विद्यार्थीको चुनौतीपछि बन्याे ‘केटी हराएको सूचना’

हिमाल प्रेस ९ माघ २०८१ ११:१४ | Wednesday, January 22, 2025
विद्यार्थीको चुनौतीपछि बन्याे ‘केटी हराएको सूचना’

काठमाडौँ- निर्देशक दीपेन्द्र गौचनको नयाँ फिल्म यही शुक्रबार  ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनकाे तयारीमा छ।

३२ वर्षअघिको फिल्म ‘उजेली’ बाट निर्देशनमा चर्चा कमाएका गौचन चुनौतीपूर्ण कमब्याक गरेको ठान्छन्। दीपेन्द्र २२ वर्षपछि फिल्म निर्देशनमा कमव्याक भएका हुन्।

दीपेन्द्रका अनुसार ‘मिसिङः केटी हराएको सूचना’ को कथा लेखनको सुरुवात निकै रोचक रहेको सुनाए। ‘म कम्बोडियामा पढाउँछु। विद्यार्थीले ठूलो मान्छे हुन्छु भन्ने सपना देख्नु स्वाभाविक नै हो। मैले एउटा दुईजना पात्रको कथा लेख्नु भनेर उनीहरुलाई अह्राएँ। उनीहरुले दुई हप्ताको समयमा कथा त लेखे, तर सबै मैले अस्वीकृत गरिदिएँ। किनकी त्यो भन्दा राम्रो कथा जन्मन्छ भन्नेमा म ढुक्क थिएँ। तर अन्य कथा जन्माएनन्। उल्टो उनीहरुले मलाई नै ‘तपाईं नै कथा लेखेर देखाउनुहोस्’ भनेर चुनौती दिए’, दीपेन्द्र सम्झन्छन्।

विद्यार्थीको चुनौतीलाई स्वीकारेका दीपेन्द्रले एक कथा लेखे र त्यसको सर्ट फिल्म बनाए। त्यो फिल्मले फेस्टिभलमा अवार्ड नै जित्यो। कम्बोडिया बसाईको २२ वर्षपछि नेपाल फर्किदा दीपेन्द्रले त्यही कथा बोकेर आए। ‘यहाँ आउँदा त्यही कथा नेपाली परिवेशमा झन सुहाउँदो र अझ प्रगाढ हुने पाएँ। मधेस र पहाडको कथा देखाउँदा राम्रो हुन्छ भन्ने लाग्यो र यो फिल्मको कथा लेखें’, उनी भन्छन्।

दीपेन्द्रका अनुसार उनलाई स्क्रिप्ट फाइनल गर्न झण्डै तीन महिना लाग्यो। उनले अङ्ग्रेजीमा लेखेको स्क्रिप्टलाई दीपेन्द्र, अमित पोखरेल र अमितेष शाहले नेपालीकरण गरे।

दीपेन्द्र स्क्रिप्टअनुसार पात्र छनोट सही भएको दाबी गर्छन्। ‘हामीलाई काठमाडौँमा जन्मिएर यतै बसेको मधेसी टोन कम भएको पात्र चाहिएको थियो। त्यो पात्र हामीले नाजिरमा पायौं। पहाडी लुक्समा सृष्टि श्रेष्ठ फिट भइन्। किनकी उसलाई भेट्ने बित्तिकै म प्रभावित भए। गोरो अनुहार, पहाडी लुक्स अनि अङ्ग्रेजी बोल्ने पारा फिट लाग्यो’, दीपेन्द्रले पात्र छनोटबारे खुलाए।

फिल्मको ट्रेलरमा मधेसमा ‘नेपाली’ पहिचानको कुरा उठान गरिएको देखाइएको छ। ‘मधेसको पात्र बनाएपछि रहनसहनको मात्र कुरा आउँदैन, मान्छे बौद्धिक भए पनि उसको मनमा भावना गढिरहेको हुन्छ। मधेस आन्दोलनको समयमा पहिचानको पनि कुरा आएको थियो। मधेसको जो कोही पात्रलाई ‘नेपालीपन’ को भावना अवश्य नै हुन्छ। राष्ट्रियताको मामलामा उसको अडान नै हुन्छ’, दीपेन्द्र भन्छन्।

दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’ लाई महिला केन्द्रीत फिल्म मान्छन्। ‘यो फिल्ममा मुख्य पात्र को भनेर दर्शकले छुट्याउनै सक्दैन। राम हुन कि सीता। दुवैको भूमिका बराबरी छ। त्यो बराबरीपन दिनु पनि महिलालाई प्राथमिकता दिनु हो। महिलालाई हिरोनी बनाएर कालीदेवी जस्तो अतिरिञ्जित पनि गर्नुहुँदैन’, उनी भन्छन्।

प्रकाशित: ९ माघ २०८१ ११:१४ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast