बेइजिङमा नेपाली चिया चाख्ने कार्यक्रम

अजय अलौकिक ४ माघ २०८१ २०:३८
6
SHARES
बेइजिङमा नेपाली चिया चाख्ने कार्यक्रम

बेइजिङ- बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासले नेपाल चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप कसिलो बनाउन जनवरी १७ तारिख, शुक्रबार नेपाली चिया चाख्ने कार्यक्रमको आयोजना गरेको छ। चालु वर्ष नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ हो।

कार्यक्रममा नेपाली चलनअनुसारको दूध चिया मात्र होइन चिनियाँ चलनअनुसार हरियो, रातो थरिथरिका नेपाली चिया चाख्ने प्रबन्ध गरिएको थियो, जहाँ उल्लेखनीय रूपमा चिनियाँहरूको सहभागिता थियो।

कार्यक्रमलाई स्वागत गर्दै चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले नेपाल र चीन दुवै देशमा चिया संस्कृति र संस्कार भएको बताउँदै नेपालीका लागि चिया बाँच्ने आधार भएको औँल्याए। चालु वर्ष, नेपाल चीन बीच दौत्य सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव भएकोले दूतावासले दुई विश्वासिलो तथा घनिष्ट छिमेकी बीचको सांस्कृतिक सम्बन्धलाई थप कसिलो बनाउन आयोजना गरेको यो पहिलो कार्यक्रम भएको पनि बताए।

साथै उनले नेपाली चियाको इतिहास पनि सुनाए। चीनका बादशाहले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई सन् १८६३ मा चियाको बिउ उपहार दिएपछि नेपालमा चिया खेती शुरू भएको बताए। राजदूत ओलीले भने, ‘१६० वर्षपछि नेपाल चियाको विश्व बजारमा १९औँ स्थानमा रहेको छ। सन् २०२४ मा २५ हजार मेट्रिक टन चिया उत्पादन भएकोमा १४ हजार मेट्रिक टन निर्यात गरेको थियो।’

नेपाली चियाको प्रवर्द्धनसँगै गुणस्तरीय उत्पादन मात्र नभई विश्वसमक्ष नेपाली किसान र सम्बन्धित समुदायको समेत समर्थन तथा प्रवर्द्धन गरिएको पनि बताए। उनले भने, ‘नेपाली चियाको कहानी उत्पादनसँग मात्र जोडेको छैन, यो जनतासँग पनि जोडिएको छ। हजारौँ किसान र कालीगढले चिया खेतीमा आफ्नो मन मुटु लगाएका छन्।’ नेपाली चियाको प्रवर्द्धनमा चिनियाँ सहयोगको अपेक्षा भएको भन्दै उनले चीनमा नेपाली चियाको प्रवर्द्धनका लागि आग्रह पनि गरे।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, चाइना पिपुल्स एसोसिएशन अफ फ्रेण्डशिप विथ फरेन कन्ट्रिज, चाइना चेम्बर अफ कमर्श फर इम्पोर्ट एण्ड एक्सपोर्ट अफ फुडस्टफ्स, स्यामन छा थु ट्रेडिङ कम्पनी लिमिटेडका प्रतिनिधिले पनि चीन नेपाल सम्बन्ध तथा व्यापार, अर्थतन्त्र र चिया संस्कृति बारेमा मन्तव्य राखेका थिए। उनीहरूले प्राचीन चिया घोडा मार्गदेखि वर्तमान अवस्थासम्म चियाका बारेमा चर्चा गरे।

चाइना पिपुल्स एसोसिएशन अफ फ्रेण्डशिप विथ फरेन कन्ट्रिजका उपाध्यक्ष युआन मिनताओले चीनका साथै नेपालमा गहन रूपमा चिया संस्कृति र परम्परा रहेको भन्दै नेपालमा चिया खानु भयो भनेर प्रश्न गर्नु दैनिक जीवनमा सञ्चो बिसञ्चो सोध्नुसरह भएको बताए। यसै गरी नेपालका लागि चिनियाँ राजदूत छन सोङले भिडियो सन्देशमार्फत् चीन र नेपाली चिया संस्कृतिको चर्चा गरेका थिए।

बेल्ट एण्ड रोडको सहकार्यसँगै सन् २०२३ मा नेपालबाट चीनमा चिया निर्यात अघिल्लो वर्षको तुलनामा १२.५ प्रतिशतले वृद्धि भएको छ। स्यामन छा थु ट्रेडिङ कम्पनी लिमिटेडले नेपाली चियाको गुणस्तर तथा उत्पादन अनुसार ६ सिरिजअन्तर्गत २८ थरिका नेपाली चियाको ब्राण्डिङ गरेको छ। चीनभरि नेपाली चियाको प्रवर्द्धनात्मक गतिविधि गर्दै आएको छ।

सहआयोजक सिल्क रोड सिटी एलायन्सका तर्फबाट अध्यक्ष सोङ रोङह्वाले जनस्तरमा नेपाल र चीन बीचको सम्बन्धको प्रवर्द्धन गर्दै आएको सम्बन्धमा चर्चा गर्नुका साथै नेपाली चियाको प्रशंसा गरे। उनले भने, ‘उपस्थित सबैजना नेपाली चियाको स्वाद लिएर मात्र जानुहोला।’

चीनमा अध्ययनरत् नेपाली विद्यार्थीहरूको नेपाली सांस्कृतिक नृत्यबाट सुरु भएको कार्यक्रममा उल्लेख्य रूपमा चिनियाँ व्यापारी तथा उद्यमीहरूको उपस्थिति थियो। पाकिस्तान, म्यानमारका राजदूतका साथै विभिन्न देशका कूटनीतिक नियोगका कर्मचारीको पनि उल्लेख्य सहभागिता थियो।

यसै गरी, चिनियाँ कलाकारले पिपा नामक चिनियाँ वाद्यवादनको प्रस्तुतिमार्फत् उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए। विभिन्न थरिका नेपाली चियाहरू प्रदर्शनमा राखिनुका साथै पाहुनाका लागि नेपाली चियाको स्वाद र सुगन्ध पस्किएको थियो।

प्रकाशित: ४ माघ २०८१ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast