमा दुर्गम गाउँका स्कुलमा पढ्न सहज थिएन। विद्यालय परिसर कुनै पनि बेला द्वन्द्वरत पक्षको कब्जामा पर्न सक्थ्यो। बालबालिका र युवाका लागि त्रसित थियो गाउँको वातावरण। आफ्नै घरमा बस्न कठिन भएपछि अन्योलपूर्ण अवस्थामा घरबाट सहर लागेकी थिइन् रामेछापकी पवित्रा खड्का।
काठमाडौँमा सानीमासँगै बसेर उनले पढ्न थालिन्। सुरुमा स्कुलमा हुने अतिरिक्त क्रियाकलाप देख्दा अचम्म लाग्थ्यो उनलाई, कारण गाउँका स्कुलका त्यस्ता कार्यक्रम नै हुँदैनथे। पवित्रा बिस्तारै त्यस्ता कार्यक्रममा आकर्षित हुन थालिन्। तर उनी आफ्नो इच्छा व्यक्त गर्न सक्दिनथिन्। उनी भन्छिन्, ‘साथीहरू डान्स क्लास जान्थे। नाटक गर्ने कुरा गर्थे। तर म पनि सिक्छु भनेर बोल्न सक्दिनथेँ। त्यसैले मैले स्कुलमा कुनै कार्यक्रममा पनि भाग लिइनँ।’ बिस्तारै उनलाई पनि नाचौँ-नाचौँ, गाऊँ-गाऊँ, खेलौँ-खेलौँ र अभिनय गरौँ-गरौँ जस्तो लाग्न थाल्यो। सहरको सरकारी विद्यालयबाट जसोतसो कक्षा १० उत्तीर्ण भएकी उनलाई अभिनय सिक्न पनि त सहज थिएन। त्यसका लागि समय र पैसा दुवै जुटाउन सकस रहेको पवित्रा सम्झिन्छिन्।
भनिन्छ, खाने मुखलाई जुँगाले छेक्दैन। पवित्राले पनि अभिनय सिक्न एउटा उपाय रचिन्। एसएलसीपछि कम्प्युटर सिक्न घरबाट पैसा माग्ने र त्यही पैसाले अभिनय सिक्ने।। ‘एसएलसीपछि धेरैको कम्प्युटर सिक्ने सपना हुन्थ्यो। मैलै पनि कम्प्युटर सिक्ने भनेरै घरमा पैसा मागेँ’, उनले मुस्कुराउँदै भनिन्, ‘घरमा नभनी त्यो पैसाले मैले तीन महिना अभिनय सिकेँ।’ यसमा उनलाई केही साथीहरूले पनि साथ दिए।
अभिनय सिक्ने क्रममा एकपटक पवित्राले राष्ट्रिय नाचघरमा नृत्य गर्ने अवसर पाइन्। यसै क्रममा उनलाई घिमिरे युवराजले नाटकमा अभिनय गर्ने मौका दिए। अनि सुरु भयो उनको नाट्य अभिनयप्रतिको औपचारिक यात्रा। अहिलेसम्म आइपुग्दा उनी पूर्णकालीन नाट्यकर्मी बनेकी छन्। अभिनयमा जम्न पनि उनलाई कहाँ सजिलो थियो र?
पहिलो नाटक ‘कोमा : अ पोलिटिकल सेक्स’ मा अभिनय गर्दा आफूलाई नाटकबारे त्यति जानकारी नभएको उनी बताउँछिन्। घिमिरेको निर्देशन रहेको नाटकका लेखक हुन् कुमार नगरकोटी। ‘त्यतिखेर म नाटकबारे पोख्त थिइनँ। नाटकमा प्रयोग हुने लाइट, प्रप्स, म्युजिक कसरी प्रयोग हुन्छ भन्ने थाहै थिएन’, उनले सुनाइन्।
पवित्रा नाट्य क्षेत्रमा प्रवेश गरेको करिब १४ वर्ष भयो। यात्राको क्रममा उनले अभिनयदेखि केही निर्देशन पनि गरिसकेकी छन्। ‘प्रकाश’ फिल्ममा पनि उनको अभिनय छ। ‘क्राइम पेट्रोल’ र ‘साहु बा’ वेब सिरिजमा उनले खेलेकी छन। ‘साहु बा’ भने सार्वजनिक भएको छैन। साथै उनी शिल्पी थिएटर नेपालकै प्रोडक्सनमा बर्सेनि हुने नाट्ययात्रा मुक्त रंगमञ्च र तालिममा प्रशिक्षक बन्ने अवसर पाइरहेकी छन्।
३३ वर्षअघि रामेछापको तिलपुङ गाविसमा जन्मिएकी पवित्राको सपना कला क्षेत्रमा लाग्छु भन्ने थिएन। सपना बुन्ने त परको कुरा तत्कालीन समयमा उनको गाउँमा छोरी पढ्ने वातावरणसमेत थिएन। उनी यात्राकै क्रममा आफू नाट्यक्षेत्रमा प्रवेश गरेको बताउँछिन्। पवित्रालाई उनकी आमाले शिक्षित बनाइन्। गर्भमै छँदा बा गुमाएकी पवित्राले गाउँमै कक्षा आठसम्म पढिन्। त्यसपछि उनको पढाइ काठमाडौँको असनस्थित त्यौड माविमा भएको थियो।
अचेल उनी आफू अभिनय र रंगमञ्चका लागि रहेछु भन्ने महसुस गर्छिन्। भन्छिन्, ‘सपना के हो भन्ने थाहा नभएको मान्छेलाई जीवनको यात्रा गर्दै जाँदा रुचिले आकर्षण गर्दै जाने रहेछ। अहिले आफू रंगमञ्च र अभिनय क्षेत्रका लागि रहेछु भन्ने लाग्न थालेको छ।’
शिल्पीमै निरन्तरता
शिल्पी थिएटर नेपालको पहिलो ब्याचकी विद्यार्थी हुन् पवित्रा। उनीसँगै शिल्पीमा नाटक सिकेका किरण चाम्लिङ, जीवन बराल, सरिता शाह, रेनुका कार्की, प्रियंका झा, रोशन मेहेतालगायत कला क्षेत्रमा लागिरहेका छन्। पवित्राले आफ्नै धरातल छोडेकी छैनन्।
पहिले पवित्राले वीरेन्द्र हमालसँग अभिनयबारे क्लास लिइन्। अभिनय गर्ने क्रममा उनी शिल्पीसँग जोडिइन् र निरन्तर त्यहीँ होस्टेलमा बसेर काम गर्न थालिन्। अहिले उनी शिल्पी भनेको आफू र आफू भनेकै शिल्पी भन्ने ठान्छिन्। ‘शिल्पीको हरेक इँटामा मेरो माया जोडिएको छ। अहिले लाग्छ, शिल्पी भनेकै म हो र म भनेकै शिल्पी’ उनले भनिन्।
शिल्पीले स्थापनाकालदेखि पूर्व र पश्चिमका ग्रामीण भेगमा गर्दै आएको नाट्य यात्रामा पवित्रा पनि सहभागी हुन् थालिन्। नाटकमा सबै भाषा, भूगोल र परिवेश समेटिनुपर्छ भन्ने शिल्पीको अवधारणालाई आफूले पनि निरन्तरता दिनुपर्छ भन्ने उनलाई लाग्यो।
हरेक वर्षको यात्रामा पवित्रा सहभागी भइरहेकी छन्। यात्रामा उनले अभिनयमात्र होइन् समुदाय र नेपाली परिवेशबारे थप बुझ्ने मौका पाइरहेको बताउँछिन्। उनी भन्छिन्, ‘नाटक के हो भन्नेदेखि जीवनको भोगाइ र समुदाय चिन्न पनि मलाई शिल्पीले नै सिकायो।’
सन् २०१४ देखि शिल्पीबाटै नाट्ययात्रा सुरु गरेकी पवित्राले बन्द रंगमञ्चअन्तर्गत ‘कोमा’, ‘मजिपा लाखे’, ‘हारजित’, ‘तारतुफः झलेन्द्र प्रसादको लीला’, ‘समाजका नाइके’, ‘दीक्षान्त’, ‘पाहुना घरकी साहुनी’, ‘मुनामदन’, ‘मुकुन्द इन्दिरा’, ‘विमोक्ष’, ‘हिउँको पृथ्वी यात्रा’ लगायत दुई दर्जनजति नाटक खेलिसकेकी छन्। ‘मुक्त रंगमञ्च’ मा पनि उनले थुप्रै नाटक खेलिन्। केही समयअघि पनि उनी शिल्पीको टिमसँग ‘अनिँदा रात’ लिएर पश्चिमी भेगको यात्राबाट फर्केकी हुन्।

शिल्पीसँग जोडिएपछि पवित्रा शिल्पीको नाट्ययात्रामा छुटेकी छैनन्। भन्छिन्, ‘त्यो यात्राले जीवनमा धेरै कुरा सिकाउँछ। फरक ठाउँ, परिवेशका मानिसको कथा, व्यथा बुझ्न पाइन्छ। त्यो यात्रा समाज बुझ्ने अर्को मौका पनि हो जस्तो लाग्छ।’
त्यस्तै पवित्राले छोटो फिल्म ‘धर्को र आकृति’ सहित ‘भृकुटी’, ‘एआईः एनिमल एन्ड इम्याजिनेसन’, अनिँदा रात, ‘सुईना’ लगायत थुप्रै नाटक निर्देशन पनि गरिसकेकी छन्। अहिले पवित्रालाई जीवनको भोगाइलाई कलामार्फत व्यक्त गर्ने माध्यम नाटक हो भन्ने लाग्छ। ‘मान्छेले वास्तविक जीवनमा नाटक गरिरहेको हुन्छ, कसैले नाटक नगर्न भन्ने तरिकाले पनि यसको प्रयोग गरिरहेको हुन्छ तर थिएटरमा अभिनय कौशल र कलामार्फत व्यक्त गर्ने माध्यम हो नाटक।’
नाटकमा पात्रको भावनसँग खेल्न सकिन्छ। त्यही पात्र लिएर समुदायमा जाँदा आमा, काकी, दिदीबहिनीको भोगाइसँग मेल खाइरहेको देख्ने उनी बताउँछिन्। धेरैजसो नाटकमा पवित्राले मागअनुसार हजुरआमा, आमा, दिदी, बहिनी, काकीको व्यथामै अभिनय गरिन्। परम्परागत शैली साडी, चोलो, सिन्दुर र पोतेको पहिरनमै धेरै काम गरिन्। यी चरित्रबाट अब उनी मुक्त हुन चाहन्छिन्। लेखकहरुलाई पनि महिला आफैँमा क्षमतावान हुन्छिन् भन्ने खालका चरित्र निर्माण गर्नसमेत आग्रह गर्छिन्।
‘अभिनयमा धेरैजसो महिला बिचरा पात्रमा सीमित भइरहेका छन्। उसले रोयो भने नाटक खत्रै चल्छ भन्ने सोचाइ छ। मैले पनि यस्ता नाटक थुप्रै गरेँ,’ उनले चरित्रको स्मरण गर्दै भनिन्, ‘अब महिला आफैँमा बोल्ड हो भन्ने पक्षबाट अभिनय गर्न चाहन्छु। घरको जिम्मेवारी र बच्चा हुकाउने देखि अहिलेका महिला नोकरी गर्न पनि भ्याउँछन्। अब लेखकहरुले पनि महिलालाई उनीहरु आफैँमा बलियो छन् भन्ने पक्षबाट चरित्र निर्माण हुनुपर्छ।’
थिएटरमा टिक्न धैर्य हुनुपर्छ
पद्मकन्या कलेजबाट मानविकी संकायअन्तर्गत डान्समा स्नातक गरेकी पवित्रा अहिले के एन्ड के क्याम्पस जेन्डर स्टडीजमा स्नातकोत्तर तहमा अध्ययनरत छिन्। अभिनयसँगै उनी अहिले तालिम दिन्छिन्। नृत्य सिकाउँछिन् पनि। रंगमञ्चमा नाटक सिक्ने युवापुस्ता बढिरहेका छन्। नाटकघरपिच्छे ब्याच, प्रोडक्सनका नाममा कक्षा भइरहेको छ। उनी नयाँ पुस्तालाई सामाजिक सञ्जालमा चर्चाकै लागि थिएटर नपस्न आग्रह गर्छिन्।
‘नाटकघरमा तीन महिनाको ट्रेनिङ सिकेर कसैले रोल दिँदैन। त्यो सिकाइ भनेको नेपालीको क,ख,ग र अ,आ सिकेजस्तो हो। नेपालमा नाटक सिक्ने विद्यालय र विश्वविद्यालय दुवै छैन। अभिनयमात्रै गर्छु भनेर जीवन चलाउन गाह्रो छ। अभिनय नहुँदा थिएटरकै अन्य भागमा काम गर्न सकिन्छ’, उनी भन्छिन्। बजारमा पाइँलैपिच्छे व्यक्तिका इच्छा परिवर्तन गरिदिने सामग्री आइसकेका छन्। बजारसँगै कुद्छु, हरेक इच्छा पूरा गर्छु र नाटक पनि गर्छु भनेर नहुने उनी बताउँछिन्। उनले भनिन्, ‘आफ्नो इच्छा र आकांक्षा कामप्रतिको लगाव, मेहनत देखिनुपर्यो। थिएटरमा बाँच्ने ठाउँ थुप्रै छन् त्यो आफैँले खोज्नुपर्छ।’
नयाँ पुस्ताले गर्ने नाटकमा कलात्मक पक्ष खस्किएको उनी बताउँछिन्। ‘मैले नाट्ययात्रा सुरु गर्दा रंगमञ्चको सेट डिजाइन, लाइट, म्युजिकको संयोजनले नाटक हेर्दा भित्रदेखि नै आहा! भन्ने भाव आउँथ्यो’, उनले स्मरण गरिन्। सुनिल पोखरेल, अनुप बराललगायत अग्रज नाट्यकर्मीहरुले मञ्चन गर्ने नाटक र अहिलेका पुस्ताले गर्ने नाटकमा कलात्मक पक्ष कम, कथा बढी आइरहेको हो कि भन्ने लाग्छ उनलाई। उनी नाटक बनाउन पहिले समाज र देशको राजनीति बुझ्न आवश्यक ठान्छिन्।
‘अहिलेका पुस्ताले आफ्नो आवाज बोलिरहेका छन्। समाजमा जे देखिन्छ त्यसलाई स्टेजमा उतार्ने कार्य भइरहेको छ। नाटक यथार्थ होइन। नाटकका उपकरण र तत्त्वहरू हुन्छन्। तिनैको प्रयोगबाट कलापक्ष समेटिनुपर्छ र दर्शकलाई हेर्न लायक बनाउँछु भन्ने बाटोबाट जानुपर्छ। यसका लागि थिएटरमा वर्षौँ मेहनत र धैर्य गर्न सक्नुपर्छ।’
पवित्रा यतिबेला घिमिरे युवराजको लेखन तथा निर्देशन रहने नाटक ‘लस्ट एन्ड फाउन्ड’ को तयारीमा व्यस्त छिन्। नाटक बुद्धसँग सम्बन्धित छ। नाटकमा बुद्ध भगवान् भएर जन्मेका होइनन्, संघर्ष र साधना गरेर बुद्धत्व प्राप्त गरेका हुन् भन्ने देखाउन खोजिएको उनले बताइन्।
रंगमञ्चभन्दा बाहिर जाने पवित्राको सोच छैन। ‘सधैँ म रंगमञ्चमै रहन्छु। त्यसबेला सहर नआएको भए, आज म आफनो रुचि, जीवन र समाजबारे खुलेर बुझ्दिनथेँ। गाउँमा हुँदा नाटक के हो भन्ने थाहा थिएन। अभिनय त परको कुरा।’ उनी भन्छिन्, ‘म गाउँमै थिएँ भने आज नाट्य क्षेत्रमा हुने थिइनँ। त्यसैले भन्छु- मान्छेले जीवनमा यात्रा गर्नु आवश्यक छ। यात्राले नयाँ ठाउँका बारेमा केही सिक्ने अवसर मिलिरहेको हुन्छ।’


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 