ट्रम्पको विवादास्पद घोषणा : कतै स्वागत कतै आलोचना

हिमाल प्रेस ८ माघ २०८१ १३:३९
20
SHARES
ट्रम्पको विवादास्पद घोषणा : कतै स्वागत कतै आलोचना

काठमाडौँ- कार्यभार सम्हाल्ने क्रममा अमेरिकाका ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका केही अभिव्यक्तिलाई विवादमा परेका छन्। यसले उनलाई आलोचित बनाउने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विवादमा परेको एउटा अभिव्यक्ति हो, अमेरिकाले अब दुई लिंग (पुरुष र महिला) लाई मान्यता दिने घोषणा।

अल्पसंख्यक र मानवअधिकार समर्थक समूहहरूले दुई लिंगलाई मात्रै मान्यता दिने ट्रम्पको भनाइप्रति आपत्ति जनाएका छन्। अमेरिकी मानवअधिकार अभियानका अध्यक्ष केली रोबिन्सनले द गार्जियनसँग भनेका छन्, ‘हामी पछाडि हट्न र डराउन तयार छैनौँ। हामी कहीँ जाने छैनौँ र यी हानिकारक प्रावधानहरूको विरोध गर्न हामी जे पनि गर्नेछौँ।’

अधिकारवादीहरूले ट्रम्पले विविधता, समानता, समावेशी अधिकारहरूमा उल्टो निर्णय लिए भने अल्पसंख्यक समूहहरूका पक्षमा गरिएको संघर्षलाई कमजोर पार्ने चेतावनी दिएका छन्। एसियाली अमेरिकन एड्भान्सिङ जस्टिसले भनेको छ, ‘हामी आप्रवासी अधिकारहरूको रक्षा, दमनसँग लड्न र सबै प्रकारका घृणा र भेदभावको सामना गर्न निरन्तर प्रयास जारी राख्नेछौँ।’

यसैगरी ट्रम्पले अमेरिकाले पनामा नहरलाई फिर्ता लिने घोषणा गरेका छन्। उनले भने, ‘हामीले यो पनामालाई दिएका थियौँ तर अब हामी फिर्ता लिइरहेका छौँ।’ पनामाले यस निर्णयको विरोध गरिसकेको छ।  पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले ट्रम्पको उद्घाटन भाषणको एक अंशलाई खारेज गरिदिएको बीबीसीले जनाएको छ।

मुलिनोले वक्तव्यमा भनेका छन्, ‘पनामा र यहाँका जनताको तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्घाटन भाषणमा व्यक्त गरेका शब्दहरूको म पूर्ण रूपमा अस्वीकार गर्दछु।’ संयुक्त राज्य अमेरिकाले पनामा नहरलाई सन् १९९९ मा पूर्ण रूपमा पनामालाई हस्तान्तरण गरेको थियो। मुलिनोले भने, ‘हाम्रो प्रशासनमा कुनै राष्ट्रको हस्तक्षेपको उपस्थिति छैन। पनामा नहर अब र भविष्यमा पनि पूर्ण रूपमा पनामाको नियन्त्रणमा रहनेछ।’ यसले पनामा र संयुक्त राज्य अमेरिकाबीच थप कूटनीतिक तनावको संकेत दिएको छ।

ट्रम्पले अमेरिका पेरिस जलवायु सम्झौताबाट हट्ने घोषणा गरेका छन्। यस घोषणाले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासहरूबाट विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जकलाई अलग पार्नेछ। सन् २०१५ मा गरिएको पेरिस सम्झौताले विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियससम्म सीमित राख्नका लागि सरकारहरूबीच सहमति कायम गरेको थियो।

ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन कुनै नयाँ कर लागू नगर्ने निर्णय गरेका छन्। साथै कार्यकारी आदेशमार्फत ऊर्जा मूल्यहरू घटाउन र मुद्रास्फीति नियन्त्रण गर्ने रणनीति अघि सारेका छन्। यी कदमले अमेरिकी अर्थतन्त्रलाई कस्तो दिशा दिनेछ भन्ने विषयमा स्पष्टता छैन। ट्रम्पले भनेका छन्, म जनतालाई उनीहरूको विश्वास, सम्पत्ति, लोकतन्त्र, र स्वतन्त्रता फिर्ता दिनेछु।’

उनले शपथ ग्रहणको दिनलाई अमेरिकाको ‘मुक्ति दिवस’ घोषणा गर्दै आफ्नो नयाँ युगको सुरुवातका रूपमा चित्रण गरेका थिए।

विश्वका नेताले के भने ट्रम्पलाई?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,’हाम्रो दुई देशको लाभ र विश्वका लागि उज्ज्वल भविष्य निर्माण गर्न तपाईंका साथ काम गर्ने प्रतीक्षामा  छु।’

जर्मन चान्सलर ओलाफ सल्टसले ट्रम्पलाई बधाई दिँदै सबैभन्दा नजिकको साझेदार अमेरिकासँगको सम्बन्धलाई थप बलियो बनाउने उल्लेख गरेका छन्।

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले भनेका छन्, ‘हाम्रो दुई देशबीचको सम्बन्ध सहयोग र स्थायी साझेदारीको प्रतीक हो। राष्ट्रपति ट्रम्पसँग यो मित्रताको गहिराइ कायम रहनेछ भन्ने विश्वास छ।’

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लायनले आफूहरू राष्ट्रपति ट्रम्पसँग सहकार्यको प्रतीक्षा रहेको उल्लेख गरेकी छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै र नयाँ अमेरिकी प्रशासनसँग यूक्रेन युद्धबारे संवादका लागि आफू खुला रहेको बताएका छन्। पुटिनले भने, ‘म यो महत्त्वपूर्ण कुरा जोड दिन चाहन्छु कि यसको लक्ष्य केवल छोटो समयको युद्धविराम हुनु हुँदैन। बरु सबै जनताको वैध चासोको सम्मानमा आधारित दीर्घकालीन शान्ति हुनुपर्छ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पलाई शक्तिशाली व्यक्तित्व भन्दै सम्पूर्ण अमेरिकालाई सफलताको शुभकामना दिएका छन्। उनले भनेका छन्थ, ‘युक्रेनका जनता शान्ति स्थापना गर्नका लागि अमेरिकासँग सहकार्य गर्न तयार छन्। यो यस्तो अवसर हो जसको अवश्य नै लाभ उठाइनुपर्छ।’

सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा जेलेन्स्कीले लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई उहाँहरूको ४७औँ राष्ट्रपति बनेको अवसरमा बधाई दिन्छु। आजको दिन परिवर्तन, भौगोलिक चुनौतीहरू र धेरै समस्याहरूको समाधानका लागि आशा र प्रतिबद्धताको प्रतीक हो।’ डोनाल्ड ट्रम्प यसअघि पनि धेरैपटक रुस-युक्रेन युद्ध समाप्त गर्न कदम चाल्ने विषयमा प्रतिबद्धता जनाएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पुनः सहकार्यले अमेरिका-इजरायल सम्बन्धलाई अझ उच्च स्थानमा पुर्‍याउने बताएका छन्। ट्रम्पले राष्ट्रपतिको शपथ लिने एक दिनअघि आइतबार इजरायल र हमासबीच युद्धविराम भएको थियो। नेतन्याहुले भने, ‘म तपाईँसँग सहकार्य गर्न उत्साहित छु- बाँकी रहेका बन्धकहरू फिर्ता ल्याउन, हमासको सैन्य क्षमता ध्वस्त गर्न र गाजामा यसको राजनीतिक शासन अन्त्य गर्न।’

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने पनि अमेरिकाका नयाँ राष्ट्रपति ट्रम्पसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। उनले भने, ‘म राष्ट्रपति ट्रम्पसँग सहकार्य गर्न तत्पर छु।’ राष्ट्रपति ट्रम्पले क्यानाडाली आयातमा २५ प्रतिशत शुल्क लगाउने धम्की दिएको विषयमा ट्रुडोले क्यानाडा र अमेरिकाबीच विश्वकै सबैभन्दा सफल आर्थिक साझेदारी रहेको स्मरण गरेका छन्।

जापानी प्रधानमन्त्री सिगेरु इसिबाले जापान-अमेरिका साझेदारीलाई अझ सुदृढ बनाउन र हाम्रो साझा लक्ष्य—एक स्वतन्त्र र खुला हिन्द-प्रशान्त क्षेत्रको संयुक्त रूपमा अनुसरण गर्न तयार रहेको बताएका छन्।

प्रकाशित: ८ माघ २०८१ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast