काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएसँगै हमास समूहको नियन्त्रणमा रहेकाहरू क्रमैसँग रिहा हुने भएपछि नेपाली युवा विपिन जोशीको रिहाइको प्रसंगलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि उठाउन थालेकी छन्। युद्धविराम सम्झौता भएपछि हमास समूहले आफ्नो नियन्त्रणमा भएका करिब ३४ जनालाई छाड्ने घोषणा गरिसकेको छ। यो नेपालको कूटनीतिक पहलमा नभई स्वत: क्रमैसँग छुट्ने विषय हो।
पहिलो ३४ मा नेपाली नागरिक विपिन जोशी पर्छन् कि पदैनन् भन्ने टुंगो समेत लगाउन नसकेकी परराष्ट्रमन्त्री राणाले जस लिने प्रयास भने जारी राखेकी छन्। तर गत सातादेखि परराष्ट्रमन्त्री राणाले जोशीको रिहाइका लागि ‘फोन कूटनीति’ थालेकी थिइन्। राणाले मंगलबार कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्तामार्फत जोशीको रिहाइका पहल गर्न आग्रह गरेकी थिइन्। उनको आग्रहलाई कतारी विदेश राज्यमन्त्री अब्दुलाजिज अल–खुलाइफीले हमाससँग कुराकानी गर्ने आश्वासन दिए।
खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका प्रमुख वार्ताकार हुन्। जसका कारण नेपाली नागरिक विपिन जोशी रिहाइका लागि पहल हुने परराष्ट्रमन्त्री राणालाई आस छ। क्रमैसँग छुट्ने क्रममा जोशी पनि छुट्ने नै छन्। तर जाेशीकाे अवस्था के छ भन्ने समेत जानकारी नरहेकाे राणाले कसरी पहलकदमी गरिन् र? उनकाे रिहाइका लागि भर्खरै राजदूत कार्यकाल सकेर फर्केका हनान गाेदर इजरायलमा पुगेर आफैँ लागिपरेका छन्। उनी नेपालीलाई माया गर्ने विदेशी राजदूत मध्येमा पर्छन्। उनले नै नेपालबाट इजरायल कामदार लैजान पहिलो पटक १५ वर्ष अघि राजदूत भएर आउँदा सुरु गरेका हुन्।
मन्त्री राणाले कतारपछि जोशीको रिहाइका लागि मंगलबार नै इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि फोनवार्ता गरेकी थिइन्। फोनवार्तामा उनले इजरायल सरकारले जोशीको रिहाइका लागि विषेश पहल गर्नुपर्ने आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। इजरायल सरकारले जोशीसहित सबै बन्दीलाई रिहाइका लागि पहल गरिरहेको इजरायलका विदेशमन्त्री गिडियनले राणालाई जवाफ दिएको मन्त्रालयले जनाएको छ।
युद्धविराम सम्झौता अन्तिम चरणमा पुगेको शक्ति राष्ट्र अमेरिका र मध्यस्थकर्ता देशहरूले बताइरहेका बेला जोशीका रिहाइको जस लिन राणा तातिएको परराष्ट्र मन्त्रालयकै कर्मचारीहरूको आरोप छ। उनले आफ्ना मन्त्रालयको कर्मचारीलाई व्यवस्थापन समेत गर्न नसकेको अवस्थामा विदेशमा कुरा गरेर आफूले नै छुटाएको झैँ पार्न कस्सिएकी हुुन्।
मन्त्री राणाले जोशीको रिहाइका लागि आएदेखि यतिबेला बल्ल जोड गरेकी हुन्। त्यसअघि उनले कतै केही पहल गरेकी थिइनन्। युरोप घुमेर भारत पुगेर आउँदा समेत उनले त्यसमा कुनै पहलकदमी कतै गरेको पाइएन। अहिले भने छुट्दा आफूलाई कूटनीतिक राहत पनि मिल्ने देखिएकाले उनी यसमा लागेकी हुन सक्ने एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘यदि विपिन जोशी जिउँदै छन् भने त अब आरजुले पहल गरे पनि नगरे पनि छुटिहाल्छन्। इजरायल र हमासबीच नै वार्ता भएर सहमति भइसकेको विषयमा यहाँ जस अपसजको के कुरा।’
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम अन्तिम चरणमा पुगेका बेला राणाले जोशीको रिहाइमा चासो दिए पनि हमाससँग भने सीधै कुराकानी गर्न नसकेको ती कर्मचारीको आरोप छ। ‘हमास समूहको कब्जामा रहेका जोशीलाई हमासले निःशर्त छाड्ने मन्त्री राणाको आस थियो। तर त्यस्तो भएन। ६ महिनासम्म राणाले जोशीलाई हमासबाट रिहाइ गराउन खासै पहल गरिनन्। युद्धविराम अन्तिम चरणमा पुगेका बेला उनको चासो बढी देखियो,’ उनले भने।
राणाले जोशी रिहाइका लागि अन्तर्राष्ट्रिय मञ्चमा जोडदार तरिकाले आवाज नउठाएको उनको भनाइ छ। एक वर्ष भन्दा बढी समयदेखि हमासको कब्जामा रहेका जोशीको अवस्था कस्तो छ भनेर सरकारले आधिकारिकरूपमा सार्वजनिक गर्न समेत सकेको छैन। नेपालस्थित इजरायली राजदूतावासले विपिन जोशी सकुशल रहेको र हमासले बन्दी बनाई राखेको जानकारी दुई महिना अघि पनि दिएको थियो।
सरकारले हमासको कब्जामा रहेका विपिन जोशीलाई छुटाउन एक वर्षयता निरन्तर प्रयास गरिरहेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए। उनका अनुसार संयुक्त राष्ट्र संघदेखि अमेरिका, खाडीका देश, टर्की र शक्ति देशसँग आग्रह गरियो। नेपालले आग्रह गरेका देशले पनि पहल गरे तर सफल नभएको राई बताउँछन्। ‘नेपालले आग्रह गरेको देश, संघसंस्था र शक्ति राष्ट्रले जोशीको रिहाइका लागि पहल गरे। तर हमासले जोशीलाई रिहाइ गरेन। जसमा हाम्रो पनि केही कमजोरी होला,’ उनले भने।
राणाले मात्र होइन तत्कालीन परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले समेत जोशीको रिहाइका लागि खाडीका देश कतार, टर्की र अमेरिकासँग अपिल गरेका थिए। पूर्वमन्त्री श्रेष्ठले समेत जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय मानव अधिकारदेखि शक्ति राष्ट्रहरूलाई सहयोग मागे पनि जोशीको रिहाइका लागि सीधै हमाससँग कुराकानी गर्न सकेनन्।
श्रेष्ठ पनि जोशीलाई रिहाइ गराउन सफल भएनन्। श्रेष्ठजस्तै पूर्व परराष्ट्रमन्त्री एनपी साउदले समेत नेपालस्थित इजरायली राजदूतलाई विपिन जोशीको रिहाइका लागि पटक–पटक आग्रह गरेका थिए। उनले पनि इजरायली दूतावाससँगै नेपाल भ्रमणमा रहेका कतारी विदेश राज्यमन्त्री पनि जोशीको रिहाइका पहल गरिदिन आग्रह गरे।
यति मात्र होइन साउदले कायरोस्थित नेपाली राजदूतावासमार्फत समेत इजिप्टलाई पनि पत्र लेखेर विपिन जोशीको रिहाइका लागि आग्रह गरिदिन आग्रह गरे। उनले पनि हमाससँग जोशीको रिहाइका लागि सीधै कुराकानी गर्न सकेनन्।
हमासको कब्जामा जोशी भएयता तीन जना परराष्ट्र मन्त्री परिवर्तन भएन। उनीहरू तीनै जनासँग जोशीका परिवारले जोशीलाई रिहाइका लागि माग गर्दै पत्र बुझाए। तर तीनै जना मन्त्रीहरूले जोशीको रिहाइका लागि हमाससँग सीधै कुराकानी गर्न सकेनन्।
जोशीको परिवारका सदस्यहरूले निरन्तर उनको रिहाइका लागि परराष्ट्रमन्त्रीलाई अपिल गर्दै आएका छन्। सरकारी तथा कूटनीतिक अधिकारीहरूले जोशीको रिहाइका लागि राखेको प्रयास एक वर्षसम्म सफल भएन। अहिले जोशीका परिवारले उनी जिउँदो भए नभएको जवाफ मागिरहेका छन्। सरकार भने नाजवाफ देखिन्छ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ नेपाली विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल पुगेका थिए। तर इजरायल-प्यालेस्टाइन युद्धका क्रममा गत असोज २० गते हमासले गरेको हमलामा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी हमासकै कब्जामा छन्।